२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

काठमाडौंको नाकले पाथीभरा फेदीमा श्वास फेर्दा

नियात्रा

खेमराज पोखरेल 

आज २०७३ सालको असोज २६ गतेको धापासी, काठमाडौंको उच्छवासको रात हो यो । पाथीभराको गन्तव्य छ भोलिदेखि । घुम्दैघुम्दै पुगिने हो पाथीभरा । रम्दैरम्दै पुगिने हो पाथिभरा । त्यसैले रोमाञ्चकताले गर्दा आँखाबाट निद हराएको छ ।  

मेरा परिवारका सदस्यहरू भन्छन् – म यात्राको शौखिन छु । खोई किनकिन मन लाग्छ । काठमाडौंको धूवाँधूलो हाहाकार र व्यस्त जीवनबाट एकैछिन भए पनि उम्कन मन लाग्छ । सरर बहने हावाका चिसो स्पर्शमा, पूmलका सुगन्धहरूमा, श्वेत हिमालहरूमा, हरियाली पहाडहरूमा, कलकल बग्ने नदी र झर्नाहरूमा, तराईका फाँटहरूमा हराउन मन लाग्छ । उड्न मन लाग्छ । त्यसैत्यसै प्रकृतिमा समाहित हुन मन लाग्छ । मन न हो उसलाई लागिदिए हुन्छ । तर म भने लाचार काठमाडौंमा अभिशप्त बाँच्न बाध्य छु । धूवाँ छ भनेको छु, फेरि काठमाडौंमै बसेको छु । धूलो छ भनेको छु, फेरि काठमाडौंमै छु । नाकले कत्ला फाल्छन्, तर म काठमाडौंमै बस्छु । विकल्प छ, तर मेरो जीवनको उत्कृष्ट विकल्प नै काठमाडौं ठान्छु । मेरो जीवनले मलाई यस्तै बनाएको छ । मैले काठमाडौंमै बस्नु छ, बाँच्नु छ । किन भनेर प्रश्न नसोध्नु होला । किनकि म इमानदार काठमाडौंवासी आम मान्छे हुँ, जो काठमाडौंलाई सधैँ गाली गर्छ, तर कहिल्यै छोड्दैन । 

हाम्रो टोलीको यात्रा सुरु भएको छ पाथीभरासम्म । यात्रामा म छु, तर म पाथीभरा जान्न । पाथीभरा फेदीमै बस्छु । किनकि म २०६९ सालमा नै पुगेको छु र ‘म फेरि आउँदिन है’ भनेर देवी पाथीभरासँग याचना गरेर आएको छु । आँत र आँटले त्यसैत्यसै हद बोलेका छन् । त्यसकारण पाथीभरा फेदीसम्म मात्र हो मेरो यात्रा । टोलीका अरू पाथीभरा जानेछन् ।

योजना अनुसार २०७३ सालको दसैँ विदाको सदुपयोग गर्ने हाम्रो सोच हो । यो योजनाअन्तर्गत एउटा गाडी भाडामा लिएका छौं । म छु, मेरी सुशा छिन् । कान्छी छोरी छिन्, जुवाइँ तथा सम्धिसम्धिनी । अनि फुच्चे सविन । त्यसैले २०७३ असोज २७ गते निर्धारित समयमै बिहान ६.३० बजे हामीले काठमाडौंलाई छोड्न थालेका छौं । साँगा भन्ज्याङ काटेका छौं । एकताका देशीय नेवार व्यापारीहरूको कार्यस्थल बनेको बनेपा धुलिखेल पनि काट्यौं । म मनमनै गम्न थालेको छु कि गाडीका सीसाबाट देखिने बनेपा र धुलिखेलमा खोई देशीय व्यापारी ? सिन्धुलीको बाटो बर्दिबास र पूर्व पश्चिम राजमार्गको सररर यात्राबाट ठ्याक्कै बेलुका ७.३० मा मेरो घर आइपुगिएको छ । सप्तरीको बस्तीपुर आइपुगिएको छ । यो भनेको मेरो घर हो । यहाँ यत्ति भन्छु कि बनेपा सिन्धुलीको यात्रा नगरेका मान्छेले यो बाटाको शिल्पी रम्य गुमाएका छन् । चुकाएका छन् ।

