२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

गणेश चौथी अर्थात् च थाः

चाडपर्व

सूर्यप्रसाद लाकोजू

नेपाल विविध सांस्कृतिक पर्वहरूमा सम्पन्न छ । यहाँ रहेका विविध जात जातिहरूले वर्षभरिमा अनेकौं पर्वहरू मनाउँदै आएका छन् । नेपालका नेवार समुदायले पनि विभिन्न पर्वहरू वर्षभरिमा मनाउँदै आएका छन् । यस्ता चाडपर्वहरूमध्ये चथा अर्थात गणेश चौथी पनि एक हो ।

यो पर्व भाद्र शुक्ल चौथीका दिन मनाइने गरिन्छ । यसलाई नेपाल भाषामा चथा भनिन्छ र यो दिन पुजिने देवतालाई चथा देवता भनिन्छ  । यस दिन भगवान गणेश  जन्मेको मानिन्छ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यस दिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशलाई मन पर्ने लड्डुको भोग लगाउने गर्दछन् । यस दिन भगवान गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । आजकै दिन नेवार समुदायमा च थाः पर्व मान्ने प्रचलन छ । चथा पर्वमा साँझमा भगवान गणेश र चन्द्रमाको पूजा गरी मनाउने परम्परा रहेको छ । कतैकतै भने यो पर्वमा बिहान गणेश, महादेबको पूजा गर्ने र रातको समयमा चन्द्रमाको पूजा गरी  मनाउने चलन पनि रहेको छ ।

यस दिन काठमाडौ उपत्यका लगायत नेवार समुदाय रहेको स्थानमा बिहानै घर सफासुग्घर गर्ने, गाईको गोबरले भूइँ लिपपोट गर्ने गर्दछन् । गेडागुडीलाई विशेष महत्व दिइने यस दिन चोखो गरेर मकै, भट्मास, गौं, केराउ, चना, बदाम, चना, बकुला, बोडी, सिमी, मास लगायतका सामग्री भुटेर तयार पारिन्छ । साथै यो पर्वमा आरूको वियाँ पनि भुटने चलन छ । त्यस्तै उपलब्ध फलफूल, समयबजी, भोज आदि तयार गरिन्छ । साँझ चन्द्रमा उदाएपछि गणेशको मूर्तिलाई ˇयाल, कौसी, बरण्डा आदिमा प्रतिस्थापित गरिन्छ । त्यस दिन सर्वदा बोटको पातमा कमलको फूल, चथा फूल, अदुवाको बोट, समयबजी, भुटेका गेडागुडी, फलफूल राखेर गणेशको पूजा चथा द्यः का रूपमा भक्तिपूर्वक गरिन्छ । पूजा सकिएपछि सबैले टीका, प्रसाद ग्रहण गर्दछन् । गणेशको पूजा गरेको मूर्ति रातभर यथास्थानमा राख्ने चलन छ । भोलिपल्ट बिहानै गणेशको मूर्ति फेरि पूजा गरेर साविककै स्थानमा लगरेर राख्ने गरिन्छ ।

गणेशको जन्मदिनको रूपमा मान्ने चलन नेवार सुदायमा मात्र नभइकन सिङ्गो नेपाल, भारत, थाइल्याण्ड लगायतका देशहरूमा उत्सवको रूपमा गाणेश चौथी मान्ने प्रथा छ ।

चथा पर्वलाई नेवार समुदाय सानो दशै अर्थात दशैं भियाउने पर्वको रूपमा मान्ने गर्दछन् । चथा राम्रोसँग मनाउन सकियो भने दशैं पनि राम्रो हुने धार्मिक मान्यता रहेको छ । त्यसैले चथा पर्वका दिन नेवार समुदायका मानिसहरू धुमधामसँग मनाउने गर्दछन् । यस दिन विधिपूर्वक चथा पूजा गरेपछि समयबजी खाने प्रचलन रहेको छ । समयबजी खाएपछि परिवारका सबै बसेर भोज पनि खाने गर्दछन् ।

