२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

स्मृतिको म्युजियम

संस्मरण

द्वारिका नेपाल  

जिन्दगी कति लामो छ ? थाहा छैन । तर जतिजति यात्रामा निस्कन्छु उति जिन्दगीको दूरी छोटिएझैं लाग्छ । केही पटकको यात्रा जिन्दगीमा दूरी घटाउन उद्यत रहेको नजिकबाट भोगेको छु । नुनतेल जोर्नका लागि हरेक दिन गरिने यात्रामा जिन्दगीको दूरी घटाउने केही माध्यमहरू मुख आँ गरेर बसेझैं लाग्छ र त ‘आज झन्डैले ...’ जस्ता पदावली अनायासै मुखबाट पोखिन्छ । र पनि यात्राबाट कहिल्यै विमुख भएको छैन । परी आएको बेला जहाँ र जस्तोसुकै यात्रा पनि छिचोल्ने गरेको छु ।  

कुरो हो २०७६ साल मंसिर ७ गतेको हो । यो मिति झन्डै डेढ महिनाअघि तय भएको थियो । कुनैकुनै मिति यसरी अविस्मरणीय बनिदिन्छ जसलाई चाहेर पनि बिर्सन सकिन्न । मैले भूमिकामा नै संकेत गरिसकेको छु कि यो संस्मरण यात्रासँग सम्बन्धित रहेको छ । तर यो संस्मरण यात्रामा मात्र पूर्ण सीमित रहेको भने होइन ।  

२०७६ साल असोज २० गते बडा दशैँको नवमी तिथिका दिन झन्डै १६ जना साथीले विद्यालयमा बसेर एउटा अहम् निर्णय गरेछन् । रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयबाट २०४७ सालमा प्रवेशिका परीक्षामा सामेल साथीहरूको पुनर्मिलन कार्यक्रम आयोजना गर्ने जस्तो सकारात्मक र निकै प्रशंसनीय निर्णय गर्नु साथीहरूको आँट हो, क्षमता हो, जोस हो, जाँगर पनि हो । इतिहासलाई एकपटक स्मरण गर्नु हो । २०४७ सालमा सो विद्यालयबाट झण्डै १६५ जना विद्यार्थीले परीक्षा दिएका थिए । दश कक्षासम्म पढ्दा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने सामूहिक गन्तव्य बोकेकाहरूको उद्देश्य प्रवेशिका परीक्षापछि व्यक्तिगत हाँगामा बाँडिदै यत्रतत्र फैलिनु स्वाभाविक नै हो । 

जसरी एउटा सिंगो नदी नहर, कुलो, कुलेसो हुँदै खेतखेतमा बाँडिन्छ र पानीले खेत र बालीलाई जीवन दिन्छ, त्यसैगरी विद्यालय तहसम्म एउटै नदी बनेर बगिरहेका साथीहरू विभिन्न खेतमा बाँडिएको पानीझैं प्रवेशिकाको नतीजापछि बाँडिए । यसरी बाँडिनेमध्ये पङ्क्तिकार आफैं पनि एक हो । केहीले आफ्नै माटोको सुगन्ध छोड्न नसकेर चन्द्रनिगाहपुरमै विभिन्न पेसा, व्यवसायमा आफूलाई समाहित गरेका छन् । केहीले रहरमा पखेटा पलाएपछि आफ्नो नाभी चन्द्रनिगाहपुरमा नै गाडेर स्वदेशकै विभिन्न भूगोलमा आफ्नो भाग्य र भविष्य खोज्न उडान भर्न भ्याएका छन् । 

केही स्वदेशकै अन्य भूगोललाई आफ्नो कर्मक्षेत्र बनाएर रमाइरहेका छन् । केही भने अलि ठूलै रहरको पछि दौड्दै ठूलै पखेटा जडेर उडेका छन् । उड्दाउड्दै ती साथीहरू यति टाढा पुगेका छन् कि जसको शरीरमा कताकति टाँसिएको माटोको सुगन्ध प्रशान्त महासागर माथिको निलो आकाशले टकटकाइदिएको छ । सुकिलो सपना देखेर आँखा ओसिलो बनाउँदै हिँडेका यी साथीहरूको हृदयमा भने अझै आफ्नो गाउँको धमिलो छाया पक्का हराएको छैन ।  

