२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

खोसिएको मास्टरी, भाग्य कि दुर्भाग्य !

संस्मरण

खेमराज पोखरेल

 

परिवेश र वर्गअनुसार स्वाभाविक थियो कि म हुर्कँदै जाँदा कम्युनिष्ट प्रभावमा पर्न गएँ । बुर्जवा शिक्षाको अन्त्य र प्रगतिशील शिक्षाको सुनौलो लोभ मेरा मनभरि दिमागभरि हालिएकै थियो । त्यसैले विए पास गरेपछि एमए पढ्न काठमाडौँ नगई म राजनीतिक रूपले भूमिगत हुन ठिक्क परेको थिएँ । तर बुवाले ‘जेठो छोरो नै भूमिगत भएपछि के गर्ने होला !’ भन्ने चिन्ता व्यक्त गर्नु भएकाले म बुवाको आशय र कमरेडहरूको मध्यमार्गी बाटोलाई पछ्याउँदै जागिर खाने सोचमा पुगेको थिएँ । जागिर खानलाई टेक्ने समाउने ठाउँ थिएन । तर पहाडतिर मास्टरी छयाल्लब्याल्ल पाइन्छ भन्ने कुरा मधेसमा पर्याप्त सुनिन्थ्यो ।

मेरा स्कुलका हेड सर शिवनाथ सिंह त्यतिबेला ओखलढुंगामा जिसिअ हुनुहुन्थ्यो । दसैँमा उहाँ गाउँ आएका बखत मलाई सोध्नुभएथ्यो – के गर्दैछौ ?

‘बिए पास गरेर बसेको छु ।’ मैले उत्तर दिएको थिएँ ।

‘ल ओखलढुंगामा आऊ, म माविको शिक्षक बनाइदिन्छु ।’ सरले एकै सर्कामा भन्नुभएको थियो ।

उहाँले मेरा गाउँले दाइ डम्बरबहादुर कटुवाललाई ओखलढुंगाको कुनै स्कुलमा शिक्षक बनाइदिनुभएको थियो । अनि म पनि ओखलढुंगामा मास्टरी खान घरबाट खाजा सामल बोकी खोटाङको बाटो हुँदै चुइचुम्मा टेम्माका शिक्षक साथी देवनारायण चौधरीसँग दिक्तेलतिर लागेको थिएँ । मसँग एउटा कुम्लो थियो । बाटामा चुइचुम्मा टेम्माकै एकजना राई थरका लाहुरे आफ्ना ५ जना भरियासँग पहाड जान हिँड्दै रहेछन् । बाटामा हाम्रो परिचय भएको थियो । अनि हामीले साथी भएर २ दिनको यात्रासँगै तय गर्यौँ । बाटाका सम्पूर्ण खर्च लाहुरेले हामीलाई गर्न दिएनन् । साह्रै मनकारी थिए उनी । हर्पेको कठाङ्ग्रिएको घिउलाई कर्दले काटेर र कुराउनीमा चिउरा मिसाउँदै खाजा खाँदै लाहुरका गफ गर्दै÷सुन्दै बाटो काटिएको थियो । त्यो बाटोमा होटलको व्यवस्था थिएन । कतै बास बस्नुपर्दा भाँडाकुँडा मागेर पकाएर खानुपर्ने हुन्थ्यो । त्यो काम उहाँका भरियाहरूले गरिदिएकाले हामी आरामले टेम्मा पुग्यौँ । त्यहाँ पुग्दा दिउँसोको २ जस्तो बजेको थियो होला । साथी देवनारायणको मुकाम पनि त्यहीँसम्म थियो । मैले हिँड्न खोजेँ । देवनारायणजी मलाई दिक्तेलसम्म पुर्याउन तयार थिए । तर लाहुरेले मलाई त्यो दिन  हिँड्न दिएनन् । कुखुरा काटेर खुवाए । म रक्सी नखाने भएकाले धानको भात र लोकल कुखुराको झोल खाने अनुकूल भयो । थाकेको बेलामा यो भोजनले ऐश्वर्य प्रदान गर्यो । लाहुरेका घरको ओसारीका भित्तामा लहरै ब्रिटिस लाहुरेहरूका फोटाहरू थिए । हजुर्बा, बाउ तथा उनीहरू सात भाइ छोरा सबै ब्रिटिस लाहुरे रहेछन् । ब्रिटिसको लाहुरे हुनु भनेको त्यो बेलामा हैसियत मात्र नभएर मानको सर्वोच्च अवस्था थियो । ओसारीका भित्तामा लाहुरेका ड्रेस लगाएका फोटा टाँग्नु गौरव मानिन्थ्यो । सायद अहिले पनि पहाडमा यो प्रचलन होला ।

