११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

जितिया: आमाहरूले सन्तानको रक्षाका लागि बस्ने व्रत

जितिया पर्वको कथा

एक दिनको कुरा हो, कैलाशका अति रमणीय शिखरमा भगवान् शंकरसँग देवी पार्वतीले प्रश्न गरिन्, ‘सौभाग्यवती स्त्रीले सन्तानको दीर्घायुका लागि कुन व्रत गर्नुपर्छ ? भगवान् शंकरले भन्नुभयो, जितमाहन (जितमहान् पनि भन्छन्)को पूजा अर्थात् जितिया पर्व।  

भविष्य पुराणका अनुसार, आर्यवर्तमा समुद्र नजिकै नर्मदा नदी छ। त्यस ठाउँमा मलयकेतु नाम गरेका एक राजाले राज्य गर्थे। नर्मदा नदीको किनारमा ठूलो वरको रूख थियो। जसको फेदीमा पोथी स्याल बस्दै आइरहेकी थिई भने हाँगामाथि गिद्ध बस्दै आइरहेको थियो। दुवै एकै ठाउँमा बस्दै आएकाले उनीहरूबीच गहिरो मैत्री सम्बन्ध थियो।  

त्यही रूखनेर स्थानीयहरू आएर पूजा गरे। त्यो दिन थियो, असोज महिनाको कृष्ण पक्ष अष्टमी तिथि। स्थानीयहरू जितमाहन देवताको पूजा गरेर कथा सुनिसकेपछि आ–आफ्नो घर फर्किए। स्याल र गिद्धले पनि व्रत गरेका थिए। त्यही दिन साँझ त्यो नगरमा बास गरिरहेका एक सेठका एक्लो छोराको मृत्यु भयो। गाउँलेले उनको नर्मदा नदी किनारमा दाहसंस्कार गरे। त्यही बेला पोथी स्याल र गिद्धले आपसमा कुराकानी गरे। तर गिद्धले पोथी स्यालको कुरा न सुनेझैँ गरी सुत्यो। उता त्यो स्यालले गिद्ध सुतेको छ भन्ठानी एक्लै निस्केर बालकको मासु पेटभरी  खायो र केही मासु आफु बसी रहेको रुखको फेदीमा लिएर पनि आयो। उता गिद्धले सबै खेल उसको हेरिरहेको थियो। एक्काबिहानै त्यो स्यालले गिद्धसँग भन्छ, ‘साथी, व्रत (पारण) भंग गर्ने बेला भइसक्यो, म पनि व्रतलाई भंग गर्न जान्छु।’  

केही दिनपछि कुम्भ मेला लाग्यो। गिद्ध र स्याल दुवै मेला हेर्न गए। भाग्यको खेल यस्तो भयो, कि दुवैको एकै समयमा मृत्यु भयो। कुम्भ मेला देखेको हुनाले दुवैको जन्म भाष्कर नाम गरेका एक भिक्षु ब्राह्मणको घरमा जुम्ल्याहा बहिनीका रूपमा भयो। जेठी बहिनी (गिद्ध)को नाम शिलावती र कान्छी बहिनी (स्याल)को नाम कर्पुरावती राखियो। शिलावतीको विवाह महामत नामका धनी मानिससँग भयो।  

यस पर्वले विशेष महत्व राख्छ। जितिया पर्वमाम हिलाले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन्।

कर्पुरावतीको विवाह महाराज मलयकेतुसँग भयो। दुवै बहिनीकोे सात–सात छोरा भए। तर कान्छी बहिनी कर्पुरावतीका सातवटै छोराको नाबालक अवस्थामै मृत्यु भयो। उता जेठी बहिनीको सातवटै छोरा कुशल थिए। दिदीका सन्तान देखेर कान्छी बहिनीले आफ्नो भाग्यलाई धिक्कारिन्। उनको मनमा विचार आयो, ‘म रानी हुँ तर खुसी भने दिदी छ ! उसको खुसी छिन्नुप¥यो।’  

