२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

ऐतिहासिक महत्वको गाउँ–गोलाङ्दी

संस्मरण

त्रिलोचन ढकाल

 

२०४० सालको साउन महिनामा स्याङ्जा जिल्लाको गोलाङ्दी गाउ‘मा नेकपा(माले)को केन्द्रीय कमिटीको बैठक बसेको थियो । यिनै १४/१५ घरका किसानहरूले त्यसको स्थानीय व्यवस्थापन गर्नु भएको थियो । त्यतिबेला पार्टीभित्र अहिले जस्तै चर्काे विवाद थियो । सिपि कमरेडको नेतृत्वमा असन्तुष्टि अभियान चलिरहेको थियो । त्यसलाई पार्टीले “गडबडी” भन्ने गरेको थियो ।  

सिपि मैनालीलाई ०३९ सालमा पार्टीको महासचिव पदबाट हटाएका कुरालाई उहॉले स्वभाविक ढङ्गले लिन सक्नु भएन । त्यसबाट उहॉले आफ्नो घोर अपमान भएको महसुस गर्नुभयो । झापा सशस्त्र सङ्घर्षको मात्र होइन पार्टी सुधारको नेतृत्व समेत गरेका हुनाले उहॉभित्र ठूलो गौरवले बास गरेको थियो । त्यही कारणले होला पदमुक्त भएको कुरालाई सहज रूपमा लिएर उहॉले आफ्नो चित्त बुझाउन सक्नु भएन । त्यो कुरा पार्टी कमिटीभित्र मात्र रहन सकेन । सार्वजनिक भयो । त्यसले कतिपय कार्यकर्तालाई निराश बनाएको थियो । अरू कतिपयलाई अराजक बनाएको थियो । त्यसैको अभिव्यक्ति स्वरूप होला, त्यो बैठकमा भनेकै दिनमा उहॉ आइपुग्नु भएन । उहॉलाई लिन फेरि भोलिपल्ट रुपन्देहीको सम्पर्क स्थलमा पुग्नु परयो । त्यसले गर्दा पनि बैठक एक दिन बढी लम्बिएको थियो । त्यति बेला महासचिव झलनाथ खनाल हुनुहुन्थ्यो । उहॉका साथमा, त्यो बैठकमा सिपि मैनाली, वामदेव गौतम, जिवराज आश्रित, नेत्र पौडेल, मदन भण्डारी, माधव नेपाल, मुकुन्द न्यौपाने, ईश्वर पोख्रेल, प्रदिप नेपाल, मोदनाथ प्रश्रितहरू उपस्थित हुनुभएको थियो । त्यतिबेला यी नामहरू खुलेका थिएनन् । पार्टी खुला भएपछि जानकारीमा आएका नाम हुन् ती । तीमध्ये मदन भण्डारी, जिवराज आश्रित र नेत्र पौडेल अहिले जीवित हुनु हुन्न ।

बैठक ११ दिनसम्म चल्यो । त्यो बैठकले मूल रूपमा पार्टी केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकको वैचारिक तयारी गरेको थियो । त्यहॉ प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । 

त्यो बैठकको सम्पूर्ण सुरक्षाको जिम्मेवारी त्यही गाउ‘का किसानहरूले बहन गर्नुभएको थियो । परिआएका बेलामा ससस्त्र प्रतिरोध गरी बैठकको सुरक्षा गर्न क.अमर नाथ शर्माको कमान्डिङमा क.तुलबहादुर गुरुङ र क. डिवि कार्की समेतको एउटा शसस्त्र लडाकु स्क्वाड तैनाथ गरिएको थियो । ती सबै कामको स्थानीय तयारीमा क.शिशराम पाठकको मुख्य भूमिका रहेको थियो ।

म आज सात वर्षपछि गोलाङ्दी गाउ‘मा आएको छु । पहिला २०७० सालमा आएको थिए । त्यतिबेला गोलाङ्दी गाउँका बारेमा एउटा लेख तयार गर्न भनेर आएको थिए । लेख पनि तयार भएको थियो । त्यो लेख मेरो पुस्तक “ब्यूँझेको गाउँ” मा समाहित भएर प्रकाशित भएको थियो पनि ।

