खेमराज पोखरेल
नानीबाबुहरू,
आज म तिमीहरूलाई अमेरिकामा र नेपालमा बच्चा कसरी हुर्कन्छन् भन्ने तुलनात्मक हुर्काइ मनोविज्ञान तथा परिवेश बताउँछु है ।
अमेरिकामा बच्चा जन्मनुभन्दा पहिले नै नाम जुराउँछन् । त्यही नाममा उसको जन्मदर्ता हुन्छ । त्यो जन्मदर्ता उसको जीवनको महत्वपूर्ण कागज बन्छ । प्राय शतप्रतिशत बच्चा अस्पतालमा जन्मन्छन् । अस्पतालबाट डिस्चार्ज भएपछि बच्चालाई विशेष प्रकारको कार सिटमा राखेर बेल्टले बाँधेर कारको पछाडिपट्टिको सिटमा राख्नुपर्छ । काखमा लिएर हिँड्न पाइन्न । कारको अघिल्लो सिटमा पनि राख्न पाइन्न ।
नेपालमा बच्चा जन्मेपछि न्वारानका दिन बच्चाको नाम जुराइन्छ । जन्मदर्तामा बच्चाको नाम हुन्न । नेपालमा जनसंख्याको केही प्रतिशत मात्र बच्चा अस्पतालमा जन्मन्छन् । अस्पतालबाट डिस्चार्ज हुँदा आमा वा आफन्तले कपडामा लपेटेर छातीमा टाँसेर लिन्छन् । नेपालमा कार हुनेका पनि बच्चा कारको अगिल्लो सिटमा बस्छन् ।
अमेरिकामा सामान्यतया जन्मेको बच्चाका लागि अलग्गै कोठा चाहिन्छ । यदि अलग्गै कोठा छैन भने आफू सुतेकै कोठामा अलग बेडमा सुताउनुपर्छ । बच्चासँग सुत्न पाइन्न । बच्चालाई क्यामराले सुपरभिजन गर्नुपर्छ । बेलाबेलामा खुवाउने गर्नुपर्छ । बच्चा सुत्ने कोठामा बच्चाको उमेर समूहअनुसारका खेलौनाहरू राखिनुपर्छ । खेलौना कम्प्युटर, गाडी, साइकल तथा उसको लागि चाहिने खेलौनाको व्यवस्था गरिनुपर्छ । यसबाट बच्चा बिस्तारैबिस्तारै आत्मनिर्भरको बाटोमा लाग्छ ।
नेपालमा जन्मेको बच्चा आमासँग टाँसिएर सुत्छ । जस्तै धनी भए पनि बच्चालाई अर्को कोठामा सुताउँदैनन् । सुत्ने कोठामा पर्याप्त खेलौना पनि राखिएको हुँदैन । बच्चा लामो समय आमाबाबुसँग सुत्ने भएकाले बच्चामा परनिर्भरता बढ्दै जान्छ ।
अमेरिकामा बच्चालाई सानैदेखि पैसाको बारेमा ज्ञान दिइन्छ । उसलाई आफ्नो पैसा भन्न सिकाइन्छ । उसलाई सधैँभरि खानेकुरा, लाउने कुरा, खेल्ने कुरा, सबै कुरामा च्वाइस दिइन्छ । च्वाइस असीमित भने हुँदैन । दोकानमा लगेर कुनै दुई सामान छान्न लगाउँछन् । यो अनुशासनमा बच्चालाई राख्छन् । यसो गर्दा उसमा पैसाको महत्व थाहा हुन्छ । पैसा कमाउन ऊ चाहन्छ । त्यसका लागि काम गर्नु जरुरी हुन्छ भन्ने उसले बुझ्छ । यसरी बच्चामा कमाउने र आफ्नो जिन्दगीको निर्णय गर्ने क्षमताको विकास हुन्छ ।
नेपालमा बच्चालाई पैसा दिनु हुँदैन भन्ने मान्यता छ । पैसा दिए बिग्रन्छ भनिन्छ । बाबुआमाले नै उनीहरूको सामान किनिदिन्छन् । नेपालमा बच्चालाई अनुशासनमा बस्न सिकाइन्न । नेपालमा अनुशासन भनेको दमन भन्ने अर्थ लाग्छ झण्डै । नेपाली बच्चाको च्वाइस नै हुन्न । उसको च्वाइस आमाबाबुले तय गरिदिन्छन् । यसबाट बच्चामा पछिसम्म निर्णय गर्ने क्षमताको ह्रास हुन्छ ।
अमेरिकामा बच्चालाई गाली गर्न, कुट्न पाइन्न । शारीरिक वा मानसिक यातना दिन पाइन्न । यसो गर्नेलाई कडा कानुन छ । बच्चालाई तर्क र तथ्यका आधारमा सम्झाउनुपर्छ । बच्चालाई अन्याय भयो भने विद्रोह गर्न सिकाइन्छ । बोल्न सिकाइन्छ । बच्चालाई अनवरत प्रश्न सोध्न अभिप्रेरित गरिन्छ । त्यसकारण बच्चा सधैँ नयाँनयाँ कुरा सोध्न सिक्न जागरूक हुन्छ । तर्क गर्छ । स्कुलमा जानेबित्तिकै ९११ मा फोन गर्न सिकाइन्छ । यो फोन नं भनेको पुलिस बोलाउने नम्बर हो । बच्चाले यो नम्बरमा डायल गर्नेबित्तिकै एकदम चाँडो पुलिस आइपुग्छ । बच्चालाई विशेष अधिकार हुन्छ ।