भोलिपल्ट साथी देवनारायण र म साप्सु तरेर दिक्तेल पुग्यौं । त्यो बेला एसएलसी चलिरहेको थियो । मेरो मामाको छोरा भाइ यादव पनि परीक्षामा संलग्न थिए । ट्वाक्क भेट भयो । अनि एसएलसीका विद्यार्थीलाई पढाएर उनीहरूकै बासस्थानमा बसेको थिएँ ।

त्यो बेला मेरा दिमागमा आयो कि यहीँ खोटाङमै मेरो शिक्षक जागिर भयो भने किन पो ओखलढुंगा जानू र ?  अनि म आफ्ना प्रमाणपत्रहरूका हस्तलिखित प्रतिलिपिहरू बोकेर जिशिका दिक्तेल पुगेको थिएँ । कुनै शाखा अधिकृतले त्यो हस्तलिखित प्रतिलिपिमा रुजु गरिदिनुपर्ने नियम थियो तयो बेला । म सिडियो कार्यालयमा पुगेको थिएँ । त्यहाँ कुनै वान्तवा थरका शाखा अधिकृत हुनुहुन्थ्यो । मेरो प्रमाणपत्रको प्रतिलिपि त उहाँले वचन लगाएर टेबुल बाहिर फालीदिनुभयो । मसँग चुप लाग्नुको केही विकल्प थिएन । फेरि एकजना मावली दाइलाई सूत्र लगाएर मालको निमित्त हाकिम शाखा अधिकृत पोखरेल थरकै व्यक्तिले रुजु गरिदिनुभयो । बल्ल मैले श्वास फेरेको थिएँ । जिशिअ विश्वनाथ भट्टराई, सहायक जिशिअ विनोद भट्टराई र कर्मचारी प्रमुख वलराम पोखरेल हुनुहुन्थ्यो । त्यो बेला मलाई सहायक जिशिअले गरेको व्यवहारले मलाई निकै दुःखी तुल्यायो । उहाँले वचन लगाउनुभयो । मलाई त मान्छे नै ठान्नु भएन ।

मेरो जागिर ओखलढुंगामा हुन्छ भन्ने पक्का भएकाले मैले उनीहरूको धेरै खुसामद पनि गरिनँ । मलाई निमाविको दरवन्दीमा जानु भन्ने कुरा जिशिअ विश्वनाथ भट्टराईले गर्नुभएको थियो । तर मैले मानिनँ । यो कुरा २०३७ सालको माघ महिनाको हो । पछि २०४७ सालतिर विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मैले पढाउँदा विश्वनाथ सर पनि कलेजमा करारमा पढाउन थाल्नु भएकाले साथी भयौँ । विनोद भट्टराईको पनि विकासपट्टिको जागिर भएकाले तयो गएर पछि मोरङकै कुनै स्कुलमा शिक्षक भएका बेला भेट भएको थियो । तिनताक म विराटनगरको महेन्द्र मोरङ कलेजमा पढाउँथे । 

