२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त भेटघाट तथा अन्तरक्रिया सम्पन्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजनमा तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

आपसी परिचयका साथै प्राज्ञिक गतिविधिका बारेमा एकअर्काका अनुभव आदान प्रदान र आगामी कार्ययोजनाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको मन्त्री भट्टराइले बताए । मन्त्री भएर आएपछि प्राज्ञहरूबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै उनले प्रज्ञा–प्रतिष्ठानहरू आफ्ना लागि विश्वविद्यालय भएको बताए ।  

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण ठुला गोष्ठी, सेमिनार तथा सभाहरू आयोजना हुन नसके पनि अब स–साना गोष्ठी, सेमिनारहरू आयोजना गर्न कुनै बन्देज नरहेको उनले बताए । ‘अबदेखि प्रज्ञा–प्रतिष्ठानहरूमा पनि कुलपतिसमक्ष उपकुलपति र प्राज्ञहरूले कार्यसम्पादन सम्झौता लागू गर्नुपर्ने हुन्छ ।’ भट्टराईले भने ।  साउन १५ गतेभित्र सबै प्रज्ञा–प्रतिष्ठान र संस्थानले आव २०७६/०७७ को प्रतिवेदन मन्त्रालयमा अनिवार्य बुझाउनु पर्ने बताए । चालू आव. २०७७/०७८ को कार्यप्रगति शतप्रतिशत पूरा गर्नैपर्ने बताए ।  पेश्की फस्र्योट, बेरुजु फस्र्योट शतप्रतिशत हुनैपर्छ ।  

‘प्रत्येक महिनामा आ–आफ्ना कामहरूबारे मन्त्रालयमा कार्यप्रगति रिपोर्टिङ गर्नै पर्छ ।’ उनले भने, ‘कतिपय समान प्रकृृतिका काम संयुक्त रूपमा गर्न सकिन्छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानहरूको इतिहासमा यस प्रकारले मन्त्रीले संयुक्त रूपमा पहिलो पटक भेटघाट तथा बैठकको आयोजना गरेको बताए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानले सरकारले तोकेका जिम्मेवारीहरू शतप्रतिशत पूरा गर्दै आएको बताउँदै प्रज्ञा–प्रतिष्ठानहरूबाट राज्यले अपेक्षा गरेका दायित्वहरू निर्वाह गरी सार्थकता पुष्टि हुने प्रकारका कामहरू गर्नुपर्ने तर्फ नेपाल प्रज्ञा–प्रतिष्ठान सचेत रहेको बताए । उनले दक्षिण एसियाका प्रायः सबै प्रज्ञा–प्रतिष्ठानसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको आपसी सहकार्य सम्झौता भई त्यो क्रम जारी रहेको र इजरायलसँग समेत सम्झौता भएको सुनाए ।  

कुलपति उप्रेतीले चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गरिएको, प्रादेशिक, नेपाल दर्पण महाग्रन्थ र नेपाली दर्शन महाग्रन्थको लेखन कार्य सुरु गरिएको, नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरी लागू गरिएको र अर्को वर्ष १ लाख १५ हजार शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याउने गरी काम भइरहेको बताए । ‘महाकवि देवकोटा सङ्ग्रहालयको डिपिआर निर्माण भइसकेको छ ।’ उनले भने, ‘हामीले आफ्नो औचित्य र सार्थकता पुष्टी हुने गरी काम गर्न सकेनौँ भने हाम्रो भविष्य खतरामा छ । सबैले यो कुरा बुझेर काम गर्नु जरुरी छ ।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आव २०७६÷७७ मा आफ्नो प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिहरू प्रस्तुत गरे । उनले ८५ प्रतिशत कार्य पूरा गरेको बताउँदै कलाकार अरनिकोको १७ फिटको ढलौटको मूर्तिको काम हुँदै गरेको र ललितकलाकर्मी परिचयपत्रको कार्यविधि बनाई वितरण गर्ने तयारी गरिरहेको जानकारी दिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आफूहरू नियुक्त भएर कोरोनाका कारण लक्ष्यअनुरुपका कामहरू गर्न नसकेको बताए । उनले आफ्नो प्रतिष्ठानले ५५ प्रतिशत मात्रै काम गर्न सकेको सुनाए । सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानले सम्पन्न गरेका गतिविधिबारे जानकारी दिए ।

प्रकाशित: १२ श्रावण २०७७ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App