आज आउ“दा सबभन्दा पहिला बहाटारी बजारमा रहेको शिशराम पाठकको घरमा पसेको थिएँ । त्यहाँ  शिशरामकी पत्नी, बुहारी र नातिहरूसँग भेट भयो । शिशरामकी बुहारी पार्टीको कार्यशैलीप्रति सन्तुष्ट नहुनु भएको कुरा बुझियो । “हामीलाई पार्टीका कसैले वास्ता गर्दैनन् । सङ्गठन चलेका छैनन् । कार्यकर्ता असन्तुष्ट छन् ।” भन्नुभयो । उहाँले घर पछाडि पहिरो गएको र घर खतरामा परेको कुरा पनि बताउनुभयो ।

आज मलाई वालिङ् नपा वडा १३ का अध्यक्ष आनन्द पाठकले आउन खबर गर्नुभएको हो । शिशरामको घरबाट निस्केपछि आनन्दजीको घरमा जानु अस्वाभाविक भएन । त्यहाँ स्याङ्जा जिल्ला कमिटीका सचिवालय सदस्य यामबहादुर कुँवर आइसक्नुभएको भेटियो । उहाँले गोलाङ्दी गाउँका योगदानका सम्बन्धमा थप जानकारी हुने विश्वासले म आएको हुँ भन्नुभयो । केही समयपछि आएका उदय श्रेष्ठले गोलाङ्दी गाउँको क्रान्तिका निम्ति भएको योगदानका सम्बन्धमा जानकारी पाएकोमा खुसी भएको कुरा बताउनुभयो । कमरेड कृष्ण खाँडले पनि त्यही कुरा गर्नुभयो । पहिलाका पुस्तक पढ्नुभएको थिएन भन्ने प्रश्नमा उहाँले पढ्न भ्याएको थिइन भन्नुभयो ।

आज म दुखद घटनामा सहभागी हुन आएको छु । आज चालिस वर्ष अगाडिदेखि कम्युनिष्ट पार्टीको निर्देशनमा काम गरिरहनुभएका किसान कमरेड ढुण्डराज खरालको निधनमा शोक मनाउन आएको छु ।

ढुण्डराज खराल गोलाङ्दी गाउँको किसान कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको निधन भएको सातौ“ दिन ०७७ मङ्सिर १६ गते उहाँकै घर गोलाङ्दीमा आएको थिएँ ।  त्यो दिन पनि म एक्लो थिइन । मेरो साथमा गण्डकी सभासद मोहनप्रसाद रेग्मी, संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, नेकपा जिल्ला कार्यकर्ताहरू उदय श्रेष्ठ, कृष्ण खाँड, यामबहादुर कुँवर, जिल्ला समन्वयसमिति उपसंयोजक दीलिप बगाले, वालिङ १३ वडा अध्यक्ष आनन्द पाठक, देउलाल गुरुङ्, यज्ञप्रसाद पाठक, नमलाल डुम्रे, भविराज गुरुङ, प्रेमप्रसाद पराजुली, देवराज गैरे, सुन्दर न्यौपाने, दयाराम पराजुली, भेषराज पाठक, झविलाल रास्कोटी, विक्रम खाँड, रनबहादुर थापा, तारा पाठक, रामु पाठक, दिनेश गैरे, हिरा पाठक, विष्णु पाठक, नेत्रबहादुर रानाहरू हुनुहुन्थ्यो । गोलाङ्दी गाउँका केही दाजुभाइ र दिदीबहिनी पनि हुनुहुन्थ्यो । त्यही झोक्राएर बसिरहनुभएको थियो, ढुण्डराजकी पत्नी देउरुपा, छोरा र बुहारीहरू । ढुण्डराजका पाँच छोरा बुहारी निमनाथ–उमा, रामचन्द्र–रेनुका, देवराज–दुर्गा, दिपक–लिला, विजु–गंगा भए पनि सबै हामी गएका दिन जम्मा भइसक्नुभएको थिएन । तिन छोरीमा टोपली, कला र गिता हुनु हुँदो रहेछ ।