अँ त  म जागिरको लागि भौँतारिएर दिक्तेलमै बस्दै थिएँ । यसै बिच खोटाङ जिल्लाकै दुर्छिम भन्ने ठाउँबाट मन्त्री डिल्लीशेर राईका छोरा जिल्ला पञ्चायतका सदस्य काशिराज राई भर्खरै खोलेको हाइस्कुलका लागि हेडमास्टर खोज्न आउनुभएको रहेछ । तुरुन्त चाहिएको रहेछ । जिशिअलाई आछुआछु पार्नु भएको रहेछ । एकदिन बजारमा म त्यसै रल्लिरहेको थिएँ । बजारमा लाहुरेहरू जापानी टेपरेकर्डर बोकेर ओल्लो छेउ पल्लो छेउ ठूलो स्वरले बजाएर हिँड्थे । यसो गर्नु सभ्रान्तताको प्रतीक थियो रे । अनि यस्तै अवस्थामा जिशिअ विश्वनाथ भट्टराईले मलाई च्याप्प हातमा समाउनुभयो बिच बजारमा र  ‘खोई त्यो अस्तिको प्रमाणपत्र दिनु त, दुर्छिम गइहाल्नु मन्त्रीज्यूको स्कुलमा ।’ भन्नुभयो । साथमा बलराम पोखरेल पनि हुनुहुन्थ्यो । मलाई पाखुरामा समाएर नै काशिराज राई नजिक लैजानुभयो । त्यो दिन सायद शुक्रबारको बेलुकाको ५ बजिसकेको थियो । अफिस बन्द थियो । मेरो नियुक्ति बन्न सक्ने कुरा थिएन । जिशिअले मलाई ‘तपाईँ गइहाल्नु तपाईको नियुक्तिपत्र म पठाइदिन्छु’ भनेकाले म शनिबार काशिराज राईसँग हिँडिहालेँ । मलाई त यसरी छिनाझपटी गरियो कि म आफैँ छक्क परेँ । काशिराज राई घोडामा हुनुहुन्थ्यो । उहाँका आसेपासेसँग म दुर्छिमतिर लागेको थिएँ । दिनभरि हिँडेपछि हलेसीमा पुगेर बास बस्नुपर्यो । भोलिपल्ट त्यहाँभन्दा एक घण्टाको बाटो दुर्छिम पुर्याइएँ । यसरी म माविको अस्थायी हेडसर भएको थिएँ । मेरो बसाइ मन्त्री डिल्लिशेर राईको घरमा थियो । खानबस्न फ्रि थियो । अन्यत्र पैसा खर्च गर्ने ठाउँ थिएन । पैसा त सर्लक्क बच्थ्यो । त्यति होलो–खुकुलो पैसा खेलाउन जीवनमा फेरि पाइएन ।

२०३७ सालको फागुनदेखि २०३८ सालको फागुनसम्म मैले सो माविमा शिक्षक भएर काम गरेँ । म म्याथ र साइन्सबाहेक सबै विषय पढाउथेँ । पछि बुद्धिराज घिमिरे चुइचुम्माबाट सरुवा लिएर आउनुभयो हेडसर भएर तर तत्काल नै उहाँले निजामति सेवाको सुब्बा पास गरेर हिँड्नुभयो । 

यसैबिच शिव कटुवाल नामका व्यक्ति अस्थायी निमित्त हेड मास्टर भएर आउनुभयो । मेरो मन कुँढिएको थियो । किनभने उहाँ पनि अस्थायी र बिए पास मात्र म पनि बिए पास मात्र भएपछि उहाँलाई नयाँ नियुक्ति सोर्सकै खेल थियो होला । म चिन्तित थिएँ । २०३७ सालको जनमत संग्रहमा मैले बहुदललाई भोट हालेको थिएँ । त्यो कुरा त्यहाँ थाहा भयो । पूराका पूरा निर्दलमा भोट हालेको गाउँमा मेरो भोट बहुदलमा जानु पनि स्वाभाविक रहेनछ । पछि काशीराज राईले मलाई यो कुराको संकेत गर्नुभएको थियो ।

