५ वैशाख २०८१ बुधबार
कला

सम्झनाको भूगोलमा शान्ता दिदी

संस्मरण

लक्ष्मी उप्रेती  

खुसीहरू नभएको पनि हैन जिन्दगीमा

तर दुखको भारीले थिचेर

उठ्नै नसकेर रोएँ भित्रभित्रै 

तर अरूको दया चाहिन्न म

बरु ओठमा हाँसो ल्याएर बाँचिदिन्छु। 

विसं २०२८ तिर नै उनले लेखेको कविताको यो पङ्ति जस्तै भयो उनको जीवन। अहिले सम्झन्छु दुःख पनि उनी खुसी रच्थिन सायद । तर यो खुसीको अभिनयसम्म पनि गर्न दिएन दैवले। आफ्ना आलोकित आयामको सौन्दर्यलाई गर्भमा नै राखेर उनले बिदा लिइन्। मेरी दिदीलाई न्याय नै गरेन दैवले भनौ या दैत्यले। उनलाई सम्झदा मन बिझाउँछ अनि आँखाको परेली रसाएर दबदबाउँछ । त्यसबेला उनले कविता लेखेर सुनाउँदा मलाई ईर्ष्या लाग्थ्यो। कुनै उनका कविताहरू त मैले च्याते पनि कुनै कोरकार गरी नबुझ्ने पारेर साधु बनेको क्षण सम्झेर बारम्बार थकथकाउँछु। उनी सधैं मलाई प्रोत्साहित गर्दथिन् । यो कुरा त्यसबेला नबुझे पनि अहिले बुझ्दै छु। मेरो जीवनको लय दिने रहरमा उनीका उत्साहका तरङ्ग छरपस्ट भएको सम्झिरहेछु । अनि त मेरो कविता लेखनकी प्रेरक उनी नै हुन् भनेर भन्दा केही सन्तोष लाग्छ । उनैले मलाई कविता लेख्ने हात दिएर गइन्, भाव छाडेर हराइन्, र मनमस्तिष्कमा    तरङ्ग उम्रने चेतना रोपेर बिदा लिइन्। उनी नहुनुको अर्थमा ती दिनदेखि आजसम्म नै एक प्रकारको खालीखाली जीवन बिताइरहेछु। तिमीले भनेझै दुखको भारीले थिचिएर जीवनभर म निर्मिमेस रोइरहेछु । कस्लाई देखाऊँ तिमी नै भन मेरा वेदनाका आँसुहरू। म निः शब्द पीडाका नमीठो आँसु निलेर जीवन भोगिरहेछु । तिमी टुङ्गनु एउटा दुर्भाग्य र अर्को यातना भयो मेरा लागि । तिमीप्रति गुनासो त होइन तर तिम्रो अन्त पछिको मेरो यात्रालाई के भनौ, ए शान्ता दिदी । तिम्रो अवसाननले टुक्राटुक्रा पारेको मेरो मनमा फेरि तिमीले छाडेको एउटा विचलनको छटपटीमा प्रतिबिम्ब भए सायद।  ए शान्तादिदी, मायामा बग्दै सुसाउने मायाकै नदीजस्ती तिमी मेरी दिदी मात्र थिइनौ। मभन्दा दुई वर्ष मात्र अगाडि जन्मिएकी हाम्रो घरकै साहिली छोरी तिमी मेरी दुखसुखकी साथी  थियौ । अनि त अक्षरको उज्यालो तिमीबाट नै सिके सायद। कविताप्रतिको मोह जगाएर मलाई हुरुक्क बनाउने तिमी । अनि मेरो कविता लेखनको प्रेरणा तिमीलाई कसरी नभनौं म । तिमीलाई सम्झेर आद्र हुन्छु । त्यसबेला पनि उज्यालो कसीमा तिमी नै मुस्कुराइरहेको पाउँछु कहिलेकहीँ त ।

हाङपाङ हाम्रो जन्मथलो।  २०१३ सालमा जन्मिएकी शान्ता दिदी र म २०१५ सालमा जन्मिएँ । समयले बाल्यकालको सौन्दर्यमा डुबुल्की मार्दामार्दै हामीलाई जन्मस्थलबाट चटक्क छुटायो। पहाडमा जीवनयापन गर्न निकै दुख हुँदै गयो। परिवार ठूलो तर निश्चित उब्जनी। अनि बुबाले मधेसमा कारोवार सुरु गर्नुभयो र सफल हुँदै जाँदा बिस्तारै काकाहरू अनि हामीलाई पनि मधेस लिएर झर्नुभयो। बालस्मृतिका अनेक रम्य पल त्यही छाडेर २०२० सालमा केही झझल्का मनका कोलाजमा टाँसेर हामी मधेस बसाई चटक्क सरयौं ।