गोलाङ्दी गाउँभन्दा केही तल ऑधी खोला छ । त्यो सुस्साउँदै र गर्जिदै तलतिर बगिरहेको छ । यसलाई हाम्रा पुर्खाहरू सबैले विगतमा यसै गरी कालीनदीतिर बगिरहेको देखेका छन् । कालीनदीमा पुगेपछि यसले आफ्नो अस्तित्व समाप्त गरेको छ र आफूलाई काली नदीको गहिरो जलप्रवाहमा समाहित गरेको छ । अलिमाथि सिद्धार्थ राजमार्ग लमतन्न भएर सुतेको देखिएको छ अजिङ्र जस्तो । यो सडकमा गाडीहरू दौडिरहेका छन् । घरी बस, घरी ट्रक, घरी जिप, घरी कार र घरी मोटरसाइकलहरू त‘छाडमछाड गर्दै दौडिरहेका  छन् ।  

सैतिस वर्षअघि पनि यो गाउ‘मा १४–१५ ओटा घर मात्र थिए । आज पनि उत्तिउत्ति देखिएका छन् । यो सैतिस वर्षमा यो गाउ‘का मानिसहरूको सङ्ख्या दोब्बरभन्दा बढी बढेको छ तापनि घरको सङ्ख्या उस्तैउस्तै देखिन्छ । यति फरक परेको छ कि त्यतिबेला घरले खरको छाता ओडेका थिए । अधिकांश घर घुमाउने डिजाइनका थिए । अहिले केही घर जस्ता पाताका छायॉमा उभिएका छन् । केही भने आरसीसीवाला देखिएका छन् । घुमाउने घरहरूको भने सबैको स्वर्गारोहण भइसकेको छ । अहिले सबै घरहरू पाटे छन् । केहीका अगाडिपट्टि पालीहरू छन् । ती पालिहरू बॉदरको बच्चाले आमालाई समाते जस्तै गरी घरहरूलाई च्याप्प समातेर झुण्डिएका छन् ।  

बहाटारीदेखि चिउरी गाउ“तिर गएपछि ठाडै उकालो जाने गरी मोटरबाटो भनेर खनाइएको रहेछ । हामी जाँदा त्यही बाटो मोटर साइकलमा गएका थियौ । फुको माटो र चिप्लोबाटोका कारणले मोटर साइकलबाट पटकपटक ओर्लिरहनु परेको थियो । यो बाटो हुनु– नहुनुमा किसानलाई खास फरक परेको देखिएन । हामी पनि पैदलै गएको भए छिटो पुगिने रहेछ कि जस्तो लाग्यो । नजिकै बाहाटारीबाट आउने गोरेटो बाटो सैतिस वर्ष अगाडि जस्तै छ । खेतबारीका गराहरू उस्तै छन् । पानीका कुलाहरू उस्तै छन् ।

हामीहरूसँग किसानहरूले गुनासो पनि गर्नुभयो । हामी उतिबेलादेखि राजनीतिक रूपले जागेका थियौ । भौतिक रूपमा भने अहिलेसम्म पनि पछौटे भयौ । हामीलाई बहाटारीबाट पैदल आउने बाटैबाटो मोटरबाटो ल्याइदिनुपर्ने हो । वडाध्यक्ष आनन्दजीले पनि यो कुरा स्वीकार भयो । बाटो खनाउने काम गर्न ढिला भएको कुरा बनाउनुभयो ।

यो थरमा खराल, जातमा बाहुन र वर्गमा गरिब किसानहरूको गाउ‘ हो । यो गाउ‘ अहिले देख्दा पनि भौतिक रूपमा उस्तै पछौटे छ र बाहाटारी बजार र सिद्धार्थ राजमार्गबाट १० मिनटको पैदल दुरीमा भए पनि दुर्गमजस्तै छ । बाहाटारीपारिको बजारको लम्बाइ निकै बढिसकेको रहेछ । त्यसको टुप्पो यति पर पुगिसकेको रहेछ कि यहॉबाट देखिनै नसक्ने भएछ । वारि बहाटारी र पारि बहाटारी जोडने मोटरेबल पुल बनेको रहेछ । त्यस बजारका खरका झुप्राहरू सबै कंक्रिटका जङ्गलमा परिणत भएका रहेछन् । तर गोलाङ्दी गाउ‘ भने उस्तैउस्तै छ । भौतिक रूपमा उस्तै भए पनि पञ्चायती अन्धकारको युगदेखि नै चेतना र क्रान्तिका दृष्टिले व्यू‘झेको र जागिसकेको गाउ‘ हो यो । नर्वदा, मनिराम, यमकान्त, नामदेव, तुल्सिराम ,शिव, ढुण्डराज, देउरुपा, निमनाथ,रामचन्द्र, देवराज, दिपक, विजु आदि खरालहरूले व्यू‘झाउँदै आएको गाउ‘ हो यो ।  