पूर्वनिर्णयलाई पछ्याउँदै साथीहरूले २०७६ मङ्सिर ७ गते हेटौडामा पुनर्मिलन कार्यक्रम आयोजना गर्ने चाँजोपाँचो मिलाए । यसका लागि काठमाडौँबाट उमेशकुमार गुप्ता, सञ्जीव प्रधान, भाष्कर कोइराला, रमेश केसी, चरण अधिकारीलगायत साथीहरूले पसिना बगाएका थिए । चन्द्रनिगाहपुरबाट कृष्णमुरारी आचार्य, सुदर्शन आचार्य, लबकुमार कार्की, मधुकर खड्कालगायतका साथीहरूले संयोजन गरेका थिए । मिलन केन्द्र बनेको हेटौडामा भने अलि धेरै साथीहरू बस्दा रहेछन् । 

यसैले हेटौडाको व्यवस्थापन र संयोजनमा सुमित्रा काफ्ले, अनुपा घिमिरे, गजेन्द्र खनाल, कल्पना दाहाललगायतका साथीहरूको श्रम, विवेक, लगनशीलता खर्च भएको रहेछ । यिनै साथीहरूले सम्पर्कमा रहेका अन्य साथीहरूलाई विभिन्न माध्यमबाट  खबर गरिरहेका थिए । सपनाको पछि दौडँदै चितवनको भरतपुरमा श्रम, मस्तिष्कसँग जीवन साटिरहेको मलाई पनि सुदर्शन आचार्यको सेल फोनबाट उमेशकुमार गुप्ताले सम्पर्क गरेर मङ्सिर ७ मा हेटौडा आउन निम्ता गरेका थिए । मैले तत्काल सहमति जनाएको थिएँ ।  

मलाई मङ्सिर ७ को प्रतीक्षा थियो । यता चितवनमा यही मङ्सिर ७ गते कविडाँडा साहित्य प्रतिष्ठानले देशका विशिष्ट आख्यानकारहरूसँग विशेष अन्तरक्रिया र केही पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरेको थियो । म पनि चितवनमा रहेको चर्चित साहित्यिक संस्था गजल मञ्च, चितवनको वर्तमान अध्यक्ष थिएँ । अघिल्लो हप्ताको शनिबार कात्तिक ३० गते देशका पाँच जना चर्चित गजलकारहरूलाई निम्ता गरेर सुविशेष कार्यक्रम सम्पन्न गरेका थियौँ । 

यो कार्यक्रममा कविडाँडाका अध्यक्ष एलबी क्षेत्रीको पनि विशेष उपस्थिति रहेको थियो । यस कारणले पनि मैले कविडाँडाले आयोजना गर्ने यो कार्यक्रम छोड्नु हुँदैनथ्यो । तर मलाई यो कार्यक्रमभन्दा साथीहरूसँगको भेटघाट बढी महत्त्वपूर्ण लाग्यो । त्यसैले मलाई सौराहामा हुने साहित्यिक कार्यक्रमले भन्दा हेटौडामा हुने पुराना साथीहरूसँग मिलन हुने लोभले तान्यो । अनि तोकिएको दिन हेटौडा जाने योजना साँचेर अधैर्यका साथ हप्ता बिताएँ । 

मङ्सिर ७ गते शनिबार बिहान दैनिक जिम्मेवारीभन्दा हेटौडा जाने उत्साहले निद्रा खुल्यो । बिहान ५ः२० मा कालिका एफएममा समाचार वाचनका लागि जानुु थियो । जिम्मेवारी पूरा गर्न सदाझैं बिहान ४ बजे उठेर रेडियो स्टेसनमा पुगें र आफ्नो कर्तव्य पूरा गरें । जागीरबाट विदा भएपछि घर आएर हल्का खाजा खाएँ । बिहान ७ बजे आफ्नै ना २४ प ५१२१ नम्बरको मोटरसाइकलको साँचो अन गरेँ र  हेटौँडालाई गन्तव्य बनाएर घरलाई पछि पार्दै अगाडि हुइँकिएँ ।

