१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

कुखुरी काँ

बालकथा

हरिप्रसाद भण्डारी

वविताकी आमाले घरको ढोका खोलिन् । आमाछोरी भित्र पसे । भित्रको दृश्य देखेर आमा छोरी छक्क परे । छाँगाबाट खसेजस्तै भए ।

कोरोना भाइरसको प्रभावसँगै उनीहरू शहरको घर छोडेर गाउँ गएका थिए । कोरोनाको प्रभाव बढ्दै गएकाले शहर फर्कने वातावरण मिलेको थिएन । करीब सात महिनापछि शहर फर्केका थिए ।

पहिलेभन्दा शहरको चहलपहल निकै कम भएको थियो । मानिसहरू एक अर्कोसँग जोडिएर होइन, टाढाटाढा भएर हिँडिरहेका देखिन्थे । सबै जना एक अर्कोसँग ससङ्कित थिए । सबैले मास्क लगाएका थिए । मास्कले गर्दा आफ्नै मान्छे चिन्न पनि गाह्रो हुन्थ्यो ।  

उनीहरू सतर्कता अपनाउँदै घर पुगेका थिए । घर वरिपरिको वातावरण अस्तव्यस्त थियो । घरको मूलद्वार वरिपरि घाँस उम्रेर नराम्रो देखिएको थियो । आँगनको छेउ तथा गमलामा लगाएका फूलका बिरुवाहरू सुकेर खङ्रुङ्ङ भएका थिए । सानो बगैँचामा लगाएका फलफूलका बिरुवाहरू झ्याँगिएर अस्तव्यस्त भएका थिए । चारैतिर धुलो र फोहोर थियो ।  

बाहिरको अस्तव्यस्त अवस्था देखेर चिन्तित हुँदै उनीहरू भित्र पसे । भित्रको दृश्य अचम्मलाग्दो थियो । बैठक कोठामा एक हूल कुखुरा थिए । सोफा, भुइँ, झ्यालको डिल, भान्सा सबैतिर कुखुराको सुकेको र आलो आची थियो । चारैतिर दुर्गन्ध फैलिएर सास फेर्न पनि मुस्किल भइरहेको थियो ।

अकल्पनीय दृश्य देखेर उनीहरू हैरान भए । त्यस्तैमा उनीहरूलाई देख्नासाथ सबै कुखुराहरू भुर्र उडेर परपर गए । भुइँको धुलो उडेर कुइरीमण्डल भयो । धुलोले दुर्गन्धित वातावरणलाई झन् दुर्गन्धित बनायो । सास फेर्नै मुस्किल पर्न थाल्यो । वविता र उसकी आमा भित्र बस्न सकेनन् । आत्तिँदै बाहिर निस्किए ।

“ममु यो कसरी भयो ? हामी घर जाँदा त यहाँ एउटा पनि कुखुरा थिएन । यति धेरै कुखुरा कहाँबाट आए ?” वविताले एकै सासमा ममुलाई सोधी ।

उमा आफै अत्तालिएकी थिइन् । उनले केही सोच्न सकिनन् । छोरीका प्रश्नको जवाफ दिनुको साटो एक्लै बोल्न थालिन्, “कसैले कुखुरा ल्याएर भित्र हालिदियो भनौँ भने पनि सबै झ्यालढोका बन्द छन् । कसरी यस्तो भयो हँ !”

त्यस्तैमा भित्र एउटा कुखुरा बास्यो– ‘कुखुरी काँ !’

कुखुराको आवाज सुनेर वविता झस्की । छोरी आत्तिएको देखेर सान्त्वना दिँदै आमाले भनिन्, “नडराऊ, यसको कारण पत्ता लगाउँला ।”

उमाले वविताको बुबालाई फोन गरेर सबै कुरा जानकारी गराइन् । जनक गाउँमै थिए । उमाका कुरा सुनेर उनी पनि छक्क परे ।

केही समयपछि आँगनको छेउँमा रहेको कुकुरको खोरतिर सङ्केत गर्दै उमाले भनिन्, “यो खोर सफा गरौं र सबै कुखुरा यसैमा थुनौं ।”

ममुको कुरा ववितालाई मन प¥यो । उसले भनी, “म खोर सफा गर्छु, हजुरले एउटा एउटा कुखुरा समातेर ल्याउनोस् ।”

सबै कुखुरा खोरमा थुनेपछि उनीहरूको मन अलि शान्त भयो । उमाले भनिन्, “अब भित्र सफा गरौँ ।”

