२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कहाँ गयो त्यो गाउँको केटो

कविता

नुहाङ राई

 

गाँउको केटो

गाउँले बाटो हेरिराछ

समयको टाउको टेकेर

गिलो गोरेटो भएर

कैले आउँछ त्यो हराएको गाँउको केटो

जसले हत्केलामा आफ्नो मानचित्र

बासँको सिन्काले कोरेको थियो  

भुइचालो जस्तो भक्कानो

हल्लिएर ढल्छ एउटा  बिहान  

जहाँ  किच्चिएको हुन्छ

ससानो पखेटा पहलाउँदै गरेका

चिचिला हौसलाका भुइहरू

यतिबेला म

त्यो गाउँको केटो सम्झन्छु  

मकैको जुँगा लगाएको हिटलरले ढाटेपछि

जंगी लस्करको बन्दुकको नोकबाट

रातो गुलाफको बोट उम्रेको छ

कहाँ गयो त्यो गाउँको केटो

जसले फलामको पर्खाललाई

टाउकोले टक्कर हान्थ्यो  

जसको आखाँमा हाम्ले

घामको चोब देखेका थियौ

अर्काले लेखिदिएको इतिहासलाई उसले

दिउँसै मुतिदिएको थियो 

आगोको छाला काटन

सिपालु त्यो गाउँको केटा 

पानीको बोक्रा छिल्ने

त्यसको लडाकु धारिलो तरबार 

जसको धारमा घामको उज्यालो बस्न डराउँथ्यो

उज्यालोको मेलामा

आफू हेला भएपछि

रिसलाई उमालेर उनले

देवरालीमा बूढी औलाको रगत

रुँदै चुँडाएको थियो 

रानी सपनाको दोजिया भुँडीलाई

उसले सरेआम सभामा लात हानेको थियो

थुक्दै निस्केको थिए कालो पोकालाई 

तिनी डल्ले खेर्सानीको राल बोकेर

आफूलाई घोच्ने संगीनलाई हेर्न

प्रहरीको गन्ध सुघदै हिडेको थियो 

बाँसघारीबाट उम्रेको रापिलो धूवाँलाई

आँखाभरि रुवाउँदै

आफ्नै याक्सा खोज्न निस्केका

त्यो गाउँको केटा

अझै गाउँ फर्किएको छैन 

गाँउको केटा हराएपछि

बैली समयको कोखमा विश्वासघात को

पंगु अण्डाहरू ओथारिरछ यो  ढँटुवा गाउँले 

आजकल गाउँमा लठेप्रो घाम आउँछ

चिसो जाँगर पिउँछ

अनि आङ  तन्काई बस्छ

कालो समयको खोरभित्र ।

प्रकाशित: २१ भाद्र २०७७ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App