मेरो बुवा
बाँसुरीको धुनसँगै श्रमको धुन गाँसेर
बोलाउनुहुन्थ्यो हाम्रो उज्यालो भविस्य
हृद भरि संगाल्नु हुन्थ्यो
मीठो संगीत र अथक वात्सल्यस्नेह
स्वरभरी ओराल्नु हुन्थ्यो सपनाका गितहरु
र तरंगिनु हुन्थ्यो विपनामा उल्लासका लहरहरु !
विडम्बना
अहिले मसँग मात्र
बुवाको स्मृति रहेको छ
हामीलाई बोकेर रमाउने काँध
हाम्रो श्पर्शमा तृप्त बन्ने हातहरु
हाम्रै एक झल्कोमा खुशी फक्रने ती नयनहरु
सबै आज स्मृति बनेको छ , बुवा !
मस्तिष्कमा अमिट कोरिएका सुन्दर तस्बिरहरु
र आशिर्वादका न्याना श्पर्शहरु
बिउँझी रहन्छन् सम्झनाका तरेलिमा !
व्यवहारका गह्रुङो भारीले थकाएर
अधमरो पारेको बेला
मन बिसाउन चौतारी छैन मसँग अहिले
अव्यक्त पिडाका रापले हृदय भतभती पोलेको बेला
शितल छहारी छैन मसँग अहिले !
हिजो आज ,
जब म बुवा सम्झन्छु
सिंगो बस्ती बोकेर उभिएको
एउटा सग्लो पहाड देख्छु
जगतलाई उज्यालो र शितलता छर्दै
टाढाबाट मुस्कुराई रहने पूर्ण जून देख्छु
अनि देख्छु
सत्तरी नाघेका मुहारहरुमा
जसले मलाई नानी भनेर बोलाउनु हुन्छ
समयको छालसँगै मेरो बुवाको
उन्चास वर्षिय तेजिलो मुहार
समयकै छांयामा मधुरो रुपान्तरण भै रहेछ !
हुत्तिएर आउने सम्झनाका भेलले
सिनिक्क सोहोरेर खुशी बगाए जस्तै
नबगाउँदो रहेछ पीडा र
बगाउनै नसक्दो रहेछ
मेरो हृदय सागरमा तैरिरहेको तपाईंको छांया
पिडाको एउटा हुकले पिरो दुख्छ मन
एउटा उछ्वास निस्कन्छ थरथराउंदै
बुवा ...... मेरो बुवा
प्रकाशित: ५ भाद्र २०७७ १०:२० शुक्रबार