राजबाबु श्रेष्ठ ‘सागर’
१
नसुक्दो रहेछ कहिल्यै नयनमा आँसुको मूल ।
तर पनि फुल्दो रहेछ आँखामा खुसी भएर फूल ।
जीवन मृत्यु बीचको एक उडान रहेछ जिन्दगी
साँच्चै भनूँ, यही त रहेछ प्रकृतिको सुन्दर रुल ।
२
मेरी बूढी हजुरआमा दिनहुँ एउटा माला बुन्छिन् ।
उनी धागोमा फूलसँगै देशका सपनाहरू उन्छिन् ।
निदाउँछिन् सपनाका सिरानी लगाई चेपेर देश
बिउँझेपछि उनी आफ्नै देश सम्झेर धुरुधुरु रुन्छिन् ।
३
गाउँहरू मासेर मेरा शहर बनाउँछन् उनीहरू ।
बेचेर मेरा नदीहरू नहर बनाउँछन् उनीहरू ।
गाउँका साँढे जति सबैलाईै खसी पारेर यहाँ
कुकुर र स्याललाई बहर बनाउँछन् उनीहरू ।
४
लौ न ए ज्योतिषी बा, मेरो देशको भाग्य हेरिदेऊ !
साढेसात र खड्ग छन् भने अर्को रेखा कोरिदेऊ ।
त्यति गर्दा पनि हाम्रा देशका दशाहरू टर्दैनन् भने
च्यातिन लागेको मेरो देशको चिना नै फेरिदेऊ ।
५
आजसम्म देशमा कोही पनि देशभक्त देखिएन ।
निकै भो रणभूमिमा वीरहरूको रक्त देखिएन ।
नारा होइन मुटुमा हजुर, माया हुनुपर्छ देशको
दरबार छिर्ने जति कोही पनि सशक्त देखिएन ।
प्रकाशित: ३१ श्रावण २०७७ १२:०२ शनिबार