एक दिन राजा दरबारबाट बाहिर गएर फर्केका बेला जितियाको व्रत चलिरहेको थियो। उता रानी कर्पुरावती भने रिसाएर महलको अर्को कोठामा थिइन्। राजाले महल प्रवेश गरी रानीलाई खोजे। रानीले आफूलाई भेट्न आउन राजालाई खबर पठाइन्। राजा रानी भएको कोठामा पुगे। रानीको मनोदशाबारे बुझे।

रानीले भनिन्, ‘पहिलेवाचा गर्नुस्, मेरो माग पूरा गर्छु भनेर।’ राजाले उनको सर्त स्विकारे।  

रानीले भनिन्, ‘मेरी जेठी दिदीको सातैवटा सन्तानको टाउको काटेर यहाँ ल्याउनुस्।’  

राजा शोकाकुल भई वाचाबमोजिम चाण्डाललाई निर्देशन दिए। सातै छोराको टाउको आइपुग्यो। त्यसपछि रानी कर्पुरावतीले जितिया पर्व गरिन् र चण्डालद्वारा ल्याइएका सातैवटा टाउकोलाई विभिन्न रंगको कपडामा बेरेर जेठी बहिनी शिलावतीकहाँ पठाइन्, शिलावतीकी बुहारीलाई पारण गर्नका लागि फल भनी। उता जेठी बहिनी (गिद्ध)ले नियमनिष्ठापूर्वक जितिया व्रत गरेकाले सातैभाइ छोरा जीवित भए।  

यो समाचार सुनेर रानीले राजासँग भनिन्, ‘चाण्डालले अरुको टाउको काटेर ल्याएको हो। किनकि सबै जीवितै छन्, कोही रुने कराउने गरेका छैनन्।’  

राजाले ‘पूर्व जन्ममा तिम्री दिदीले धेरै पुण्यको काम गरेकी रहिछिन्। सातै सन्तान पुनर्जीवित भए। तर तिम्रा सन्तान कालको मुखमा गए। तिमी दुःखपीडा भोगिरहेकी छौ’ भने।

यो सुनेर कर्पुरावती स्तब्ध भई दिदी शिलावतीसँग पूजापाठ गर्नका लागि पुगिन्।

त्यतिबेला शिलावतीले आफूहरूको पूर्वजन्मको कथा सुनाइन्। उनले भनिन्, ‘अघिल्लो जन्ममा तिमीले रातिमा मासु खाई व्रत भंग गरेकी थियौँ। म उपवास गरी स्थानीयद्वारा पूजा गरिएको कुवाटी, चना र अक्षता खाएर पारण गरेँ।’

त्यसको प्रमाण खोज्दै जाँदा कर्पुरावतीले वरको रूखको फेदीमा मान्छेका हाड देखिन्।  

शिलावतीले भन्दै गइन्, ‘व्रत भंग गरेकाले तिमी रानी भएर पनि दुःख पाइरहेकी छ्यौ, म भने साधारण स्त्री भएर पनि सुखी छु। यो कुरा सुनेर कान्छी बहिनी कर्पुरावतीको देहान्तभयो। त्यहीबेलादेखि नियमनिष्ठापूर्वक पूजापाठ र जितिया पर्व गर्ने चलन रहेको हो।  

जितियाबारे अर्को कथा यस प्रकार छ:
धेरै पहिलेको कुरा हो। एउटा गाउँमा एउटी विधवा थिइन्। उनका छोराछोरी थिएनन्। ती विधवा खेतबारी हेर्न जाँदा गेन्हरी (सागको नाम) को सागमाथि उसको आँखा प-यो। त्यो सागलाई हेर्ने बित्तिकै टिपेर त्यत्तिकै काँचै खाइदिइन्। त्यस सागमा सूर्य देवताले पिसाब गरेको हुनाले त्यो साग धेरै नै लोभलाग्दो थियो। त्यही साग खाँदा पिसाबका प्रभावले ती विधवा गर्भवती भइन् र छोरालाई जन्म दिइन्। त्यस छोराको नाम उनले जितमाहन (देवताको नाम) राखिन्।  

