टेम्केदेखि उँधौली लागेको
साप्सूदेखि उँभौली लागेको
मुटु कपाउने चिसो सिरेटो
अनि बिहानी घाम ओढेर
नब्बे र सात सालको बीचमा
जन्मिइन् मेरी आमा चन्द्रा ।
टेम्केको न्यानो घाम
अनि मपारुङ बेसीमा
घाँस दाउरासितै जिन्दगी साटेर
घामछायाँसितै लुकामारी खेलेर
अनि इज्जतिलो कुमारीत्व साँचेर
हुर्किइन् मेरी आमा चन्द्रा।
जीवनको उकालोमा हिँड्दै जाँदा
यातुङे (दाजुभाइको) मिलोमतोमा
छिनिदिए विहे
अनि पाइन् अढाई बर्से जेठो –कान्छो
पाँच छोरा र चार छोरी
जानु परेन आमा हुन् अस्पताल
लानु परेन स्थानीय स्वास्थ्यचौकी
कहीँ नभको जात्रा ...गाउँमा भनेझैं
खेप्नै खेपिन् बुहार्तनका पीडाहरू
अभिमन्युजस्तै घातक वाण खाएर
चक्रव्यूहमा बल्झिदै
बिहानी घामजस्तै एक जोडी छोराले
अचानक छोडे पनि
लिम्दे छोरीको आलै सिउँदाको
पीडा झेल्नुपरे पनि
धन्य मेरी आमा चन्द्राले
कहिल्यै आत्तिएर डेग छोडिनन्
रुँदै धुरुधुरु जीवनलाई सरापिन्।
बुढ्यौलीले जीउ खङ्ग्रङ्गै सुके पनि
धपेडीले थङथिलो भए पनि
ज्यानै हत्केलामा राखेर भए पनि
हाम्रो मनभरि उत्साही रङ भर्न
रखबारी गर्छिन् साँझबिहानी
थाहै छैन मलाई
कसैले मनखुसीले रखबारी गरेको
मेरी आमा चन्द्रालाई ।
मनभरि सदिच्छा साँचे रन्थिइन्
‘नानू–बाबू, ख्याल राखेस् है
छोरी मान्छेलाई छुनु हुँदैन
मान्छेको इज्जत सियाको टुप्पामा हुन्छ।
छिरिबुङझैं चोखो मनको हुनुपर्छ।
अहिले सम्झिदा यस्तो लाग्छ
अथाह ज्ञानको भण्डार रैछिन्
मेरी आमा चन्द्रा।
फुङ्ङ उड्दै गरेको अनुहार
ज्योति हराउँदै गरेको आँखा
अनि हिउँझैं सेताम्मे केशराशि
यस्तै खाले हुलिया बोकेर
के होला र कसो होला भनेर
मैनबत्तीझैं आफैं जलेर
उज्यालो छर्न
लछारोमा बेरिएकी वयोवृद्ध हुन्
मेरी आमा चन्द्रा ।
फूल कोपिलामा बाबुको
तरुनी उमेरमा लोग्नेको
अनि अहिले बुढेसकालमा छोराको
मनभरि डरैडरको छाँदे भारी बोकेर
आफ्ना कोरेली रहरहरूलाई
जबर्जस्ती दागबत्ती दिँदै
उहिल्यै चन्द्र च्याप्ज्यूले संस्कारेको
सत्तीको रूपान्तरित अग्निददाहमा
जल्दै, पिल्सिदै र बल्झिदै
जिन्दगीको सुदूर यात्रामा
घामपानी खेप्दै निस्केकी छिन्
मेरी आमा चन्द्रा ।
प्रकाशित: २३ श्रावण २०७७ १०:०९ शुक्रबार