त्यसैगरी स्कुलमा स्ववियुको चुनाव गराएर नामावली जिल्ला पठाउनुपर्ने थियो । मैले चुनाव नै गराइदिएँ । त्यो त झन् राजनीतिकि रूपले निकै कडा कुरा रहेछ । यसो नाम मनोनित गरेर पठाउनुपर्ने थियो भनी काशीराज राईले मलाई भन्नुभएथ्यो । त्यो बेला निर्वाचित सभापति यादव राई र सचिव नरेन्द्र राई मलाई अझै राजनीति सिकाएको रूपमा हेर्छन् । त्यो क्षेत्रमा कम्युनिष्टको जग हाल्ने काम त्यही घटना हुन गएछ ।

म निमित्त हेडसर भएकै बेला एउटा घटना घट्यो । स्कुल मास्तिर मङ्गलबारे हाट लाग्थ्यो । एकजनाले त्यही बजारमा मस्त रक्सी खाएर स्कुलको अफिस अगाडि आएर पिसाब फेरिदिए । मैले के गरेको यो मात्र भनेको थिएँ कि उनले मलाई आमा चकारी गाली गरे । ‘तेरा मधिसे, यो स्कुल तेरा बाउको हो ? यो स्कुल बनाउँदा ढुंगा बोकेको काँधको घाउ अझै निको भएको छैन । तँ मधिसेको शासन ?’ भनेर गाली गरे । र एकमुक्का मेरो पाखुरामा हाने । मैले ओख्रेको प्रहरी कार्यालयमा उजुर गरेँ । जिल्ला शिक्षा कार्यालयमा पनि उजुर गरेँ । पाँच दिनपछि पुलिस आयो । मैले त माफ गरिदिएकै थिएँ । तर राई गाउँमा डर भने लागेकै थियो । चार इञ्च काट्दा पनि ख्यालख्याल भन्छ राईले भन्ने आहान क्षेत्री बाहुनमा चलेको थियो । 

त्यतिबेला पञ्च भलाद्मी पुलिस सबै बसेर पञ्चेती गरे । मलाई उनको खुब माया लागेर आयो । मैले यो दण्ड नगरौँ, विचरा गरीबलाई यस्तो दण्ड नगरौँ भनेर भुखुण्ड गरेँ तर मानेनन् । विचराले खेती गर्नुपर्ने गोरु बेचेर मलाई क्षतिपूर्ति तिर्ने भए । मैले सो पैसा नलिने अकाट्य निर्णय सुनाएपछि सो पैसा सञ्चालक समितिले स्कुलको खातामा राख्यो । र स्कुलको निर्माणमा खर्च गर्यो । बिचराले त्यहाँ उपस्थित भएका पञ्चभलाद्मीलाई कुखुरा र रक्सी खुवाउनु पनि पर्यो । त्यतिबेला सबैभन्दा मजाको कुरा के भएको थियो भने मैले रक्सी नखाएकाले माफ गरेको ठहरिएको थिएन । बिचरालाई यो कोखामा दाह्रा भएको जातले के गर्ने हो भन्ने त्रास रहिरह्यो । मैले उनलाई माफ गरिदिएको कुरा सयपल्ट भन्नुभन्दा बरु एक सुरुप रक्सी खाएको भए सजिलो हुने रहेछ । के गर्नु तिनताक म रक्सी खान्न थिएँ ।

दुर्छिमको मास्टरीले मलाई चाम्लिङ राईका सभ्यता, संस्कृति, सौहार्द्र, जातिगत विशेषता, भाषा अल्प नै भए पनि सिकायो । ज्यादै धनी राईदेखि ज्यादै गरीब राईसम्मको अवस्थाबाट थाहा भयो । राईमा प्रचलित चोरी बिहे पनि खान पाइयो । त्यो बिहे मेरै अर्का राई शिक्षक साथीको थियो । बारीका पाटामा बसेर टपरीमा धानको भात र खसीको मासुको झोल हालेर खाएको सम्झना कति गर्दा पनि गएन । 

