९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

त्यसपछि कहिल्यै माछा मार्न गइएन

बाल्यकाल

सूर्यप्रसाद लाकोजू

 

हाम्रो घर पनौती बजारमै थियो । यो सहर रोसी र पुण्यमाता खोलाको बीचमा छ । उत्तरतिर पुण्यमाता र दक्षिणतर्फ रोसी खोलाको कलकल ध्वनिसँगै बिउँझने र त्यही खोलाको सुमधुर ध्वनि सुनेर सुत्ने बानी परेका हामी नदिकै जल पिएर आफ्नो जीवन निर्वाह गरिरहेका थियौं । यहाँ भएका केही इनार र रोसी खोलाको पानी नै खानेपानीको मुख्य स्रोत थियो धाराको व्यवस्था नहुन्जेलसम्म ।  

म सानो छँदा अहिलेजस्तो धेरै पढ्दैनथ्यौ । पुस्तकहरू पनि थोरै हुन्थे । गृहकार्य पनि थोरै नै हुन्थ्यो । त्यसैले अधिकांश समय हामी साथीहरूसँग खेलेर बिताउँथ्यौं । त्यसबेला तेलकासा, आसपास, गाङकासा, घःकासा, वँ वाः, थ्वँ वाः, है बाबा जस्ता स्थानीयस्तरमा खेलिने खेलहरू खेल्दै रमाउँथ्यौ । त्योबाहेक फुर्सद भएको बेलामा ठूला दाइहरूसँग मिलेर माछा मार्न जान्थ्यौं ।

पनौतीको असला माछा भनेपछि निकै प्रख्यात थियो । त्यसबेला काठमाडौ, भक्तपुर, ललितपुरदेखि यहाँ आएर मानिसहरू असला माछा किन्ने गर्दथे । असला माछा निकै स्वादिलो हुन्छ । यो माछा स्वास्थ्यका दृष्टिकोणबाट पनि निकै उपयोगी हुन्छ भन्ने कुरा हामीले बूढापाकाहरूबाट सुन्दै आएका थियौं । विशेष गरेर मीठो तिक्खर स्वादका कारण यसको ख्याति बढेको हुनुपर्छ ।

हाम्रो नगरको दुईतर्फ दुईओटा नदी रहेका थिए । एकै स्थान भएर बग्ने दुई नदी भएता पनि दुवैको प्रकृति भने फरक रहेको छ । पुण्यमाता नाला, बनेपा  हुँदै बहने गर्दछ । यो शान्त प्रकृतिको नदी हो  तर रोसीको तुलनामा यो गरम प्रवृत्तिको छ । यस नदीमा पाइने माछाहरूलाई स्थानीय भाषामा  धोबी ङा, कछे,ङा छ्वसा ङा, घः ङा आदि भन्ने गरिन्छ । यहाँ असला माछा पनि पाइन्छ तर अन्य माछाको तुलनामा कम । रोसी खोलाको स्वभाव उग्र छ । यसको बहावमा तीव्र्रता छ । यसको स्रोत फुलचोकी पर्वत हो । यो नदीको पानी चिसो र कञ्चन भएका कारण पनौतीमा धारा नहुँदा यहीकै पानी खाने चलन थियो । तर अहिले पानी केही धमिलिएको छ । यहाँको पानी असला माछाका लागि निकै उपयुक्त भएका कारण यहाँ असला माछा निकै थियो । तर अहिले विविध कारणले गर्दा दुवै खोलामा माछा पाउन कठिन छ ।  

त्यो बेला माछा मार्दै घरको तरकारी टारेको अनुभूतिले अहिले पनि मेरो मनलाई रोमाञ्चित  पार्ने गर्दछ । मेरो संगत पहिलेदेखि नै आफूभन्दा उमेरमा अलि ठूलासँग भयो । उहाँहरू मलाई सानो भएकाले होला माया पनि गर्नुहुन्थ्यो । उहाँहरूसँग फुर्सदमा म पनि माछा मार्न जान्थें । हामीसँग खोलामा माछा मार्ने बेलामा हाम्रो हतियार भनेको एउटा कोदालो र एउटा पानी फाल्ने बाल्टी हुन्थ्यो । हामी कोदालोले चपरी काट्थ्यौ र खोलाको एकछेउमा पानी थुनेर अर्को छेउबाट पानी पठाउँथ्यौ । माछा पार्ने काम प्रायः हिउँदमा हुन्थे । बर्खामा खोला ठूलो हुने भएकाले थुनछेक गर्न सकिंदैनथ्यो । एकछेउबाट खोलाको पानी पठाएर वरपर थुनेपछि बाल्टीले भित्रको पानी फाल्थ्यौ । पानी नभएपछि ढुंगााको कापमा लुकेर बसेका माछा छटपटिँदै बाहिर निस्कन्थे अनि हामी माछा समात्थ्यौ । कहिलेकाहीं माछा समातेर फुत्केपछि दाइहरू माछाको वास्तविक आकारभन्दा ठूलो गरेर हातले माछाको आकार यत्रो थियो भन्नुहुन्थ्यो । माछा मार्न म पनि खप्पिस थिएँ । दाइहरू यो जिरे खुर्सानी हो भन्नुहुन्थ्यो ।  

