२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अलबिदा सम्धी !

संस्मरण

खेमराज पोखरेल

 

मेरा सम्धी मनोहर रेग्मीको २०७७ सालको भदौ १५ गते सोमबार बिहान ६.४५ मा मध्यपुर ठिमीको मनोहरापारिको आफ्नै घरमा स्वर्गारोहण भयो । घटना यत्ति हो ।यही घटनाको वृत्तभित्र आज म घुमेको छु । 

यतिबेला म मेरा सम्धीलाई मेरा सम्झनाका बाडुलीहरूमा खोज्दैछु र सम्झँदै छु सुरुका दिनबाट । उहाँका एकमात्र छोरा निरज रेग्मीसँग मेरी जेठी छोरी अनुशीलाको मगनीको कुरो खास्सखुस्स हावाले ल्याइरहेको थियो । त्यो बेला भने म सोच्दै थिएँ कि सहसचिवको रेडियोलजिस्ट छोरालाई छोरी दिने कि नदिने ! किनभने नेपाली समाजमा रहेको ‘इज्जत जोगाउने’ फर्मुलामा म कलेजको इतिहासको मास्टर पक्का पनि फेच्चा ठहरिन्थेँ भन्ने लाग्दैथ्यो । तर लमीले मलाई त्यो बेला आश्वस्त पार्दै भनेका थिए – मनोहरजी साह्रै सरल र साधारण हुनुहुन्छ । यो कुरामा फिकर गर्नु पर्दैन हजुरले ।

मैले लमीसँग यति प्रष्ट कुरा गर्नुपर्ने अवस्था किन थियो भने, मैले मनोहर रेग्मीलाई कहिल्यै कुनै मोर्चामा भेट भएर चिनेको थिइनँ । कुल, खानदान, आनीबानी, चालचलन केही थाहा थिएन ।  

बिहेको कुरा छिनिएर तयारी भइरहेको थियो । लमीले भन्नुभएको थियो – केही गर्नु पर्दैन है । अति सामान्य बिहे गर्नुपर्छ । सके मन्दिरमा ।

यसले उहाँको सरलता त्यति बेलै बुझाएको थियो । सम्धीको आफ्नो छोराछोरीमा यो अन्तिम बिहे थियो । मेरो जेठी छोरीको बिहे थियो । रहरे बिहे थियो । त्यसैले बिहेको तयारी भइरहँदा मेरा आफ्नै आफन्त जोसिएका थिए । हौसिएका थिए, म पनि रहरमा उर्लेर बिहेमा गच्छेको थैली फुकाएको थिएँ । हेर्दाहेर्दै सम्धी अति सामान्य बिहे गर्ने प्रस्ताव राखेर प्रगतिशील देखिनुभएको थियो र म प्रगतिशील भनिनेचाहिँ हुँदो नखाँदोको थैली फुकाएर बुर्जुवा भइसकेको थिएँ । 

बिहेपछि सम्धीसँग स्वाभाविक रूपले चिनाजानी भयो । आफन्तियौँ र नजिकबाट उहाँको विचार, जीवन सिद्धान्त र चालचलनबारे बुझ्ने अवसर पाएको थिएँ । मैले उहाँमा ‘सेल्फ मेड’ मान्छेको विशेषता पाएको थिएँ । त्यो भनेको उहाँ संघर्षशील, स्वावलम्बी, मितव्ययी, नियन्त्रित र दृढ हुनुहुन्थ्यो । आफ्नै जीवनलाई उभ्याउन भरमग्दुर संघर्ष गरेर मान्छेले भन्ने गरेको सफलता प्राप्त गर्नुभएको थियो । स्वाबलम्बी भनेको आफ्नो भान्साभित्रदेखि बाहिरसम्मका सबै काम आफैँ गर्न मनपराउनु हुन्थ्यो । मितव्ययी भनेको फजुल खर्ची हुनुहुन्थेन र कसैको आश गर्ने कुराबाट टाढा हुनुहुन्थ्यो । नियन्त्रित भनेको आफ्नो जीवनलाई एउटा खास तरीकाले चलाउने, भोग्ने र बाँच्ने प्रक्रिया थियो । यो नियन्त्रणमा परिवारका अरू सदस्य पर्नु पर्थेन । अरू आफ्ना संसारमा स्वतन्त्र थिए । दृढ भनेको आफ्ना काममा, योजनामा र विचारमा दृढ हुनु हो । उहाँको भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र पराभौतिक विचारहरू दृढ थिए । कुनै वाद वा प्रतिवादले हल्लाउन सक्ने अवस्था थिएन । अथवा विचार ढुलमुले थिएन । खुराकमा स्वास्थ्यप्रति सम्वेदनशील हुनुहुन्थ्यो । यस्तो विशेषता ‘सेल्फ मेड’ मान्छेमा मात्र पाइने कुरा हो । नत्र त मान्छे बाबुले वा आफन्तले हालिदिएको थाँक्रोमा न फुल्ने–फल्ने हुन् र धाक लाउने हुन् । 

