सुनिता गिरी
समुन्द्र परको यो अँध्यारो शहरबाट
मेरो उज्यालो देश सम्झन
मैले रात पर्खिनुपर्छ !
जब कि -
बिहान दिउँसो साँझ अथवा साँझ
मैले आफैलाई भुल्नुपर्छ !
एकछिनलाई मान्नुस कि म मेसिन हुँ
प्राणहीन तर गतिशील
एकछिनलाई ठान्नुस कि म कारखाना हुँ
उत्पादक तर मूल्यहीन
तर म त जीवित मानिस हुँ
मलाई मानिसकै रुपमा चिन्न
सबैभन्दा पहिले
मेरो सङ्हर्ष र दुखको घाउ चिन्नुपर्छ
मेरो रगतपसीना अनि
तातो आँसुको रङ चिन्नुपर्छ !
को हुँ म भनी चिन्न कहिले
आफैलाई बेसरी चिमोटेकी छु
कहा छु भनेर बुझ्न कहिले
हिडिरहेको आफ्नै पैतालाको
डोबहरुलाई दोहोर्याएर हेरेकी छु
जब स्पष्ट चिन्छु आफुलाई
आफ्नै माटोको माया बल्झेर आउछ
तर यो उजाड प्रदेशबाट
मेरो सुन्दर देश सम्झिन
मैले रात पर्खिनुपर्छ !
मेरो फूलैफूलको देश
चाँदीझैं टलक्कै टल्केको हिमशिखरबाट
सर्दै आएका ताराहरु गन्दै
मैले आँसु पुछेको कसैलाई थाहै छैन
मेरो झरनै झरनाको देश
बग्दैबग्दै आएर यहाको समुन्द्रमा तैरिएका
मेरा प्रियजनहरूको अनुहार सम्झदै
मैले चिच्याएर रोएको यहा कसैलाई वास्तै छैन
त्यसैले
यहाँ आवाज निकालेर रुनलाई
मैले रात पर्खिनुपर्छ
र रातलाई आफ्नो बनाउनलाई
मैले मेरो प्रिय दिनलाई बिदा गर्नुपर्छ !
प्रकाशित: १८ श्रावण २०७७ ०६:१९ आइतबार