घर पुग्दा घरमा बुवा र आमा बरण्डाका बेञ्चमा टक्य्राक टुक्रुक्क बस्नुभएको छ । म मनभरि न पेटभरि भएर खण्डहर बन्दै गएको घरलाई हेरिरहेको छु । यो त्यही घर हो जहाँ ६ भाइ छोरा र १ बहिनी छोरी र टनाटन काम गर्ने मान्छे याने सहयोगी अटाएका हुन्थे । अहिले बुवाआमा मात्र हुनुहुन्छ । म बोध गरिरहेको छु कि खोई ६ भाइ छोरा !  मान्छे भन्छन्ः ‘फलानाका छोराहरू सबै एकसे एक’ । अहिले साथमा कोही छैनौं । के अर्थ छ छोरा हुनु र नहुनुको ! के यो परिघटना सन्तान जन्माउनुको अनुभव मात्र हो ! के मूल्य होला मातृवात्सल्यको ? पितृ कर्तव्यको ? यो बुँदामा आइपुगेपछि मेरो हृदय चसक्क गर्छ र म कुनै ज्ञानका पोथीहरूमा यो परिबन्द पर्गेल्न सक्तिनँ । हाम्रो यो घर वर्तमानमा उच्च तथा मध्यम वर्गले विकास गरेको सभ्यताको एउटा निरीह नमूना हो ।

बाबाले कुराउनीमा छोहडा हालेर पकाउनुभएको र खुवाउनुभएको खुवाको स्वाद मात्र होइन, त्यसभित्रको आत्मीय रञ्जनाको म कसरी बयान गरूँ ! आमाबुवाको अगाडि म हाँसिरहेको हुन्छु । त्यसो त जहिले पनि हाँस्न मन पराउने मान्छे भन्छन् अरू मलाई । हो, मेरो हाँसो अरूलाई काम लाग्छ तर रुवाइ ! उफ, के अर्थ छ रुनुको !  हो त्यसैले म हाँसिरहेको हुन्छु । तर म आमालाई हेर्छु, एकोहोरो आमाको सम्पूर्ण शरीर हेर्छु, र अनुहारमा केन्द्रीकृत हुन्छु । मेरी आमाको त्यो श्वेतकमलजस्तो अनुहारमा धाँजा फाटेका छन् । मुजा परेका छन् । तर उहाँ फिस्स हाँस्नुहुन्छ । बुवालाई हेर्छु । अलि फुर्किनु भएकोजस्तो लाग्छ । किनकि म आएको छु । छोरो आएको छ । मुतको न्यानोजस्तो भोलि बिहानै हिँड्ने गरी आएको भए पनि छोरो आएको छ । उच्छवास आएको छ । खोई यो कस्तो उच्छवास हो !

भोलिपल्ट याने २०७३.६.२८ गतेको बिहानै म जन्मेको, हुर्केको, बढेको र कर्म गरेको पौँडाहा खोला याने खहरे हेर्न पुगेका छौँ । त्यो खोला, जहाँ मेरा प्रारम्भिक जीवनका वषौँ बिते, सानो तर कलकल बग्ने बगुवा पानी, सुन्दर वन त्यसैत्यसै रमाइलो लागेर आयो । मलाई त्यो खोलाले आत्मीय पाराले भनेभैmं लाग्योः ‘खोई कता हरायौ हौ जेठा ? म त उस्तै बगिरहेको छु त ! 

मैले आपूmलाई नियालेँ । खोला त बगिरहेको छ, उही धारमा, उही गतिमा, उही सुसेलीमा र उही नियमित चालमा । म भने अलि बुढिएको छु । तन पनि बुढिएको छ, मन पनि बुढिएको छ । घन्टौ खाली खुट्टा हिँड्ने मेरा गोडा जुत्ताभित्र कैद भएका छन् र अब हिँड्न मान्दैनन् । मैले खोलाको डिलमा बसेर फोटो कैद गरेको छु । यो जीवन यस्तैयस्तै फोटाको चित्र–मान्छे जस्तो त हो नि ।

