भनूँ कि नभनूँ दोधारमा थिएँ म । भनूँ मन दुख्ने, नभनूँ झनै अप्ठेरो । अन्तिममा मैले साहस बटुलेर भने, ‘प्रनिशा, मैले तिमीलाई आँसु मात्रै दिने भएँ । मलाई माफ गर । मेरो संवेदनशील अंगमा रोगले च्यापेको छ । म अब धेरै बाँच्दिनँ होला ।’
बिहान के खाऊँ र बेलुका के खाऊँको स्थिति थियो मेरो । कखरा पढाउने स्कुलमा अस्थायी जागिर थियो । औषधि खर्च र खिच्रिङमिच्रिङ सामान किन्दाकिन्दै पैसा त्यसै सकिन्थ्यो । सानासाना भाइबहिनीहरूको आशाको मुहान थिएँ म तैपनि केश फुलेको आमाबुबाले छेउमा आफूलाई केटाकेटीजस्तो लाग्थ्यो।
आमाका दश ठाउँ टालेको चोली हुन्थ्यो । टोपीबाट केश छिरेर बाबु ढँटुवारजस्तो देखिनु हुन्थ्यो । यस्तैयस्तै अभावको अप्ठेरो खुडकिलो थियो जीवनको बाटोमा ।
एक मनले भनेको थियो, ‘अब बाँचेर काम छैन । मैले अर्कैे बाटो रोजेर जानुपर्छ । ममा उपचार गर्ने हैसियत छैन ।’
अर्को मनले भन्थ्यो, ‘यो मेरो जीवनको परीक्षा हो । मैल पास गर्नुृपर्छ । जसरी हुन्छ उपचार गराउनुपर्छ । रोग कसलाई लाग्दैन र । रोग पाल्नु हुँदैन ।’
आमाको मन किन मान्थ्यो र । मैले एकान्तमा टोलाउँदे रुनुको अर्थ थिएन । जीवनलाई सरापेर पनि काम थिएन । उहाँले मेरो उपचारका लागि गाईवस्तु बेचेर गोठ रित्याउनुभयो । रिन काढ्नुभयो । बाउमाइती र दिदीबहिनी सबैलाई गुहार्नुभयो ।
सामुदायिक एफएममा बजिरहन्थ्यो, ‘चिसापानी निवासी अटलको ..फेर्नुपर्ने भएको हुँदा सहयोग गर्न इच्छुक महानुभावहरूले खाता न मा रकम जम्मा गरिदिन हुन अनुरोध छ । तपाईको सहयोगले कसैले पुनर्जीवन पाउँदै छ ।’
छुट्ने बेला मैले दरो मुटु बनाएर भने, ‘प्रनिशा, म सन्चो भएर आउँछु । राम्रोसँग आमाबाबुको हेरविचार गर्दै गर्नु ।’
तर उनले केही भनिनँ । साना भाइबहिनीले उज्यालो अनुहार बनाउँदै भने ‘दाज्यू, निको भएर चाँडै आउनुस् है ।’
आमाले जबर्जस्ती हाँसो लुकाएर भन्नुभएको थियो, ‘बाबू, हामीले सकेसम्म कसैलाई नराम्रो गरेका छैनौ । त्यसैले भगवान्ले हेरिछाड्ने छैन । आमाले दिएको आशीर्वाद खेर नजावस् है ।’
म खुसी हुँदै बाटो लागे । म अस्पतालको कोठा नं ३ मा परे । आमाको मनले मानेनछ । म गएका दिनै मलाई भेट्न मकहाँ आउनुभयो ।
अस्पताल बसाइ सुरु भयो । म वरिपरिका अरू बिरामी नियालिरहन्थे। छेउको बेडमा अन्दाजी तीस बर्से विराम थियो । तिनको साथमा एउटी कुरुवी पनि थिई । पछि मलाई थाहा भयो तिनीहरू नवजोडी रहेछन् । एउटै कोठा बिस्तारै चिनजानी बढ्दै गयो । मेरी आमा यताउति गर्न सक्नुहुन्न थियो र त्यहाँकी कुरुवी ज्योतिले नै सबै काममा सहयोग गर्न थालिन् ।
ज्योतिले मायालु शैलीमा भन्थिन्, ‘ प्रकाश, जीवनमा संघर्ष गर्नुपर्छ । हरेस खाइयो भने रोगले झन् –झन् रोगले च्याप्दै लान्छ । लौ नखाई कहाँ हुन्छ र ।’