त्यसकारण आफन्तका बिचमा उहाँ सफल मान्छेको उदाहरण हुनुहुन्थ्यो । 

मैले अहिलेसम्म पढेका, बुझेका, सुनेका भौतिक तथा पराभौतिक दर्शनले जन्म र मृत्युलाई स्वाभाविक प्रक्रिया ठानेको छ । जन्मेपछि मर्नुपर्छ भन्ने कुरा शाश्वत सत्य हो । यो निर्विवाद विषय हो । संसारका जुनसुकै वाद वा विचारले मृत्युको सत्यता माथि प्रश्न उठाएका छैनन् । विमति जनाएका छैनन् । त्यसैले मैले मजाले बुझेको कुरा हो – साइनो आआफ्नो हुन्छ । स्पन्दन आआफ्नो हुन्छ । मान्छे जन्मिन्छ र मर्छ । आफन्त, सम्पत्ति र रोग सवै यही लोकका साथी हुन् । ती सबै यहीँ छोडेर जाने हो । न जन्म न मृत्यु आफ्ना हातमा छन् । 

आश्चर्य लागिरहेको छ कि यति कुरा बुझेपछि पनि किन हो किन म यो मृत्युमा भाव विह्वल हुँदैछु !

पहिलो कारण उहाँको भौतिक निधनको कुरा हो । मृत्युका लागि निमित्त भएर आएको थियो क्यान्सर बेथा । विश्वास गर्नुस् कोरोना होइन । लकडाउन र बन्दलाई काइदा कानुनअनुसार नै मान्नुभएको थियो । घरभित्र नै कैद हुनुहुन्थ्यो । नत्र त अहिले कोरोनाको कारण भन्नेबित्तिकै छिछिदूरदूर गर्ने र अपहेलना गर्ने कथित सभ्य समाजिक मान्छेको कुनै कमी छैन । तर यहाँ मुख्य विषय के कारणले मृत्यु भयो भन्ने कुरा हुँदै होइन । मृत्यु भएको छ र मृत्युले आम पीडा दिएको छ आफन्तलाई । यो पीडाबोध मेरो विह्वलताको एउटा पक्ष हो । 

दोस्रो कारण त्यो मृत्युमा समयले सिर्जिएको परिवेश हो । मान्नुभयो भने व्यक्तिगत मात्र होइन डायस्पोरिक पीडा हो यो । विदेशिएका सनतानले भोग्नुपर्ने नियतिजन्य एउटा पीडा हो । सन्तान विदेश पठाएर नेपाल बसिरहको आमाबाबुको पीडा हो यो । मान्नु हुन्न भने निजी विषय मात्र हो । 

उहाँको एक मात्र छोरा याने कि मेरो ज्वाइँ अमेरिकाको बासिन्दा भएको कुराबाट कुराको उठान हुन्छ । सम्धीलाई बिरामीले चापाचाप गर्न थालेपछि नै ज्वाइँले नेपाल जाने टिकट लिनुभएको थियो । तर, नेपालमा चलिरहेको कोरोना लकडाउनकोे कारणले चाहेर पनि नेपाल जान नपाउनु परिवेशीय स्वाभाविकता थियो । फेरि टिकट सर्यो । फेरि जान पाइएन । पछि थाहा भयो कि एनआरएनलाई नेपाल जान दिइएको रहेनछ । नेपालीका लागि रेस्क्यु फ्लाइट मात्र चलेका रहेछन् । 

भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने नेपाल सरकारको निर्णय आइरहँदा त्यसकै पर्खाइ थियो । तर फेरि लकडाउनको म्याद बढ्यो । हातमा टिकट लिएर जान नपाइने परिवेश सृजना भयो । असोज १ को पर्खाइ थियो । आश थियो तर एकाएक नेपालबाट फोन आयो – सम्धी त बित्नुभो !