नेकपा(माले) र नेपाली क्रान्तिका निम्ति यो गाउ‘को विशेष महत्व र योगदान रहेको छ । यो गाउ‘लाई व्यू‘झन ठूलो सहयोग गर्नमा नेकपा(माले) र स्थानीय समाजसेवी शिशराम पाठकको उल्लेखनीय महत्व रहेको थियो ।  दोस्रो महत्व नेकपा(मालें) तत्कालीन जिल्ला कमिटी सचिव त्रिलोचन ढकाल र उपसचिव चक्रबहादुर पराजुलीको रहेको थियो ।  

शिशराम पाठकसँग मेरो पहिलो भेट २०३८ सालमा भएको हो ।  उहॉलाई नेकपा मालेको पहिलो सम्पर्क ०३७ सालमा क. प्रेमनारायण पौडेलले दिनुभएको हो । प्रेम नारायण पौडेल, नापी इन्स्पेक्टरको सम्मानित जागिर परित्याग गरी पार्टीको भूमिगत काममा लाग्नुभएको थियो । ०३७–०३८ सालमा त्यो इलाका हेर्ने जिम्मा उनलाई मिलेको थियो । त्यही‘ काम गर्ने सन्दर्भमा शिशराम पाठकस‘ग सम्पर्क भएको थियो । त्यतिबेला पार्टीमा प्रौढ कार्यकर्ताको अभाव नै थियो । हामी नेता कार्यकर्ता सबै ३०–३२ वर्ष उमेरका थियौं । त्यस्तो वेलामा ४९–५० वर्षका शिशराम पार्टीका गहना हुनुहुन्थ्यो । उहॉको उपस्थितिले पार्टीलाई प्रौढ र बूढाबूढीहरूका बिचमा लैजान निकै महत्वपूर्ण भूमिका खेलेको थियो । उमेरको त विशेष महत्व छँदै थियो । सबैभन्दा मुख्य कुराचाहि‘ उहॉको क्रान्तिप्रतिको समर्पण र विश्वास थियो । उहॉको बाहाटारी बजारको बिचमा सिद्धार्थ राजमार्गका छेउमा खरको छानो भएको एउटा झुप्रे घर थियो । भुइँतलाको उत्तरी छेउमा भान्साकोठा थियो । सुत्ने बस्ने सबै काम तलामा हुन्थ्यो । घरको बाहिरी छेउबाट अत्यन्त अप्ठ्यारो माटे सिंढी चढेर तलामा उक्लनु परथ्यो । त्यो यति अप्ठ्यारो थियो कि कतिपय मानिस त त्यो चढ्न नपरोस् भन्ने चाहना गर्दथे । त्यसले हाम्रो निम्ति अनुकूल स्थिति नै सिर्जना गरेको थियो । त्यो सिंढी उक्लदा कैयौं पटक हामीहरू पनि चिप्लिएर पछारिने गरेका थियौं ।  

