निर्मलरमण पराजुली
१) शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाइदिने भेष
धनदौलत सुखसयल, खोज्दै विदेश जानुभन्दा
ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।
२) कति बस्छौ नारी तिमी ,कुसंस्कारमा जेलिएर
अझैसम्म विभेदरूपी , खाडलभित्र छेलिएर
छातीभित्र साहस बोकी उठ्न सिक अब आफैं
बाँच्नु हुन्न हेलाहिंसा , अत्याचारमा पेलिएर ।
३) मर्दा केही लान्न भन्थ्यौ , गयौ सिन्दुरपोते दिएर
मुटु फुट्लाजस्तै हुने , कस्तो यो पीडा दिएर
कस्ती रैछे अलक्षिनी , लोग्ने टोकी भन्छन् सबै
गार्ह्यो भयो मलाई बाँच्न, दिनरात आँसु पिएर ।
४) मेरी सासु यस्तीउस्ती भन्दै रात, दिन खैरो खन्नेहरू
आमाजस्ती सासूलाई हेला, गरी दुष्ट बन्नेहरू
छन् हाम्रो समाजमा यस्ता नारी, अझै प्रशस्तै छन
त्यही सासूले पाएको छोरालाई , मेरो मुटु भन्नेहरू ।
५) बाढी आई बगाई लाग्यो , बस्ने मेरो बास हरायो
बाढीले नै मार्यो छोरो , बाढीसँगै लास हरायो
चुनाव आउँदा म छु भन्थे , कुर्सीका लागि लडिरहेछन्
दुख पर्दा आँसु पुच्छन् भन्ने , भित्री मनको आश हरायो ।
प्रकाशित: १७ श्रावण २०७७ ०६:०९ शनिबार