सम्धीले छोरो आउने त्यो सम्भावित दिन पर्खिनसक्नु भएन । सम्धीले छोरालाई उदास भएर वा हरेश खाएर ‘खुलेको भोलिपल्टको टिकट काटेर आइज है बाबु’ भनेको पनि एक महिना भइसकेको थियो । सम्धी र मृत्यु दुवै युद्धमा थिए । सम्धीले हार्नुभयो । मृत्युले जित्यो । अब जसरी भए पनि रेस्क्यु फ्लाइटबाट मिलाएर नेपाल गएर हिन्दू सनातन धर्मअनुसारको पुत्रकर्म गर्नु थियो । एक्लो छोरा भएकाले नेपालमा सो कर्म गर्ने अर्को कोही थिएन । 

यो विपन्न परिस्थितिमा पनि नेपाल कसरी जाने भन्ने प्रयत्न गर्न थालियो । अमेरिकास्थित नेपाली राजदूतावासको कार्यालयमा इमेल लेखियो । एक घण्टामै राजदूतावासबाट फोन आयो । राजदूतावासको त्यो प्रेमिल भाषा, त्यो रेस्पोन्स साँच्चिकै अमेरिकी मापदण्डभन्दा कम थिएन । त्यो फोनले हाम्रा कहरमा मलम लगाएको थियो । आश जगाएको थियो । अचम्ममा पनि पारेको थियो । नेपालीले पनि बेलामा काम गर्छन् भन्ने उदाहरण भएको थियो । त्यो फोनले नेपालको भिसा अमेरिकाबाटै लिनुपर्ने, सोको स्विकृति परराष्ट्र मन्त्रलयबाट राजदूतावासले लिने र आफैँ फ्लाइटको व्यवस्था गरेर जान सकिने बाटो देखायो । राजदूतावासको मध्यस्थतामा भइआएको रेस्क्यु फ्लाइट खाली नभएको जानकारी पनि आयो । यो सूचना निकै महत्त्वपूर्ण थियो हाम्रा लागि । 

टिकट हेर्न थालियो । बिजनेस क्लासको टिकट त्यो पनि एकहप्ता पछिको पाइयो । त्यसको मोल साढे ८ हजार डलर याने कि नेपालको ९ लाख रुपियाँ एकतर्फी भाडा बताइयो । पासपोर्ट साइजको फोटोको कुरा थियो । पासपोटलार्ई राजदूतावासमा हुलाकबाट पठाएर भिसा लाउनुपर्ने थियो । सो पासपोर्ट फिर्ता आउनुपर्ने थियो । यो सबै प्रकृया गर्दा काजक्रियाका लागि जान नपाइने पक्का भयो  र बाध्यतावश नेपालमा कर्ता राखेर काजक्रिया गरिन थालियो । यता अमेरिकामा छोरा कपाल खौरेर सेतो टालो गुथेर १३ दिनसम्म झोक्राएर बस्नुपर्ने भयो । 

परदेश अनि कोरोना, मान्छे त को आउने सान्त्वना दिन पनि ! अफिसमा काजकिरिया बिदा ३ दिन मात्र दिइने नियमले बाँकी १० दिन आफ्नै बिदा लिनुपर्ने अवस्था भयो । यो बेला मैले नेपालमा अन्त्येष्टि कर्म ५ दिनमा सकेका कदमहरू सम्झिएँ । डा. उपेन्द्र देवकोटाको ७ दिनमा सकेको र सो ७ दिनमा सक्ने पण्डितले पण्डित संगठनमा क्षमा मागी पतिया गर्नुपरेको समाचारको कुरा पनि दिमागमा झ्वाट्ट आयो । यो संस्कृति हो कि ! कठमूल्ला समाजको बिरालो बाँध्ने प्रचलन हो कि !! वा अन्धविश्वासको पराकाष्ठा हो वा मरेका पिताको मायासँग इमोसनल ब्ल्याक मेलिङ गरेर गरिएको कुरा हो – मैले बुझ्न सकिनँ । आफ्नै पुर्खाबन्धु छविलाल पोखरेलले गर्न खोजेको शास्त्रीय सुधारको प्रसंग पनि सम्झिरहन मात्र काम लागेको यथार्थ मेरै सामुन्नेमा थियो । 

जे हुनु भइसकेको छ । कोरोना कहरमा परिवेश प्रताडित भएको छ । मृत्युमा कोरोना कहर नभए पनि त्यस अघि र पछिका सामाजिक कृत्यमा कोरोनाले परिवेशीय जेहाद छेडेको छ । त्यो परिवेशीय अवस्थामा आफ्ना पिताको अन्त्येष्टि कर्म गर्न नपाएको इमोस्नल तथा पुत्रदायित्वको पीडा कसले बुझ्ने ! आमा एक्लै बस्नु पर्दाको अवस्था र छोरोको प्रतिक्षाको अवस्था कस्तो हृदयविदारक हुन्छ होला कल्पना मात्रै गर्न सकिन्छ, बोध गर्न सकिन्न ।

यो कोरोना कहरले गर्दा संसार जाम भएको छ  र जाममा हामी बाँचेका छौं, परेका छौं र मरेका छौं ।

यतिबेला मेरा मनमा भने आफैँभित्र एउटा जिज्ञासाा उब्जिएको छ – मृत्यु सामयिक हो कि असामयिक !

