२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सम्झनामा बुवा

संस्मरण

डा.पुष्करराज भट्ट

 

बुवाले हामीलाई यति छिटो छोडेर जानुहोला भनेर हामी परिवारका कसैले पनि कल्पना गरेका थिएनौं । मेरा बुवा गोपालदत्त भट्टले असोज ८ गते अचानक  हामीलाई छोडेर मृत्युवरण गर्नुभयो । विस २०७७ साउन ७  गतेका दिन हामी बुवासँगैँ थियौं । दिउँसोको २ बजेतिर हुनुपर्छ, बुवाआमासँगै बहिनी पनि पसलमै थिइन् । त्यो दिन सुदूर पश्चिम क्षेत्रकी प्रसिद्ध साहित्यकार श्रेष्ठ प्रिया पत्थरको जन्मदिवसको अवसरमा उहाँको घरमा हुने कार्यक्रममा मलाई बोलाइएको थियो । मैले जन्मदिनको उपहार त्यहीँ पसलमा तयार गरेर लगेको थिएँ । त्यसबेला बुवासँग मेरो कुराकानी पनि भएको थियो । साँझ पाँच बजेतिर म घर फर्केँ र त्यसपछि लेखपढमा लागेँ । रातको ११.३० मा बहिनीले बोलाएपछि म बुवा बरन्डामा पल्टिराखेको देखेँ । आमाले बुवाको जीउ चिसो भएकोले जिउमा हातले मालिस गर्नुभयो । अहँ, कुनै परिवर्तन आएन । घरपरिवारका सदस्य सब डरायौँ । पल्लो घरबाट हजुरबा तोयराज भट्टलाई बोलायौँ । उहाँसँगै हामीले बुवालाई घर नजिकैको निसर्ग अस्पताल लग्यौँ । त्यहाँ अवस्था जटिल भएको र आफूकहाँ आइसियु नभएकाले तुरन्त आइसियु भएको अस्पतालमा लग्न भनियो । हामी त्यहाँ पुग्दा रातको बाह्र बजेको थियो ।

बुवाको अवस्था बिग्रन थालेपछि परिवारका केही मानिस अस्पतालमा रहने र अरूले अन्य अस्पतालमा गएर आइसियुको खोजी गर्ने  सल्लाह भयो । धनगढीका सारा अस्पताल चाहर्दा पनि आइसियु नभएको कुरा थाहा भयो । बल्लबल्ल सारथी अस्पतालमा ठाउँ पाइयो । त्यहाँ पनि पाँच मिनट अघि एकजना बिमारीलाई आइसियुमा भर्ना गरिएको रहेछ । केही समयपछि ठाउँ खालि भएपछि बुवालाई आइसियुमा राखियो । बिहानपख आफन्त, साथीभाइ एवं ब्रह्मकुमारी संस्थाका मानिस बुवालाई हेर्न आउनुभयो । विगतमा सुगर, प्रेसरसम्बन्धी रोग लागेर बिमार रहे पनि खाना र जीवनशैलीमा अत्यन्त सतर्क रहने बुवा कोरोनाको प्रभाव देखिएपछि केही निराश देखिनुहुन्थ्यो । यसै अवधिमा मेरी श्रीमतीको बिरामीका कारण असारमा म काठमाडौंबाट घर आएदेखि उहाँलाई झन् चिन्ताले सताएको थियो । आइसियुमा राखेर पनि कुनै सुधार नदेखिएकोमा बेहोसीको अवस्थामै उहाँले यही साउन आठ गते यो संसार छोडेर जानुभयो ।

कुनै पनि सन्तानका लागि आफ्ना आमाबाबुको स्थान सबैभन्दा उच्च हुन्छ । मलाई पनि लाग्छ, हाम्रो परिवारमा बुवाको स्थान सबैभन्दा माथि थियो । बैतडी जिल्लाको एक सामान्य परिवारमा बुवाको जन्म भएको हो । सानैमा हजुरबाको मृत्यु भएपछि उहाँको आफ्नो परिश्रम एवम् मेहनतले भारतको पिथौरागढबाट हाइस्कुलको अध्ययन गर्नुभएको थियो । आफ्नो अध्ययनपश्चात उहाँले केही समय शिक्षण सेवामा काम गरेपनि पछि नेपाल राष्ट्र बैंकमा जागीर गर्नुभयो । यस क्रममा उहाँको जिम्मामा आमा र चार जना भाइबहिनीको पनि जिम्मेवारी रह्यो । उहाँले आफूले जागीर गर्दै आफ्ना भाइबहिनीलाई पढाउने र उनीहरूको विवाह गराउनाका साथै भाइहरूलाई रोजगार लगाउनमा पनि भूमिका खेल्नुभयो ।