दसैँको टीको लगाउन सुरु भएको छ । बुवा ठूलो स्वरले दसैँ मन्त्र उच्चारण गर्न थाल्नुभएको छ । आमाले साथ दिँदै हुनुहुन्छ । ‘आयु द्रोण सुते ......’ भनिरहँदा बुवाआमाको गला अबवद्ध भएको छ । सायद उहाँहरू सोच्दै हुनुहुन्छ होलाः ‘यो वर्षलाई त बाँचियो, अर्को वर्ष बाँचिएला वा नबाँचिएला । दसैँको टीको लगाइदिन पाइएला वा नपाइएला ।’ ८२ वर्ष पूरा गर्नुभएको बुवा तन्दुरुस्त हुनुहुन्छ । आमाभने ७५ वर्षमै रोगी हुनुहुन्छ । कमजोर देखिनुभएको छ । अर्को कुरा पनि होला । उहाँहरू बेसहारा ‘फिल’ गर्नुहुन्छ होला । नितान्त एक्लो । चकमन्न सन्नाटाभित्रको एक्लो । सायद सहारा खोज्नुहुन्छ होला जीवनमा । सहारा छोराको, बुहारीको, नातिको, नातिनीको वा यस्तैयस्तै । यस्तै हो जब उहाँहरू भेटिनुहुन्छ, जब छुट्टिने बेला हुन्छ, उहाँहरूमा मृत्युबोधको शंकाले छोप्छ होला । एक्लोपनले सताउँछ अनि भावुक बन्नु हुन्छ । हुन त मृत्युले साना ठूला, उमेरदार वा भर्खरका भन्दैन । तर पनि यो मरणको कुराले किन पछ्याइरहन्छ ? कस्तो क्रुर हुने रहेछ यो नियति, यो मृत्युबोध । सबै शास्त्र पनि भन्छन्ः ‘मान्छे एक्लै जन्मन्छ र मर्छ । बीचको जिन्दगी कर्कलाको पातको पानी हो, जो पात हल्लिँदा सकिन्छ, त्यहाँ कोही आफ्नो छैन, कोही पराई छैन । सबै समतुल्य छ । यो तत्त्वबोधीय ज्ञान जान्दा जान्दै पनि किन किन मन पिरोलिइरहन्छ ।

बिहानको खाना खाएर हामी सप्तरीकै बलुवाको शिवपार्वतीको मन्दिर, रूपनगरको विष्णु मन्दिर, सखडाको छिन्नमस्ता मन्दिर र भारदहको कङ्कालिनी मन्दिरको दर्शन गरेका छौं ।  यी सबै मूर्तिहरू भुईँफुट्टा हुन् । अन्य प्रयोजनका लागि भुईँ खन्दा फेला पारिएका हुन् । यो क्षेत्रको चुरे पहाडमा मूर्ति बनाउने कारखानाको अवशेष छ । धेरै ऐतिहासिक सामग्रीहरू छन् । धार्मिक पर्यटनको पोटिलो भण्डार छ । तर अन्य ठाउँजस्तै यो ओझेलमा छ । सम्झिरहेको छु, कि यसको लागि मेरो दायित्व के ?

गम्दागम्दै ससुराली पुगिएको छ । ससुराली पनि निकै खुसी भएको छ । भोलिपल्ट याने कि असोज २९ गते बिहानको ४ बजे नै उठेको छु । तयार भएको छु । यात्रा पाथीभरा देवीसम्म भएकाले हतार छ । जीवन छउन्जेलसम्म यो हतारले कहिले छोड्छ र ! हामी दसैँको टीका लगाउन बसेका छौं । मेरी एकल सासू आमा टीका लगाइदिन थाल्नुभएको छ । ठूलो र प्रस्ट स्वरले । मन्त्रमय आसिक दिँदै गर्दा उहाँको गला अवरुद्ध हुनथालेको छ । ८५ वर्षे सासूआमाका गोरो अनुहारभरि अमिनले कित्ता काट गरेजस्ता किरिङमिरिङ धर्सा र मुजाहरू छन् । र पनि त्यो कान्तिमय अनुहारमा एकप्रकारको खुसी देख्छु । किनकि उहाँकी कान्छी छोरी सान्नानी ज्वाइँ, नातिनी, नातिनी ज्वाइँ र सम्धीसम्धिनी लिएर दसैँमा टीका लगाउन आएकी छ । उच्छवास आएको छ । रौनक आएको छ । फेरि यसैगरी भेट नहुन सक्छ । समय न हो क्रुर हुन्छ । यो जमघट नहुन सक्छ । अर्कोतर्फ उहाँका अनुहारमा उदाशी देखिन्छ । सायद उहाँ सोच्दै हुनुहुन्छ होलाः ‘सान्नानी, यसपल्ट त आइस्, टीका लाउन पाइयो । अर्कोपल्ट खोई बाँचिन्छ कि बाँचिन्न !’