म मृत्युलाई कसरी सामयिक भनूँ ! कुन मुखले सामयिक भनूँ ! कुन चित्तले सामयिक भनूँ ! कुन सम्वेदनाले सामयिक भनूँ ! कुन हृदयले सामयिक भनूँ ! मृत्युमा गुमेको हुन्छ । आफन्त मात्र होइन समग्र परिवेश रोइरहेको हुन्छ । मृत्युपछि एउटा परिस्थिति बिग्रन्छ र बाँचेकाको पनि जीवन विह्वल हुन्छ । बनीबनाउ परिवेश ध्वस्त हुन्छ । यस्तो क्रूर मृत्युलाई म कसरी सामयिक भनूँ !

अर्कोतिर फेरि मलाई नै लागिरहेको छ कि मृत्युलाई कसरी असामयिक भनूँ ! मृत्यु समयसीमा नभएको सत्य हो । मृत्यु निश्चित छ भने यो असामयिक कसरी हुनसक्छ ! मृत्युको ठीक समय कुन हो ? कुन समयको मृत्यु सामयिक हो र ! सत्यताभित्र मात्र चलखेल गर्ने मृत्यु कृत्य कसरी असामयिक र असान्दर्भिक हुन्छ ! मान्छेले असत्यकृत्य गरेरै भए पनि कमाएका लालसाहरूलाई सामयिक भनिने समाजमा बाँचिरहेको म सत्यमा बाँचेको मृत्युलाई कसरी असामयिक भनूँ !

यो सामयिक कि असामयिक भन्ने द्वन्द्वका बिचमा मेरो न्यायाधीश उभिएको छ मनभित्र । ऊ प्रमाण हेर्दैछ । एकजना ९० कटेका वृद्ध मानिस जहिले पनि भगवानलाई गाली गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो – ए कृष्णे, कति राख्छस् यो भवसागरमा ! अब त लैजा ।’  

मेरो सम्धी पनि विगत दुई महिनादेखि थलिनुभएको थियो । गाह्रो निकै भएको थियो । पीडा निकै थियो । डाक्टरले परमेश्वरको जिम्मा लगाइसकेका थिए । चेत सगल्तो थियो । सन्निकटमा आएको मृत्युको मनोवैज्ञानिक कहर अनुभूत गर्दै हुनुहुन्थ्यो । किमोले दिएका झट्काहरूको पीडाले थिलथिलो भएको थियो शरीर । मर्नु एकदिन छँदै थियो । मन, आत्मा, हृदय तथा समग्र शरीरले बिस्तारै हद बोल्दै थिए । कालले आयो र लग्यो । उफ, के त्यो मृत्यु असामयिक थियो ! 

यही प्रसंगमा अहिले संसारले इच्छामरण खोजिरहेको छ । इच्छामरण भनेको आत्महत्या होइन । जीवनको उपल्लो मोडमा पुगेपछि आइलाग्ने अकल्पनीय पीडाबाट मुक्ति हो इच्छामरण । मुटुलाई भेन्टिलेटरमा राखेर बाँच्नुको के सार हुन्छ ! सुईले रोपेका असह्य पीडाको आरने रापमा बाँच्नुको दर्द भोग्नेलाई थाहा हुन्छ । त्यसैले आजको मान्छे इच्छामरण खोज्दै छ । यो खोजाइ के असामयिक हो र !

अर्को तरीकाले सोच्दै छु कि कसरी त्यो मृत्यु सामयिक थियो र ! उमेर नै के भएको थियो र !  

क्यान्सरबाट थलिनुपूर्व हट्टाकट्टा हुनुहुन्थ्यो । उहाँले आफैँले सिर्जिएको सुख भोग बाँकी नै थियो । अमेरिकामा छोराले गरेको तरक्की देख्न बाँकी नै थियो । अमेरिकामा भएको छोरालाई त्यो ‘सेल्फमेड’ आँट आतेस खाएर ‘खुलेका भोलिपल्ट नै आइज बाबु’ भन्दै थियो । कति भन्नु थियो होला, कति व्यवहारका कुरा थिए होलान् भन्न । कति रुन मन थियो होला छोरासँग ! खोई नियतिले दियो त ! सात दशक बाँचेको त्यो अग्राख अझै केही दिन मात्र बाँचेको भए के बिग्रन्थ्यो कालको ! हो यो विन्दुमा आइपुग्दा म मेरा सम्धीको मृत्युलाई कसरी सामयिक भनूँ ! साँच्चि भन्नुहोस् त म कसरी सामयिक भनूँ !