मेरो जन्म भएको बेला बुवा घरमा हुनुहुन्थेन । उहाँ जागीरको क्रममा धनगढीमा हुनुहुन्थ्यो । पछि न्वारनको बेला घर पुग्नुभएको कुरा आमाले मलाई बताउनुभएको थियो । बुवाको जागीर धनगढीमा, हामी बैतडीमै थियौं । म पछि मेरी बहिनीको पनि जन्म भयो । बुवा बिचबिचमा घर आउने जाने गर्नुहुन्थ्यो ।  २०३९ सालमा आमा, म र बहिनी आफन्तसँगै धनगढी आयौं र त्यसपछि हामी बुवासँगै बस्न थाल्यौं । यस बेला धनगढी, महेन्द्रनगर आउन भारतको बाटो भएर आउनुपर्दथ्यो । हामी पनि बैतडीबाट पैदल हिँडेर भारतको झुलाघाट पुग्यौं । त्यहाँबाट हामी बस चढेर भारतकै बनबासा भएर महेन्द्रनगर र त्यहाँबाट धनगढी पुगेका थियौं । धनगढीमा केही महिना हामी डेरामा बस्यौँ । पछि  २०४० सालमा भाइको जन्म भयो ।  २०४१ सालमा धनगढी, हसनपुरमा हाम्रो घर बनेपछि आफ्नै घरमा बस्यौं ।

बुवाको स्वास्थ्य कमजोर थियो । उहाँ समयसमयमा माटोको पट्टी लाउने, निराहार बस्ने गर्नुहुन्थ्यो । उहाँको स्वास्थ्य कमजोर भएको कारण समयसमयममा अस्पताल गइरहनुपथ्र्यो । मलाई सम्झना छ,  २०४४–२०४५ सालतिर हुनुपर्छ, बुवा स्वास्थ्य उपचारका लागि भारतको गोरखपुर जानुभयो । यस अवधिमा फोनको कुनै सुविधा थिएन । बुवा उपचारका लागि गएपछि हामीसँग कुनै सम्पर्क भएन । उहाँ नभएका बेला उहाँको तलब दिन बैंकका कार्यालय प्रमुखले मानेनन् पछि बैंककै कतिपय कर्मचारीले सम्झाएपछि तलब पाइयो । यस अवस्थामा हाम्रो परिवारले निकै कष्ट भोग्नुपरेको थियो । बुवासँगको सम्पर्कका अभावका कारणले हामी चिन्तित थियौं । यसै क्रममा उहाँको चिठी आयो । सो चिठीमा उपचारका लागि खर्च पठाइदिन भनिएको थियो जसोतसो खोजखाज गरेर उहाँलाई खर्च एकजना आफन्तलाई दिएर पठाइयो ।  छ महिनापछि उहाँ निको भएर घर आउनुभयो ।

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई घरजग्गा किन्न ऋण सापटी दिने गर्दछ । बैंकले यसरी दिएको सापटी हरेक महिनाको तलबमा काटने र सो दिइएको रकम असुल भइसकेपछि पूरा तलब दिने गर्दछ । बुवाले पनि यसरी नै ऋण लिनुभएको थियो । यसले गर्दा हरेक महिनाको खर्च चलाउन सहज थिएन । यसो भएता पनि बुवाले हाम्रा आवश्यकता पूरा गर्दै जानुभयो । पछि बैंकबाट लिएको ऋण पनि चुक्ता हुनु र बैंकले आफ्ना कर्मचारीको तलब अन्य ठाउँभन्दा राम्रो दिने गरेपछि हाम्रो अवस्था सबल बन्दै गयो । उहाँले घरबाट कुनै पुख्र्यौली सम्पति नलिएको र आफ्नै बलमा धनगढीमा जग्गाजमिन जोड्नुभयो । बुवाले सानै उमेरमा जागीर खाएर पैंतिस वर्ष नेपाल राष्ट्र बैंकमा सेवा गर्नुभयो । सहायक स्तरको जागीरबाट सुरु भएको उहाँको जागीरे जीवन सहायक लेखा अधिकृतमा २०५८ सालमा स्वेच्छिक अवकाश लिएपछि समापन भयो । जागीर अवधि अझै पाँच वर्ष भए पनि बैंकभित्रको अति राजनीतिकरण, कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँले पाँच वर्षअघि नै स्वेच्छिक अवकाश लिनुभयो । जागीरपछिको दश वर्ष  (२०५८–२०६८) सालमा उहाँले कपडाको व्यापार गराउनुभयो र हामी भाइबहिनीलाई पनि त्यसमा लगाउनुभयो । यस बिचमा पढाइका कारण भाइ र म कारोबारमा केही वर्ष मात्र सहभागी भयौं । भाइ २०६२ सालमा र मैले  २०६५ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गयौं । यस बिचमा विदामा घर आएका बेला पसलमा सहयोग गरे पनि अन्य बेला हामी काठमाडौं त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा हुन्थ्यौं । बुवाले २०६८ सालसम्म धनगढी बजारमा कपडाको व्यापार गर्नुभयो त्यसपछिका दिनमा पनि घर भएकै ठाउँमा तीन सटरको व्यवस्था गर्नुभयो  । त्यसमा केही भाडामा र केही आफ्नै किराना व्यापार प्रारम्भ गरियो । यो व्यापार मूल रूपमा बहिनीले सम्हाले पनि बुवाआमाको पनि साथ रहिरह्यो ।