मोटरसाइकलमा यात्रा गर्न यो समय सायद अनुकूल थिएन । मङ्सिर महिनाको बिहानीपख, चिसोलाई धर्तीले स्वागत गरिसकेको थियो । भरतपुरदेखि पूर्व लाग्दै गर्दा कुहिरोको घुम्टोले जमिनको सतहलाई अझै माया गरिरहेको दृश्य निकै लोभलाग्दो देखिन्थ्यो । मौसम चिसो थियो तर २९ वर्षपछि आफ्ना समकालीन साथीहरूलाई भेट्न पाउने उत्सुकता निकै न्यानो थियो । यात्रालाई सहज बनाउन र एक्लोपनबाट जोगिन कानमा मोबाइलको गीत गुञ्जिरहेको थियो । हुन त यात्राका बेला चालकको पूरै सावधानी सडकमा हुनुपर्छ, यसले सम्भावित दुर्घटनाबाट जोगाउँछ । तर आज म आफैप्रति यति विश्वस्त थिएँ कि आजको गीतले मलाई सुरक्षित पनि बनाउँछ, यात्रा पनि चाँडै टुङ्गिन्छ । मोटरसाइकलको यात्रा, मङ्सिर महिनाको चिसो, बिहानी हिँडाइ आफैमा साहसिक काम हो । यसैलाई स्वीकार गर्दै सकेसम्म चिसोबाट जोगिन केही बाक्ला कपडाले आफूलाई ढाकेको थिएँ जसरी एउटा माउ कुखुराले आफ्ना चल्लालाई न्यानो भुवाले छोप्छ ।

म आफ्नै रफ्तारमा अगाडि बढिरहेको थिएँ । मनहरीलाई पछि पारेर केही अगाडि बढेपछि एउटा दुर्घटनामा नजर प¥यो । पूर्वबाट पश्चिम जान आउँदै गरेको एउटा ट्याङ्कर सडक किनारामा पल्टिएको रहेछ । ट्यांकरबाट तेल चुहिरहेको थियो । स्थानीयवासी भने ग्यालेनहरू लिएर चुहिएको तेल भर्दै थिए । ट्यांकरको सुरक्षा र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू तैनाथ थिए तर उनीहरूले चुहिएको तेल भर्दै गरेका स्थानीयलाई तेल भर्न र लैजानबाट रोकेका थिएनन् । दुर्घटनाका कारण केहीबेर वान वेमा हिँड्नुपर्ने भएकोले मोटरसाइकलको गति स्वतः धिमा भएको थियो ।

हेटौडाको रापती नदी तर्दा बिहानको ८ः३० बजेको थियो । रापती नदी हेटौडाको पहिचान हो । पश्चिमबाट पूर्व जाने बेला रापती नदीमाथि पुगेपछि अलौकिक आनन्दको महसुस हुने गर्छ मलाई । हेटौँडा मेरो घर होइन, मेरा आफन्त पनि त्यहाँ हुनुहुन्न तर किन हो कुन्नि हेटौडासँग अलि बेग्लै आत्मीय सम्बन्ध बनेको छ । हुन त मलाई माया गर्ने साहित्य क्षेत्रका केही साथीहरू छन् हेटौडामा । निमेष निखिल, छवि अनित्य, पुरुषोत्तम आचार्य, महेन्द्र ओझालगायतका व्यक्तिहरू, मकवानपुर साहित्य सङ्गम, आँचल साहित्य प्रतिष्ठान समेतले आत्मीयता देखाउँदा केहीपटक हेटौडा पुगेको छु । जहाँ आफ्ना हुन्छन् त्यहाँ प्यार हुन्छ । यही प्यारले फेरि आज तानिरहेको छ हेटौडामा ।  

