जगत नवोदित
(१)
आशमा जिन्दगी बित्यो, खूब अफसोच छ
ठन्डी याममा नाङै, कसरी कोही मदहोस छ
देश बिग्रियो भनेर सधैं नेताजीलाई गाली गर्छौ
सलाई नबल्नुमा के काँटीको मात्र दोष छ ।
(२)
जहाँ हरेक विश्वास अन्तर्घातले काटिएको छ
पाइलापिच्छे दुर्घटनाको धराप थापिएको छ
गम्भीर भएर मेरो हाल सोधिहालेउ मित्र
के भनु धन्न आजसम्म बाँचिएको छ ।
(३)
कालो रात गएपछि उज्यालो दिन आएजस्तै छ
ढिलो – चाँडो मात्र, हाम्रो चोला मृत्युसँग फस्दै छ
आउनेहरू आउँदै छन्, जानेहरू बिदाइ भएर जाँदै छन्
फिक्कर किन मान्नु दुई दिने जिन्दगी यस्तै छ ।
(४)
चाउरीको पिरती चाउरेसँग छ
बन्चरोको प्रीत दाउरेसँग छ
विश्वास गर्नुस् एउटा साँचो कुरा
देशको अगाध माया भने लाहुरेसँग छ ।
(५)
जे पाउनु भो, त्यो थोरै पाकेको धेरै काँचो छ
जे सुन्नु भो, धेरै झूटो मात्र केही साँचो छ
विश्वास त अहिले आफूलाई आफ्नै पनि छैन
यतिबेला युगलाई हरिश्चन्द्रको खूबै खाँचो छ।
(६ )
अधर्मीहरुको मुखमा पनि रामैराम छ
पापीहरूले यो बस्ती साह्रै बदनाम छ
हतारहतार कता हिंड्नुभयो महोदय
यहाँ त आज जिन्दगी चक्काजाम छ ।
(७ )
मान्छेहरू आजकाल मान्छेकै भुजा गर्छन्
वास्तविकता छोप्नु परे पत्रै पत्र मुजा पर्छन्
जमाना यत्ति सारो बद्लिसक्यो हजुर
हनुमानहरू पनि रावणको पूजा गर्छन्।
(८ )
मान्छेले अघिपछि जहाँ हिंडे पनि आफ्नै लागि छ
दायाँबायाँदेखि तलमाथि सबै सिर्फ आफ्नै लागि छ
मान्छेले आफ्नो स्वार्थका लागि यतिसम्म गरिसक्यो
आफ्नै मूर्ति बनाएर आफैले पूजा गर्न मात्र बाँकी छ।
( ९)
राम्ररी बगैचा सिङ्गार्ने एउटा माली छ
उही मालीलाई मालिकको गाली छ
यो लोकमा के रीत आयो प्रभु ?
त्यही गालीलाई दुनियाँको ताली छ ।
( १० )
यो पापी संसारमा बाँच्न अब सजिलो छैन
मनभरि घाउ बोकेर हाँस्न अब सजिलो छैन
निर्मोहीहरूले खचाखच भरिएको भीडमा स्नेही
हामीले चोखो प्रित गास्न अब सजिलो छैन।
(११ )
थुप्रै लाचारी लाशहरू जिउँदा बने रे
मै खाऊँ मै लाऊँ भन्नेहरू नै समूहमा परे रे
यो समयमा सत्यको के कुरा गरौ मित्र ?
पापीहरूले नै पहिले बैतर्नी तरे रे
(१२ )
दिनभर दिनभर चराले चर्यो रे
चोट पर्ने बेला भ्यागुता पर्यो रे
छलीहरूलाई ढडिया नथापे हुन्छ
चिप्ला माछाहरु त अन्तै सर्यो रे ।
प्रकाशित: २१ श्रावण २०७७ ०७:५४ बुधबार