मेरो बुवाले आफ्नो जीवनको सत्राइस वर्ष प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) धार्मिक संस्थामा सक्रिय भएर लाग्नुभयो । दैनिक बिहानको स्नान र त्यसपछि ओम शान्तिमा जानु उहाँको नियमित दिनचर्या थियो । उहाँ आफ्नो अटुट निष्ठाका साथ त्यस संस्थामा लागिरहनुभयो । उहाँले घरपरिवारका सदस्यलाई पनि त्यस संस्थामा लगाउन प्रयत्न गर्नुभएको थियो । यसै क्रममा मेरो परिवारका मेरी आमा, भाइ र बहिनी पनि ओम शान्तिको मुख्य कार्यालय राजस्थान (भारत) मा भएको कार्यक्रममा सहभागी भएका थिए तर बुवाबाहेक परिवारको अन्य कुनै सदस्य ओम शान्तिमा सक्रिय भएनन् । म एक पटक बुवाआमाको सम्मानमा र एकदुई पटक सार्वजनिक कार्यक्रमहुँदा सो संस्थाको धनगढी क्षेत्रीय आश्रममा पुगेको छु ।

मेरो बुवाले आफ्नो जीवनका पाँच दशकभन्दा बढी समय आफ्नो जागीरे जीवन त्यसपछि व्यापार एवं आध्यात्मिक क्षेत्रमा बिताउनुभयो । उहाँले जुनजुन क्षेत्रमा लाग्नुभयो, त्यसमा पूर्ण आस्थावान् भएर लाग्नुभयो । जुन ठाउँमा, जुन काममा लागेको छ, त्यसप्रतिको पूर्ण निष्ठा उहाँको जीवनको सबैभन्दा ठूलो पुँजी हो । एक सामान्य परिवारमा जन्मेर आमा एवं भाइबहिनीको जीवन अनि पछिल्ला दिनमा श्रीमती एवं पारिवारिक जीवनको उत्तरदायित्व उहाँले वहन गर्नुभयो । त्यो अहिलेका पुस्ताका लागि असम्भवजस्तै हो ।