डिल्लीशेर राई आफू साक्षर पनि हुनुहुन्थेन । तर सहायक मन्त्रीसम्म हुनुभएको थियो । पौरखिलो हुनुहुन्थ्यो । असाध्य शिक्षाप्रेमी हुनुहुन्थ्यो । म उहाँकै घरमा बस्थेँ । घरमा धेरै जना नोकरचाकर थिए । एकजना बस्नेत थरका थिए । राजनीतिमा वर्गविभेदको उदाहरणका लागि यो पर्याप्त थियो । किनकि त्यही ताका बस्नेतका घरमा राई पनि देखेको थिएँ ।

घरमा ४ थान एमानका भोटे कुकुर थिए । तिनमा ३ थान डाँगा १ थान छाउरी थिए । दिनभरि त्यो छाउरीलाई एउटा अपारदर्शी खोरमा थुनिन्थ्यो । डाँगा आँगनतिर, कान्लातिर सुतेर बस्थे । कसैलाई टोक्दैन थिए । उहाँको घरमा सधैँ हुलका हुल मान्छे आउँथे । डाँगा कुकुरले केही गर्दैनथे । रात परेपछि छाउरीलाई खोरबाट खोलिदिन्थे । त्यसपछि भने ती डाँगा कुकुरले मुसालाई पनि आउन दिँदैन थिए । कस्तो रमाइलो ! केटीको नाममा मान्छेले फाइट गरेको जस्तै लाग्यो मलाई त । अझ केटीको सुरक्षा केटाले गर्नुपर्छ भनेजस्तै मानसिकता हुँदो रहेछ कुकुरमा पनि जस्तो लाग्यो । 

यहाँ अधिकांश चाम्लिङ राईको बसोबास थियो र चामलका बियाँजस्ता क्षेत्रीबाहुन पनि थिए । तर यसरी मिलेका थिए कि कुनै समस्या नै थिएन । साइनो लगाएर बोलाउने परिपाटी थियो । मितेरी साइनो त कतिकति । समाज दमनमा थियो होला, तर एकदम कसिलो थियो ।

यसैविच मेरो गाउँ सप्तरीको बलुवामा एउटा जाली प्रधानपञ्चलाई कालो मोसो दलेर जंगलतिर लगिएको घटना थियो । यसै निहँुमा मलाई समेत मुछेर अञ्चलाधीश लक्षबहादुर गुरुङले आफैँ आएर हाम्रो गाउँ नै घेरे । त्यो बेला मेरी हजुरआमा स्वर्गवास हुनुभएको थियो र बुवा कोरामा नै हुनुहुन्थ्यो । एउटा सामान्य सांस्कृतिक मर्यादा पनि नाघे उनीहरूले । मलाई गाउँभरि घुमाए तर पिटेनन् । त्यसको केही दिनपछि मलाई कञ्चनपुर थानाका थानेदार सायद कैलाश सुब्बा नाम थियो उनको, ले राति आएर अनायास मलाई समाएर दन्द्री नजिकै लगेर अनाहकमा मेरा गालामा एक झापड हानेको सम्झन्छु र मेरो गाला अझै झुन्झुनाएझैँ लागिरहन्छ । उनले मलाई कञ्चनपुर थानामा लगेर थुने । राजविराज चलान गर्न खोज्दै थिए सायद र त्यसैबेला मलाई कपिलदेव परमार जसलाई हामी कपिल बाबु भन्थ्यौं, उहाँ प्रभावशाली पञ्च हुनुहुन्थ्यो र उहाँले मलाई थानाबाट छुटाएर ल्याउनुभएको दृश्यले मेरो मन अझै पुलकित हुन्छ । हामीले कम्युनिष्ट संगठन बनाउँदा उहाँलाई सामन्त करार गरेको पनि सम्झिन्छु । पछि बहुदल आएपछि उहाँ पनि कम्युनिष्ट नै हुनुभएको घटना पनि ताजा भएर आएको छ । यो लेखिरहँदा उहाँ बितिसक्नु भएको छ । म उहाँलाई अहिले धेरै सम्मानका साथ हार्दिक समवेदना भन्छु।  

