१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

कवि शिरोमणिको मधेस साइनो

पर्साको जिराभवानी गाउँपालिकामा पर्ने काठमाडौं गाउँस्थित कविशिरोमणि लेखनाथ पौडेलको घर । तस्बिर: रितेश त्रिपाठी/नागरिक

नेपाली साहित्यमा आधुनिक युगका जन्मदाता र परिष्कारवादी धाराका थालनीकर्ता भनेर चिनिने लेखनाथ पौडेलको मधेससँगको गहिरो सम्बन्धबारे धेरैलाई थाहा नहुन सक्छ । पर्साको हालको जिराभवानी गाउँपालिकामा पर्ने तीन गाउँसँग उनको जीवनको महत्वपूर्ण कालखण्ड जोडिएको छ । जिराभवानीमा तीनवटा गाउँ छन्, वसन्तपुर, काठमाडौं र ललितपुर नामका । यी गाउँमा लेखनाथ हिउँदको समय बिताउँथे । यी नाम पनि उनैले राखेको स्थानीय बताउँछन् ।

वीरगन्जबाट पश्चिम ठोरी जाने बाटोमा जानकीटोला चोकदेखि बाटो उत्तरतिर मोडिन्छ । त्यहाँदेखि करिब चार किलोमिटर भित्र गएपछि वसन्तपुर चोक आउँछ । अगाडि बढ्दा देब्रेपट्टि ललितपुर छ भने बाटोमै काठमाडौं पर्छ । काठमाडौं टोलमा ‘लेखनाथ साहेब’ भवन छ । कसैकसैले यसलाई दरबार पनि भन्छन् । माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा त्यसले पर्सा जिल्लालाई पनि प्रभावित बनायो । त्यसपछि कविशिरोमणिका तेस्रो पुस्ता यहाँ आउन छाडे । यस ठाउँमा उनको एक सय ५० बिघा जग्गा थियो, जुन उनले बिर्ता पाएका थिए । १९४१ सालमा हालको कास्की जिल्लाको अर्घौं अर्चलेमा जन्मेका लेखनाथले २००८ सालमा तत्कालीन सरकारबाट कविशिरोमणिको उपाधि पाएका थिए ।  

बिर्ता पाएपछि लेखनाथको पर्सामा आउने जाने क्रम सुरु भयो । सुरुमा उनी सेढवानजिकको ठाउँमा बसे । जमिनदार भएकाले उनको बसाइको थलोवरिपरि एउटा गाउँ नै बस्यो, जसको नाम रह्यो नयका टोला अर्थात् नयाँ टोल । अहिले आकार र घरधुरीले निकै ठूलो गाउँ भइसकेको छ नयका टोला ।  

‘हामीले बाबुबाजेको मुखबाट सुनेको हो, त्यस ठाउँको पानी उहाँलाई मन परेन । एकपटक जाडो याममा यहाँ आएको बखत मान्छेहरू खटाएर विभिन्न इनार र कुवाको पानी मगाएर चाख्नुभयो, मन परेन । अन्तमा यो गाउँ (काठमाडौं) भएको ठाउँभन्दा पूर्वमा रहेको एउटा मूलको पानी उहाँलाई मन परेछ’, लेखनाथको पर्सास्थित घरमा २२ वर्ष चालक भएर काम गरेका ७५ वर्षीय कमल साहले भने, ‘त्यसपछि उहाँ यता बसाइँ सर्नुभयो । उहाँको जीवनको अन्तिमतिर २०१८ सालमा यो अहिले देखिएको भवन बनेको थियो ।’ नयका टोलाभन्दा यो ठाउँ उत्तरतिर र जंगलको नजिक पर्छ । लेखनाथको निधनपछि उनका दुई छोरीमध्ये जेठी पुण्यप्रभा यस ठाउँमा लामो समयसम्म परिवारसहित बसेकी थिइन् ।  

गाउँमा कवि लेखनाथलाई प्रत्यक्ष देखेभेटेका मानिस अहिले पनि भेटिन्छन् । ‘म सानै छँदादेखि उहाँलाई देखेको थिएँ । हामी उहाँसँग डराउँथ्यौं । अग्लो ज्यान, लामो कपाल र दाह्री थियो । सधैं सेतो सुरुवाल र कमिज लगाउनु हुन्थ्यो उहाँ,’ कमल साहले कवि लेखनाथको छवि स्मरण गरे, ‘उहाँले बोलेको हामीले कमै सुन्यौं । एकदम कम बोल्नुहुन्थ्यो । यहाँ दरबार बन्दा त उहाँ बूढो भइसक्नुभएको थियो ।’