जितमाहन बढ्दै गएर गाउँका अन्य बच्चासँग खेल्न थाले। त्यसबेला बिनाबाबुको छोरा भनी उसलाई अन्य केटाकेटीले जिस्काउँथे र जितमाहनको बाबुको नाम सोध्थे। उनले घरमा आएर आमासित बुवाको नाम सोधे। आमाले सूर्यलाई देखाई ‘यो तिम्रो बुवा हो’ भनिन्।  

एकपटक धेरै दिनसम्म झरी प-यो। तर जितमाहनको आँगनमा घाम लागिरहेको थियो। त्यसपछि आमाले जितमाहनलाई भनिन्, ‘हेर, सबै ठाउँमा झरी परेको छ। तर तिम्रो आँगनमा मात्र सूर्य उदाएका छन्। यसकारण तिमी सूर्य देवताका छोरा हौ। त्यसपछि उनले आफ्नो गाउँका मान्छेलाई ‘म सूर्य देवताको छोरा हुँ’ भन्न थाले।  

उनले साथीहरूलाई भने, ‘नपत्याए मसँग मेरो घरमा जाउँ। सबैतिर पानी परिरहेको छ, तर मेरो आँगनमा घाम लागेको छ।’

साथीहरू आएर हेर्दा त्यही देखे। त्यसपछि उसलाई बिनाबाबुको छोरा भनेर कसैले भनेन।  

असोज महिनाको कृष्ण पक्ष अष्टमी तिथिका दिन जितमाहनको जन्म भएको थियो। त्यही दिन एउटा स्याल र चिल (बाज) ले जितिया व्रतका लागि उपवास बसे। भोलिपल्ट स्यालले मासु खाएर व्रतलाई समापन गरे भने चिलले केराउको गेडा खाएर व्रत समापन गर्याे। त्यस दिनदेखि नै बिस्तारै बिस्तारै जितमाहनको व्रत गर्न थालियो, शुद्ध तथा अशुद्ध खानाहरू पनि खान थालियो। यो जितिया ब्रतमा जितमाहन देवताको पुजा गरिन्छ।  

सन्तानका लागि आमाको व्रत
सबै धर्म, संस्कृति तथा पर्वहरूको आ–आफ्नै महत्व र विशेषता हुन्छ। हामीकहाँ विभिन्न किसिमका चाडपर्व मनाउने गरिन्छ। त्यसैमध्येको एक हो, जितिया पर्व। खासगरी नेपालको तराई मधेसका साथै देशभर बसोबास गर्ने थारु समुदाय तथा मगही, मैथिली, भोजपुरी, अवधीका साथै अन्य संस्कृतिमा पनि यो पर्वको विशेष महत्व छ।  

हिन्दू धर्ममा आस्था राख्ने महिलाहरूका लागि यस पर्वले विशेष महत्व राख्छ। जितिया पर्वमाम हिलाले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन्।

विभिन्न संस्कृतिका मानिसले मनाउने जितिया पर्वमा धेरै समानता रहे पनि केही फरक विधि पनि पाइन्छन्। जितिया पर्व दुई प्रकारले मनाइन्छ। अविवाहित महिलाले गर्ने व्रतलाई ‘खर जितिया’ भनिन्छ भने विवाहितले गर्ने व्रतलाई ‘पूर्णजितिया’ भनिन्छ। कुनै कारणवश कोही ठूलो दुर्घटना हुनुबाट जोगियो भने उसलाई धेरै मानिसले भनेको सुनिन्छ कि ‘तिम्रो आमाले खरजितिया गरेकोे हुनाले तिमी बाँच्नमा सफल भयौ।’