माछा मारिसकेपछि माछाको भाग लगाउने हाम्रो चलन पनि अपारको थियो । माछा मार्दा विभिन्न थरीका माछाहरू हुन्थे । असला पनि हुन्थ्यो । सबैको रोजाइ असला माछा नै हुने भैहाल्यो  तर असला सबैलाई भाग पुग्दैनथ्यो । असलापछि प्राथमिकतामा पर्ने कछे माछा हो । यसको शरीरमा काँडा हुँदैन । पेटमा फोहोर पनि हुँदैन । तर यो पनि सबैलाई बराबर भाग पुग्ने कुरा भएन । त्यसैले माछा भाग लगाउने एउटा चलन थियो । चलनअनुसार सकेसम्म माछाको बराबर भाग लगाउने अनि सबैजना वरपर बस्ने । एकजनालाई भने माछाको भाग नदेख्ने गरी राखिन्थ्यो । भागको वरपर बस्नेहरूले जति जनालाई भाग दिनुपर्ने हो सोहीअनुसार भाग पाउने मान्छेको नाममा सानो ढुंगा, लीको टुक्रा, घाँस जस्ता बस्तुहरू भाग लगाइएको माछासँगै राख्ने गरिन्छ ।  अनि समूहमा रहेकाहरूले भयो भन्ने संकेत गरेपछि माछाको भाग नदेख्ने गरी राखिएको साथी आएर अघि मान्छेको नाममा छुट्याइएका वस्तुहरू माछाको भागमा राख्दै जान्थ्यो अनि आफ्नो नामअनुसारको माछाको भाग लिएर आआफ्ना घरतिर लाग्थे ।  

यसरी भाग लगाउँदा एकपटक एकजना साथीको भागमा असला राम्रा माछा परेन छ । हामी सबै भाग लिएर घरतिर आउँदै थियौं । मसँग अलि बढी मिल्ने एकजना साथी थियो । बाटोमा आउँदै गर्दा उसको अनुहार निन्याउरो देखें । उसलाई के भो? भनेर सोधें । ऊ त आँखाबाट बर्बरी आँसु भार्दै रून पो थाल्यो । मैले किन रोएको भनेर सोधें । ऊ केही बोलेन । “किन नबोलेको?” मैले सोधें । “मेरो भागमा असला माछा परेन । ” उसले बोलेको त्यति हो । मेरो भागमा असला माछा थियो । मैले साथीलाई आफ्नो भाग दिएर उसको भाग आफूले लिएँ । बल्ल उसको अनुहार हँसिलो देखियो । हुन त उनको स्वभाव सानो कुरामा पनि रूने थियो । त्यसैले साथीहरू उसलाई रून्चे भनेर   जिस्क्याउँथे । 

माछा मार्न गएको बेलाको एउटा अर्को घट्ना पनि स्मरणीय छ ।  हालको पनौती बजारभन्दा दक्षिणतिर खेतीयोग्य ठूलो फाँट छ । यहाँका जनताहरूको मुख्य पेशा भनेकै कृषि थियो । अहिले पनि थुप्रै मानिस कृषिमै निर्भर छन् । असोज–कार्तिक महिनातिर यहाँ धान काट्ने काम सुरु हुन्छ ।  धान काट्नुभन्दा पहिले खेत सुक्खा बनाउन खाँद झिक्ने गरिन्छ । खाँद झिकेपछि कुलामा माछा मार्नेहरू थुप्रै हुन्थे । अहिले पनि त्यो समयमा केटाकेटीहरू माछा मार्दै हिंडेको कहिलेकाहीं देख्छु । हिले माछा पनि खानलाई मिठै हुन्छ । यो माछाका लागि धेरै पानी पनि नचाहिने, हिलो मात्र भए पनि बाँच्न सक्ने भएकाले यसलाई हिले माछा भनेको हुन सक्छ ।  

एकपटक हामी तीनजना साथी पनि माछा मार्न खेततिर लाग्यौं । हामी १२÷१३ वर्षका थियौं होला त्यो बेला । हामीमध्ये एकजना साथी माछा मार्न निकै सिपालु थियो । ऊ डराउँदैनथ्यो । हामी पनि उसलाई तिमी त खतरा छौ भन्दै उस्काउँथ्यौ । खेतका कुलामा माछा दुलो बनाएर बस्थ्यो कुनैकुनै दुलोमा त धेरै माछा हुन्थ्यो । मेरो त्यो साथी भने दुलामा हात पसाउन पनि नडराउने, हात पसाउँदै माछा निकाल्ने । मलाई भने निकै डर लाग्थ्यो । मेरो काम धानको बालामा माछाको सील उन्ने हुन्थ्यो । उनीहरूलाई रिस उठ्यो भने “तिमी सील मात्र उनेर बस्छौ । तिमीलाई माछा पनि आधा भाग मात्र दिने हो ” भन्थ्यो । म उनीहरूलाई फकाउँथें । यसरी त्यो साथीले दुलाभित्र हात हाल्दै माछा समात्दै थियो । हामी अगाडि बढ्दै थियौं । केही पर पुगेपछि उनले एउटा दुलोमा हात पसायो । कत्रो ठूलो माछा भन्दै उसले दुलोबाट हात निकाल्यो तर माछा होइन सर्प रहेछ । हामी दुई साथी सर्प... सर्प .. भनेर कराएपछि  उसले फुत्त फाल्यो । 

धन्न उसको हात सर्पको घाँटीमै परेको रहेछ र बच्यो । अन्त परेको भए.....! हाम्रो हंसले ठाउँ छोड्यो । एकछिन त हामी तीनजना निशब्द भयौं । अब माछा मार्ने कुरै भएन । त्यहाँबाट हामी घर फक्यौं । जहिले पनि गफ गर्दै रमाउने हामीहरू बाटाभरि केही बोलेनौ । हाम्रो ओठमुख सुकेका थिए । धन्न, साथीलाई सर्पले टोक्न भ्याएन । त्यो दिनदेखि खेतका कुलामा कहिले पनि माछा मार्न गइएन । धान काट्ने समय आउँदा अहिले पनि म त्यो क्षण भलझली सम्झने गर्दछु ।  

प्रकाशित: २३ कार्तिक २०७७ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App