दिप मंग्राती निरीह
“आमै , अलिकति पानी पिउन पाइन्थ्यो कि ।” इनारबाट पानी भर्दै गरेकी पौडेल्नी बज्यैसँग निरबहादुरले अनुरोध गर्यो ।
उसले धितमरुञ्जेल पानी पियो र खुसी हुँदै भन्यो, “धन्यवाद आमै । सारै दया गर्नुभयो ।”
“ठिकै छ बाबू, हावा र पानी त सबैले पाउनु पर्यो नि । बरु बाबू यो गाग्री डोकोमा राखी दिनुस् न, धर्मै हुन्छ ।” बज्यैले सहयोग मागिन् ।
“भैहाल्छ नि आमै !” उसले पानीको गाग्री डोकोमा राखिदियो ।
“अनि बाबू को हौ नि !” बज्यैले सोधिन् ।
“ए आमैले चिन्नुभएन ! म वीरबहादुर दर्जीको छोरा निरबहादुर हुँ नि ।” उसले भन्यो ।
“ए तँ बिरे दमाइको छोरा निरे पो होस् ! तेरो काल पल्टी जाओस, मर्नु नसकेको असति ! पहिले भन्नुपर्दैन । मेरो गाग्री छोएर जुठो बनाइदिस, हरि ॐ । हरि ॐ” बज्यैले गनगनाउँदै र सराप्दै पानी घोप्ट्याइन । नजिकै भएको तुलसीको पत्र पानीमा चोबेर गाग्री चोख्याउन थालिन् ।
निरे अवाक भएर हेरिरह्यो, अवसाद लागिरह्यो ।
केही दिनपछि “लौ बित्यास पर्यो हाम्री सासूलाई, निमिया भएछ, रगत तुरुन्तै चढाउनुपर्ने रे, उहाँको रगत कहीँ पनि पाइएन” भन्दै बज्यैकी बुहारी हारगुहार मागिरहेकी थिइन् ।
सन्जोगले निरबहादुर पनि त्यही बाटो जाँदै थियो । उसले सोध्यो, “भाउजू, कुन ग्रुप हो बजुको रगत !”
“ए प्लस बी अरे नानी ।” बुहारीले खुसी हुँदै भनिन् ।
“ए भाउजू, त्यो ग्रुप त मेरो हो नि ।” उसले भन्यो ।
बुहारीले आत्तिएर भनिन्, “लौ न बाबु, रगत दान दिएर मेरी सासूको ज्यान बचाइदिनुहोस् !”
पौडेल्नी बजै अस्पताल शय्यामा दीनहीन भएर पल्टेकी थिइन् ।
“आमा, अब तपाईँलाई केही हुन्न । निरे बाबुले रगत दिनुभयो ।” बुहारीले भनिन् ।
“को निरे !” बज्यैले सकीनसकी आँखा खोलिन् ।
“म निरबहादुर क्या त वीरे दमाईको छोरा, पानी त चल्दैनथ्यो बज्यै तर अब तपाईँको शरीरमा म दमाईँको रगत चलेको छ कि छैन बज्यै !” निरेले अवसादमै जवाफ दियो ।
आमैले निरेलाई टिठलाग्दो नजरले हेरिन् । सायद उनका आँखामा पनि अवसाद झल्किरहेको थियो ।
प्रकाशित: २६ कार्तिक २०७७ ०८:२३ बुधबार