केशवप्रसाद पौडेल
सानो थिएँ
सारै सानो थिएँ म
बच्चै थिएँ
भोक लागेको था पाउने भएको थिएँ
खान पाए हाँस्नुपर्छ भन्ने,
भोकाए रुनुपर्छ भन्ने था थियो
कसैले माया गरेर हासेर मेरो बाबु भनिदिए
खुसी हुँदै लजाएर हाँस्नेसम्म
कसैले गाली गरे
बङ्ग्रङ्ग दैलाको ठेलो हुँदै दलानसम्मको धूलो भुईमा
लडीबुडी गर्दै रुनेसम्म भएको थिएँ
हाँसेर दिए बिखै पनि खाइदिने
गाली गरे अमृतै पनि नखाइदिने सम्म भएको थिए म
अर्थात् बालसुलभ माया, ममता, भोक र गाली अलिअलि था पाउने भएको थिएँ
हो ठ्याक्कै त्यही उमेरमा हुनुपर्छ
त्यही समयमा हुनुपर्छ
को खाई नानी को खाई भन्दै
लिटो खुवाउनु हुन्थ्यो मेरी आमाले त्यो बेला
बाबु माम् – माम् हाम्म
बाबु माम् – माम् हाम्म भन्दै कसुडीको भर्सिएको भात
बटुकोमा मिचेर खुवाउनुहुन्थ्यो त्यो बेला
म चकचके भइदिन्थेँ र
घरी यता दगुर्थेँ घरी उता दगुर्थेँ
मेरै पछिपछि लाग्दै मेरी आमा
फेरि उसै गरी भन्नुहुन्थ्यो र खुवाउनुहुन्थ्यो
को खाई नानी को खाई,
आँआँ बाबु माम् – माम् हाम्म
बाबु माम् –माम् हाम्म
मेरो पारा उही थियो फेरि पनि
दाँत नआएको गिजा देखाँउदै
खिस्स हाँस्दै फेरि लुटपुटिन्थे आमाकै काखमा उसैगरी
म जिस्किन्थेँ, इत्तरिन्थे,
आमाको काखैमा लुटुपुटिन्थे, यसो जिस्केर खिस्स हाँसेर
आमाकै गालाभरि त्यही जुठो दलिदिन्थे
र
गुटमुटिन्थे त्यही आमाको प्यारो काखमा
बुर्रबुर्र पारि दिन्थे माम् – माम् हाम्म र
थुर्रथुर्र खिस्स पारिदिन्थेँ लिटो पापु मैले
अझै याद छ
बुबाले बोकेर चाचा बाबुलाई भनेर दिनुभएको
त्यो सालपाते घडी म लगाउँथे र दाजुलाई देखाउँथे
केराको दाम्चा काटेर दिनुभएको
त्यो दाम्चाको पटपटे बजाउँदै भाइले भन्थ्यो
दाइ बजेन राम्ररी
फेरि एकातिर झुन्डिएर अडकिएको दाम्चो उठाइदिन्थेँ र म बजाइदिन्थे
खुसी हुन्थ्यो भाइ र बजाउँथ्यो उसैगरी
बाँसको फेदैबाट
झुससहितको टिपेर ल्याएर काटेर बनाइदिनुभएको
पट्याँसको फिरफिरे
घुमाउनुहुन्थ्यो दाजु र यसरी घुमाउने हो यो यी भाइ हेर भन्नुहुन्थ्यो
घुमाउँदै मलाई देखाउनुहुन्थ्यो
बहिनीहरू खेल्थे हामीसँगै धुलोमा र सबै रमाउथ्यौ यसैगरी
सारै राम्रो लाग्थ्यो त्यो बेला
खुसी मात्रै थियो त्यो बेला,
आनन्द र सन्तुष्टि मात्र थियो त्यो बेला
रमाइलो, राम्रो र मनोरञ्जन मात्र थियो त्यो बेला
सारै स्वर्ग लाग्छ त्यो बालापन सम्झँदा
अत्यन्तै स्वर्गानुभूति हुन्छन् ती क्षणहरू
खेतकै आँठोमा रोपेको भटमास र कालो मास रुँग्न
बनाइदिएको सानो झुपडी अनि आलीको त्यो ठिंग उभिएको पुत्लो
गजबले मेहनत गरेर बनाइदिनुभएको त्यो ट्यापट्यापे
अहिले पनि ताजै छ यो मानसपटलमा
अझै पनि त्यही पुगेको भान हुन्छ
अनि हाम्रो ट्यापट्यापे गीत सुरु हुन्थ्यो
त्यहीबाट
जस्तै
लहैलहै लोखर्के,
हाम्रो भटमास नखाइदे
हाम्रो मकै नखाइदे
बरु जंगल घुम्न जा
बरु अर्को रूखमा जा
तर भटमास नखाइदे
हाम्रो मकै नखाइ दे
फेरि सुरु हुन्थ्यो
पारिबाट आउँछ काल
तलाई टिपी लान्छ रे
पर परपर भाग
तैले भाग्नुपर्छ रे
यस्तै गाइन्थ्यो कटाइन्थ्यो बालापन
फेरि आमाबुबा आउनुहुन्थ्यो र भोकाए कि भनेर
हतारहतार पकाएरै उसैगरी खुवाउनुहुन्थ्यो
भन्नुहुन्थ्यो आमा खानुपर्छ बाबु ।
भोक लागो नि त
मैले सोध्थे के खाने
मामबाबु भन्नुहुन्थ्यो आमा
माम के हो ?