मधेस आएपछि पठनपाठनमा हाम्रो यात्रा तय भयो। छोरीलाई पढ्नुपर्छ भन्ने मानसिकता नभएको पहाडको परिवेशलाई चिर्दै घरमा नै अलिअलि पढेकी दिदी २ कक्षा पढ्ने र म त्यसबेला भनिने शिशु कक्षामा विराटनगरको मझुवा पोखरी नेरको धुले स्कुलमा पढने भयौं। अहिले त्यो स्कुल कहाँ छ थाह छैन। अनि त्यो मझुवापोखरी माटो भरेर बहुमूल्य घडेरीहरू बनेका छन्। त्यसबेला बोर्डिङ स्कुलको कुनै अवधारणा नै थिएन। बाहिर धूले आँगनमानमा बस्यो पाटीमा चकले कोरो मेटायो अनि धूलो माटो पनि खायो वा क्या मज्जा लाग्छ सम्झदा पनि। त्यसबेला शान्ता दिदीलाई तपाईँ तिमी सम्बोधन नगरी शान्ता यसो गर उसो गर भनेर तँको सम्बोधनको बोलिचाली गर्नु मेरो दिनचर्या थियो। किन त्यसो भन्थे मलाई थाह छैन तर कसोकसो अनादर हुने त्यो सम्वोधन सम्झेर आत्मग्लानि हुन्छ। शान्ता दिदी निकै सोझी थिई। सोझोपनको पर्याय हुनकै लागि उसको जन्म भएको थियो कि सायद। । तर यति चै हो जीवन साथीहरू र गुरूहरूकी प्रशंसक थिइन्। यो उनकै स्वभावले प्राप्त गरेको आभा थियो ।

 बुबाको कारोबार विराटनगरमा भन्दा धरानमा नै सहज हुने स्थिति भएकाले लगभग एक वर्ष पछि हामी धरान सरयौं। फेरि हाम्रो पढाइको माहोल धरानमा खडा भयो। माथिल्लो छाताचोकनिरको श्री भगवती मिडिल स्कुलमा । ऊ ३ कक्षा नपढी ४ कक्षामा पढन योग्य भइन् र म १ कक्षा नपढी २ कक्षामा पढने भए। दिदीबहिनी स्कुल सँगै गयो घर सँगै आयो। क्या स्वर्णिम पल थियो त्यो। फेरि त्यो पल आउने भए कस्तो हुन्थ्यो होला जीवन। यसबेला ती अनगिन्ती पलको माया लागेर आउँछ। रातोरातो वर्णकी अलि लाम्चो अनुहार भएकी उनको हाँस्दाको सौन्दर्य भुल्न सक्दिन् म । हल्का गुलाफी रंगको साडी ९ र १० कक्षामा लाउनुपर्ने। सलक्क परेको जीउडालमा गुलाबी रंगको साडी र आकाशी ब्लाउजमा उनको ड्रेसअप, चटक्क आँखामा सधैं लगाउने गाजल क्या सुहाउने अम्मर गुरुङले गाएको गीतमा । तिम्रो रूपको पनि के कुरा भनेजस्तै। उनको अभावले शून्य भएर उनैलाई सम्झदै शब्दहरूको खोजीमा मन दुखेर आँसु बगिरहेछ । कसरीकसरी देब्रे हातकी पारखि भइन् उनी। देब्रे हातले लेख्ने उनका अक्षर निकै राम्रा थिए। हरेक काममा उनको देब्रे हात चल्ने। मुसुक्क हाँसेर बोल्ने। अहो,  उनीसँगको स्मृति त कति हो कति छन्। तर मलाई लेख्न सकस भैरहेछ। मुटु रसाएर आखाँको बाटो हुँदै माया सुटुक्क बग्छ जति रोके पनि। उठ्दा, सुत्दा, खाँदा स्कुल जाँदा मसँगै हुने उनी मेरो मनमा मात्र नभई मेरो जीवनको अपुरोअधुरो यायावर भइन् ।

दुई कक्षाको अन्तर थियो हाम्रो पढाइ। उनी सात कक्षा र म पाँच कक्षा उत्तीर्ण भएपछि छ र आठ कक्षाबाट अघि पढने सिलसिलामा हाम्रो शिक्षाको मंदिर श्री शारदा बालिका विद्यालय भयो । म आठ कक्षा पढ्दा उनी दस कक्षामा पढ्थिन्। पढाइमा अब्बल अन्य क्रियाकलापमा पनि उसका प्रशंसकहरू प्रशस्त थिए। अर्थात् जुनसुकै क्षेत्रमा पनि उनी अब्बल थिइन् । पढ्नलेख्न त कुरै छाडौ चाहे खेलमा होस् कविता लेखनमा होस् या अभिनय कलामा होस् अर्थात् वकृत्वकलामा । भलिबलमा र बास्केटबलमा त देब्रे हातले निसाना ताकेपछि नचुक्ने।