त्यो घर पश्चिम स्याङ्जाका १५ ओटा गाविस हाल गल्याङ नगरपालिका, कृष्णगण्डकी गाउँपालिका र वालिङ नगरपालिकका केही वडाका निम्ति पार्टीको हेड क्वाटर नै थियो । कारिकोटका सेर सिंकोमा होस् या आलमदेवीको ज्ञानबहादुरकोमा, मिर्मिका वेदप्रसादकोमा होस् या तुल्सीभञ्ज्याङका महेन्द्र थापाकोमा या पिंडिखोला या शिर्षेकोट, जहॉ जान परे पनि कार्यकर्ताहरू, पार्टीका सामग्रीहरू, चिट्ठीपत्रहरू र हातहतियार सबै यही घरमा सुस्ताएर जाने गर्दथे । कारिकोटका सेर सिङ लुम्बिनीतिरको पार्टी सम्पर्कबाट भूमिगत समेत भएर काम गरिसकेका थिए । पछि उनी घरमा फर्के र स्याङ्जा पार्टीको सम्पर्कमा आएर काम गर्न थालेका थिए । उनले पूरै जीवन पार्टी काममा लगाएरै बिताए । आलमदेवीका ज्ञानबहादुर त्यस क्षेत्रका त्यागी र इमानदार कार्यकर्ता थिए । मिर्मीका वेदप्रसाद भट्टराई माले पार्टीका त्यो गाविसका पहिलो कार्यकर्ता हुन् । पहिलाको कृष्ण गण्डकी गाविसमा एमाले पार्टीको जुन अवस्था थियो त्यसका संस्थापक र विकासकर्ता उनै थिए । त्यो भेकमा ०३७ सालको शुरूमा रङ्गे ठॉटीका खेमनारायण देवकोटा पनि भूमिगत गएका थिए । उनले सेर सिङ ज्ञानबहादुर र वेदप्रसादको घरमा सेल्टर लिएर काम गर्न खोजेका थिए । उनी दश दिन जति काम गरेर फर्के अनि खुला भएर पार्टी काम गर्न थाले ।

  पूर्णकालीन या खुला पार्टी कार्यकर्ता, महिला, किसान, विद्यार्थी या अरू खालका कार्यकर्ताहरूको सम्पर्कस्थल पनि शिशराम पाठककै घर थियो । यति मात्र होइन विरामी कार्यकर्ताहरूको उपचारस्थल पनि त्यही घर बनेको थियो । ०४३ सालमा जिल्ला कमिटीका सचिव केशवलाल श्रेष्ठ विरामी भएका समयमा पनि त्यही‘ बसेर उपचार गराइएको थियो । सडकको छेउमै भएको हुनाले गाडीबाट ओर्लेपछि पस्न र काम सकेपछि गाडी चढन सजिलो हुने हुनाले पनि त्यो घर पार्टीका निम्ति अनुकूल बनेको थियो । शिशराम पाठक स्थानीय जनताद्वारा सम्मानित समाजसेवी व्यक्तित्व भएको हुनाले पनि पार्टीका कार्यकर्ता पस्दा र निस्क्दिा कसैले पनि शङ्काका नजरले हेर्दैनथे ।  

नेकपा(माले) झापा सङ्घर्षबाट विकास भएको थियो । त्यतिबेला उसले सशस्त्र सङ्घर्षलाई सङ्घर्षको मुख्य रूप बनाएको थियो । त्यही कारणले गर्दा देशभरका जनविरोधीहरू उसको नाम सुन्नेबित्तिकै झस्कन्थे । ०३७ सालदेखि भने शान्तिपूर्ण सङ्ंघर्षलाई सङ्घर्षको मुख्य रूप बनाइसकेको थियो । त्यसो भए पनि हामी पूर्ण रूपमा निसस्त्र भएका थिएनॉै । आवश्यक ठाउ‘मा सुरक्षाका निम्ति विस्फोटक हतियारहरू पनि प्रयोग गर्दथ्यौं । तिनीहरू जुनसुकै बेला नभिरे पनि केन्द्रीय स्तरका र ती जस्ता ठूल्ठूला बैठक तथा भेलाहरूको सुरक्षाका निम्ति त्यस्ता हतियारको पनि ब्यवस्था गरिरहेका थियौं । त्यस्ता काम सकिएपछि हामीले हतियारहरू लामो समयसम्म थन्काएर राख्ने गरेका थियौं । हतियार या अलि लामो समय थन्काउन पर्ने सामग्री जति राती राती गोलाङ्दी गाउ‘तिर उकालो लाग्थे भने अरू सम्बन्धित ठाउ‘हरूमा पुग्दथे ।

शिशरामकी पत्नी हरिकला पाठकको पनि योग्यताअनुसारको समर्पित सहयोग हुने गर्दथ्यो भने छोरा भिमप्रसाद, पदमप्रसाद र गोपालको पनि सक्रियता सम्झनलायक थिए । गोपाल सबैभन्दा बढी सहयोगी थिए । अहिले त घरमा पत्नी हरिकला पाठक, जेठी बुहारी शुशिला पाठक र नातिहरू गोविन्द र अमृत पाठकहरू मात्र छन् । ती नातिहरूलाई पञ्चायती कुशासनका सम्बन्धमा खास जानकारी छैन ।