गणेश चौथीका दिन चन्द्रमालाई हेर्नु हुन्न भन्ने चलन छ । यदि आजको दिन चन्द्रमालाई हेरेमा आफूले कुनै गल्ती नगर्दा पनि चोरको दोष लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । आजको दिन भगवान कृष्णले रातमा चन्द्रमा हेरेका कारण मणि चोरको आरोप लागेको थियो । भगवान कृष्णले समेत हराएको मणि अनेक प्रयास गरी भेट्टाइदिएको र आफू चोर दोषबाट मुक्त भएको आख्यान छ । त्यसैले यस दिन अनावश्यक चोर दोष आइपर्ला भनेर साँझ पर्नासाथ ˇयालढोका सबै बन्द गरेर बस्छन् । यस बारे पनि एउटा रोचक आख्यान छ ।

आख्यान अनुसार उहिले उहिले परापूर्व कालमा स्वर्गलोकमा एकदिन देवताहरूको सभा भइरहेको थियो । त्यस सभामा भगवान गणेश पनि सहभागी थिए । सभाका कसैले केही भनेन् तर चन्द्रमाले भने भगवान गणेशको शरीरलाई लिएर खिसी गरे, अपमान गरे ।  आफू यसरी अपमानित हुनुपरेका कारण गणेशले चन्द्रमालाई सधै अन्धकारमा बस्न परोस्  र तिम्रो मुख हेर्नेहरू सबै चोरलाई मिथ्या दोष लागोस् भनेर श्राप दिए । भगवान गणेशबाट श्रापित चन्द्रमा त्यस दिनदेखि अन्धकारमा बसिरहे । उनको अनुहार कसैले पनि हेर्दा नि हेरेनन् । उनलाई आफूले गरेको गल्तीप्रति ठूलो पश्चाताप हुन थाल्यो । केही समयपछि चन्द्रमा दुवोको माला, लड्डु, फलफूल लिएर भगवान गणेशको शरणमा गए । भगवान गणेश कहाँ गएर पूजा, आराधना गरी क्षमा मागे । भगवान गणेश प्रसन्न भई चन्द्रमालाई चौध दिनसम्म चन्द्रमाको तेज कम हुने तर पूर्णिमाको दिन निकै तेजिलो हुने वरदान दिए । साथै आफूले दिएको श्रापको लाज हुने गरी वर्षभरिमा भाद्र शुक्ल चौथीको एक दिन मात्र चन्द्रमाको मुख हेर्नेलाई चोर दोष लाग्ने बताए । त्यसैले त्यो दिन चन्द्रमालाई हेर्नु हुन्न भन्ने चलन चलेको हो भन्ने जनधारणा रहेको छ । यो दिन कसैमाथि पनि चोर दोष नलागोस् भनेर भगवान गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा चल्दै आएको हो भन्ने मान्यता रहेको छ ।

यस दिन साँझ पर्नासाथ घर बाहिर निस्कनु हुन्न, निस्केमा चोरको दोष लाग्छ भन्ने जनधारणा रहेको छ । वास्तवमा यसको पछाडि ठूलो कारण देखिन्छ । पहिलेका मानिसहरू धार्मिक भावनाले प्रेरित हुन्छन् । पाप र धममा ठूलो ध्यान राख्छन् । त्यसैले यस प्रकारको धार्मिक कथाका माध्यमबाट मानिसलाई साङ्केतिक रूपमा सचेत गराएका हुन सक्छन् । भाद्र महिना फलफूल पाक्ने समय हो । अन्य केही बाली पनि यसै महिनातिर पाक्न सुरू हुन्छ । किसानले हातका दश नङ्ग्रा खियाएर परिश्रमपूर्वक  लगाएको बाली चोर्ने, विगार्ने गर्नु हुन्न भन्ने मार्मिक सन्देश यो पर्वले बोकेको देखिन्छ । साथै आरूको वियाँलाई समेत महङ्खव दिएको यो पर्वले सानो वियाँ पनि मानिसका लागि महत्वपूर्ण हुन्छ भन्ने कुरा चथा पर्वले बताएको दृष्टि गोचर हुन्छ ।

प्रकाशित: ६ भाद्र २०७७ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App