लता केसी
नक ...नक ... घरमा को हुनुहुन्छ ? मध्यान्हको समयमा को आयो ? सीता झस्किइन् , यो कोरोनाको बेला , माथिबाटै कराइन् , ‘ को हो ? ए छोरी ढोकामा हेर त !’
‘खोई आमा , मैले त चिनिन् ’ भन्दै ढोका खोलिन् ।
सीता आत्तिएर कराइन् , ‘उसो भए ढोका नखोल’ भन्दै छोरीको हात समाउन आइइपुगिन् ।
‘के हो भाइ , किन ?’ अपरिचित एउटा युवक देखेर सोधखोज गरिन् ।
उसले भन्यो , ‘ डराउनु पर्दैन , आमा, म सेल्सम्यान हुँ । धेरै दिनपछि लकडाउन खुकुलो भयो । पापी पेट पाल्न यी सामानहरू बेच्न घरघरै हिडेको हुँ ।’
खाउँलाझैँ गरेर उनले भनिन् , ‘भो , भो तिमी गइहाल , केही चाहिया छैन हाम्रा घरमा ! लल खुरुक्क बाटो तताऊ ।’
ऊ अनुनयविनय गर्दै थियो । छोरीलाई भित्र जाऊ भनिन् र ड्याम्म ढोका लगाइन् ।
आमाको गतिविधि देखेर छोरी छक्क परिन् । उनलाई नमजा लाग्यो र भनिन् , ‘आमा , त्यसको पनि बाध्यता थियो होला । ऊ पनि मान्छे हो। कुरा सुनेर राम्रो मुखले पठाएको भए हुन्थ्यो नि बरु ।’
‘ नकरा , जिरे खुर्सानी ! खुकुरीभन्दा कर्द लाग्ने ?’ ममी च्याँठिइन् ।
केही समयपछि फेरि ढोकामा नकनक भयो । यसपाला आमाले ढोका खोल्दै भनिन् , ‘ओहो बैनी ,कति दिनपछि मुहार देखाउनुभयो त ? के हो त्यो झोलामा सकीनसकी बोक्नुभयो । किनमेल गरेर आउनुभयो कि ?’
‘ होइन दिदी , तपाईँले कोठा छाडेर हिँडेपछि हाम्रो भेट नै भएन । समय नि उस्तै पर्यो । बारीभरि तपाईँलाई मनपर्ने तरकारी फलेको थियो लिएर आएँ , चुस्स अनुहार हेर्न नि मन थियो ।’
झोला बाहिर राखेर फर्किन आँटेको देखेर उनले भनिन् , भित्रै आउनु न।’
सशंकित हुँदै भनिन् , ‘होइन , भित्र नपसूँ के रे !’
‘ ह्या ...के भनेको यो बैनीले ’ भन्दै हात समाएर तान्दै बैठकमा बसाइन् ।
छोरीलाई चिसो पेय ल्याउन अह्राइन् । अलि परैबाट गिलास राखेर छोरी अलमल्ल परेको देखेर आमाले सोधिन्, ‘ आन्टीलाई चिनिनस् ?’
– चिनेँ नि, किन नचिन्नु तर ...!
– के तर ?
‘ कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो आमा ? अझ त्यो सेल्सम्यान दाइले त मास्क लगाको थियो अनि आन्टी त विनामास्क नै भित्र आउनुभयो त ?’
प्रकाशित: ४ आश्विन २०७७ ०५:४५ आइतबार