त्यस्तै, सन्तानप्रतिको माया–ममताका बारेमा कुरा गर्दा पनि त्यहाँ आमाहरूले गरेको यो जितिया पर्वका बारेमा चर्चा गरिन्छ। किनकि यो त्यस्तो पर्व हो, जहाँ आमाहरूले आफ्ना सन्तानको रक्षा र दीर्घायुका लागि अन्न,जल त्यागेर तीन दिनसम्म निराहार व्रत बस्ने गर्छन्। त्यसकारण जितिया पर्वलाई धेरै कठोर र निष्ठावानका साथ समापन गरिन्छ।  

जितिया विधि  
जितिया पर्व विवाहित तथा अविवाहित दुवै महिलाले गर्न सक्छन्। विशेषगरी यो पर्व छोरा हुने आमाहरूले मनाउँछन्। आफ्नो छोराको सु–स्वास्थ्य तथा दीर्घायुको कामनाका लागि आमाहरू उपवास बसी पर्वको आरम्भ गर्छन्। यस व्रतमा दाँत, मुख धुन समेत पाइँदैन। यो व्रतमा नङले कुनै वस्तुलाई कोेट्ट्याउन पनि पाइँदैन। व्रतको दिन ठाउँ–ठाउँमा जितमाहन भगवान्को प्रतिमा बनाइन्छ। यस दिन नजिकको पोखरी, नदी, तलाउमा गई बेलपत्र, अक्षता टाउकोमा राखीपानीमा नुहाइन्छ। नुहाइसकेपछि भिजेकै लुगामा जितमाहन भगवान्को प्रतिमामा जल, फूल, अक्षता, बेलपत्र, काँक्रो, केरा, अम्बाले पूजा गरिन्छ।  

पर्वको पहिलो दिन (भदौ शुक्लपक्ष सप्तमीको दिन) नुहाएर खाना खाने प्रचलन छ। यस दिनव्रतालुहरू पोखरी वा कुनै जलाशयमा गई नुहाएर सूर्य भगवान्लाई जलको अघ्र्य दिन्छन् र खाने तेल (तोरीको), पिना र सिन्दुर भगवान् जितमाहनलाई र आफ्नो स्वर्गीय माता–पिता तथा सासु–ससुराको नाममा चढाउँछन्।  

यसपछि घरमा आई केराको पातमा दही, चिउरा, मिठाई, केरा, गुर वा चिनी, आँपको अमोट, तुल्सीको पात,काँक्रो, अम्बा, पानीमा भिजाइएको केराउको गेडा राखी भगवान् जितमाहनलाई चढाईपूजा गरिन्छ। त्यसपछि व्रतालुले प्रसाद छोराछोरीलाई खुवाई आफूले पनि खाने गर्छन्।  

व्रतको पहिलो दिन खानाको रूपमा कोदोको रोटी, साग, भात र माछा खाने विशेष परम्परा छ। अरु पर्वहरूमा पर्व सुरु हुनुभन्दा दुई–तीन दिनअघिदेखि नै माछामासुजन्य खानेकुरा खान वर्जित गरिन्छ। तर, यो एउटा यस्तो पर्व हो, जसमा माछा खाएर पर्वको आरम्भ गरिन्छ।  

दोस्रो दिन अष्टमीको एकाबिहानै करिब ४–५ बजेतिर घिरौँलाको पातमा दही, चिउरा, मिठाई, केरा, काक्रो, अम्बा, जस्ता फलफूल भगवान् जितमाहन, पितृ तथा चिलको नाममा चढाइन्छ। मृत आत्मालाई सुखशान्ति प्राप्ति तथा सन्तानका लागि दीर्घायु जीवनको आशीर्वाद माग्छिन्व्रतालुले।  