बिहान भात खाएर जाने ढिपीलाई जितेर हामी ६.३० बजे नै बाटो लाग्यौं । बाटामा पर्ने बुधबारे देखेर मन नै एकतमासको भएको छ । भारतबाट आउने जङ्गली हात्तीले ज्यादै धेरै दुःख दिने ठाउँ हो यो बुधबारे र बाहुनडाँगी । हात्ती–कहर भोग्न विवस नेपालीको नियति सम्झँदै दुःखी हुँदै गर्दा इलामको सानो पाथीभरा मन्दिर जाने ठाउँ आइपुगेको छ । भर्याङ बनाएर डाँडाको टुप्पामा पाथीभरा मन्दिर बनाइएको छ । ताप्लेजुङ पाथीभरा जान नसक्ने तीर्थयात्रुका लागि यो मन्दिरको निर्माण भएको रहेछ । यहाँ पनि मान्छेहरू टनाटन छन् । यसपछि आएको छ कन्याम चिया बगान । अहा यो कन्याम चिया बगान ! पुग्नुभएको छैन भने पुग्नुस् । यो छुट्छ । छुट्यो भने जिन्दगीको एउटा सस्तोमा पाइने रमाइलो छुट्छ । मेरा छोरी, ज्वाइँ, सम्धी, सम्धिनी, सविन र सिन्डी (कुकुर) यी सबै रमाएका छन् । उफ्रेका छन् । नाचेका छन् । हाँसेका छन् । फोटो र भिडियोको तालमा सुरम्य आनन्द बटुलेका छन् । सम्धिनीज्यू भन्नु हुन्छः ‘यहाँ त बास बस्दै आउनुपर्ने रहेछ’ । तर हामीसँग समय छैन । यो समय उफ ! कस्तो क्रुर ! बजिहाल्छ । हामीलाई दुख परे पनि चाँडोचाँडो हिँड्दैन र हामी रमाएका छौं भने पनि एकछिन पर्खँदैन । हामी लाग्यौँ कन्याम चिया बगानलाई छोडेर इलामतिर । बाटाका वरिपरि हरियो अम्रिसो, अलैँची हेर्दैहेर्दै । हराम्य बाटाका छेउ पाखाहरू हेर्न एकपल्ट मेची राजमार्गको यात्रा गर्नै पर्छ मान्छेले । फिक्कलमा चिया खान होटलमा पस्यौँ । मैले होटलवाली बहिनीलाई समयकटनी सोधेँः ‘के थरि बैनी ?’ उनले जवाफ फर्काइन्ः ‘म कट्टेल’ । मैले सोधेँः ‘माइती कि घर कट्टेल ?’ । उनले हाँस्दै तर सजिलै भनिन्ः ‘माइती नि, घर त लिम्बू ऊ मेरो बूढा ।’

। चुल्होमा जेरी पकाइरहेको गोद्रयाके लिम्बु उनको श्रीमान् थिए । मैले पनि जिस्क्याएँः ‘लु राम्रो गर्नुभयो । के गर्ने मैले पनि उहिले बैँसमा एउटी नेवार्नी मन पराएको थिएँ, बाबुआमाले दिएनन् । मान्दै मानेनन्, ल्याउन पाइएन’ । उनी झन् हाँसिन् र भनिन् ः ‘भाग्नू थियो नि। मायाका लागि भाग्न नसक्ने पनि के माया !’