मुखमा मास्क लगाएर आमाछोरी दुवै भित्र पसे ।  

त्यस्तैमा वविताले भनी, “ममु हेर्नु त भान्साको एसी अन रहेछ । यत्रो महिनामा कति धेरै बिजुली तान्यो होला । बुबाले ईसेवाबाट बिजुलीको पैसा तिर्दा धेरै पैसा उठ्यो भनेर गनगन गर्नुहुन्थ्यो नि, यै भएर होला ।”

“थुक्क !” उमाले चिन्ता व्यक्त गरिन् । वविताले एसी अफ गरी ।  

“ममु हेर्नु त अण्डाका बोक्रा !” उसले मामुलाई देखाउँदै भनी, “हजुरले फाल्न बिर्सनुभएको रहेछ ।”

उमाले सात महिना पहिलेको घटना सम्झिँदै भनिन्, “हैन छोरी यसमा त लोकल अण्डा थिए । तिमीले खाउली भनेर बुबाले ल्याइदिनुभएका ‘प्योर’ लोकल अण्डा । ती अण्डा खै त ? खोल मात्रै बाँकी छ !”

“तिनै अण्डाबाट यी कुखुरा बनेका त हैनन् ?” वविताले शङ्का गरी । उमाले गम्भीर भएर सोचिन् र मनमनै भनिन्, ‘त्यस्तो कसरी भयो होला र ?’

लामो यात्रा, भोक र थकाइ । त्योमाथि घरको सफाइले गर्दा आमाछोरी निकै थाकेका थिए । सरसफाइको काम बिचमै छोडेर उमाले खाना बनाइन् । खाना खाई माथिल्लो तलामा गए । माथिल्लो तला सफा थियो ।  

बाहिर कुखुरा कराएको आवाज बेडरुमसम्मै सुनिन्थ्यो । सुत्नुपूर्व पनि वविताका मनमा यिनै कुरा खेलिरहे । उसले मनमनै सोची, ‘यति धेरै कुखुरा कहाँबाट आए ?’

खाना खाईवरी वविता आँगनमा बसेर बालकथाको पुस्तक पढ्दै थिई । कुखुराहरू आँगनमा चरिरहेका थिए । त्यस्तैमा एउटा कुखुरा वविताको नजिक आयो र मान्छेको जस्तै आवाज निकालेर भन्यो, “हामी कसरी आयौँ भन्ने कुरामा तिमीले थाहा पायौ ?”

“नाई !” आश्चर्य मान्दै वविताले भनी, “झ्याल – ढोका सबै बन्द छन् । तिमीहरू कसरी आयौ ?”

“हामी कसरी आयौँ भनुँ ?” कुखुराले भन्यो ।

“छिटो भन । म तिम्रो कुरा सुन्न आतुर छु ।”

कुखुराले भन्यो, “तिम्रो ममुले तिमीलाई खुवाउन भनेर थुप्रै अण्डा राख्नुभएको थियो । तिमीहरू जाने बेला जाडो थियो । पछि गर्मी महिना सुरु भयो । त्योमाथि भान्साको एसी अन थियो । बाहिरको गर्मी र भित्रको एसीले गर्दा अण्डाबाट चल्ला निस्कने तापक्रम पुग्यो । हामी खुसी भयौँ । केही समयपछि सबै अण्डा बिस्तारै चल्लामा परिणत भयौँ । कस्तो लाग्यो मेरो कुरा ?”

“ए, त्यसो पो !” केही सोच्दै वविताले सोधी, “तिमीहरू चल्ला भएपछि के खाएर हुक्र्यौ त ?”  

“बोरामा चामल थियो, त्यै खायौं । धारो चुह्यो भनेर तिम्रो ममुले बाटा थाप्नुभएको थियो । त्यसमा हामीलाई पुग्ने पानी थियो त्यही पियौं । अनि त बढ्दै गयौं ।” कुखुराले भन्यो ।

कुखुरासँग संवाद हुँदै थियो, ममुले बोलाउनुभयो, “वविता ! ए वविता !!”

वविता बिउँझी अनि मनमनै भनी, ‘आच्या मैले त सपना पो देखेकी रहिछु । कस्तो अचम्मको सपना !’

वविताले सपनाको कुरा ममुलाई सुनाई । उमाले भनिन्, “तिमीले देखेको सपना ठीक हुन सक्छ । किनकि हिजोआज ह्याचरी उद्योगहरूले यसैगरी अण्डाबाट चल्ला उत्पादन गर्छन् । त्यसका लागि आवश्यक तापक्रमको आवश्यकता पर्छ । यहाँ पनि त्यस्तै भयो होला ।”

उनीहरू कुरा गर्दै थिए, बाहिरबाट कुखुरो कराएको आवाज आयो– ‘कुखुरी काँ !’

प्रकाशित: ५ मंसिर २०७७ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App