लेखनाथले आफू काठमाडौंमै बस्ने भनेपछि तत्कालीन राजा त्रिभुवनले ठाउँको नाम नै काठमाडौं अनि छेउमा ललितपुर र वसन्तपुर राखिदिएको भन्नेहरू पनि छन् । तर पर्साको ठेट देहातमा उपत्यकाका यी तीन ठाउँको नाम भित्रिनुपछाडि लेखनाथ नै कारण रहेकोमा भने दुई मत छैन । कमल साहका बुवा पनि लेखनाथकहाँ काम गर्थे । पछि जेठी छोरी पुण्यप्रभाका परिवारले यहाँ खेती गर्न रसियन ट्याक्टर मगाए, जसमा कमल ड्राइभर भए । ‘यस भेगमा कसैले ट्याक्टर चलाउन जानेको थिएन । जब ट्याक्टर आयो मैले त्यसैमा चलाउन सिकें अनि २२ वर्ष चलाएँ’, साहले भने, ‘उहाँहरू गएपछि मैले कतै काम गरिनँ ।’  

जीवनको अन्तिम समयमा लेखनाथले बनाएको घरनजिकै मूलको पानी थियो । दुईतले काठको घरमा भुइँतलामा बरम्दा र दुई कोठा र माथि पनि बरम्दा र दुई कोठा छन् । गाउँको सबभन्दा अग्लो ठाउँमा त्यति बेला यो भवन बनेको थियो । माथिको पश्चिमपट्टिको कोठा लेखनाथले सुत्न प्रयोग गर्थे । त्यसमा भित्तासँगै जोडिएको एउटा खाट बनाइएको छ, जसको तीनतिर ठूलाठूला झ्याल छन् । यस भवनमा रहेको सुरुको काठको भ-याङ भाँचिएपछि फलामको सिँढी लगाइएको छ । मूल भवनभन्दा उत्तरतिर काठको दुईतले धन्सार छ, जहाँ धान भण्डारण गरिन्थ्यो । पश्चिममा अंग्रेजीको एल आकारमा काठको घरको भग्नावशेष खडा छ । यो गाईवस्तु राख्ने ठाउँ अर्थात् गोठ हो । चारजोडी गोरु र आधा दर्जन गाइभैंसी यहाँ राखिएको कमललाई याद छ । काम गर्ने मान्छेको भिड हुन्थ्यो यहाँ । कविशिरोमणि आफैंमा मग्न रहने स्वभावका थिए भने छोरीहरू र उनीहरूका सन्तान गाउँसमाजसँग घुलमिल भएका थिए । ‘खासमा जाडोयाम सुरु भएपछि उहाँहरू यहाँ आउनुहुन्थ्यो । र गर्मी फर्किन थालेपछि उहाँहरू पनि फर्किनु हुन्थ्यो’, साहले भने, ‘बीचबीचमा पनि आउनेजाने भइरहन्थ्यो ।’

२०२० सालपछि लेखनाथको देब्रे आँखालाई मोतीविन्दुले छोपेको थियो । २०२२ सालमा अन्तिम पटक उनी पर्साको काठमाडौं आएका थिए । यहाँबाट तीर्थाटनका लागि बनारस जाने उनको योजना थियो । पुस माघको महिना थियो, रेल चढेर बनारसका लागि प्रस्थान गर्न सीमावर्ती सहर भारतको रक्सौल पुगेका बेला उनलाई बिसन्चो भयो । त्यहाँबाट उनलाई चितवनको देवघाटमा उनकै इच्छाअनुसार पु-याइएको थियो । २०२२ सालको शिवरात्रीका दिन फागुन ७ गते ८२ वर्षको उमेरमा देवघाटमै उनको निधन भयो । जीवनको अन्तिम समयसम्म उनी मधेससँग नजिक रहे । उनका कति सिर्जना जंगलको किनारमा रहेको मधेसको यो एकान्त ठाउँमा बसेर रचिएका हुन् भन्ने खोजी हुन बाँकी छ ।  

उनीपछि उत्तराधिकारी बनेका छोरीहरूले पनि यहाँको माया त्यागेनन् । छोरीका सन्तानहरू माओवादीको सशस्त्र द्वन्द्व नचर्कुन्जेलसम्म यहाँ आइरहे । अन्त्यमा बिस्तारै यहाँको जग्गाजमिन बेचेर गए । तर कविशिरोमणिको मधेससँगको साइनो भने अझै कायम छ । अरूको स्वामित्वमा गइसकेको र जीर्ण भइसकेको उनको घर उभिएकै छ । त्यो भत्किएर समाप्त भएछ भने पनि उनको कारण बसेका र नामकरण भएका काठमाडौं, ललितपुर र वसन्तपुर बस्ती रहिरहनेछन् ।

प्रकाशित: २६ आश्विन २०७७ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App