२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

त्रिवेणी संयोगमा बुवालाई सम्झिँदा

खेमराज पोखरेल

 

आज २०७७ साल भदौ ३ गते मेरो लागि त्रिवेणी संयोगको सुखद दिन हो । १९९१ सालको भदौ ३ गते बुवा जन्मिनुभएको हो । त्यसकारण मरो बुवाको जन्मदिन हो आज । बुवा ८६ वर्ष पुगेर ८७ वर्ष लाग्नुभएको छ । जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना बुवा । आजको दिनमा भगवानसँग हजुरको चिरिञ्जीवी आयु मागेको छु । सन्तानलाई आशिष् प्राप्त भइरहोस् । २०१३ सालको भदौ ३ गते म जन्मिएँ  र आजबाट म पनि ६४ वर्ष पुगेर ६५ वर्ष लागेको छु । पितृका कृपाले भौतिक तथा पराभौतिक दिमाग चलेकै छ । मलाई पनि शुभ जन्मदिन । र आज २०७७ सालको भदौ ३ गते कुशे औँसी, पूर्वी शास्त्रीय आधारमा आफ्ना पिताको मुख हेर्ने सर्वाेत्कृष्ट दिन । पितृसेवा गर्न अठोट गर्ने दिन । त्यसैले आजको भदौ ३ ले मलाई खुसी, भावुक र व्यतिरेकी बनाइरहेको छ । म सनैसनै पग्लिरहेको छु । मान्छेको भौतिक वा पराभौतिक जीवन निर्माणमा बुवा र आमाको भूमिका पक्का पनि गणितीय हुन्न । त्यसैले संसारभरिका शास्त्रमा आमालाई पृथ्वी र बाबुलाई आकाशसँग तुलना गरिएको पाइन्छ । पृथ्वीमाथि खनीखोस्री सिर्जना गरेर मान्छे बनेको छ । बाँचेको छ । आकाशले हावापानी, तातोचिसो प्रदान गरेर सृष्टि थामिएको छ । सृष्टि चलेको छ । समग्र मान्छेको सार यही आकाश र पृथ्वीको परिधिभित्र सीमित छ । यही सारभित्र देवत्व छ । देवत्वभित्र सम्बन्ध छ । त्यसकारण मेरो बुवा मेरा लागि जिउँदो देवता हो । उहाँका देवत्वका कारणले म निर्मित भएको छु । सिञ्चित भएको छु । जीवनबोध गर्दैछु । 

म अमेरिकामा बस्छु । बुवा गाउँ सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाको बस्तीपुर गाउँमा बस्नुहुन्छ । यो प्रसङ्गमा आजको विशेष दिनमा म बुवालाई साष्टाङ्ग दण्डवत गर्दछु । म आफैँ सम्झिरहेको छु कि जीवन धान्न आफैँले गर्नुपरेको सङ्घर्षले पटकपटक पछारेको छ मलाई पनि । लतारेको छ मलाई पनि । सोतारेको छ मलाई पनि । सायद अरूलाई पनि यस्तै होला भनिठान्छु । पक्का हो । त्यसैले यो लतार्याइ पनि सामान्य प्रकृया होला भनिठान्छु । तर पनि यस्ता बेलामा म रातभर निदाउन सक्दिनँ । सामान्यतया मलाई सुत्नेबित्तिकै त्यसै पनि फुस्स निद्रा लाग्दैन । बुढारी लागेको भन्छ डाक्टर । कुरा बुझेको छु कि मेरो अनिदोले समस्यामा सुधार हुने होइन । र यो समस्या कहिल्यै सकिने र टारिने कुरा पनि होइन । तर पनि जब ओछ्यानमा पुग्यो अनि दिमागका चेतनाका तन्तुभित्र चाहिने नचाहिने कुरा सल्याङमल्याङ गर्न थाल्छन् । भौतिकवादका आदर्श र आध्यात्मवादका तत्त्व बुझेर पनि केही हुनेवाला भएन । अनि त म फुस्स निदाउन कहाँ सक्छु र ! यसरी मेरा सङ्घर्ष र चेतनाका कारण छटपटिएको बेला म हरबखत मेरा पिताजीलाई सम्झन्छु ।