चिलका नाममा चढाइएको पातलाई घरका माथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितमाहनको नाममा चढाइएको पातलाई व्रतालुले आफ्ना श्रीमान् वा छोराछोरीलाई खान दिन्छिन्। यति बेला व्रतालुले पनि आफूले चढाएको प्रसाद खान्छन्। त्यही भएर यस पर्वबारे मगहीमा एउटा भनाइ छ, ‘जितिया पबनी बर भारी, धियापुताके ठोक सुताके अपने खाय भर थारी’ अर्थात् ‘जितिया पर्व धेरै कठिन पर्व हो, बालबालिकालाई सुताई आफैँ खान्छन् एक थाली।’ गाउँ घरमा यो भनाइ प्रायः सबै मानिसहरूको मुखमा झुन्डिएको हुन्छ।  

जितिया पर्व तीन दिनसम्म निराहार व्रत बसेर गरिन्छ। यो ब्रत असोज शुक्ल पक्ष सप्तमी तिथिदेखि सुरु भई नवमीसम्म अर्थात् तीन दिनसम्म गरिन्छ।  

तेस्रो दिन अर्थात् नवमीको दिन पनि फेरि एकाबिहानै पहिलो दिन जसरी नै बेसारको पातमा दही, चिउरा, मिठाई, केरा, काक्रो, अम्बा,लडु, आँपको अमोट, तुलसीको पातआदि भगवान् जितमाहन, पितृ तथा चिलका नाममा चढाई अगरबत्तीले पूजा गरिन्छ र त्यसलाई पानीले छर्की पूजाको समापन गरिन्छ।  

चिलको नामले चढाइएको पातलाई घरको माथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितमाहनको नामले चढाइएको पातलाई आफ्नो छोराछोरीलाई खान दिइन्छ। साथै व्रतालुले आफू पनि त्यही खानेकुरा खाने गर्छिन् र  जितिया पर्वको समापन हुन्छ।  

यो व्रतको अवधिभरि व्रतालुहरू पानीसम्म नखाने मान्यता छ। साथैव्रत समापन नहुन्जेलसम्म व्रतालुले न त केही भाँच्न पाउँछिन् न त केही काट्न नै। यदि कुनै काट्ने वा भाँच्ने काम भयो भने यो पर्व स्वतः छुट्छ भन्ने जनविश्वास छ।  

व्रत समापनका दिन पनि व्रतालुहरू पोखरी वा कुनै जलाशयमा गई नुहाई–धुवाई गरी पर्वको समापन गर्छन्।  

सन्तानमाथि कहिल्यै पनि आपत्विपत्, दुःखकष्ट, संकट आउँदैन भने धार्मिक विश्वास रहेकाले यो व्रत गर्नमा महिलाको आकर्षण बढेको देखिन्छ। साथै यस पर्वको कथाले एउटा छट्टै महत्व पनि राख्छ।  

यस पर्वको तेस्रो दिन अर्थात्व्रत समापनको दिन टोल–टोलमा व्रत गर्ने महिला एक ठाउँमा जम्मा भई पण्डित बाहुनले भनेका विभिन्न कथा श्रद्धाभावले सुन्ने गर्छन् र पर्वलाई पूरा निष्ठाभावले मन लगाएर पूजा गर्छन्। आफ्ना सन्तानको रक्षाका लागि धेरैजसो आमाहरूले यो व्रतधेरै पहिलेदेखि नै गर्दै आइरहेको देखिन्छ।  

निष्कर्षमा भन्नुपर्दा जितिया पर्व मधेसी समुदायको साझा पर्व हो। यस पर्वलाई सबै वर्ग, समुदाय तथा जातिले धमुधामका साथ मनाउने गर्छन्। यो पर्व धेरै कठोर र नियमनिष्ठाले गरिने पर्वका रूपमा परिचित छ। देशभर बसोबास गर्ने थारु समुदाय तथा मगही, मैथिली, भोजपुरी, अवधी संस्कृतिका साथै अन्य संस्कृतिमा पनि यसको विशेष महत्व छ।

प्रकाशित: २० भाद्र २०७७ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App