त्रिपुरा पौडेल
१) नाता आफ्नो यो भावुकतासित तोड्नु पर्ला
हिंडिरहेको बाटो यो आफ्नो अन्तै मोड्नु पर्ला
नभएपछि कहिले यहाँ आफ्नो सृजनाको कदर
कहिलेकाहीं सोच्छु लेख्न अब मैले छोडनुपर्ला !
२) मानव भएर नारीको भावनासित खेल्छौ किन ?
धन-सम्पन्न छु भन्दैमा गरीबलाई संधै पेल्छौ किन ?
पढेको हौ भने देखाउनु पर्यो तिम्ले शिष्टाचार पनि
- फाइदा उठाएर भीडमा दिदीबैनीलाई बसमा ठेल्छौ किन ?
३) लेखेर के गर्नु खै किताब निकाल्न सकिएन
कवितामा नयाँ नौलो परम्परा बसाल्न सकिएन
सतीले सरापेको देश यो भन्थे हो रहेछ
आफूमाथि उक्लिन अरूलाई खसाल्न सकिएन
४) बोझ यो अभिशप्त जीवनको कति दिन बोकुँ म ?
कसले बताउँछ र गएर कसलाई सोधुँ म ?
कैले खुल्ने हो खै आँखा यो समाजको पनि
व्यथा यो नारी जातिको कहाँ गै पोखुँ म ?
५) कस्तो पीर हो यो सहनै नसकिने
कस्तो दुख हो यो कहनै नसकिने
जता हेर्यो उतै देख्छु परपीडक मात्र
कस्तो देश हो यो रहनै नसकिने !
प्रकाशित: १७ श्रावण २०७७ ०५:३९ शनिबार