अब केही मिनेटको दूरीमा थिएँ साथीहरूबाट । होटल एभोकाडोले साथीहरूलाई साक्षी राखेर मेरो स्वागतमा आँगन सजाएको थियो । तर म हेटौडा खासै नघुमेको मान्छेलाई एभोकाडोको आँगन पहिल्याउन केही समय अलमलिनु प¥यो । मित्र उमेशकुमार गुप्ताको सेल फोनबाट अर्की साथी सुमित्राले बनाइदिएको बाटालाई पछ्याउँदै आखिर एभोकाडोको ढोकामा पुगेँ । हेटौडााभन्दा बाहिरका केही साथीहरू हिजैदेखि आएर अड्डा जमाइसकेका रहेछन् , हेटौडालाई नै कर्मथलो बनाएकाहरू पनि बिहानैदेखि होटलमै रहेछन् । म होटलमा पुग्दा त्यहाँको पहिलो तल्ला र दोस्रो तल्लाको सभाकक्षमा कार्यक्रम चलिराखेको थियो । मेरा साथीहरू भने तेस्रो तल्लामा रहेछन् । म जब ढोकाबाट छतमा निस्केँ तब म छक्क परें । मैले बाल्यकालमा छोडेर हिँडेका साथीहरू परिपक्व भएछन् र झट्ट हेर्दा नचिनिने भएछन् । म आफै उनीहरूका लागि नचिनिने भएछु । उमेश, जीवन, बासु, लवलगायतका साथीहरू चिने पनि केटी साथीहरू चिन्न सकिनँ । एउटै बेन्चमा बसेर पढेको साथी बासुलाई ठम्याउन पनि एकछिन पर्खिनुप¥यो ।

समय कति चाँडै बग्दो रहेछ ! हिजोका दिनमा तँतँ र मम भन्दै सँगै हाँसेखेलेका साथीहरू आफ्नै आँखाअगाडि हुँदा पनि ठम्याउन गाह्रो । मेरा आँखाले साथीहरूको अनुहारमा बाल्यकालीन रूपरेखा खोजिरहेका थिए तर त्यो सम्भव थिएन । ती अनुहारका निधारमा भावीले लेखेका धेरै भविष्यवाणी लागू भइसकेका थिए । समयले प्रहार गरेका उमेरका चोटहरू थिए, छालाको कोमलता अनुभवको परिपक्वतामा रुपान्तरण भइसकेको थियो ।

म पुग्दा हेटौडामा नै बसोबास भएका केही र काठमाडौँ तथा चपुरबाट हिजोदेखि नै पुगेका केही गरी करीब १२ जना जति साथीहरू होटलमा थिए । पहिला त चिनारीलाई पुनर्नवीकरण गर्नुप¥यो । उमेशसँग फोन र सामाजिक सञ्जालमा सम्पर्क भएकोले चिन्न गाह्रो भएन । केही केटाहरूलाई चिनेँ तर केटीहरूलाई चिन्न निकै गाह्रो भयो । उनीहरू आफैले मेरो नाम यो हो भन्दै परिचय दिन थाले । समय बितेपछि हरेक कुरा नौलो हुँदो रहेछ । दश वर्षसँगै पढेका साथीहरू पनि अहिले नौलो लागे । हुन त सँगै पढेको सयमभन्दा छुट्टिएको समय बढी भइसकेको छ । बाल्यकालका स्मृतिहरू पनि इतिहास भइसके । उमेरसँगै परिस्थिति पनि प्रौढ भएको छ । अनुभव, भोगाइ सबै प्रौढ भइसकेका छन् । हामीले ती इतिहास फेरि सम्झेर ताजा बनाउन थाल्यौँ । 

