२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

यसवर्षको गाइजात्रा औपचारिकतामा सीमित

यसवर्षको भक्तपुरको गाइजात्रा औपचारिकतामा सीमित हुने भएको छ । गाइजात्राका क्रममा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) लगायतका सबै कार्यक्रमहरु स्थगित हुने भएको हो । जात्रा क्रममा मृत्यु भएका परिवारबाट सामान्य रुपमा नगर परिक्रमा मात्रै हुने भएको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच मंगलबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोग हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदाय स्तरमा संक्रमण देखिन थालेकोले यसवर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्न सुझाएको थियो । बैठकले नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा र कर्फ्यूसमेत घोषणा गरिएको अवस्थामा रोग संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिंदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गर्ने निर्णय गर्‍यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा र पर्वहरू स्थगन गर्नु व्यक्तिगत र संस्थागत चाहना नभई विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणको लागि भएको बताए । उनले समुदायका नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने अभिप्रायले यस वर्षको जात्रालाई औपचारिकतामा सीमित गर्नुपर्ने बताउँदै क्षणिक मनोरञ्जनले पूरै समुदायलाई संक्रमणको खतराबाट जोगाउनु आजको आवश्यकता भएको बताए ।

उपप्रमुख रजनी जोशीले कोभिड-१९ को असहज परिस्थितिमा रोगको संक्रमणको रोक्न जात्रालाई सामान्य रुपमा मनाउनुपर्नेमा जोड दिइन् । बैठकमा भक्तपुर जिल्लाका सहायक प्रजिअ दुर्गादत्त ढकालले भारतमा अहिले पनि कोरोनाको जोखिम बढिरहेको अवस्थामा लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरूका कारण संक्रमणको खतरा रहेको र यही समयमा धेरै भीड जम्मा हुने गरी जात्रा सञ्चालन गरिनु खतरनाक हुने बताए । कार्यक्रममा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्मचार्यले जात्रालाई विधिवत रुपमा सीमित औपचारिकतामा सीमित गरी मनाउनु अहिलेको आवश्यकता भएको बताए ।

बैठकमा भैरवनाथ जात्रा सहयोग समितिका न्हुछेराम भेले र शिवराम किजु, आकाशभैरव नौबाजा समूहका ज्ञानेन्द्रमान कायष्ठले भक्तपुर नगर भौगोलिक रुपले सानो नगर भएको हुँदा जात्राको समयमा रोगको संक्रमण फैलिने खतरा भएको हुँदा जात्रालाई औपचारिकतामा सीमित गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: १३ श्रावण २०७७ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App