२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

आदिवासी र सत्ताधारी

सन्दर्भ: विश्व आदिवासी दिवस

संसारमा आदिवासी र गैरआदिवासी गरी दुई खालका मान्छे छन्। शारीरिक बनोट तथा रङका आधारमा मंगोलोइड, आर्यन र नेग्रोइड मुख्य हुन्। नेपालमा मंगोलोइड, द्रविडियन र अस्ट्रोलोइडलाई आदिवासी तथा जनजातिका रूपमा राज्यले सूचीकृत गरेको छ। यिनका अतिरिक्त आर्य, खस र दशनामी पनि छन्।  

यतिखेर देशभित्र पहिचानको मुद्दा सेलायो र सेलाएको छैन भन्ने दुईथरी तर्क छन्। राज्यसत्ता आर्य–खसका पक्षमा उभिएको र पहिचानमाथि प्रहार भइरहेको भन्ने बुझाइ पनि कायमै छ। आदिवासीसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा प्रतिष्ठान समेत रहेका छन्। आदिवासीका आ–आफ्नै बेग्लै संस्था पनि कायम छन्। यतिखेर भने नेपाली आदिवासी जनजातिहरू विश्व आदिवासी दिवस मनाउने क्रममा छन्।

विश्व आदिवासी दिवस प्रसंग
हरेक वर्ष ९ अगस्टका दिन विश्व आदिवासी दिवस मनाइन्छ। कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति छैन। समस्याले समाधान वा प्रविधि दिन्छ भनेजस्तै अहिले विश्ववासीले भर्चुअल प्रविधि पाएका छन्। यही भरपर्दो र नजिकको साथी साबित भएको छ। प्रविधिगत रूपमा जोडिँदा ९ अगस्ट भन्नाले इस्टर्न स्टान्डर्ड टाइमको १० अगस्ट सोमबार बिहान पर्ने समेत जनाएका छन्।

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ को डिसेम्बर २३ मा रिजोलुसन ४९÷२१४ ल्याएको थियो। त्यसले ९ अगस्टलाई विश्वका आदिवासीको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। त्यसअघि सन् १९८२ मा आदिवासी जनजातिको हकहितमा काम गर्ने संयुक्त राष्ट्रसंघको समूह (आइडब्लुजिआइए) को पहिलो बैठक बसिसकेको थियो। सन् १९९० मा आइपुगेपछि संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ लाई विश्व आदिवासीको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो। त्यसयता प्रत्येक वर्ष युनेस्कोले दिवसका लागि थिम अनुसारको योजना र गतिविधिका सूचना प्रवाह गर्दै आएको छ।

गएको साल आदिवासी भाषाहरूका वर्षको रूपमा मनाइएको थियो। आउने सन् २०२२ देखि २०३२ सम्मलाई आदिवासी भाषाहरूका अन्तर्राष्ट्रिय दशकको रूपमा मनाउने तयारी पनि भइरहेको बताउँछन्। आदिवासीहरू विश्वव्यापी रूपमा छरिएर रहेका छन्। त्यसैले पूर्वीय र पश्चिमा भन्ने खासै विभाजनकारी रेखा बनेको छैन। विश्व आवादीको २२ प्रतिशत भूमि आदिवासीले ओगटेका छन्। विश्व सांस्कृतिक विविधतामा आदिवासीको ठूलो भूमिका रहेको छ। यहाँ सात हजार हाराहारी आदिवासी भाषा छन्। यिनीहरूमध्ये कतिपय लोपोन्मुख छन्। कतिपय भने राम्रै अवस्थामा रहेको सहज अनुमान लगाउन सकिन्छ।

आदिवासीवादमा कसैले हार्दैनन्। कोही कसैले हार्ने गरी कुनै पनि कदम चालिएमा आदिवासीवाद हुन सत्तैन। सबैको जित नै आदिवासीवादको मर्म हो।