पिताजीको परिवारको बोझ निकै ठूलो थियो । ६ भाइ छोरा, ४ छोरी जन्मेका थिए । ३ छोरीको अति अल्पायुमै निधन भएको थियो । हजुरबा हजुरआमा हुनुहुन्थ्यो । हरुवा चरुवा थिए । हाम्रो घर पहाड–मधेसको केन्द्रमा थियो । पाहुनालाई देवता मान्ने युग थियो त्यो । खेती सीमित थियो । आम्दानी सीमित थियो । टार्नु पुर्याउनु निकै सकस हुन्थ्यो ।

म जेठो छोरो थिएँ । आफ्ना पालामा बुवाले पढ्न पाउनु भएन । सायद त्यो बेला परिवारभित्र त्यो भौतिक र अभौतिक चेत पनि थिएन । सुविधा पनि थिएन । आवश्यकता पनि थिएन । तर बुवाको तीव्र इच्छा थियो पढ्ने । परिवेश, समय कहाँ त्यति सजिलो थियो त्यो ताका ! पढ्नका लागि कि त लाहानको बस्तीपुर कि राजविराज पुग्नुपर्ने थियो सायद । त्यो स्वाभाविक रूपमा मेरा पिताका लागि परिवेशीय चेत अर्थका कारणले सम्भव थिएन । बुवा भन्नुहुन्थ्यो उहाँलाई पढ्न खूब मन लाग्थ्यो । एउटा काइतेले अलिअलि नेपाली हिज्जे र पहाडा सिकाइ दिएका थिए रे । त्यही भरमा बुवा जोड घटाउ, गुणा भागमा खूबै सिपालु हुनुहुन्छ अझै । यो लेखिरहेका बखत मेरा पिताजी ८६ पुगेर ८७ मा हिँड्दै हुनुहुन्छ । उहाँ अझै चस्मा लगाएर मजाले उपन्यास, काव्य, कथा पढ्दै हुनुहुन्छ पूरा तन्मयका साथ । कविता लेख्दै हुनुहुन्छ । तर्कवितर्क गर्नुहुन्छ । ज्ञानविज्ञान र शास्त्रका कुरामा प्रगतिशील बहस गर्नुहुन्छ । राजनीतिक चेत राख्नुहुन्छ । राजनीतिक विकास खोज्नुहुन्छ । योबाट मैले मानेको छु कि बुवा ‘इन्टेलिजेन्ट’ व्यक्ति हो । त्यसैले मेरा बुवा गरीब गाउँलेका अगाडि आफ्ना जमानाको सबै थोक हुनुहुन्थ्यो । परिवारको मात्र होइन, समग्र गाउँको आश हुनुहुन्थ्यो, भरोसा हुनुहुन्थ्यो । 

पछि बुवासमेत लागिमेली गरेर कराँसामा स्कुल खुलेको थियो । बुवाले छोराछोरी पढाउनुपर्ने थियो । जमाना अलिकति फेरिएको थियो ।

खेतीको सीमितताभित्र बाँच्नुपर्ने नियति थियो बुवाको । त्यसमाथि बाहुनले दूध बेच्न हुँदैन भन्ने संस्कृति पालेर बस्नुभएको थियो । तर समयका चुटानमा उहाँले नै आफ्नो जीवनको मध्यतिर आइपुग्दा दूध बेच्नुपरेको थियो । खासमा भन्ने हो भने बुवाको पारिवारिक बोझ यसै दूध बेचाइले केही हल्का बनाएको थियो । बाँडेर खाने संस्कृति उहाँमा थियो । मलाई सम्झना छ एकपल्ट गाउँमा खडेरी परेको थियो । गाउँका मान्छेसँग खानका लागि अन्न थिएन । बुवाले आफ्नो धानको भकारी फोडेर दामासाहीले धान दिएको सम्झना आउँछ मलाई । गाउँलेहरूको पीरमर्का अहिले पनि बुझ्न खोज्नुहुन्छ । लेनदेन आदिआदि अझै पनि गर्दै हुनुहुन्छ ।