यहाँसम्म आइपुग्दा मलाई आफैंलाई वैराग्यबोध भएको छ । यो बेला मेरा दिमागमा एउटा कुरा आइरहेको छ कि मृत्यु अवश्यम्भावी छ । क्षणभंगुर छ जीवन । नाकको नासिकाबाट निस्किएको हावा फेरि फर्केर आएन भने हाम्रो जीवन सकिन्छ र यो समय एक निमेषको ज्यादै सानो भाग मात्र हुन्छ । यस्तो कुरा बुझेका मानिसहरू पनि घुस खाएर बाँचेको अभिनय गरिरहेका हुन्छन् । अर्को धर्मसम्प्रदायको मान्छेलाई घृणा गरिरहेका हुन्छन् । अर्को वर्गलाई हियाइरहेका हुन्छन् । मान्छेलाई नै मारिरहेका हुन्छन्  र कायरहरू बिर्सन्छन् जन्म र मृत्युका प्रकृयाका समानताहरू । बिर्सन्छन् कालले बनाएका गौंडाहरू र बनाउँछन् उँचनीचका पर्खालहरू । उफ, मान्छे निकृष्ट मान्छे ! त्यसकारण बाँचुञ्जेल हो शास्त्रले बताएका त्रिऋण तिर्ने । यो ऋण तिर्नका लागि हतारहतारको आवश्यकता पर्छ । आमा, बुवा, गुरु, समाज, राष्ट्र, अन्तर्राष्ट्रकाप्रति हामी मान्छे भएकाले दायित्व छ । मृत्युबोधको सुस्तताले त्यो दायित्व बोक्न सकिँदैन । आलस्य, सुस्तता र पलायनले त्यो ऋण तिरिँदैन । घुमिरहनु जिन्दगी हो । अंग्रेजीमा  उखान छ ‘ए रोलिङ स्टोन, ग्यादर्स नो मोस’ । घुमिरहने ढुंगामा काई लाग्दैन । घुमिरहनुस् । त्यसैले म यो अमेरिकाको मध्यरात पछिको प्रहरमा पनि कम्प्युटरको किबोर्डमा छिटोछिटो औंला चलाइरहेको छु । के ठेगान, भोलि के हुन्छ ! कसले भन्न सक्छ र ! मर्नु त छँदैछ । बाँचुञ्जेलको रामरउस हो जिन्दगी । खानु छ – खाइहाल्नुपर्छ । लाउनु छ – लाइहाल्नुपर्छ । हिँड्नु छ – हिँडिहाल्नुपर्छ । केही सुकार्य गर्नु छ – गरिहाल्नुपर्छ । केही सुकमाइ गर्नु छ – गरिहाल्नुपर्छ ।  

किनकि सम्झनुहोस्, मेरा सम्धीको यश, शौर्य, बल, बैंस, धनसम्पत्ति, आफन्त, शत्रु, मित्रु, रोग, भोक, शोक, पश्चाताप, कर्मण्यता, अकर्ममण्यता, दानदाताव्य, लिनुदिनु सबैका सबै त्यही एक निमेषको खण्डित समयमा सकिएको छ  र यो बाटो समग्र मान्छेको हो । मेरो हो । तपाईको हो । सबैको हो । चाहेर पनि हो । नचाहेर पनि हो ।  

र अन्त्यमा सम्धीज्यू, म सम्झिरहेको छु अमेरिकाको सान एण्टोनियोको जंगलमा दुवै जना इभनिङ वाक हिँडेका थियौं एकताका । बात मारेका थियौँ । सन्तानको प्रगतिको कामना गरेका थियौं । परदेशको ठाउँमा आरोग्य र निर्विघ्नताको चाहना राखेका थियौं । आफ्ना जीवनका आरोह–अवरोह साटेका थियौं । लाग्दथ्यो हामी सम्धी मात्र होइनौं मित्र हौं । ती सबै कुरा सम्झनाका तरेलीमा आएर बास बसेका छन् । हामी समग्र आफन्त शोकाकुल भएका छौं । स्वर्गबाट आफन्तजनलाई आशीर्वाद प्राप्त भइरहोस् । संघर्षको जीवन बाँच्ने अभिप्रेरणा पाइरहौं । अब के भनूँ सम्धीज्यू ! अलबिदा सम्धीज्यू !!

प्रकाशित: २२ भाद्र २०७७ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App