१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

आदिकविको शिखर कटेरी

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा उद्घाटित पाँचदिने (२०६७ चैत) भानु महोत्सवका अवसरमा अन्य कार्यक्रमका अतिरिक्त भानुको घर निर्माणको प्रसंग प्रस्तुत भएको थियो। तर, पछिल्लो तीन वर्षदेखि मात्र यो चर्चाको विषय बन्यो, जतिबेला पश्चिमाञ्चल विकास मञ्चले भानुगृह अर्थात् ‘भानु शिखर कटेरी’ निर्माण गर्ने योजना बनायो।  

आदिकवि भानुभक्त आचार्य (विसं १८७१–१९२५) को जन्मथलो तनहुँको चुँदीरम्घा गाउँ अहिले भानु नगरपालिका–४ मा पर्छ। भानुको जन्मघर रम्घा डाँडोको मध्य भाग धर्मशाला क्षेत्रमा पर्छ। भानुभक्तका पनाति स्व. मुक्तिनाथ आचार्यले आफ्नो लेखनमा यस घरलाई ‘शिखर कटेरी’ नाम उल्लेख गरेकाले त्यसै अनुसार यो प्रचलनमा आएको हो।  

औलोको प्रकोप र उन्मूलन
पृथ्वी राजमार्गको डुम्रे बजारबाट उत्तर–पश्चिम फैलिएको करिब १५ किमि लम्बाइको चुँदी फाँटको बीचोबीच उत्तरतर्फ रम्घा डाँडो रहेको छ। पहिले–पहिले बेँसीतिर मात्रै लाग्ने औलोको प्रकोप बढ्दै गएर धर्मशाला क्षेत्रमा पनि आयो, जहाँ शिखर कटेरी रहेको छ। १९४०–४५ सालतिर गाउँ नै विस्थापित भई डाँडोको माथिल्लो भाग रम्घा, मध्यपुर, तेर्सेपानीका गाउँ (लेक) मा क्रमशः बस्ती बस्न पुग्यो।  

यसको झन्डै ८० वर्षपछि अर्थात् २०१५–२० सालतिर मात्रै अमेरिकी सहयोगमा डिडिटी, एलएसडीजस्ता पाउडर घोलेर घरगोठमा छर्ने अभियान चल्यो। बिस्तारै लेकबेँसी सबैतिर औलो उन्मूलन भएपछि गाउँलेहरू डाँडोको मध्यभागलाई पनि छाडेर गाउँबाट स्थायी किसिमले नै बेँसी बसोबास गर्ने लहर चल्यो। अहिले घर नै छैन भने पनि हुन्छ। धर्मशाला क्षेत्रमा बसोबास नभएको झन्डै डेढ सय वर्ष भइसकेको अवस्थामा भानु जन्मेको घरघडेरी अर्थात् ‘शिखर कटेरी’ हाता र त्यति बेलाको गाउँ पूरै सालघारीले ढाकेको छ। नेपालमा सामुदायिक संरक्षणको अवधारणा आएपछि वन यति विस्तार हुन पुगेको छ कि वन्यजन्तुको डर पनि उत्तिकै फैलिएको छ।  

भानुभक्त चलचित्र निर्माणका क्रममा धर्मशाला क्षेत्रमा रहेको भग्नावशेषयुक्त भानुको पुरानो घरको जग पहिल्याई पुरानै शैलीको भानुभक्तको घर बनाई सुटिङ गरियो। त्यसको दुई–तीन वर्षपछि आगलागीले सो घर पनि ध्वस्त भयो।  

भानुको पुरानो घर  
२०५६ सालमा पूर्वसचिव तथा निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलको अध्यक्षतामा चलचित्रकर्मी गीतकार यादव खरेलको सक्रियतामा भानुभक्त चलचित्रको निर्माण भयो। यो फिल्म निर्माणका क्रममा धर्मशाला क्षेत्रमा रहेको भग्नावशेषयुक्त भानुको पुरानो घरको जग पहिल्याई पुरानै शैलीको भानुभक्तको घर बनाई सुटिङ गरियो। त्यसको दुई–तीन वर्षपछि आगलागीले सो घर पनि ध्वस्त भयो।  

