केपी शर्मा प्रसाई
बाल्यकालमा मैले जिद्दी गरें,
बायोस्कोप हेर्छु भनी ।
आमाले मलाई लोभ्याउनुभयो,
अनुहार तकियामुनि राख भनी ।
आँखा चिम्म गर चन्दामामाको घर देख्नेछौ,
बूढी आमैले माला उन्दै गरेकी दृश्य देख्नेछौ।
जे देख्छौ त्यहीँ बायोस्कोप हो भनी जान्नु
म अनजान थिएँ
यही नै बायोस्कोप हो भनेर बुझिलिएँ।
फेरि भोलिपल्ट राति ओछ्यानमा सुती,
तकियामुनि अनुहारलाई राखी
आँखा चिम्म गरी मैले आँखा बन्द गरें।
त्यही चन्दामामाको घर अनि,
माला उन्दै गरेकी बूढीआमैको बारेमा सोंचे
मैले देखेँ बादलका घोडाहरू
आइसक्रिम खाइरहेका परीका नानीहरू
चकलेट र टफीले भरिएका बाकसहरू
अत्यन्तै लोभ्याउने परीहरूको देश
कति राम्रो थियो मेरो त्यो बायोस्कोप
सुत्नेअघि, म हरेक रात हेर्ने गर्थें ,
बाल्यकाल थियो त्यो ।
तर आज त्यो बाल्यावस्था
बादलपारिको कथा जस्तो भएको छ
अन्धकारमा हराएको सुई जस्तो छ,
अक्सर यी रातहरूमा
अधकल्चो निन्द्रामै अर्थहीन भएर सोच्ने गर्छु
उहीँ बाल्यावस्थाको बायोस्कोप ।
तर अब त्यो चन्दामामाको घर,
बूढी आमैले माला उन्दै गरेको दृश्य
र बादलका घोडाहरू देखिँदैनन् ।
मात्र देखिन्छन् ,
घरको ईन्धन र कार्यालयको फाइलहरू
कर्तव्यका पहाडहरू
ती सबै महसुस
ती सबै अवस्था कर्तव्यबोधले दफन गराएको छ,
काटिएको घाउझैं जो हमेसा दुख्ने गर्छ ।
त्यसैले।
फेरि एकपल्ट मलाई मेरो बाल्यकाल देऊ
त्यो सुन्दर बायोस्कोप देउ आमा
सिंगो मेरो चन्दामामाको घर देउ
मेरी आमा बदलामा बरु मलाई नै लैजाउ ।
आँसुले आँखा रसाउँदै अधकल्चो निन्द्रामा,
रातहरू यो सोचमा कटिएको छ कि
म किन बाल्यावस्थामा दृढ थिएँ
किन आमाले मलाई यस्तो झूठो बायोस्कोप हेर्न सिकाउनुभयो ।
प्रकाशित: २५ भाद्र २०७७ ०६:३८ बिहीबार