दीपक लोहनी
मलाई अत्याधिक काम गर्ने हतियार र औषधि किन्नु थियो । मूल्य जति नै परोस् मलाई पर्वाह थिएन ।
तसर्थ लागें नाम चलेको सुपरमार्केटमा ।
त्यहाँ नुनदेखि सुनसम्म पाइन्छ, भनिन्छ ।
सुपरमार्केटको बिल्डिङ अग्लो थियो ।
ग्राहकहरुको चहलपहल व्यापक थियो ।
सामानहरु सजाएर राखिएका थिए ।
मलाई हतियार र औषधि किन्नु थियो ।
हतियार र औषधि कक्ष चौथो र पाँचौ तलामा रहेछ ।
मैले सररर्र लिप्ट चढे र गएँ चौथो र पाँचौमा । त्यहाँ हतियार र औषधिहरुलाई पुरै फोकस लाइटमा सजाइएको थियो । तर मैले चाहेका जस्ता थिएनन् । तिनीहरु अत्याधिक महङ्गा पनि थिए । सेल्स् गल्सहरुमा बनावटी रंग/रुप र अनावश्यक हाउभाउहरु पोखिएको थियो ।
म निरास भएर फर्किएँ ।
सुपरमार्केटको नजिकै फुथपाथमा एउटी बूढीआमाको नाङ्लो पसल रहेछ । त्यहाँ मैले खोजेको हतियार र औषधि धुलो लागेर बसिरहेका थिए ।
मैले हतियार उठाएँ र बूढीआमालाई सोधें -
"यो के हो, आमा ?"
"धैर्य ।"
औषधि समाएँ र सोधें -
"यो नि ?"
"हाँसो ।"
मैले झटपट धैर्य र हाँसो दुबै लिएं र आफुसंगै राखें ।
तर आश्चर्य, दुबैको कत्ति पनि पैसा परेन ।
प्रकाशित: २२ भाद्र २०७७ ०५:१६ सोमबार