यसपालिको थिम भने कोभिड–१९ र आदिवासी जनताका रेजिलिएन्स (लचिलोपन) तोकेको छ। कोभिड–१९ विश्वव्याधिले पुनः एकपटक आदिवासी र गैरआदिवासीलाई छुट्याइदिएको छ। यिनीहरू वास्तवमा फरक परिवेशमा रहेछन् भन्ने प्रमाणित भएको छ। यतिखेरै अमेरिकामा भएको जर्ज फ्लोयडको हत्या प्रकरणले फिरन्ते (अन्यत्रबाट आएका शासक वर्ग) र भूमिपुत्र आदिवासी (शासित)बीचको अन्तरलाई स्पष्ट पारेको छ। क्रिस्टोफर कोलम्बसका मूर्ति ढालिएका छन्। उक्त घटनाले विश्वमा अवस्थित कथित राज्यमा रहेका कोलम्बसको देशीय भर्सनको खोजी गर्न भूमिपुत्रहरूलाई सुझाएको छ। विश्वका आदिवासी र राज्य (व्यवस्था)बीचका सम्बन्धभित्रको गुह्य पक्ष उदांगो भएको छ। यिनीहरूलाई आपसमा सहयोगीभन्दा पनि प्रतिद्वन्द्वी हुन् भनी चिनाएको छ। राजनीतिको हवाला दिँदै राज्यसत्ता÷व्यवस्थाहरूले भूमिपुत्रहरूविरुद्ध रचेका अमानवीय जघन्य अपराधको चाङ पस्केको छ।  

आदिवासी र आदिवासीवाद
मानिसका पनि खलक हुँदारहेछन्। यसले वंश तथा बाबु÷आमातिरका हाँगोलाई पनि इंगित गर्न सक्छ। विश्व मानवका बीच भने मुख्यतः दुई खलक देखिएका छन्। पहिलो, आदिवासी खलक एवं रीतले दोस्रो चाहिँ फिरन्ते (गैरआदिवासी खलक) हुन्। विश्व परिवेशमा मंगोलोइड तथा नेग्रोइड आदिवासीका रूपमा रहेका छन्। यी दुईका अतिरिक्त आर्य भने प्रायः फिरन्तेको रूपमा चिनिएका छन्। यसको कारण चाहिँ सुरुमा मंगोलोइडले संसारका प्रायः स्थानमा आफ्नो उपस्थिति जनाएका थिए। नेग्रोइड (छालाको रङ कालो भएका)हरूले निश्चित स्थानमा आफूलाई आदिवासीका रूपमा स्थापित गराएका थिए। यी दुईको आदिवासित्व निर्माणपछि आर्य पनि पछि–पछि पुग्न थाले।

आर्यले पहिले राजनीतिक व्यवस्थाको अवधारणा विकास गरेका थिए। सोहीअनुरूप राज्य स्थापना गर्न थाले। विस्तारका क्रममा मंगोलोइड तथा नेग्रोइडका भूमिमा पुगे। अनेक प्रपञ्च अपनाउँदै आदिवासीका हातबाट भूमि लुटे। तिनीहरूका समाज सञ्चालन विधिको रूपमा ‘बडी पोलिटिक’ (सामाजिक÷सांस्कृतिक संस्थागत व्यवस्था) थिए। तिनलाई पोलिटिक्स (राजनीति) नामक हतियार (व्यवस्था)ले सखाप पार्दै अघि बढे। अन्ततः राजनीति (राज्य, सत्ता र सरकार लगायत)का सहारामा आफूलाई शासक घोषित गरे। आदिवासीलाई शासितमा परिणत गरे। यसैले आज पनि माथि उल्लेख गरिए जसरी आदिवासी र गैरआदिवासीका बीचमा सत्तालाई लिएर विवाद रहेको देखिन्छ।

आदिवासीहरू भूमिपुत्र हुन्। यिनका पुर्खाले जंगल फाँडेर बस्ती बसाएका थिए। अहिलेका राज्यधारीको उदय हुनुभन्दा हजारौँ वर्षअघि नै यिनीहरूले आफ्नो सामुदायिक भूमिसम्बन्धी अवधारणासहितको व्यवस्था स्थापित गरिसकेका थिए। यिनका आफ्नै मौलिक भाषा, संस्कार र संस्कृति लगायत थिए। प्रकृतिपूजक भन्ने गरेका पितृपुजक शामनिजम् (झाँक्रीवाद) धार्मिक विश्वास पद्धति थियो। पछिल्लो समय राजनीतिले राज्य निर्माणको क्रम चलायो। त्यस क्रममा यिनीहरू नृजातीय हत्याका सिकार भए। पुर्खाका चिहानमाथि उठाएका राज्यसत्ताले यिनीहरूलाई युद्धबन्दी सम्झ्यो। शासित बनाएर राखे। नेपालको हकमा ‘मासिन्या मतवाली’ समेत बनाए।  