९ कक्षामा पढ्दा उनले एउटा नाटकमा सासू भएर अभिनय गरेको जीवन्त प्रस्तुतिले वा पाएको अझै पनि झल्कन्छ।  २०२८ साल वैशाखमा उनको बिहे भयो। भरखर १० कक्षा पढन थालेकी दिदीको बिहे गरेर एसएलसी परीक्षा दिन भनेर ९ महिना माइत बस्ने अनुमति पाइन्। त्यसबेलादेखि शान्तालाई अब दिदी भन्नु तपाईँ भन्नु भनेर बुबाआमाले कढाइ गर्नुभयो। मलाई लाग्यो बिहे भएपछि तपाईँ दिदी भनेर सम्बोधन गर्नुपर्ने रैछ। तर आदत न हो जिब्रो चिप्लिएर शान्ता र तँ भन्दा बुबाआमाबाट कति पटक गाली र कुटाइ पनि खाएँ। अझ जिब्रो चिप्लिएर मात्र कहाँ हो र बोल्दै गरेको बोली नै सजिलो थियो भन्नु परो। यसरि झुक्किदै, लाज पचाउँदै, लाज मान्दै उनले मलाई माया गरेको अनुभूति कति सम्झनामा छन् ।

एकदिन हाम्रो घरभन्दा अगाडि घर हुने दिदीका साथीसँग स्कुलबाट घर फर्कदा बाटामा पर्ने पसल अगाडि पुगेपछि चिया पिउ भन्नुभयो। त्यसबेला कसैसँग पनि पैसा उति हुन्न थियो। जसले खान्छ उसैले तिर्ने चलन थियो। मेरो त दिदीले तिरिदिन्छिन् मैले खाएको पैसा भनेर खुसी नहुने कुरै थिएन। साथीहरूको आग्रह स्विकार गरेर उनले मलाई पनि लिएर चिया पिउन पसल भित्र गयौं। अनि उनका साथीहरूले चियासँग समोसा पनि मगाए। मलाई पनि त्यो तातोतातो समोसा खान औधी मन लाग्यो। अनि दिदीतिर हेर्दै नहेरी समोसा मगाए। ठाने बिहे भएकी राम्रो लुगा, सुनका गहना भएकी शान्तासँग जति पनि पैसा छ। उनले चियाबाहेक अरू खान मन छैन भनेर चिया मात्र मगाइन् । तर अझै अरू पनि मैले मगाउने हुकी भनेर सातो उडेको अनुहारले मलाई हेरिन्। त्यसबेला उनको डरले खान मन भए पनि मैले मगाइन। अनि अरूले आफ्नो र दिदीले हाम्रो पैसा तिरेर हामी निस्क्यौं। पछि सोधे तिमीले किन नखाएको समोसा कति मीठो थियो । मलाई त अझै खान मन थियो । उनले पैसा नभएको कारण नमगाएको। झन्डै तेरो तिर्न त नपुगेको । अरू मगाइस भने साथीका अगाडि के भन्नु भनेर म डराएकी भनिन् । अनि मैले दिदी बिहे भएका मान्छेसँग पनि पैसा हुन्न त भनेर प्रश्न गर्दै अचम्म माने । आफूले नकमाइन्जेल कहाँबाट हुनु लक्ष्मी। अबदेखि अप्ठेरो नपार है भनेको त्यो भावुकता सम्झेर अझै पनि मर्मान्त हुन्छु ।

४८ वर्ष भएछ उनले हामीलाई छाडेर गएको। एसएलसीको परीक्षा सकेर रँदैरुँदै गएकी मेरी दिदी २०२९ साल भदौमा खै के भएर हो एकैपटक मृत्यु भएको खबर आयो। त्यसबेला अहिलेको जस्तो टेलिफोन, मोवाइलको सुविधा नै थिएन। भोलिपल्ट मात्र खै को मान्छे आएर उनको अवशानको खबर दियो। स्कुलबाट फिर्दा भीडभाड र रूवाबासीको घरको महोलले मलाई एकैचोटि स्तब्ध बनाएथ्यो। त्यो वेदना त्यो शून्यताले मलाई नमीठो चोट दियो। विछोडिनुको विक्षिप्तता मात्र होइन उनको मार्गमा हिँड्नुपर्ने मेरो बाध्यता भयो। उनी बित्नुभन्दा एक महिना अगाडि उनले मलाई एउटा चिठी पठाएकी थिईन। अरू त बिर्से तर लक्ष्मी बुबाआमाले भनेको मान्नु है । भयो भने दसैमा भेट होला नत्र त के हो के भनेर लेखेको शब्दले जानेरनजानेर बुझेर नबुझेर म खूब रोएथे। उनले त जानेरै लेखेकी रहिछन् जस्तो पनि लाग्छ । उनको अर्तीउपदेश जे भने पनि मेरालागी यही अन्तिम भयो। त्यसैले उनले भनेजस्तै मैले बुबाआमाले भनेको मानेर सधैं जीवनका भिरपाखाहरू चढिरहें। जीवनको यात्रामा हरेक चुनौतीको सामना गरेर पनि हिँडिरहें । सम्भवत यी नै मेरा अक्षरका सारथी पो हुन कि  जस्तो पनि सोच्छु जबजब जीवन सौन्दर्यको अभिलाषामा फरफराउँछु । मेरी दिदी तिमीलाई तिम्रै शब्द सापट लिएर श्रद्धाञ्जली छ । 

प्रकाशित: २५ श्रावण २०७७ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App