इलाममा खाना खाएर हामी फिदिम आइपुगेका छौं । नकुलकोमा पाहुना लाग्न । नकुल मेरो भाइ हुन्, पाँचथर प्रहरीप्रमुख । उनी प्रहरी जवानलाई निर्देशन दिइरहेका थिए ः नपिटी ल्याउनू, कुट्लास् ।  

म धेरै पहिलेको कुरा सम्झिरहेको थिएँ यो बेला कि अनाहकमा प्रहरी थानादारले मलाई एक झापड हानेका थिए । मलाई लाग्यो अहो, समय साँच्चि बदलिएछ । अपराध गर्नेलाई पनि नकुटी गिरफ्तार गर्नुपर्ने दिन आए । 

२०७३साल असोज ३० गतेको बिहान ६.३० मा फिदिमबाट हिँडेका छौँ । हिँड्नुपूर्व म फिदिम बजारलाई नियालेर हेर्दै छु, अहा कति सुन्दर छ यो फिदिम बजार । टक्क मिलेको छ । लिम्बुनीका राता गाला नियाल्दै इस्कुसका झ्याङ् हेर्दैछु । लिम्बुवान् राज्य लेखिएको ठूलो गेटलाई हेरिरहेको छु । यसैमा फोटो खिचेको छु । कठै यी लिम्बुहरूको स्वतन्त्रताको चेत । नेताहरूले खयाली पुलाव पकाइदिएका छन् । बिचरा यी लिम्बुहरू नेपालीको गर्भभित्र लिम्बुवान् खोज्दै छन् । पहिचान खोज्दै छन् । म नेपालको सिंहदरबारको गेटमा उभिएको सोच्दै खिइँदै गएको नेपाली पहिचानलाई बुझ्दै यो लिम्बुवान गेटमा उभिएको छु । म के टिप्पणी गरूँ र ? शासक जात बाहुन परेँ । तर सलाम छ लिम्बुवान् चेतलाई ।

ताप्लेजुङ्को डिएसपी कार्यालयमा गाडी राखेर त्यहाँको ल्याण्डरोभर यातायातबाट बाटो लागेका छौँ । अहो, ताप्लेजुङको सुकेटार विमानस्थलदेखि काफ्ले पाटीसम्मको बाटो । सायद यो बाटो नै होइन । चार वर्ष पहिला आउँदाभन्दा बदत्तर । उफ, यो विकासको वृृद्धिदर । काठमाडौँका खोविल्टे सडकलाई गाली गर्दै हिँडेको मान्छे हुँ म । यहाँ आएर कसलाई गाली गरूँ भएको छु । के गाली गरूँ भएको छु । ती ल्यान्डरोभर जिप, दोस्रो विश्व युद्धका जिप कति बलिया । हिलो, कादो, ढुङ्गा केही नभनी हिँड्ने । यहाँका मान्छेलाई मैले त्यसै सोधेथेँँ ः ‘चार वर्ष पहिलाभन्दा अहिले सडक झन् बिग्रेछ । बनाउन्नन् ?’

उनले उत्तर दिएथे ः ‘कत्ति पैसा ल्याएर कुम्ल्याए हजुर यही बाटाका नाममा । यी गाडीवाला, पुलिस, प्रशासन, नेता सबै मिलेका छन् हजुर । १२ किमीको भाडा एकजनाको ३ सय लिन पाएका छन् । बाँडी खान्छन्’

मैले पत्याउनु र नपत्याउनुले के फरक पर्छ  र ?होला पनि कि । होइन पनि होला कि ।मान्छे त्यसै पनि भनिदिन्छन् । भन्न कुनै आइतबार बार्नु पर्दैन । बाटो हेर्दाभने ती गाडी र ती ड्राइभरलाई नै पाथीभरा माता भनेर पूजे पनि हुनेजस्तो लाग्छ ।

म पाथीभरा गइनँ । पहिले गएको हुनाले आँट गरिनँ । उकालो । पाथीभरालाई पुकार्दै यही काफ्लेपाटीमा बसेको छु । पोखरेल होटलमै बास परेको छ । संयोग म पनि पोखरेल र होटल पनि पोखरेल । अरू उकालो लागेका छन् । काफ्लेपाटी आइएको छ । यो काफ्ले पाटी पाथीभरा जाने फेदी हो । यसमाथि ठूलो फेदी छ । काफ्लेपाटीबाट उँभो गाडी जाँदैन । पाथीभरा जाने तीर्थालुहरूले यहाँबाट पैदलमार्च गर्नुपर्छ । हाम्रो काफ्लेपाटीसम्मको यात्रा अत्यन्त ढुक्कको भएको छ । किनकि हामी डिएस्पी सा‘पको पाहुना मानिएका छौं । काफ्लेपाटी पुग्नुभन्दा केही पहिलेदेखि प्रहरी भाइ खटिएका छन् । हाम्रो ख्याल राखिरहेका छन् ।

