अनु विज्ञाति
स्टेजमा डाकी सक्नुपर्ने सबै अतिथि डाकी सक्दा पनि ऊ आएन । अतिथि निमन्त्रणा गर्ने जिम्मा पाएको रविन कार्यक्रमकै कामले बाहिर निस्किएकोले ऊ को हो ! कुन अतिथिको रूपमा निमन्त्रणा गरिएको हो, अरू आयोजकलाई ठम्याउन गाह्रो भयो । आयोजकहरु अप्ठेरोमा परे । त्यतिकै कार्यक्रम अगाडि बढाउँ, त्यस्तो ठाँटसहितको अतिथि स्टेजमा आएको छैन, को हुन् भनेर सोधुँ निमन्त्रणा गरेर नचिन्नु त्योभन्दा अपमान के हुन सक्छ !
त्यतिबेलै फूलमाला लगाएर स्वागत गर्न खटिएकी बैनी स्टेजमा आइन् र कानमा खुसुक्क भनिन् – उहाँले माला लगाउनै मान्नु भएन ।
सबै आयोजकमा कानेखुसी भयो । आज ठूलो गल्ती भयो । अतिथिको श्रेणीक्रम नजान्ने कस्ता हामी !
कार्यक्रम अगाडि बढ्नै सकेन ।
कार्यक्रमका अध्यक्ष छेउमा गएर भने – माफी दिनुस् हजुर, गल्ती भयो । हजुर, स्टेजमा आइदिनु भए कार्यक्रम अगाडि बढ्थ्यो ।
उसले मन्द मुस्कान छर्दै भन्यो –बिनागल्ती किन माफी ! बरु कार्यक्रम छिटो सक्न पाए हुन्थ्यो ।
अमिलो मन लिएर फर्किएका अध्यक्षले उद्घोषकलाई कार्यक्रम अगाडि बढाउन भने । आयोजक पूरै बैचैन भयो । कार्यक्रम सकिनै लाग्दा रविन आइपुग्यो ।
अध्यक्षले झटपट सोधे– उहाँ कुन विधाको अतिथि हुनुहुन्छ ! यहाँ नाम टिपाउन किन छुट्यायौं !
रविन नै अलमल्ल पर्यो – को हो ऊ ! सर्जक निमन्त्रणा गरेको त्यो कार्यक्रममा ऊ सर्जक नभएर त आएन होला ! उपस्थित सर्जकहरूले पनि ऊ कुन विधाको हो, ठम्याउन सकिरहेका थिएनन् । हलभरि त्यो खासखुस फैलियो । छेउको कानेखुसी उसले पनि सुन्यो र उसले आफ्नो परिचय दियो– म कुनै विधाको होइन, सबै विधाको हुँ । म सर्जक होइन भन्ने जान्नुभएको भए यो हलमा मेरो प्रवेश संभव थिएन । तर सम्झनुस् त म र म जस्ताहरूले हजुरहरूलाई नपढ्ने हो भने अवश्य यो स्टेज त के, यो हल पनि हजुरहरूको हुन्थ्यो होला त ! आतिथ्यमा मेरो ठाँटसहितको उपस्थितिले सम्मान पाउन खोजेको हो, मेरो पठनले होइन । त्यसैले मैले सम्मान स्वीकार गर्न सकिन ।
उसको परिचय थाहा पाएपछि अतिथि र सर्जकहरूले मनमनै सोचे – साँच्चै यस्तो कार्यक्रममा त हामी आफैंआफैं अतिथि हुनुभन्दा हामीलाई सर्जकको रूपमा स्थापित गराउने पाठक पो वास्तविक अतिथि हुनुपर्ने !
प्रकाशित: १८ मंसिर २०७७ ०६:०४ बिहीबार