जल्नुको पीडा
सायद,
तिमीलाई थाहा नहुन सक्छ
भएकै भए पनि थाहै नपाए
जस्तो गरेको हुन सक्छ
ठीकै छ जल्न देऊ
आफैभित्र एक्लैएक्लै बल्न देऊ
खरानी बनेर सकिने छु
अनि
तिम्रो गोरेटोबाट भाग्ने छु, हराउने छु
सधैंलाई मुक्ति मिल्ने छ तिमीलाई
तिमी रोएको हैन
टाढैबाट भए पनि हाँसेको मन पर्छ हेर्न ।
विडम्बना बाध्यता मेरो जीवनको
तिमी आफ्नो नहुनु नै रहेछ ।
ठीकै हो,
सबैलाई साथ दिन पनि कहाँ पो सकिन्छ र !
साथ दिन नसक्नेले
धोका पनि नदिएको भए
कति सफा हुन्थ्यो संसार !
जीवनदेखि भागेर हैन
तिमीबाट टाढिनका खातिर जाँदै छु ।
फर्किआउँछु भनेर
त्रासदीको खाडलमा पार्न त चाहन्नँ,
आइहालेछु भने पनि
अरूको जीवनयात्रामा अवरोध बन्दिनँ
ढुक्क भइदिए हुन्छ ।
के थियो अनि के छ र
मेरो जीवनमा अतीतको
सम्झनाबाहेक बाँकी अब केही
वर्तमानमा विगत भुल्न
कति कठिन हुँदो रहेछ,
भविष्यमा सकेछु भने सबै भुल्ने छु ।
भित्रभित्रै जले पनि
आवरण हँसाउनु नियति बनेको
मेरो जीवन सायद
अस्थिपञ्जर रहँदासम्म पनि हँसाइरहने छु ।
तिम्रो सुखी जीवनलाई नजिकबाट
बधाई दिन नसके पनि
कामना सधंै तिमीसाथ रहने नै छ ।
नस्वीकारे पनि
धन्यवाद त दिन्छु नै
किनकि फोहरी आत्मा भएकाहरू
समयमा नै टाढिएको
धेरै राम्रो हुन्छ जीवनमा ।
दुःख, आँसु, व्यथा र वेदना
यिनै राम्रो लाग्छन्
अब त मानव जीवनका अनुभूतिहरू ।
उद्देश्य प्राप्तिका खातिर
लगातार यात्रा गर्न विवश पाइलाहरू
घुम्दाघुम्दै थाकिएर सुस्ताएछन्
भने पनि तिम्रो प्रतिक्षा त गर्ने छैन
तर,
सफलताको कामना भने
सधैं तिमीसँगै हुने छ ।
आउने दिनमा हिँड्दै जाँदा
कतै घुम्तीहरूमा भेट भइहालेछ भने
विन्ती दुई शब्द नबोली दिएर
अतीतलाई दोहोरयाउने अर्को पाप नगर्नु
सबै प्रेमीप्रेमिकालाई चेतना भया !
प्रकाशित: १२ आश्विन २०७७ ०६:२१ सोमबार