मैले आफ्नो जीवनको अधिकांश समय राजनीतिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा बिताएँ । किशोर उमेरमा अनेरास्ववियुमा संगठित हुने क्रमसँगै नेकपा (माले), नेकपा (एमाले) हुँदै हालको नेकपा (नेकपा) मा रहेर कार्य गरेँ । त्यसका साथै सामाजिक संघसंस्था एवं साहित्यिक क्षेत्रमा सक्रियता जारी नै रह्यो । पन्ध्र–सोह्र वर्षको उमेरदेखि नै राजनीतिक, सामाजिक कार्यमा बढी व्यस्त भएका कारण मेरो पढाइ अनियमित बन्यो । मेरो जीवनको एक दशकभन्दा धेरै समय शैक्षिक हिसाबले असफल बन्यो जसका कारण आजसम्म पनि मार परेको छ । पछिल्ला दुई दशक यताको साहित्यिक–सांस्कृतिक गतिविधि एवं उच्च शिक्षामा जे जति प्रगति गर्न सकेको छु, त्यति नै मेरो पूँजी हो । मेरो जीवन आँधीबेरीजस्तै रह्यो, जीवनका असहज परिस्थितिमा म कमजोर हुनपुग्दा बुवाले सधैं मलाई प्रेरणा दिनुभयो । यसमा घरपरिवारको साथसहयोग पनि कायमै रह्यो । मेरो पढाइ अस्तव्यस्त भएर सायद म पढाइ छोडेर एक आवारा जीवन बिताउन पुग्थेँ होला, बुवाको एक किसिमको त्रास अर्कोतिर प्रेरणाकै कारण म विद्यावारिधि गर्न सफल भएँ, साहित्यिक क्षेत्रमा निरन्तरता दिन सकेँ । सामाजिक जीवनमा स्थानीय स्तरमा काम गर्दा परपीडक चरित्रका मानिसहरूका कारण म मानसिक रूपमा अशान्त भएको बेला बुवाले जुन उत्साह दिनुभयो, त्यसले मलाई बलियो बनायो । एक अवकाशप्राप्त जागीरेले छोराछोरीको भविष्य राम्रो होस् भनेर कपडाको व्यापार प्रारम्भ गरेर हामीलाई पनि काममा लगाउन खोज्नुभयो तर हामीलाई त्यसैमा सीमित रहन दिनुभएन । आफू एक्लै व्यापार गरेर पनि हामी दुवै भाइलाई जसरी उच्च शिक्षा हासिल गर्ने तहमा पु¥याउनुभयो, बहिनीलाई व्यापारमा संलग्न गराएर आत्मनिर्भर बनाउन लगाउनुभयो, यसले हाम्रो जीवनलाई नयाँ उज्यालो दिएको छ । जीवनजगतलाई हेर्ने दृष्टिकोणका सवालमा म बुवाभन्दा पृथक लाइनमा रहे पनि बुवाले सँधै मेरो प्रगति चाहनुभयो । वैचारिक भिन्नताका कारण कतिपय सवालमा फरक सोच रह्यो । उहाँले सधंै मलाई जीवनमा अघि बढ्न् साहस दिनुभयो । मलाई सम्झना छ, मैले विद्यावारिधि पूरा गरेको दिन बुवा धेरै खुशी हुुनुभएको थियो ।

आज बुवाको अनुपस्थितिमा उहाँको धेरै याद आइरहेको छ । उहाँको बारेका कलम चलाउँदा हात थर्थराइरहेको छ । आफ्नो जीवनमा सत्य, न्याय र निष्ठाका लागि जीवन बिताउनुभएको बुवाको आज धेरै सम्झना आइरहेको छ । बुवा चाकडीचाप्लुसीमा लागेको भए जागीर उहाँको प्रमोशन पनि हुन्थ्यो होला, पैसाको पछि लागेका भए उहाँ धेरै धनसम्पति कमाउन सक्नुहुन्थ्यो होला तर उहाँ सधैं आफ्नो कर्मप्रति, सत्यप्रति निष्ठावान् हुनुभयो । उहाँले हामीलाई असल बन्न प्रेरणा दिनुभयो । धेरै सोझो हुनाका कारण उहाँले आफ्नो अनि हाम्रो जीवनलाई उचित व्यवस्थापन गर्ने सवालमा केहीपछि रहनुभयो तर उहाँ आफ्नो आदर्शमा बाँचिरहनुभयो । आफ्ना जीवनकालभर आफ्नो जीवनलाई सत्कर्ममा लगाउनु हुने र परिवारलाई असल मार्गमा लागेको देख्न चाहनुहुने मेरा बुवा हामी परिवारजनका निमित्त आदर्श पात्र हुनुहुन्थ्यो । हामीले बुवाले सोचेजस्तो, चाहेजस्तो प्रगति गर्न नसके पनि जीवनमा न्याय र सत्यको बाटो छोडेका छैनौं । हामीले जीवनभर उहाँलाई केही दिन सकेनौं, उहाँले निर्माण गरेको सम्पतिमा र उहाँको प्रतिष्ठामा नै बाँचिरह्यौं । बुवा जीवित नभए पनि उहाँको जीवनको सत्य निष्ठा हामीसँगै छ । हामी जीवनभर सत्य निष्ठा बाँचेर बुवालाई सम्झिरहने छौं । यही नै हामी परिवारजनको तर्फबाट उहाँलाई श्रद्धाञ्जली छ ।

प्रकाशित: २० भाद्र २०७७ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App