यस प्रकार कथित राजनीति र त्यसले निर्माण गरेको राज्यसत्ताको मूलधारबाट सिमान्तीकरणमा पारिएका, पुख्र्यौली सामुदायिक भूमिबाट तितरबितर पारिएका, सामाजिक–सांस्कृतिक रूपमा हीनताबोधको भासमा फसाइएका, राजनीतिमा प्रवेश गरी सत्ताको चाकडीलाई समृद्धि मानेका एकाध चाटुकदारलाई सत्ताले किनाराको साक्षी बनाउनाले सिंगो समुदाय नै शोषणको मारमा परेका, व्यक्तिवाद वा वैयक्तिकताको सट्टामा सामूहिकतामा विश्वास गर्नेहरू, राजनीतिक सत्ताको सट्टा सामाजिक सांस्कृतिक संस्थाद्वारा सञ्चालित समुदाय, शासक र शासितको अवधारणा नभएका, जीवित निर्जीव सबैलाई प्रकृतिको समान अंश मान्ने, आधुनिक राज्य–राष्ट्रवादीका प्रवेशअघि स्वतन्त्र र मुक्त स्वरूपमा स्थापित रहेका एवं रीतले निर्धा सोझा भूमिपुत्रहरू नै आदिवासी हुन्।  

अहिलेका राज्यधारीको उदय हुनुभन्दा हजारौँ वर्षअघि नै आदिवासीहरूले आफ्नो सामुदायिक भूमिसम्बन्धी अवधारणासहितको व्यवस्था स्थापित गरिसकेका थिए। यिनका आफ्नै मौलिक भाषा, संस्कार र संस्कृति लगायत थिए। प्रकृतिपूजक भन्ने गरेका पितृपुजक शामनिजम् (झाँक्रीवाद) धार्मिक विश्वास पद्धति थियो। पछिल्लो समय राजनीतिले राज्य निर्माणको क्रम चलायो।

आदिवासी र गैरआदिवासीबीच सत्ता (पोलिटी) नै विवादको मुख्य कारण हो। यसको स्थापना नै निर्धामाथि सक्नेले जघन्य हत्याबाट सुरु गरेका थिए। आफूहरूद्वारा रचिएका अपराधलाई वैधानिकता दिन ‘पोलिटिक्स’भित्र पनि ‘बायोपोलिटिक्स’ भन्ने अवधारणा बनाए। जसले हरेक किसिमका हत्यालाई राजनीतिक रङ लगाउँदै वैधानिक भएको हौवा फिँजायो। त्यसपछि पनि मारिएका खलकका सन्ततिले बदला लिन सक्ने प्रबलता कायम रह्यो। त्यसैले ‘नेक्रो–पोलिटिक्स’ भन्ने नयाँ अवधारणा विकास गरे। जसले राज्यलाई नै राष्ट्र र राष्ट्रियता भन्दै घोकाउन सक्यो। यस प्रकार देशका लागि मर्न र मार्न तयार छु भन्न उक्साए। परिणामतः कथित राज्य निर्माणका क्रममा मारिएका आदिवासीका सन्तान पनि राज्य–राष्ट्रको नाराभित्रै रुमलिन पुगे। राज्य–राष्ट्र निर्माणका क्रममा मारिएका पुर्खा तथा लुटिएका भूमि लगायतका सर्वस्व फिर्ताका लागि लड्नुपर्छ भनेर सोच्ने र योजना बनाउने अवसर नै पाएनन्। अन्ततः आदिवासीका होनहार नेतृत्व पंक्तिमा रहेका समेत जिओपोलिटिक्सको आधारमा टिक्न तथा त्यसका लागि अनेक तिकडममा लिप्त हुन थाले।  