यो हो भन्नुहुन्थ्यो
यो भनेको के हो ?
त्यो भनेको के हो ?
यस्ता के , को , किन , कुन, कसरी, कहाँ र कति ?
यस्तै कति सोधियो कति
यस्तै कति प्रश्न सोधियो
सारै सोधिन्थ्यो
धेरै सोधिन्थ्यो
अचम्मै सोधिन्थ्यो,
जस्तै
माम कसरी भयो आमा ?
माम किन खाने ?
खाएर के हुन्छ ?
भए के हुन्छ ?
नभए के हुन्छ ?
कुनै झण्झटैबिना, कुनै तनावबिना,
बढी हाँसेर, सुमसुम्याउँदै हामीलाई काखैमा खेलाउँदै
मातृवात्सल्य ममताले भरिपूर्ण भएर
सबै प्रश्नको सरल र सटिक उत्तर दिनुहुन्थ्यो सजिलै आमा
उदाहरणसहित चित्तबुझ्दो उत्तर प्रस्टयाउनु हुन्थ्यो बुबा
सबै सरल ढंगले व्याख्या गरीगरी बुझाउनुहुन्थ्यो बुबा
कुनै प्रश्नमा कहिल्यै अलमलिनु परेन
सबै प्रश्नको सरल उत्तरले
सधैं सन्तुष्ट हुन्थेँ म
र
कुनै पनि प्रश्नको सरल उत्तर दिन सकिन्छ यो संसारमा
जुनसुकै प्रश्नको उत्तर छ
सरल ढंगले बुझ्नुपर्छ भन्नुहुन्थ्यो बुबा
सजिलै बुझ्ने कोसिस गर्नुपर्छ भन्नुहुन्थ्यो त्यो बेला
त्यो मेरो हिजो थियो
सधैं म हिजोको सम्झिन्छु
र त म आज छु
त्यति बेला सोच्थेँ मेरो भविष्य कस्तो होला
म भविष्यमा के हुँला ?
म के बनुँला ?
कसरी बनुँला ?
कस्ले मेरो भविक्ष्य बनाउला ?
बल्ल मलाई थाह भयो
भोलिको म कहिलै नहुने रछु
हिजोदेखि आजसम्म आउँदा मात्रै आज भएर आएँ म
भोलि सधैं आज भएर आउँदा कहिलै भोलि भेटिन मैले
सधै त्यो भोलि आज भएर आएको देखेँ
आजलाई सधै आफूसँगै भेटेँ
मात्रै हिजो रहेछ र आज रहेछ
मात्रै आज रमाउने रहेछ
हिजो स्मरण गर्दै आज झनै खुसी हुने रहेछ
झन् आजलाई रमाइलो बनाउनु रहेछ
हिजो म त्यो बेलाको आजकै दिनमै रमाएर खुसी थिएँ
सबैभन्दा बढी सन्तुष्ट थिएँ, सबै प्रश्नको सरल उत्तर भेट्ने गर्थेँ
संसारको स्वर्गको बगैचामा नाचिरहेको पाउँथे,
सधै त्यही बगैँचामा खेलिरहेको हुन्थे
आज म दुखी छु
आज म असन्तुष्ट छु
आज म चिन्तित छु
आज म बेचैन छु
किनकि भविष्यको चिन्ता छ
भविष्य के होला भनेर
बल्ल थाह भो कि मेरो भविष्य म नै रहेछु
मेरो भविष्य मैले नै निर्माण गर्ने रहेछ
अनि
मेरै कर्म र धर्मले मेरो भविष्य सुनिश्चित गर्ने रहेछ
कोही कसैले कसरी किन बनाइदिन्थ्यो र मेरो भविष्य
सबै मै रहेछु
हिजोको म भोलि बनेर आएको आजको म
मात्रै मैले नै मेरै तरीकाले मेरै शैलीमा मलाई नै बनाउने रहेछ भविष्य
मैले साँच्चै त्यो बालापनबाट पाठै सिक्न बिर्सेछु
भविष्य भनेको आजको खुसी हो भनेर
भविष्य भनेको आजको राम्रो हो भनेर
आजको सफलता, आजकै काम
आजकै कर्म, आजकै धर्म हो भनेर
आजको सोच, आजकै व्यवहार र आजकै बानी भनेर
आजकै चरित्र, आजकै मर्म, आजकै संगत भनेर
आजकै हाँसो, आजकै खुसी र आजकै सन्तुष्टि हो भनेर
आज गरेको मेहनत हिजो बनिदिएर आउने रहेछ र
हिजोको भविष्य नै आज बनेर आउने रहेछ भनेर
वास्तवमा
बल्ल थाह पाएँ भविष्य भनेको हिजोको भोलि रहेछ
अर्थात् आजको म रहेछु भनेर
बल्ल थाह भो भविष्य भनेको हिजोको भोलि रहेछ
अर्थात् आजको म रहेछु भनेर ।
प्रकाशित: २० भाद्र २०७७ ०६:०४ शनिबार