यमकान्त खरालले २०७० सालमा आउ“दा भन्नुभएको थियो, “अरू गाउ‘मा जानु पर्दा कसैलाई पनि यो गाउ‘ भएर हिंडनु नपर्ने भएका हुनाले पनि यो ठाउँमाा भूमिगत काम गर्न अनुकूल भएको थियो । यो गाउ‘मा पार्टी केन्द्रीय कमिटीका १०÷१२ दिन सम्मका वैठकहरू पनि सम्पन्न गरिए । हातहतियारको भण्डारण पनि गरियो । अरू सानातिना बैठकहरू त कति गरिए कति गणना गर्नै सकिदैन । सबभन्दा खुसी केमा छ भने यहॉको गोपनीयता कहिल्यै खुलेन । बच्चाहरूले पनि कहिलै बाहिर गएर भनेनन् । बुहारीहरूले माइत गएर पनि कुरा चुहाएनन् । छोरीहरूले विवाह पछिको घरमा गएर आफ्ना पतिलाई समेत कुरा बताएनन् । म यसैमा अत्यन्त खुसी छु । नामदेव खराल अहिले मधेश गएका छन् । उनी अति परिश्रमी र दानी थिए । मनिराम बुवा वृद्ध हुनुहुन्थ्यो तापनि कार्यक्रमहरू हु‘दा खाना पकाउने जिम्मा पाउ‘दा साह«ै खुसी हुनुहुन्थ्यो । उहॉ पनि रातदिन पार्टीको काममा खट्नुहुन्थ्यो ।  उहॉ बितिसक्नु भएको छ । कम्युनिष्ट पार्टीका कुरा शुरू गर्दा रिसाउनुहुन्छ कि भनेर डराईडराई गरेको त के रिसाउनु नि झन् ‘किन ढिलो गरिस्’ पो भन्नुभयो । उहॉ त्यत्तिकै जॉगरिलो हुनुहुन्थ्यो । ‘ल तिमी तन्देरीहरूले बाहिरी काम गर म खाना पकाइदिन्छु’ भनेर भान्सामा बसिहाल्नुहुन्थ्यो । नर्वदा आमा पनि निकै सक्रिय हुनुहुन्थ्यो । सबैको त्यागपूर्ण भूमिकाले गोलाङ्दी जागेको हो ।”

नर्वदाका छोरा किसानले भन्नुभयो “यी यो पिंडीमा बसेर मैले घण्टी बजाउथें । भित्र बैठकमा बोलेको बाहिर गुनगुन सुनिन्थ्यो । त्यस्तो समयमा बाहिर कोही मानिस आएका खण्डमा आवाज सुनिन सक्थ्यो । त्यसबाट बैठकलाई होसियार बनाउन यो पिंढीबाट एकपटक डोरी तान्थें । त्यो डोरी तानिएर डोरीस‘ग बॉधिएको घरको तलामा झुन्ड्याइएको घण्टी एकपटक बज्थ्यो । अनि कमरेडहरू चुप लाग्नुहुन्थ्यो । त्यो मानिस गएपछि  दुई पटक डोरी तान्थें र भित्र दुईपटक घण्टी बज्थ्यो । त्यतिबेला विजुली थिएन । त्यसो भएर विजुलीको घण्टी जोड्ने कुरै भएन । पूजा गर्दा बजाउने घण्टीबाट त्यो काम गरिएको थियो । त्यो सङ्केत पछि वैठक चालु हुन्थ्यो ।” 

एकजना अर्काे किसानले भन्नुभयो “यहॉ केन्द्रीय कमिटीको बैठक चलिरहेको थियो र त्यसको सुरक्षा हामीले नै गर्नुपर्ने थियो । यदि पुलिसले थाहा पाएर नेताहरू मर्नुपर्ने या जेल पर्नुपर्ने हो भने पार्टी त्यतिबेला समाप्त हुने मात्र होइन, जनता र क्रान्तिलाई पनि अत्यन्त ठूलो नोक्सानी हुने थियो । त्यस्तो हु‘दा यो गाउ‘लाई सबेैले ‘अपराधी गाउ‘’का रूपमा हेर्ने थिए । त्यसो भएर हामीले गाउ‘का केटाकेटी, आइमाई सबैलाई सेना बनाएका थियौ‘ ।”