राज्य–राष्ट्र अवधारणाका निर्माताले आदिवासीका मौलिकता समाप्तिका लागि अनेक योजना ल्याए। जुन मन्दविष थियो, तर सोझा आदिवासीले चालै पाएनन्। परिणामतः आदिवासीका आधारभूत मूल्य–मान्यता (ग्राउन्डिङ भ्यालुज्) लोप हुनु स्वाभाविक थियो। आदिवासीका भूमिहरण गरेका अन्यत्रबाट आएका शासकले राज्यलाई आफ्नो पौरख मान्न थाले। हारेका आदिवासीले भूमिपछि भाषा गुमाए। शासकको भाषा, त्यो पनि स्पष्ट रूपमा बोल्न सक्नुलाई आफ्नो सफलता भन्ने भ्रमबाट ग्रस्त भए। त्यसपछि शासकको संस्कार, संस्कृति तथा धर्म ठूलो र उन्नत देख्न थाले। आफ्नो छाडेर तिनीहरूकामा विलय हुन सक्नुलाई विकास र समृद्धिको द्योतक मान्न थाले। हामी गलत बाटोतिर लाग्दैछौँ है भनेर सचेत गराउन खोज्नेहरू दोहोरो सिकारमा पर्न थाले। पहिले त राज्यसत्ताले अराष्ट्रिय भएको आरोप लगायो, त्यसमाथि आफ्नै समुदाय भित्रैकाले पनि ‘ढुंगेयुगमा फर्काउन खोज्ने मूर्खहरू’ भनेर चिन्न थाले।

यसबीच राज्य–राष्ट्रका पक्षपातीले आफ्नो सत्ताको वैधानिकता र टिकाउका लागि अनेकन् भाष्य बनाए। नेपालमा पनि महेन्द्रीय राज्य–राष्ट्रवादको समयमा आइपुगेपछि व्यापक रूपमा भाष्य निर्माण भए। त्यसका लागि तात्कालिक विद्वान्–विदुषीलाई जागिर दिएर आफ्नो बाटोमा हिँडाए। खस–आर्यलाई शासक, आदिवासीलाई मूर्ख र जंगलीका रूपमा स्थापित गराउन सफल भए। ती राज्य–राष्ट्रवादीका बीचमा पनि फरक मान्यता तथा दर्शन देखिए। जुन तिनैका लागि घातक सिद्ध भए। आदिवासीका लागि आशाको विषय थियो। नेपाली सन्दर्भमा हिन्दू राजसंस्था समाप्त भयो। फेरि पनि, आदिवासीका लागि अन्धकार रात हटेन, किनकि राजसंस्थाको पञ्जाबाट छुटाइएको सत्ता राजनीतिकै अर्का दर्शनधारीका हातमा पुग्यो।  

अब राजनीतिक दर्शनधारीका हातबाट सत्ता फुत्काउनुको अर्थ आदिवासी सत्ताको स्थापना गर्नु हो। यदि भएन भने, विडम्बना बाहेक अर्को हुनेछैन। यहीँनेर विश्व आदिवासी दिवस मनाउँदै आएका आदिवासीले बडो सचेतता र बुद्धिमत्तापूर्वक कदम चाल्नुपर्नेछ। त्यसो त अबको क्रान्तिकारी परिवर्तन कस्तो हुनेछ भन्ने प्रश्नको सहज र सरल समाधान नै आदिवासी मुक्तिको एउटा मात्रै उपाय हुनेछ। त्यसो भए ‘राज्य–राष्ट्रवादीका लागि खराब दिनको सुरुवात होला !’  भन्ने जिज्ञासा उठ्न सक्छ। भुल्न नहुनेचाहिँ आदिवासीवादमा कसैले हार्दैनन्। कोही कसैले हार्ने गरी कुनै पनि कदम चालिएमा आदिवासीवाद हुन सत्तैmन। सबैको जित नै आदिवासीवादको मर्म हो।

