२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

राष्ट्रकवि भेट्ने धोको

संस्मरण

 कल्पना अधिकारी 

 

 उन्चालिस सालमा म नौ कक्षामा पढ्थे। हाम्रो वार्षिक परीक्षा नजिकिदै थियो। यस्तैमा म एकदिन सहपाठी मित्र सुभद्रा र अम्बिकाजी कहाँ गए। घर पुग्दा सुभद्राजी त रोएर बसिरहनु भएको देखे। अनि लौ के भयो ? किन रुनुभएको?  मैले सोधे। त्यसबेला यो पढेर भन्दै उहाँले मलाई गौरी नामको किताब दिनुभयो। किताब पढेर पनि यसरी रुने हो ? के छ र यसमा त्यस्तो? मैले किताब टेबलमा राखे। यत्तिकैमा बहिनी अम्बिकाजी पनि आइपुग्नुभयो। उहाँले पनि के छ र यसमा तेस्तो कुरा दीदी त तेसै रोई भन्नुभयो। त्यसपछि सुभद्राजीले हामीलाई यो किताब तिमीहरू नरोई पढ्न सक्छौं त भन्नुभयो।  

आँसु नझारी गौरी पूरै पढेर सिध्याउन सकिन्छ कि सकिंदैन भनेर हाम्रो बिचमा सर्त नै लाग्यो। गौरी नरोईकन पढेर सिध्याउन भनेर अम्बिकाजी र म भाका हालेर गौर का श्लोकहरू पढ्न थाल्यौ। पढ्दापढ्दै एकछिनमा त हाम्रा आँखा रसाएर अक्षर नै नदेख्ने जस्ता भए। हामीले आँसु पुछ्दै  पढ्यौ, रुँदै पढ्यौ, सुँक्कसुँक्क र घुँक्कघुँक्क गर्दै पढ्नै नसकेर बिचबिचमा रोकिदै तिनै जना रुदै आँसु पुछ्दै पढ्यौ। गौरीले हामीलाई सामूहिक रूपमै रुवायो। अम्बिकाजी र मैले सर्त हार्यौ। उल्टो काण बिझ्यो मलाई दिलमा कस्ले निकालिदिने कस्लाई भन संझिउ यदि तिमीलाई नसंझिऊ भने ।

धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हास्दिनौ तिम्रो मात्र भयो र के सब जना बाँच्छन् तिमी बाच्दिनौ। यस्ता श्लोकहरुले हामीलाई धेरैधेरै रुवायो। किताब पढ्न छोडेर, लय हाल्न नसकेर हामी रोई मात्र रह्यौ। गौरी पढेर म यसका लेखकलाई देख्न भेटघाट गर्न चाहन्थे। तर संजोग जुरेन। पछि आइएमा पढ्दा राष्ट्रनिर्माता पाठ्यक्रममै  पढ्न पाइयो। राष्ट्रिय भावनामा चुर्लुम्म डुबेको राष्ट्र निर्माता अनि साहित्य अनुरागी साहित्यको चुरो समातेर कुरो गर्न सक्ने क्षमतावान् मृदुभाषी घनश्याम गुरुले पढाउँदा कक्षा सकिएको पनि थाहै हुँदैनथ्यो।

मेरो मनमा गौरी र राष्ट्र निर्माताका लेखकलाई भेट्ने मन झन् झन् बढ्दै गयो। पछि म काठमाडौं बसोबास गर्न थालेपछि कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा उहाँलाई देख्दा म अत्यन्त हर्षित हुन्थे। पछि उहाँलाई नजिकैबाट देख्ने उहाँलाई टिकामाला लगाइदिने शुभ अवसर भने मलाई उहाँको एक सय वर्षको शुभजन्मोत्सवमा प्राप्त भयो। महिला गीतकार संघमा आफू पनि भएकाले त्यस कार्यक्रममा सहभागी हुन पाए। त्यसपछि पोहोर उहाँलाई उहाँकै निवासमा भेटघाट गर्ने मेरो अवसर जुर्यो।

डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले उहाँको घरैमा गराएको अभिनन्दन कार्यक्रमले राष्ट्रकविसंग भेटघाट संवाद गर्ने मेरो पैतिस वर्ष अगाडि नेपाल मावि रत्ननगर चितवनमा नौकक्षामा पढ्दा किशोर अवस्थामा गौरी पढ्दादेखिको धोको अनि सप्तगण्डकी क्याम्पस भरतपुर चितवनमा राष्ट्रनिर्माता पाठ्यक्रममै अध्ययन गर्दाको चाहना पूरा भयो । आफू पनि त्यस संस्थाको सदस्य भएको कारण मलाई यो शुभ अवसर प्राप्त भएकोमा आफ्नो अहोभाग्य ठान्दछु साथै संस्थाप्रति आभार प्रकट गर्दै नेपाली भाषा साहित्यका युगनायक आदरणीय राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति यिनै शब्दद्वारा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

प्रकाशित: १ आश्विन २०७७ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App