प्राडा विष्णु राई
उहिलेउहिले हाम्रो गाउँ यस्तो थियो
पुर्खाहरू स्वतन्त्र घुम्थे
जिउन रमाइलो गर्थे
समयसंगै पृथ्वी बद्लिदै गयो
चलन फेरिदै आयो
यो ठाउँमा अरू सुस्तरी आएर बस्न थाले
मागेर हाम्रो जमीन चास्न थाले
प्रत्येक वर्ष केराचिउरा, दहीघिउ बुझाउँथे
कथा भन्नुहुन्थ्यो बजुहरू
थलोमा बस्नेहरू सुस्तरी हेपिन थाले
उनीहरूले मीत लाउन थाले
उहिले हाम्रो थातथलोमा
यसरी नै प्राचीन मानवहरू थिए
रंगीचंगी मान्छे थपिदै आए
एक बोतल रक्सीमा
पुर्खाले लहरले जेलेसम्म खानु भनेर जमीन दिए
यो सारा धरती हाम्रो हो
अहिले छैन हातमा
बजूले गोठाला गर्दा कथा सुनाउनुहुन्थ्यो
लोकेम्पा छोराको विवाह साइतमा जेल गयो
शुभसाइतको बन्दुक पड्काउँदा
लोकेम्पाले प्रतिवाद गर्दा
नेपाल लगेर उतै सिध्यायो
अड्डामा ठूलो
लोकेम्पाले खूब जिध्दी गरे रे
यो भूमिमा हाम्रो इतिहास छ
बन्दुक पडकाउनु मेरो धर्म
मर्दापर्दा बन्दुक हान्ने परम्परा जीकर गर्दा
लोकेम्पाको ज्यान गयो
नानीहरूलाई फकाउन कथा
बजूहरूले सुनाउनुहुन्थ्यो
लोकेम्पाले पुज्ने देउताको नाम अर्कै राखेर
पुजारी अर्कै आयो
पारुहाङ थान अर्कै भयो
बनजंगल अर्कैको भयो
बन्दुके बाजेले सिकार गर्न छोड्यो
हाम्रो किपटहरू अरूले तलबको रूपमा बिर्ता खायो
अहिले पनि काठमाडौँमा बसेर खाँदैछन् रे
उनीहरुले
यो माटाको मान्छेलाई लेखेर फसायो रे
नमाने कालो ड्रेसका पुलिसहरूले
जेल थुने रे
आज पनि गाउँमा बाजेहरू पुर्खाको कथा
यसरी धेरै सुनाउँछन्
बजूहरू नानी फकाउन लोकेम्पाको इतिहास भन्छन्
नानीहरु डरले चूपचाप निदाउँछन्
प्रकाशित: २६ श्रावण २०७७ ०६:०५ सोमबार