आदिवासीवादमा मानव सभ्यताले उचित स्थान नपाउला कि भनेर सोच्नुपर्दैन। कसैले त्यस्तो सोच्छ भने, समुद्रबाट मैले एक बोतल पानी लिने बेला चाहिँ सुक्ला कि भनेर चिन्ता गर्नुजस्तै हुनेछ। जीवित तथा निर्जीवका अधिकारको सुनिश्चितता नै आदिवासीवाद हो। नेपालमा ‘ब्राह्मणवाद’ शब्दलाई जसरी बुझे÷बुझाए, त्यसरी नै आदिवासीवादलाई बुझ्नु सर्वथा गलत हुनेछ। आदिवासीवाद वास्तवमा एक किसिमको प्रकृतिवाद हो। जहाँ जीवित हुन् या निर्जीव सबैलाई समान हैसियत प्राप्त हुने गर्दछ। यही तथ्य बुझ्न नचाहनु वा बुझाउन नसक्नु नै आदिवासी मुक्ति आन्दोलनको दोस्रो कमजोरी हो। पहिलो कमजोरी चाहिँ आदिवासीवादलाई बुझ्न नसक्नु वा गलत बुझ्नु हो।  

आदिवासीसत्ताविरुद्ध राज्यसत्ता
नेपालको हकमा ५९ विविध समुदायलाई आदिवासी जनजातिको रूपमा सूचीकृत गरेका छन्। यिनीहरूबीच थारु समुदायलाई दुई फ्याक पार्दैछन् भन्ने पनि सुन्नमा आएको छ। राज्यसत्ताको कारण नेपाली आदिवासीले तोकिएको नारामा केन्द्रित हुन सकेको देखिँदैन। गएको साल संयुक्त राष्ट्र संघले ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय वर्ष–२०१९’ घोषणा गरेको थियो। नेपाली राज्यसत्ताका कारण नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचान सहितको संघीयता र स्वायत्तता, स्वशासनका लागि संविधान हाम्रो अभियान, २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीका लागि हाम्रो आन्दोलन’ लामो नारा तय गरेको थियो। महासंघले विशेषतः लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलन गरिरहेको परिवेश बताउँदै सडकमा विविध विरोध कार्यक्रम गर्दै दिवस मनाएको थियो। यस प्रकार ‘अन्तर्राष्ट्रिय दिवस–२०१९’ नारा र त्यससँग सम्बन्धित कार्यक्रमको तय गर्ने अवसर नै पाएको थिएन। परिणामतः सन् २०२२ देखि २०३२ सम्मलाई आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय दशक बनाउने संयुक्त राष्ट्र संघको योजना र कदममा नेपाली आदिवासीले आफूहरूलाई सशक्त रूपमा उभ्याउन सक्लान्  भन्ने प्रश्न उठाउन सकिन्छ। आदिवासीले तोकिएको कार्य गर्न सकेनन् भने दोषी नेपाली राज्यसत्ता हुनेछ। यो तथ्य बुझ्न र बुझाउन सहज छैन।

यस प्रकार आदिवासी र नेपाली राज्यसत्ताका बीचमा सहकर्मीका रूपमा सहकार्य असम्भव प्रायः देखिएको छ। केही वर्षदेखि नेपाल सरकार आफैँ ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ खारेजीका लागि लागिपरेको थियो। राज्यसत्ता जहिले पनि आदिवासीमैत्री नभएर प्रतिद्वन्द्वीका हैसियतमा उत्रिने गरेको छ। यस प्रकार आदिवासी र राज्यसत्ता आपसमा अभैmसम्म फरक रहेको स्पष्ट हुन्छ। अब भन्न सक्छौं कि, राज्यसत्ता र आदिवासी प्रतिद्वन्द्वी हुन्। राज्यसत्ता किन आदिवासीमैत्री हुन सकिरहेको छैन वा चाहिरहेको छैन ? यसको जवाफ खोज्ने हो भने आदिवासी आफैँमा मौलिक पहिचान मात्रै नभएर सत्ता पनि हो भन्ने स्पष्ट हुन्छ। त्यसैले कथित नेपाली राज्यसत्ताले आदिवासीसत्तालाई प्रतिद्वन्द्वीपूर्ण व्यवहार गर्दै आएको छ। प्रतिद्वन्द्विता भनेको समान हैसियत भएको वा भएको भन्ने लागेपछि गरिने वा देखिने वा प्रदर्शन गरिने व्यवहार हो।  