अहिले पश्चिमाञ्चल विकास मञ्चले आफ्नो क्षेत्रमा केही न केही विकासको काम गर्ने लक्ष्यबमोजिम भानुगृह अर्थात् शिखर कटेरी निर्माणको योजना तयार ग¥यो। मञ्चका निवर्तमान अध्यक्ष रामकाजी कोने आफैँ पनि साहित्यिक मनका भएकाले सरकारद्वारा बनाइने रामायण भवन र भानु घरसहितको ‘शिखर कटेरी गुरु योजना’ का पक्षलाई बहसमा ल्याए। यसको प्राविधिक पक्ष इ. स्वरूप कोनेले हेरेका छन्।  

शिखर कटेरी गुरु योजनाको नक्सा हातको मुड्कीलाई तलतिर पारेको आकारको छ। यसअन्तर्गत रामायण भवन, पुरानै शैलीको भानुगृह, पुस्तकालय, भानुको मूल प्रतिमा, सभा हल वा कार्यक्रम कक्ष छन्। यसका अतिरिक्त पोखरी, चमेनाघर, उपहार पसल, टिकट कक्ष आदि छन्। रम्घा डाँडोको फेदीबाट करिब ३.५ किमिको चढाइमा करिब १० रोपनी क्षेत्रफलभित्र यो परियोजना सञ्चालित छ।  

नेपाल सरकार पर्यटन विभागको लगानीमा करिब ८५ लाख रुपैयाँ बजेटमा रामायण भवन बनिसकेको अवस्था छ। तर, आकृतिमा मात्र उभिएको छ। रंगरोगन, सजावट, भानुभक्तको रामायण भित्तामा कुँदेर लेख्ने आदि काम अझै बाँकी छन्। भारतको हृषिकेशस्थित गीतासदनका भित्तामा भगवद् गीता कुँदिएजस्तै यहाँ पनि त्यस्तै बनाउने कार्यक्रम छ।  

भानुगृहको स्वरूप  
भानुको घर तात्कालीन अवस्थामा जे–जस्तो थियो, त्यस्तो नै बन्ने छ। भुइँ र माथिल्लो गरी बार्दली सहितको दुईतलाको घर र सोको अघिल्तिर आँगन तथा भित्र पस्न लाग्दा मूल ढोकाको दुईतिर दायाँबायाँ फैलिएको पिँढी हुनेछ। पिँढीको भित्ता सेतो र भित्ताको तल अडेस लगाउने ठाउँमा कालो खोटो हुनेछ। त्यसको ठीकमाथि पिँढीको वारपार फैलने गरी पहेँलो वा रातो माटोको डेढ फिट चौडाइको पेटी रहनेछ। आँगनको पूर्वतर्फ तुलसीमठ, उपयुक्त स्थानमा गाईवस्तु गोठ, पराल राख्ने टौवा, फर्सी पिँडालु आदि राख्ने माचसहित घरको मुहार पूर्ववत् देखिने गरी बनाइने मञ्चका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन्।

भानुघर निर्माणमा चासो राख्दै विभिन्न मिडियाले समाचार प्रकाशित गरेका छन्। २०७६ सालको हिउँददेखि नै भानुगृहको निर्माण थालनी गर्ने भनिएको थियो तर कोभिड–१९ महामारीका कारण अब कहिलेदेखि निर्माण सुरु गर्ने अन्योल छ। यसै सन्दर्भमा मञ्चका अध्यक्ष ढकाल भन्छन्, ‘सरकारी पूर्वनिर्धारित बजेटबाट बन्ने परियोजनाभन्दा यो योजना बिल्कुलै फरक छ। यो उदारमना व्यक्ति तथा संघ–संस्थाबाट सहयोग प्राप्त गर्दै निर्माण पनि अघि बढाउँदै लग्ने हिसाबको परियोजना हो।’  

कार्यस्थलका समस्या  
कार्यस्थलमा मुख्यतः चार किसिमका समस्या देखिएका छन्– त्यहाँ राखिएका निर्माण सामग्रीको चोरी, पानीको अभाव, सडकको दुरवस्था र चितुवाको बिगबिगी।  

त्यहाँ राखिएका सामग्रीको चोरी हुने गरेको रामायण भवनका ठेकेदारले गुनासो गरेका छन्। जंगलको बीचमा काम गर्नुपर्ने र खानपिनका सबै वस्तु बोकेरै लैजानुपर्ने हुँदा काम गर्ने मजदुरलाई निकै गाह्रो हुने गरेको छ।