बुवाले आफू १८ वर्षको भएपछि नै घरव्यवहार हेर्नुभएको थियो । हजुरआमा र बुवा भएर घरव्यवहार लेनदेन हेर्न थाल्नुभएको थियो । कारण हजुरबा अलि शान्त स्वभावको हुनुहुन्थ्यो । यो संसार माया हो भन्नुहुन्थ्यो । गीतामार्गी हुनुहुन्थ्यो । त्यसकारण हजुरबाले घरव्यवहारको काम बेलैमा छोडिदिनु भएको थियो । हजुरबा खासमा वानप्रस्थ चेतमा हुनुहुन्थ्यो । त्यसकारण परिवारको बोझ भारी थियो । म सम्झिरहेको हुन्छु । पिताका दह्रो आँट, निर्णय गर्ने क्षमता, निर्देशन दिन सक्ने खूबीलाई ।

खेतमा खडेरी लागेको हुन्थ्यो । बारी बाँझै हुन्थे । पानी पर्ने नामोनिसान हुँदैनथ्यो । खेतबारी भन्ने आकाशे पानीका भरका थिए । सायद उहाँका जीवनमा समस्याका पहाड लाग्थे होला । ठूलो परिवारको बोझ बोकेको थकाइले मेरा पिताजी रातरातभर छट्पटिनुहुन्थ्यो । सधैँ बरण्डामा सुत्ने हुनाले उहाँका सुस्केराहरू रातको सन्नाटाभित्र चलमलाइरहन्थ्यो । गाई ड्वाँ गरेर कराउँथ्यो, बुवा द्रवीभूत भएर घाँसको पाँजो लिएर पुग्नु हुन्थयो । पिताजी छटपटिनुको कारण जायज थियो । जे भए पनि आफ्ना सन्तानलाई आरोग्यसहित गोहो देखाउन बुवा छटपटिनु हुन्थ्यो ।  रातरातभर खुर्र्र्र्र्र्र्र्ईखुई गर्नुहुन्थ्यो। त्यो बेला यसरी आउने बुवाका सुस्केराहरूले मेरो बालमन विदीर्ण बनाउँथे । मसँग केही उपाय थिएन । तर मनमनमा सम्झिन्थे कि मैले बुवाको भार कम गर्नु नै पर्छ । बुवाका सुस्केराहरूलाई हटाउनुपर्छ । घटाउनु नै पर्छ । बुवाको असल छोरो बन्नु नै पर्छ । तर समय र परिवेश मैले चाहेअनुसार र सोचेअनुसार कहाँ हिँड्छ र ! मैले आफ्नै जीवनलाई मिलाउँदामिलाउँदै म अमेरिका र बुवा नेपाल भएको छ नियति । खासमा अचेल त लागि रहको छ कि जीवन मिलाउनु वा मिलाएँ भन्नु पनि एउटा मीठो भ्रम हो । तर पनि मनमा, दिमागमा र परिवेशीय स्रोतमा अहिलेसम्म म यो प्रयास गरी नै रहेको हुन्छु । तर आफ्ना भौतिक जीवनका सीमाहरू यसरी बलिया भइदिन्छन् कि म चाहेर पनि नेपाल जान सकिरहेको छैन । नेपाल पुगेर बुवाको अनुहारको खुसी पढ्न पाएको छैन । मनमा कुण्ठा बोकेकै छु । आफ्नै सुस्केराका सुसाइहरू यस्ता जब्बर भइदिन्छन् कि जिन्दगी ‘भ्यागुताको धार्नी’ भइरहेछ र पनि बुवाका सुस्केराहरू मेरा मानसपटलमा घुमिरहेका छन् । बुवाका सुस्केराहरूका कणकण आएर ममा ठोकिन्छ । बुवाले पढ्न बाध्य पारेका क्षणहरू अहिले स्वर्ण भएर आइरहन्छन् । त्यसैले पनि आफूलाई धन्य ठान्दछु । किनभने यो आजको त्रिवेणी संयोगले मेरा पोल्टामा मुरीमुरी सुखद खुदो पारिदिएको छ । शुभ जन्मदिन बुवा, शुभ कुशे औँसी बुवा ।  

प्रकाशित: ३ भाद्र २०७७ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App