नेपाली राज्यसत्ताले आदिवासी सत्तालाई समाप्त पार्दै आफूलाई उभ्याएको ऐतिहासिक तथ्य छ। जस्तै प्र्रपञ्च अपनाइरहँदा पनि आदिवासी सत्तालाई समूल नष्ट गर्न राज्यसत्ता असमर्थ रह्यो। यसको रहस्य चाहिँ आदिवासी सत्ता सम्बन्धित भूमिको रैथाने उत्पादन थियो। यो सीधै भूमिसँग सम्बन्धित विषय हो, राज्यसत्ता भने युद्ध उन्माद तथा हत्याको जगमा उभिएको आयातित स्वभाव तथा तथ्य हो। यही भएर राज्यसत्ता जहिले पनि आदिवासी सत्तासँग प्रतिद्वन्द्वीको हैसियतमा रहँदै आएको छ। यद्यपि अनेक तर्क तथा ढोङ रच्दै राज्यसत्ता आफैँलाई आदिवासी सत्ता समानको रैथाने पुष्टि गर्न खोजिरहेको छ। फेरि पनि असमर्थताका कारण भनेको रैथाने र फिरन्ते प्रकृतिसँग सम्बन्धित विषय हो। त्यसैले कसैले चाहँदैमा वा ढोङ रच्दैमा हुने विषय होइन।  

कोभिड–१९ र व्यवस्थाहरू
समय–समयमा अनेक विश्वव्याधि फैलिँदै आएका छन्। तिनका सुरुवात गैरआदिवासी  समुदायबाट हुन्छन्। तिनीहरूले संसारभरि फैलाइदिन्छन्। अन्ततः आदिवासी समुदाय पनि नराम्ररी प्रभावित हुन पुग्छन्। बिफर, क्षयरोगदेखि प्लेग लगायत विश्वव्याधि फिरन्तेले नै फैलाउने हुन्। यतिबेला कोभिड–१९ का कारण विश्व मानव सभ्यता अत्यन्तै जोखिमपूर्ण बिन्दुमा छ। चीनबाट मानव समुदायमा पैmलिएको भनिएको यो भाइरसका कारण लाखौँ मानिसले ज्यान गुमाइसकेका छन्। नेपालमा भने वैदेशिक रोजगारीमा गएकाहरूले यसलाई भत्र्याएका हुन्। विशेषतः भारतबाट फर्विmएकाले गर्दा नेपाली समाज संकटपूर्ण अवस्थाबाट गुज्रिन परिरहेको छ।  

अति गरिब तथा सीमान्तकृत समुदायको रूपमा घिटघिटाइरहेका आदिवासी यस्ता विश्वव्याधिको सहज सिकार हुँदै आएको इतिहास छ। कोभिड–१९ ले आदिवासी समुदायलाई नै नराम्ररी प्रभावित पारिरहेको छ। यसको मुख्य कारणमा चरम गरिबी, भौगोलिक विकटता र सरकारी उदासिनता आदि हुन्। नेपाली परिवेशलाई नियाल्ने हो भने, अत्यावश्यक स्वास्थ्य सामग्रीका व्यापक अभाव छ। यस्तो अवस्थामा पहुँचदेखि धेरै पर रहेका सीमान्तकृत आदिवासीले सुविधा पाउनेछन् भनेर कल्पना गर्न सकिन्न। देशका ठूला मन्त्री तथा नेता वा तिनका आफन्त विदेशमा उपचारका लागि पुग्छन्। सरकारी ढुकुटीबाट उपचारको नाममा रकम लुड्याउँछन्। गरिब आदिवासीहरू भोकले मर्छन्। पखाला चल्दा औषधि नपाएर ज्यान गुमाउँछन्। प्रधानमन्त्री कविता लेखेर बसिरहेछन्। राष्ट्रपति हेलिकप्टर र गाडीको भीड जम्मा पारेर रमाइरहेछन्।  