“हामीलाई अप्ठ्यारो केमा लागेको थियो भने पाहुना आए के गर्ने ? यो पनि हामीले सल्लाहा गरेका थियौ‘ कि आ आफ्ना पाहुनाहरूलाई गाउ‘मा नपस्दै चित्त बुझाएर फिर्ता पठाइदिने । सबैले यसका उपायहरू सोचिरहेका थियोैं । न भन्दै मेरो ज्वॉइ टुप्लुक्कै आउनुभयो । ऊ त्यो तलको खोल्सीमा घॉस काटेको निह‘ु गर्दै सुरक्षाको काम गरिरहेको थिए‘ । बाहाटारीबाट ज्वॉइ उकालो लागेको  देखें । म छिटोछिटो उहॉतिरै झरें र ‘ए ज्वाइँ पो हु‘नु हु‘दो रहेछ । ढोग भेट पनि छैन । गाउ‘मा रुवाबासी छ । माथिका ठूला बा बिते । म त वालिङ बजारतिर कपडा किन्न हि‘डेको । आज यस्तै भयो ज्वाइ साप ’ भन्नेबित्तिकेै उहॉले ‘भो त्यसो भए म पनि फर्कन्छु’ भन्नुभयो । ‘भोलि बिहानै बुटवलतिर जानु छ । आजको रात तपाइ‘स‘ग दुːखसुखका कुरा गरौंला भनेर पस्न खोजेको थिए‘ । गाउ‘मा यस्तो दुːख परेको रहेछ, आजै बुटवल जान्छु’ भनेर फर्कनुभयो । म वालिङ जान भनेर उहॉस‘गै बाहाटारी गए‘ र बुटवल जाने बसमा चढाइ दिए‘ । उहॉ चढेको बसले चिउरीको डॉडो काटेपछि मात्र लामो सास फेर्दै गाउ‘तिरै फर्कें ।” 

 गोलाङदी गाउँमा त्यतिबेला मट्टितेलका टुकीहरू बल्दथे तापनि गाउँ क्रान्तिकारी चेतनाको उज्यालोले चम्किलो भएको थियो । त्यो गाउँमा अक्षर नचिनेका र अति थोरै पढेका किसानहरू बस्थे तापनि गाउँ अग्रगामी ज्ञानद्वारा विज्ञ बनेको थियो र ब्यूँझेको थियो । त्यतिबेला पार्टी र क्रान्तिको सुरक्षाको किल्ला भएको थियो त्यो गाउँ‘ । त्यसले पार्टीका ठूल्ठूल्ला कार्यक्रमहरू सफलताकासाथ सम्पन्न गरेको थियो ।

अरू गाउ‘हरू निदाएका बेलामा त्यो गाउ‘ जागा भइरहन्थ्यो चौबिसै घण्टा । किसानहरू सुतेका समयमा पनि त्यहॉ चहलपहल भइरहन्थ्यो । रातमा सबै चुपचाप भएका समयमा पनि त्यो सलबलाइरहन्थ्यो । चलबलाइरहन्थ्यो । बरू आज त्यो निदाए जस्तो देखियो । भित्रभित्रै त्यो निदाउन थालेको छ र सुस्ताउन थालेको छ । बाहिरबाट हेर्दा गोलाङ्दी गाउ‘ उस्तै छ ।

गोलाङ्दी गाउ“लाई ब्यू“झाउने शिशराम पाठक, यमकान्त खराल, नामदेव खराल, मनिराम खराल, नर्मदा खराल, ढुण्डराज खराल, निमनाथ खराल आदि अगुवा किसान कार्यकर्ता र सम्पूर्ण किसान परिवारप्रति आभार व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको छ ।

अन्त्यमा किसान कार्यकर्ता कमरेड ढुण्डराज खरालप्रति हार्दिक श्रद्घासुमन र उहाँको शोकसन्तप्त परिवारजनप्रति समवेदना !

प्रकाशित: १९ मंसिर २०७७ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App