१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

खल्लो दसैं

दशैं अनुभव

भावना पौडेल

 

हाम्रो घर पहाड हो । यसपटक कोरोना महामारीका कारण हामी घर जान पाएनौं । पहाडमा जस्तो रमाइलो काठमाडौंको दशैं रमाइलो भएन । मलाई यो दशैं खल्लो लाग्यो ।  

हामी दशैंमा घर जान्थ्यौ । पहाडमा हामी आमाबाको हातबाट टिका लगाएपछि वरपर अन्य बुबाआमाको घरमा पनि टिका लगाउँथ्यौ । बाआमाले कहिले आयौं , कति दिन बस्छौ, के खाने भनेर सोधेको कुरा मेरो मनमा खेलिरहे । यहाँ त सधैं एकै परिकार । मलाई यो देखेर दिक्क लाग्यो । 

पहाडमा बाले लाइन लाएर झुन्ड्याउनु भएको केराका काइँयाहरू । आहा छानीछानी मर्चे, माल्वक, झर्पी, धुस्रे कुन खाने, छानीछानी खान पाइन्थ्यो । मलाई माल्वक केराको स्वाद अरूभन्दा मीठो लाग्छ । बाले मेरो लागि भनेर छुट्टै एक घरी नै राखिदिनुहुन्थ्यो । बाटामा टिका लगाउनेको ताँती कति राम्रो । वरडाँडा र पधेँराको लिङ्गे पीङ मनमा आयो तर मैले लिङ्गे पीङ नखेली नै यो दशैं गयो ।  

आमाले घरमा सप्तमीको दिनमा पूजाका लागि चढाउन पकाउनुभएको खीर र सानो आकारको घ्यूमा पकाएको सेलरोटी कति मीठो हुन्थ्यो । यहाँ ममीले पनि हामीलाई खीर त बनाइदिनुभयो तर त्यो पहाडको जस्तो मीठो भएन । सेलरोटी पनि साह्रो भयो । बजारबाट ल्याएको केरा पनि बोक्रा कालो भएर अमिलो भयो ।  

पहाडमा यतिबेला अम्बक पाउने सिजन हो । बाले मलाई राम्रोसँग पाकेको अम्बा ल्याइदिनुहुन्थ्यो । पहाडको अम्बक साह्रो गुलियो हुन्छ । हाम्रो बारीको छेउमा एउटा खन्यूको बोट छ । त्यसमा फल फल्छ त्यो अति नै मीठो छ । त्यो पनि यस वर्ष मैले खान पाइनँ। लामपुछ्रे चराले मेरो भाग पनि रमाईरमाई खायो  होला ! 

दशैंमा हामी निबुवा पेलेर अमिलो बनाउथ्यौ । कोलमा अमिलो पेलेको र साँझमा ठूलो खड्कुलोमा दाउरा हालेर आँगनमा अमिलो पकाउँदै सेलरोटी सेकाएर खानुको मजा पनि मैल गर्न पाइन । मलाई अचार मनपर्छ । म बाबालाई अमिलो पेल्न निबुवा टिप्न सघाउथेँ । निबुवाको खोइलाको भित्री भाग निकालेले ममीले सुकाउनुहुन्थ्यो । म पनि ममीलाई सघाउँथेँ । त्यो सुकेपछि अचार खान राम्रो हुन्छ । सुकाएर राखेपछि निबुवाको त्यो भित्री भाग बिग्रदैन । त्यो आफूले चाहेको बेलामा खान सकिन्छ ।

मलाई खुर्सानीको अचार पनि मन पर्छ । बाले अमिलो पकाउँदा त्यसबाट निस्कने गाजबाट निस्केको अमिलो सुकेको खुसार्नीमा राख्नुहुन्छ । त्यो अमिलोले खुर्सानीलाई गलाएपछि खुसार्नीका ढिडीहरू गलेर सानासाना डल्ला बन्छन् । अमिलाले गर्दा खुसार्नी त्यति धेरै पीरो हुँदैन । त्यो खानासँग धेरै मीठो हुन्छ । म धेरै पीरो त खान सक्दिनँ तर मलाई यो अचार पनि मीठोे लाग्छ । 

हामी शहरमा बसे पनि बाआमाले हामीलाई गाउँका यस्ता खानेकुरा समयसमयमा पठाइदिइरहनहुन्छ । हाम्रो गाउँको काकाको गाडी हप्तामा एकपटक काठमाडौं आउँछ । त्यही गाडीले हामीलाई खानेकुरा ल्याइदिन्थ्यो । तर, यसपटक कोभिडको कारण त्यो गाडी पनि काठमाडौं आएन । हामीले गाउँका यस्ता परिकार पनि खान पाएनौ ।

गाउँमा गोठमा गाई, बाख्रा र खसीसँग खेल्न पाइन्थ्यो । साना दूधे पाठाहरूको चकचक झन् राम्रो लाग्दथ्यो । बारीमा फूलहरूको लहर, थाक्रोमा झुन्डिएका काक्रा, बट्टामा बनेको काक्रोको खल्पी सबै संझेर मुखमा पानी आयो । आमाले बनाएको तिलको छोप हालेको दूधेको अचार आहा ! यी सबै संझनामा बिते खान केही पाइएन । बिहान  भाले बासेको । कुखुराका चल्लाहरू जुझेको । सुन्न र हेर्न पाइएन । 

दूधबाट बनेको कुराउनी, दूधकोसीको माछा, भालेको मासु, बाबाले बनाएको खसीको पक्कु सबै संझनामा आए । अझ गाउँका दिदीभाइसँग खेल्दाको मजा सबै संझनामा आए तर ती कुनै कुराको अनुभूत गर्न पाइएन । खल्लोखल्लो भएर बित्यो यो वर्षको दशैं । मलाई आशा छ अर्को वर्ष यी सबै समस्याको समाधान हुनेछ र म मजाले पहिलेजस्तै रमाउने छु ।  

प्रकाशित: २२ कार्तिक २०७७ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App