यसै निहुँमा भविष्यमा अयोग्य नहुने गरी मेरो दुर्छिमको मास्टरी जागिर खोसियो । म रुँदैरुँदै कटारीतिर लागेको थिएँ । यसरी मेरो मास्टरी खोसिएको थियो ।

मास्टरी जागिर खाने क्रममा खोक्सेलीकी चरकुमारी दाहालले मलाई भनेको कुरा सम्झिन्छु – यो पहाडमा कुहुन्छ त मान्छे ! मधेसको मान्छे के खोज्दै पहाड आएको ! काठमाडौँ पो जानुपर्छ त । कस्तो होला !’  

तर मलाई त्यो हुँदाखाँदाको जागिर चटक्क छोडेर हामफाल्ने न जोस थियो न आँट । तर के गर्नु जागिर खोसिएपछि म घर सप्तरी आएँ । सबैमा जागिर खोसिएको निराशा थियो । सबैले एकपल्ट अञ्चलाधीश लक्षबहादुर गुरुङलाई भेट्ने र आफ्नो कुरो राख्ने सल्लाह दिए । किनकि म अनाहकमा मुछिएको थिएँ । त्यो घटना मेरो योजनामा भएको थिएन । म पनि यसै सल्लाहलाई आधार मानेर दुर्छिमको मास्टरी थमौतीका लागि राजविराजको अञ्चलाधीश बस्ने बडाहाकिम बंगलामा पुगेँ । सानो चिट दिएँ । बैठक कोठामा टन्न मान्छेहरू अञ्चलाधीशलाई कुरिरहेका थिए । मेरो चिट पाउनेबित्तिकै अञ्चलाधीशले बैठक कोठामा नै आएर सबैसँग ठाडठाडै कुरा सुने र बिदा गरे । अनि बल्ल मलाई भित्री कोठामा लगेर राखे । मलाई ठूलो डर थियो कि अब के गर्ने हो यो अञ्चलाधीशले । निकै कडा अञ्चलाधीश हो भन्थे । कुट्ने पो हो कि, हकार्ने हो कि । थुन्ने पो हो कि । मैले नजानु पथ्र्यो भन्ने लाग्यो त्यो बेला । तर म फन्दामा परिसकेको थिएँ । सबैलाई बिदा गरिसकेपछि अञ्चलाधीशले मलाई भित्री कोठामा लगे । चिया खान दिए । खाजा पनि दिए । राजाका फोटाहरूमा धूलो लागेको थियो । पुछ्न लगाए  र मलाई नेपालको भूराजनीतिक अवस्थाको जानकारी गराए । राजा मात्र यो देशको मियो हुन सक्छ भनेर बताए । म सुधो भएर सुनिरहेँ । हजुरहजुर मात्र भनिरहेँ । सायद उनले मेरो मनोवैज्ञानिक उपचार गरेका होलान् भन्ने लाग्यो । सतर्क भएकै थिएँ । त्यसपछि उनले भने ः त्यो जाबो पहाडको मास्टरी पनि के जागिर । म तपाईलाई यही सगरमाथा अञ्चल अस्पतालमा अधिकृत बनाइदिन्छु । तर तपाईँले मेरो एउटा काम गर्नुपर्छ ।’

सायद मैले डराईडराई सोधेँ हँुला ः ‘के काम ?’