निर्माणका लागि प्रशस्त पानी चाहिन्छ। गाउँवासीले पिउने गरेको पानीको मात्राले निर्माणका लागि पुग्दैन। तसर्थ, डिपबोरिङ गरी पानी निकाल्ने र बढी भएको पानी बेँसीका बासिन्दालाई उपलब्ध गराउन सकिन्छ। यस कार्यका निम्ति भानु नगरपालिका र पश्चिमाञ्चल विकास मञ्चले आर्थिक सहकार्य गर्नुपर्ने हुन्छ।  

उकालो र उबडखाबड भएकाले बर्खाका बेला निर्माण सामग्री कार्यस्थलसम्म पु¥याउन कठिन छ। ग्राभेल गरी दुईतर्फ पानीढल बनाई बाह्रैमास चल्ने कालोपत्रे सडक नबनाएसम्म काम गर्न गाह्रो देखिन्छ।  

अर्को समस्या हो, चितुवा। गत एक वर्षको अवधिमा त्यस क्षेत्रमा चितुवाको आक्रमणद्वारा ६ बालबालिकाको मृत्यु भइसकेको छ। घरपालुवा जनावरको त कुरै छाडौँ। सामुदायिक वनको सघन विकास भएकाले पनि यो समस्या देखिएको हो। शिखर कटेरी हाताको संरक्षण र त्यस इलाकामा गस्ती गर्ने हिसाबले एक प्रहरी युनिट राख्नु जरुरी छ।  

मञ्चको कार्य  
मञ्चका पूर्वअध्यक्ष एवं शिखर कटेरी निर्माण संयोजक रामकाजीका अनुसार, जनमानसमा के भ्रम के परेको छ भने गुरुयोजनामा परेका सबै काम पश्चिमाञ्चल विकास मञ्चले गर्छ, जुन सत्य होइन। मञ्चले गर्ने भनेको भानुगृहको निर्माण मात्र हो। मञ्चले शिखर कटेरी गुरुयोजनाको नक्सा बनाइदिएर सहयोग गर्न मात्र खोजेको हो।

करिब अढाइ दशकअघि उच्चशिक्षा अध्ययन गर्ने क्रममा यस लेखकले बेलायतको उत्तर–पश्चिम इलाकामा रहेको विश्वप्रसिद्ध कवि वर्डस्वर्थको समाधि क्षेत्र र स्ट्राटफोर्डस्थित नाटककार सेक्सपियरको संग्रहालयमा परिणत घर–घडेरीलाई प्रत्यक्ष हेर्ने मौका पाएको थियो। भानु जन्मस्थललाई पनि त्यस्तै रूप दिएर साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्न सकिन्छ।  

मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकिङ तथा पर्यटन क्षेत्रका वरिष्ठ व्यवसायी हुनाले शिखर कटेरी निर्माणमा सहयोगी हातहरूको संलग्नता भइरहने विश्वास पलाएको छ। तर, ‘अकस्मात् देखापरेको कोरोना प्रकोपले व्यावसायिक क्षेत्रलाई पनि गम्भीर असर पारेकाले मञ्चका लागि भानुगृह निर्माण कार्य निकै चुनौतीको विषय बन्न पुगेको’  ढकालको भनाइ छ।  

जेहोस्, मञ्चको यस आँटले शिखर कटेरी गुरुयोजनाअन्तर्गत अरु काम गर्न अन्य पक्षलाई पनि अभिप्रेरित गरेको छ। अझै पनि एउटा चित्तनबुझ्दो कुरा के देखिन्छ भने, त्यहाँ गुरुयोजना अनुसारका सबै संरचना बने पनि त्यसको स्वामित्व लिने, सुरक्षा दिने र सञ्चालन गर्ने क्षमता स्थानीय तहमा छैन। देशमा संघीय पद्धति लागू भइसकेको अवस्थामा आदिकविको जन्मस्थलको विकास स्थानीय संस्थालाई सुम्पनु, प्रादेशिक तहसम्म पनि नराख्नु ज्यादै दुःखलाग्दो कुरा हो, जब कि अरु देशमा यस्ता साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका विषयलाई केन्द्रबाटै हेरिने गरिन्छ।  

प्रकाशित: १० श्रावण २०७७ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App