यसैबेला हाम्रा प्रहरी भाइले मलाई सुनाए ः सर जानुपर्ने भयो । यही तल गाउँमा दुईघर भट्टराई कुटाकुट गरेर ७÷८ जना सोताम्य भएका छन् । लास उठाउन जानुपर्ने भयो, राम्रोसँग जानु होला । मैले यहाँ सबै मिलाएको छु । हजुरहरूलाई कुनै दुःख अप्ठ्यारो हुँदैन । हाकिम साबले सोध्नुभयो भने मेरो बारेमा राम्रो मात्र भनिदिनु होला ।

मलाई लागेथ्यो कि यो घोर लिम्बुवान क्षेत्र, रक्सी खाए होलान्, जुधे होलान् । तर घटना लिम्बुका बीचमा भएको थिएन । बाहुन भट्टराईमा भएको थियो । रक्सी पनि खाएका थिएनन् । दुवै घर साक्खै दाजुभाइका थिए । भाइको गाइ फुकेर दाजुको बारीमा बाली खाएको रहेछ । दाजुले भाइलाई चिर्पटले दिएछ । भाइ खुत्रुक्कै । अनि परिवार नै लडाइँ गर्न थालेछन् । परिणाम दुवैतर्फका मान्छे स्वाहा भएछन् । यो घटना रहेछ । उफ, म मान्छेको रिस सम्झँदै छु यतिबेला । उन्माद सम्झिँदै छु । मान्छेको चेत र जीवन सम्झँदै छु । मान्छे जातसँग नै वैराग चलेर आएको छ । मान्छेको सनक र मृत्यु । उफ ! मलाई दिग्दार बनाएको छ ।

काफ्लेपाटीमा भोलिपल्ट म बिहान ३ बजे नै उठेको छु । साथी छ सिन्डी । ऊ पनि मस्तले सुतेको छ । तर म उठेपछि ऊ पनि उठेको छ । पल्लो होटल खुलेको मेरो कोठाको झ्यालबाटै देखिन्छ । चियाको वास्ना आइरहेको छ । सडकमा निस्केको छु । काठमाडौँमा श्वास फेर्न डराउने र मास्क लगाउने मेरा नाकका प्वालहरूले निर्मग्न श्वास फेरेका छन् । निर्धक्क रमाएर श्वास फेरेका छन् । पाथीभरा जान मान्छेको चहलपहल सुरु भइसकेको छ । त्यो होटलमा चिया मागेको छु । खाएँ । सिन्डीलाई अन्डा र दूध । अरे यो सिन्डी लाड‘साप छ । अन्डाको पहेँलो मात्र खाने । उसको ओरिजिनल मालिक मेरा सम्धीज्यूको उसलाई तिर्सना लाग्यो होला । किनकि सम्धीज्यूले काठमाडौँको सभ्यताअन्तर्गत पाल्नुभएको त्यो कुकुर । कुकुरलाई काफ्लेपाटीकै बाटोमा डुलाउँदै थिएँ, एकजनाले भनिहालेः ‘यहाँ मुन्छेको के बिजोग छ, यो कुकुरलाई भने.......’ । साँच्चि मलाई उसले नेपाल दर्शन बोलेझैँ लाग्यो । नेपालको विभेदमाथि सरल तरीकाले विद्रोह गरेझैँ लाग्यो । यसैबेला साहुनी बैनीले एउटा मान्छेलाई देखाएर भनिन् ः हेर्नु त एकपैसा छैन रे यो मान्छेसँग । पाथीभरा हिँडेको रे । पाथीभराले रक्षा गर्छन् भन्छ ।’

उसको धार्मिक आस्था र विश्वासलाई मैले केही भन्ने कुरै छैन । ठीक यही बेला मेरो सिण्डी भने अण्डाको पहेँलो भाग पनि खाऊँ कि नखाऊँ गर्दै छ अझै । ऊ भने धर्मको लािग एक प्याला कालो चिया सित्तैँ माग्दै छ साहुनी बैनीसँग ।