अनि उनले भने ः ‘कम्यनिष्ट हुँ भन्दै भाँड्दै हिँड्ने फलाना, फलानालाई पक्राउन सहयोग गर्नुपर्छ । जानुस् खाँटी कम्युनिष्ट बन्नुस् । मिटिङ डाक्नुस् । तपाईँलाई हामी विशेष रङ्गको लुगा दिन्छौँ । पुलिसले त्यो मिटिङ गर्ने ठाउँलाई घेरा हाल्छ । तपाईँलाई पक्रिँदैन । एक हप्ता सोच्नुस् घर गएर । एक हप्तामा आउनु होला । आउनु भएन भने मेरो पुलिस तपाईँकै घर आउने छ ।’ फलाना फलाना भनेका मध्ये रामदेव चौधरी र उपेन्द्र साह थिए ।  

म त्यहाँबाट फन्दा छुटाएर घरतर्फ लागेँ । दिमागभरि अमिलो पानी खाएझँै भएको थियो । आफ्ना साथीलाई कसरी समात्न लगाउनु । नत्र अञ्चलाधीशले छोड्नेवाला थिएनन् । घरमा यो कुरा भनेपछि बुवा निकै उदाश हुनुभयो । मैले मनमनै एकहप्तापछि भागेर इन्डिया जाने र उतै भासिने योजना बनाएँ । बुवालाई भनिनँ । इन्डिया कहाँ जाने केही थाहा थिएन । मलाई साथीलाई पक्राउने काम गरेर आजन्म हीन भएर बाँच्नुभन्दा इन्डियाकै बास ठिक भन्ने लागेको थियो । तर मेरो सौभाग्य थियो कि त्यसको करीब छ दिनमा नै अञ्चलाधीश लक्षबहादुर गुरुङको सरुवा कोसी अञ्चलमा भयो । मेरो खड्गो कट्यो ।  पोखरामा विचरा उनी मारिँदा मलाई कस्तो नमीठो लागेको थियो । किनभने उनले मसँग ज्यादै मीठो र सभ्य बोलेका थिए ।  

अब मैले काठमाडौँ जाने योजना बनाएँ । दुर्छिममा हुँदा नै काशिराज राईसँग सक्कली जापानी टेप रेकर्डर किनेको थिएँ । मेरो गाई हेर्दाको साथी चन्द्रनारायण श्रेष्ठ (मुङ्ग्रे पाजु) तिनताक प्रहरीमा जागिर खानका लागि एसपीको क्वार्टरमा भान्से थिए राजविराजमा । उनले एसपीलाई मेरो सो टेपरेकर्डर बेचिदिएर ठूलो गुन लगाए । उनलाई पछि माओवादीहरूले सिराहाको बन्दीपुरमा मारे । मैले सो ऋण तिर्न पाइनँ । 

यसरी मेरो मास्टरी खोसिनु भाग्य थियो कि दुर्भाग्य,  थाहा छैन । यदि मेरो हेड मास्टरको पद नखोसिएको भए, म त्यतै हुन्थेँ होला । किनकि जागिर निश्चित थियो, सम्मानित पनि थियो । गाउँलेले मलाई देउताजस्तै मानेका थिए । म आसाध्य रमाएको पनि थिएँ । मैले कुनै विकल्प पनि खोजेको थिइनँ  तर मेरो जागिर गयो । म बेसरी रोएको थिएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा अभागी दिन थियो । त्यो जागिर गएपछि म घाटको न घरको भएँ । काठमाडौँमा दुःख पाएँ तर परिस्थितिसँग सङ्घर्ष गरेँ र म त्रिभुवन विश्वविद्यालयको प्राध्यापक जागिरे भएँ । त्रिविबाट रिटायर्ड भएको छु, र अहिले बुढेसकाल बिताउन अमेरिकामा सन्तानसँग छु ।  र मेरो मन यहाँहरूसँग सँगसँगै छ । जागिर जानुलाई म भाग्य भनूँ कि दुर्भाग्य !

प्रकाशित: २ मंसिर २०७७ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App