नेपालमा बच्चालाई हप्काएर, कुटेर, डर देखाएर तह लगाउने र अनुशासनमा राख्ने गरिन्छ । आफूभन्दा ठूलाको गलत कुरा पनि मान्न लगाइन्छ । बच्चाले गर्ने विद्रोहलाई राम्रो मानिन्न । तर्क तथा तथ्य भन्ने कुरा हुन्न । यसका आधारमा बच्चालाई केही सिकाइँदैन । त्यसकारण आम बच्चा स्कुलमा शिक्षकसँग प्रश्न सोध्न पनि डराउँछन् । संकोच मान्छन् । नेपालमा बच्चाको विशेषाधिकार नै छैन ।
अमेरिकामा शिक्षा उसको अपरिहार्य अधिकार हो । कुनै पनि बच्चालाई कुनै पनि बहानामा स्कूल नपठाउन पाइन्न । कक्षा १२ सम्म सरकारी स्कुलहरू निशुल्क छन् । प्राइभेटमा पढाउने हो भने पैसा तिर्नुपर्छ । तर, प्राइभेटभन्दा सरकारी स्कुललाई राम्रो मानिन्छ । एउटा निश्चित क्षेत्रका लागि एउटा स्कुल हुन्छ । त्योबाहेक अन्यत्र सरकारी स्कुलमाभर्ना गर्न पाइन्न । कुनै अर्को सरकारी स्कुलमा बच्चा भर्ना गर्न त्यो स्कुल भएको क्षेत्रमा बसाइँ सर्नुपर्छ । उच्च शिक्षा भने जुन क्षेत्रको विश्वविद्यालयमा गएर लिए पनि हुन्छ । शिक्षकको चाकरी गर्नु पर्दैन । शिक्षकलाई फलाना भनेर नाम काढेर नै बोलाउनुपर्छ ।
नेपालमा पनि सरकारी स्कुलमा निशुल्क छ तर धेरै बच्चाहरू स्कुल जानबाट बञ्चित छन् । नेपालमा सरकारी स्कुललाई जागिर खाने स्कुलका रूपममात्र हेरिन्छ । सरकारीभन्दा प्राइभेट स्कुललाई राम्रो मानिन्छ ।प्राइभेट स्कुलको शिक्षा एकदम महँगो छ । आम नागरिकलाई यो शिक्षा थेगिनसक्नुको छ । शिक्षकलाई धेरै मान गर्नुपर्दछ । सामान्यतया सम्बोधनमा विशेष ध्यान दिनुपर्दछ ।
अमेरिकामा यदि कुनै बाबुआमाले आफ्नो बच्चा स्याहार गर्न नसक्ने हो भने सरकारलाई बुझाउन सक्छन् । सरकारले ती बच्चाको लालनपालनको जिम्मा लिन्छ । बाबुआमान हुने बच्चाले पनि अनाथ अनुभव गर्नु पर्दैन ।
नेपालमा भने सरकारले कसैका बच्चाबच्चीको जिम्मा लिँदैन । वालवालिकाका लागि संघसंस्था खुलेका छन् । तर तिनले बालअधिकारमा त्यति पर्याप्त भूमिका निर्वाह गर्न सकेका छैनन् ।
अमेरिकामा बाबुआमाले बच्चा १८ वर्ष नपुगुञ्जेल उसको सबै खर्च व्यवस्थापन गर्नुपर्छ । १८ वर्ष पुगेपछि त्यो बच्चा घर छोडेर निस्कन्छ । किनभने अमेरिकामा सन्तानले अंश पाउँदैनन् । कुनै बाबुआमाले खुसीराजीले दिए भने ठिकै छ नत्र त्यो बच्चा आफैँले काम गरेर आत्मनिर्भर हुन्छ । उसको पढाइदेखि लिएर, बिहे, जागिर, बसाइजस्ता जीवनको महत्वपूर्ण र सम्पूर्ण निर्णय ऊ आफैँले गर्छ । जीवनप्रति जागरूक हुन्छ । संघर्षशील हुन्छ । अमेरिकामा राज्यअनुसार कम्तीमा १८ वर्ष नभै चुरोट खान पाउँदैन बच्चाले । २१ वर्ष नभै रक्सी खान पाउँदैन ।
नेपालमा जिन्दगीभरि बाबुआमाले बच्चालाई टेवा दिन्छन् । उच्च शिक्षा र त्योभन्दा पनि माथिको शिक्षामा पनि बाबुआमाले सहयोग गर्छन् । त्यसकारण बच्चाहरू अर्काको भर पर्ने खालका हुन्छन् । नेपालमा बच्चाले आमाबाबुको सम्पत्तिमा अंश पाउँछन् । जसले अंश मुद्दाको बढोत्तरी गरेको हुन्छ । यसबाट बच्चा सधैँ परनिर्भर हुन्छ । बच्चाले सानै उमेरदेखि चुरोट र रक्सी खाए पनि त्यसलाई रोक्ने कुनै निकाय छैन ।
त्यसकारण दुवै देशका आआफ्ना परिवेश तथा सिद्धान्तका आधारमा समाज चलेको छ । बालबच्चा हुर्केका छन् । मन पर्नु र न पर्नु आआफ्ना कुरा हुन् । यहाँ दुवै परिवेशको फरक मात्र देखाएको हो ।
प्रकाशित: २१ कार्तिक २०७७ १०:३० शुक्रबार