कोरोना विश्वव्याधि पनि नेपाली आदिवासीका लागि मृत्युको घण्टी साबित भइरहेकै छ। सरकार तथा तिनका आसेपासेका लागि कैयौँ पुस्तासम्म पुग्ने धन कमाउने अवसर बनेको छ। भूकम्पले आदिवासीलाई बेघरबार बनायो। हरेक वर्ष खोलापहिरोसँगै बगिरहन्छन्। ती सबै नै आदिवासीका लागि जीवन–मरणको खड्को हुन्, तर तिनै क्षणहरू सत्ता (मन्त्री र सचिव लगायत) तथा तिनका आसेपासेका लागि गरिखाने अवसर बन्छन्। भारतले नाकाबन्दी लगाउँदा पनि मन्त्री तथा आसेपासेले लुटेकै हुन्। काठ तस्करले रूख काटिरहेकै छन्। आखेटोपहारका लागि तस्करले वन्यजन्तु मारिरहेवैm छन्। सरकार भने आदिवासीका सामुदायिक भूमि क्षेत्रमा निकुञ्ज र आरक्षण स्थापित गर्छ। भूमिपुत्रलाई भूमिबाट लखेट्छ। निगुरो टिप्न गएका मानिसको टाउकोमा गोली प्रहार गर्छ। घोँगी टिप्न गएका मानिसलाई पिटेर मार्छ। भित्र्याउने बेला भएको बाली फाँड्छ। ओत लाग्ने टहरोमा आगो लगाएर पुरुषार्थ प्रदर्शन गर्छ। अनि, मानव अधिकारको भाषण छाँट्छ।  

यस्ता बेथितिको विरोध हुनु स्वाभाविक हो। आदिवासीले जल, जंगल र जमिनमा आधिकारका लागि आवाज उठाउँदा विदेशी डलरको भरमा उफ्रेका भनेर आरोप लगाइन्छ। आफैँ धामी आपैmँ बोक्सी ! देशमा रहेका सामाजिक संघ संस्थामध्ये एकाध छाडेर सबैमा सत्ता पक्षको नश्लीय आसेपासेकै वर्चस्व छ। फेरि पनि आदिवासीलाई डलरको खेती गरेको भन्ने आउटडेटेड भाष्य फलाक्न छोडिरहेको छैन। देशको नदीनाला बेच्नेहरू, महाकाली सुम्पनेहरू आज अमेरिकी डलरका लागि एमसिसी भन्दै देशत्व (तिनकै भाषामा राष्ट्रियता) बेच्न न्वारनदेखिको बल लगाएर दौडिरहेका छन्। यस्तैगरी, विश्व परिवेशलाई समेत ध्यान दिने हो भने, अहिलेसम्म प्रचलनमा रहेका राजनीतिक व्यवस्था काम नलाग्ने रहेछ भन्ने स्पष्ट भएको छ। परिवर्तनका लागि कोरोना विश्वव्याधिले आह्वान गरिरहेको छ। अमेरिकामा अश्वेत जर्ज फ्लोयडको हत्या प्रकरणले केही हदसम्म काम ग¥यो। सेता उपनिवेशवादीका नाइकेलाई बंकरमा लुक्न बाध्य पा-यो। क्रिस्टोफर कोलम्बसको मूर्ति ढाल्यो। न्याटिभ अमेरिकनको आवाजलाई बुलन्द गरायो। आदिवासी अधिकारका लागि लडाइँ लड्ने बेला भयो भनेर सुझायो।  

यहीबीच नेपालको रुकुम तथा जाजरकोटमा जातका आधारमा नरसंहार भयो। हत्याराका पक्षमा निर्लज्जतासाथ सत्ता उभिएको आरोप पनि सुनियो। कथित दलितहरू कमजोर नै देखिए। यसमा धेरै कारण देखिएका छन्। एक पक्षको चाहिँ दलित र कथित उच्च जातका बीचमा विवाह गराएर समस्या सल्टाउँछौँ भन्ने मत पनि देखियो। जातको सीमा मिचेर विवाह गर्दैमा समस्या समाधान नहुँदारहेछन् भन्ने ज्वलन्त उदाहरण अमेरिका विश्वसामु उभिरहेकै छ। ज्यान लिँदा पनि लकडाउनका बेला भन्दै विषयान्तर गर्ने प्रयास पनि भए। यतिखेर आदिवासी र दलित यस्ता उत्पीडनका विरुद्ध एकाकार हुन सक्नुपर्ने थियो। त्यतातिर ध्यान पुगेन। यस सम्बन्धमा गहन अध्ययन, अनुसन्धान र निष्कर्ष आवश्यक छ।  