चपुरबाट आउने साथीहरू पनि होटलमा आइपुगे । काठमाडौंबाट पनि केही ढिला गरेर साथीहरू आइपुगे । पोखराबाट विनिता दाहाल यही कार्यक्रमका लागि आइपुगिन् ।  पिता अस्पतालमा अक्सिजन लगाएर राखिरहेको अवस्थामा पनि साथीहरूको माया र आत्मीय सम्बन्धले तानेर आफूलाई हेटौडामा ल्याएको कुरा उनले गरिन् । बिस्तारै जम्मा हुँदै जाँदा हाम्रो जमघटमा ४६ जना पुगेछौं । जम्मा १६५ जना सहपाठी रहेका हामी  पहिलो प्रयासमा ४६ जना जम्मा हुनु पनि आफैंमा उपलब्धिपूर्ण थियो ।

हामीले पहिला त आपसी चिनजानकै कार्यक्रम राख्यौँ । सबै साथीहरूले एकअर्कालाई बिर्सिसकेको थियौं । अनौपचारिक तर औपचारिक शैलीमा परिचय कार्यक्रम सुरु भएपछि थाहा लाग्यो, हामीसँगै अध्ययन गरेका ६ जना साथीले यस संसारलाई आफ्नो स्याहास्रेस्ता बुझाएर विदा भइसकेका रहेछन् । उनीहरूको नाम सम्बोधन गर्दा केही भावुक बनायो सबैलाई । हामीले ती ब्रह्मलीन साथीहरूका लागि एक मिनेट समय प्रदान ग¥यौँ । यसपछि अन्य साथीहरूको वर्तमान अवस्थाबारे संक्षिप्त चिनारी लिन थाल्यौं । यसै क्रममा थाहा भयो, केही साथीहरू नातिनातिनीका धनी भइसकेका रहेछन् ।  केही आफ्नै कर्मसँग संघर्ष गरिरहेका रहेछन् । केही जीवनको लयलाई समातेर गतिशील भइसकेका रहेछन् । यही क्रममा हामीले यो जमघटका बारेमा जानकारी भएर र स्वदेशमै रहेर पनि उपस्थित हुन नसकेका साथीहरूलाई पनि सम्झ्यौँ । फेरि विदेशमा रहेर उपस्थिति जनाउन नसकेका साथीहरू सन्तोष अधिकारी, उमेश खतिवडालगायतलाई पनि सम्झना ग¥यौं । परिचय दिने क्रममा सुधा खनालको अभिव्यक्तिले भने केही भावुक बनायो । हाल उनी स्पेनमा बसेकी रहिछन् । दशैँमा घर आएको बेला यही मित्रमिलन कार्यक्रममा सहभागी हुन दिन लम्ब्याएर बसेकी रहिछन् । सबैले आफ्ना छोराछोरी, नातिनातिनीका बारेमा जानकारी दिएका थिए । तर सुधाले भने आफूसँग दुईवटा कुकुर रहेको र छोराछोरी नै तिनै रहेको बताउँदा उपस्थित सबै भावुक बने ।

हामी सबैले निलो रङ्गको ज्याकेट लगाएका थियौँ । हामीले स्कुल पढ्दा आकासे रङ्गको सर्ट लगाउँथ्यौँ । त्यसैको प्रतीकका रूपमा साथीहरूले उस्तै रङ्गको ज्याकेटको व्यवस्था गरेका रहेछन् । सबैले एउटै रङ्गको ज्याकेट लगाउँदा हामी फेरि २०४७ सालमै फर्कियौँ । उही बेलाका गफमा रमायौँ । उसै गरी केहीबेर चकचक पनि ग¥यौँ । उसै री विपरीत लिङ्गी साथीहरूलाई विद्यालयकालीन प्रसङ्ग सम्झाएर जिस्कायौँ । केहीबेर गीत घन्काएर उही बाल्यकालीन सम्झनामा नाच्यौँ पनि । हामीले अहिले हामी प्रौढ उमेरका हौँ भन्ने साँच्चै भुलेका थियौँ । आफूलाई भुलेर आत्मिक आनन्दमा रमाउने स्थान नै त स्वर्ग होला सायद । यही अनुभव भएको थियो आज । सबैले वर्तमान भुलेका थिए र उही २०४७ सम्झिरहेका थिए । आहा ! कति आनन्दको क्षण । सबैलाई लागेको थियो, आजको दिन तन्किएर अलि लामो भइदिए हुन्थ्यो । सूर्यलाई हिँड्दाहिँड्दै थकाइ लागेर केहीबेर आकाशमै विश्राम लिए हुन्थ्यो । साँझ बाटोमै अलमिलएर केही ढिलो आए हुन्थ्यो । तर हामीले सोचेजस्तो समय कहाँ आराम गर्छ र ! समयले आराम गर्ने भए हामी किन २९ वर्षपछि यत्रो धामा गरेर भेट्थ्यौँ र ! हाम्रा गालामा किन बुढ्यौलीको रेखाले स्वागत पाउँथ्यो र !