मसँग समय छ । कुर्नु छ । त्यसै त्यसै होटलतिर डुल्न थालेको छु । मलाई एउटा होटलवालीका आँखा खूव मन परका छन् । बोल्दा घरिघरि एउटा आँखा सन्काएजस्तो लागेको छ। कस्ता सुन्दर आँखा । उनको होटलमा गएर दूधचिया खाएको छु । लौजा, उनले फेरि आँखा सन्काइन् । मेरो लोग्नेमान्छेको मन कस्तोकस्तो भएर तरङ्गिएको होला त विचार गर्नुस् है । तर बिस्तारै टुंगो लगाएँ, होइन रहेछ । विचराको बानी रहेछ । बानीभन्दा पनि रोग रहेछ । म आफ्नै निकृष्ट सोचसँग आफैं दिक्दार भएँ । सायद म भालुको मन खन्यूमाथि भनेझैँ सोच्दै थिएँ कि ।

समय कटनी अर्को होटलमा छिरेको छु । होटलवाली बाहुनी नै रहिछिन् । खाँटी बाहुनी । वातावरण अति चिसो छ । चिसो हावा सर्र आइरहेछ । अगेनामाओदानमाथि ठूलो केत्ली बसाएर चिया पाकिरहेको छ । म अगेनाकै छेउमा बोलाइएको छु । मैले फेरि चिया मागेको छु । पहाडमा बोल्न सुरु गर्ने पहिलो कुरा नै ‘नानी के थरि?’ हुन्थ्यो । मैले पनि ‘बहिनी, तपाईँ के थरि? भनेरै सोधेँ ।  

उनले उत्तर दिएकी छिन् ः ‘दाजु, म दाहाल, मेरो बूढा तामाङ’

अहा कति सजिलै भनेकी छिन् उनले । मैले उनको नालीबेली खोजेको छु । रिट्ठो नबिराई सबै बताएकी छिन् । तामाङलाई टिपेर भाग्दा उनी १५ वर्षकी र तामाङ १६ वर्षका थिए रे । उनले भनिन्ः ‘मायामा पनि के हिसाबकिताब हुन्छ र दाजु ! यस्तै हो, भागियो नि । एकधरो लाएकै छ, एकमाना खाएकै छ, मुख्य कुरा त माया हो । माया छँदैछ । यहाँ त हेर्नु न तपाईँको भाइकी बूढी लिम्बुनी हो’ यो पोखरेल होटल मालिकको छोराको कुरा रहेछ । यसोभन्दा तामाङ भाइ हाँसिरहेका छन् ।

मैले सम्झेँ । अहा यो कस्तो जातीय समिश्रण । त्यहाँ मान्छको जातउपजातहरू यसरी घोलिएका छन् र यतिबेला म काठमाडौंको जातीय ङारङुर सम्झिएको छु । घनघोर लिम्बुवान र त्यो जातीय आत्मीयताको घोल । अहा कति सुन्दर छ यो घोल !

मेरा तीर्थालु दिउँसोको २ बजे नै आए । मेरा काठमाडौंमा अभ्यस्त नाकका पोराले फेरि सम्झाउनी बिर्साउनी श्वास बेस्सरी फेरेका छन् । के ठेगान यो हावा फेरि पाइन्छ कि पाइन्न ! खाना खाएपछि हामी हिँडेका छौँ । काफ्लेपाटीमा भएका सबैले मलाई बिदाबारी गरेका छन् । मानौ ती मेरा वर्षौँका यार हुन् । झट्ट सम्झें काठमाडौंको पल्लो कोठाको छिमेकीलाई मैले पनि पाथीभरा जाँदै छु भनेको थिएँ । तर उसले सामान्य औपचारिकताबाहेक केही भनेन । र मलाई लागिरहेको छ के यो काफ्लेपाटी असभ्य छ र ! ऊ मजस्तो एकरातेलाई पनि सोधिखोजी गर्छ, हार्दिकता देखाउँछ र उर्लिएर मलाई मुखले, हृदयले र हात हल्लाएर बिदाई गर्छ । तर उफ मेरो काठमाडौँ ! खोई ऊ त सभ्यताको बर्को ओडेर धूवाँधूलोमै निर्मग्न निदाएको छ । 

प्रकाशित: ११ भाद्र २०७७ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App