यस प्रकार राज्यसत्ताले आफ्नो उपनिवेशलाई टिकाउन अनेक भाष्य बनाउने र पढाउने गरेको भन्ने स्पष्ट हुन्छ। यसपछि राज्यसत्ताको समानान्तर आदिवासीसत्ता के हो भनेर खोज्न नसक्नु आजसम्मको पहिलो विडम्बना हो। राजनीतिक आधारमा उभिएका राजसंस्था, उदारवाद, माक्र्सवाद, साम्यवाद वा पुँजीवाद जे भने पनि यी सबै नै आदिवासीसत्ताको हत्यारा हुन्। तिनका चकचकी र जगजगीकै कारण पृथ्वी र त्यसमा पनि मानव आयु क्षीण हुँदै गएको छ। अब पृथ्वीको आयु बढाउने ज्ञान कोसँग होला त भन्ने जिज्ञासा राख्दै खोजी भएका छन्। अन्ततः आदिवासीसँग भएका मौलिक तथा प्रकृतिमैत्री ज्ञानले मात्रै पृथ्वीको आयु बढाउन सकिनेछ भन्नेमा एकथरी चिन्तक यसअघि नै सहमत भइसकेका छन्। कोरोनाको उत्पत्ति, पैmलावट लगायतका सम्पूर्ण गतिविधिले पनि उल्लिखित राज्यसत्ता तथा तिनका व्यवस्थाका समाप्ति तथा आदिवासीवादमा आधारित आदिवासीसत्ताको स्थापनाका लागि आह्वान गरिरहेको छ। यो नै विश्व व्यवस्था परिवर्तनको लागि सबैभन्दा उपयुक्त अवसर हो।  

कुनै पनि बहानामा कसैलाई हराउनु हुँदैन। कसैलाई हराएर जित्नु भनेको आफ्नो हारको बिउ रोप्नु हो। राज्यसत्ता स्थापनाका नाममा अनगिन्ती नरसंहार भए। नेपालकै परिवेशमा पनि पृथ्वीनारायण शाहलाई एकीकरणकर्ताको पगरी गुथाइदिने गरेका छन्। तिनले आदिवासीसत्ता समाप्त पार्न निर्दोष आदिवासी पुर्खाका शिर गिँडेका थिए। भूमि लुटेका थिए। अस्मिता लुछेका थिए। हालको नेपाली राज्यसत्ता त्यसैको निरन्तरता हो। त्यसैले यो राज्यसत्ता आदिवासी विरोधी छ।  

पृथ्वीनारायण शाहले तात्कालिक आदिवासी सत्ताहरूलाई देशको रूपमा स्वीकार्नुपथ्र्यो। त्यसपछि सबै देशहरूलाई एकाकार गराउँदै देशहरूका संयुक्त राज्य नेपाल बनाउन सक्नुपथ्र्यो। त्यसो नगरी हत्यामा उत्रनुले एकीकरण तिनको लक्ष्य नभएको स्पष्ट हुन्छ। अबको बाटो भनेको यहाँका आदिवासीलाई देशको रूपमा स्वीकार्नुको विकल्प छैन। यी देश (जस्तै, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खम्बुवान तथा याक्थुङलाजे)लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देशका रूपमा स्विकार्दै यिनलाई संगठित गर्न सक्नुपर्छ। त्यसपछि आदिवासी सत्तासहितका विविध देशहरूका संयुक्त राज्य नेपाल बनाउन सकिनेछ। यसको विकल्प खोज्नु, यतातिर विचार नगर्नु वा गलत व्याख्या–विश्लेषण गर्नु भनेको आफ्नै छातीमा आफैँले बन्चरो हान्नु हुनेछ। यही तथ्य बुझ्न तथा बुझाउन सफल होस् भन्दै सम्पूर्ण विश्वजगत्लाई विश्व आदिवासी दिवसको शुभकामना।

प्रकाशित: २४ श्रावण २०७७ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App