हाम्रो वशमा नभएको समय हाम्रो साथबाट बिस्तारै चिप्लिँदै थियो । दिन ढल्कँदै गर्न थालेपछि काठमाडौँबाट आएका साथीहरूको छटपटी सुरु हुन थाल्यो । दिनको ३ः३० बजे काठमाडौँका साथीहरू यस वर्षको भेटघाटबाट विदा हुँदै गन्तव्यतर्फ लागे ।

हेटौडाका साथीहरू र आज हेटौडामा नै बस्न चाहनेहरू भने मकवानपुर गढीमा जाने योजनामा थिए । मलाई पनि गढीमा जाने रहर थियो तर समय कम थियो । मलाई आजै चन्द्रनिगाहपुरमा पुग्नु थियो । मसँग आफ्नै साधन मोटरसाइकल थियो । मङ्सिर महिना भएकोले चाँडै साँझ पर्ने निश्चित थियो । दिन छोटो हुने समय थियो । हामीले चाहेर पनि दिन लम्ब्याउन सकिँदैनथ्यो । त्यसैले मचाहिँ अपराह्न ४ बजे अरू साथीहरूलाई मकवानपुर गढीतर्फ विदाइ गर्दै म चपुरतिर लागेँ । मेरो मन भने साथीहरूको गाडीमा बसेर मकवानपुर गढीतर्फ लागेको थियो तर तन भने साथी लव कार्कीसँगै मिलेर चपुरतिर मोटरसाइकलमा हुइकिँदै थियो । मलाई भोलिपल्ट एकाबिहान भरतपुर फर्कनु नपर्ने भएको भए म पनि मकवानपुर गढीको इतिहाससँग समाहित हुन पाउँथेँ । तर यो अवसर यसपालिलाई मिलेन । थकथकी लाग्दालाग्दै पनि चपुरतिर हानिएँ । पहिला सँगै हिँडेको लव कार्की म पथलैया पुग्दा निकै पछाडि छुटिसकेको थियो । मेरो मोटरसाइकलको गति तीव्र थियो । पथलैया पुग्दा घामले पहिले नै आकाशबाट विदा मागिसकेको थियो । साँझ झमक्कै परेजस्तो भएको थियो तर हल्का उज्यालो थियो । पथलैया पुगेपछि चपुरमा आमालाई फोन गरेर आफू आउँदै गरेको जानकारी गराएँ । साँझले आफ्नो अधिकार जमाउन अँध्यारो फिँजाउँदै थियो । मेरो मन भने आज मध्याह्नको घामजस्तो उज्यालो भएको थियो । साथीहरूसँगको भेटघाटले अचानक वर्षौँदेखिको तिर्खा मेटिएजस्तो, बादलले ढाकेको आकाशमा घाम देखिएजस्तो, मरुभूमिमा उद्यान प्राप्त गरेजस्तो, तिर्खाले छटपटिएको जंगलको यात्रुले कुवा भेटेजस्तो बनाएको थियो । आजको यिनै स्मृतिलाई मनभरि साँचेर अर्को सालको मङ्सिर महिनाको पहिलो शनिबार फेरि यसरी नै भेट्न पाउने अभिलाषासहित म भने चपुरको यात्रामा निरन्तर अगाडि बढिरहेँ ।  

प्रकाशित: ३१ श्रावण २०७७ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App