केरा नग्याउँदै मुखमा हाल्दिन्थी ज्योतिले र डोरयाउँदै शौचालयमा लान्थिन् र डोरयाउँदै बेडमा ल्याउँथिन् । कति लोभलाग्दो जोडी । मलाई लाग्थ्यो, यो दुनियाँमा अनुपम जोडी थियो त्यो । मध्यरातमा ऐयाऐया गरिरहँदा नरम हातले सुमसुम्याउँदे भन्थी, ‘प्रकाश, डाक्टरी रिपोर्टअनुसार स्थिति राम्रो हुँदैछ । चिन्ता लिनु पर्दैन । तिम्रो म छु , मेरो तपाई हुनुहुन्छ । जति दुखाइ भए पनि बिस्तारै बिसेक हुनेछौ । चिन्ता गर्नु हुँदैन ।’
– ज्योति, तिमीले मेरा लागि धेरै दुख गरेकी छयौ । मेरा लागि धोविनी भएकी छ्यौ। बैनी भएकी छयौ । आमा भएकी छयौ र सबैसबै भएकी छयौ ।
– यतिका लागि त साथ चाहिन्छ । सहारा चाहिन्छ । नत्र केका लागि जोडी, केका लागि विवाह र केका लागि जीवन । तपाई पनि मेरा लागि कहिले बुबा हुनुपर्छ । कहिले भाइ हुनुपर्छ ।
यस्तैयस्तै ज्योति र प्रकाशको मीठो कुरामा भुलिन्थे म । अरूको जीवन हेरेर भए पनि रमाउनु सिक्नुपर्ने रहेछ भन्ने कुरा मैले त्यसबेला बल्ल थाहा पाएँ । बिसेक भएर ती जोडी घर फर्किने उज्यालो आशामा अस्पतालको दिन बिताउँदै थिए।
मलाई ज्योतिले सुुुरुमा खूब सोधिन्, ‘अटल, तपाइकी म्याम त कहिल्यै आउनु हुन्न त?’
मलाई भन्न मन लागेको थियो, ‘वेदनामा हैरान भएर धुरुधुरु रुँदा मेरा पनि आँसु पुछिदिने आत्मीय हात छन् । चिप्लोमा लड्दा उठाइदिने मायालु हात छन् । थकित र बिरामी हुँदा सान्त्वना र सहानुभूतिको मीठो वचन बोल्ने प्रेमिल साथ छन् ।’
जब लोडसेडिङ हुन्थ्यो तब म सिरकमा गुटुमुटिएर धुरुधुरु रुन्थेें । सम्झिन्थे, ‘टिनएजमा लाएको माया र गरेको विवाह जस्तै किन कच्चा मेरा वैवाहिक जीवन । किन परिस्थितिले मलाई मात्रै चिमोटिरहन्छ बारम्बार ।’
ज्योति र प्रकाश शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घर फर्किए । त्यसपछिका मलाई के छैन के छैन जस्तो नियाँस्रो लाग्न थााल्यो । आखिर जे भए पनि जीविनमा नभोगी नहुँदो रहेछ । पर्नुअघि जेजे भने पनि, जेजे सोचे पनि भोग्नैपर्ने रहेछ । मलाई लाग्थ्यो, जिन्दगी सबैको यस्तै हुने रहेछ ।’
हप्तौ अस्पताल बसेर घर फर्किएँ म । बाटोमा सोचेको थिएँ, ‘प्रनिशा, म निको भएको छु । तिम्रो चोखो मायामा रम्न आइपुगेकी छु ।’
जिन्दगीमा सोचे जस्तो भए किन विवशताको आँसु बगाउनु परथ्यो र । किन एकान्तलाई आफन्त सम्झेर वेदना सुनाउनुपरथ्यो र । माइत गएकी प्रनिशाले कागजको एउटा चिर्कटो छोडेकी रहिछ । त्यहाँ लेखिएको थियो, ‘अटल, औषधिले नपुंसक बनेको तिम्रो शरीर सम्झिदा पनि मलाई दिक्क लागेर आउँछ । म तिम्रो घरमा बेसाएको अन्नपानी खाएर कति बस्नु । अब मलाई भुलेर पनि नसम्झिनू ।’
– उही तिम्रो हुन नचाहने प्रनिशा ।
यो मन जस्तो त्यो मन नहुने रहेछ । सोचे जस्तो जिन्दगी नहुने रहेछ । ‘सोचेजस्तो हुन्न जीवन । रोजे जस्तो हुन्न जीवन । जस्तो भोग्यो त्यस्तै हुन्छ ।’ साँच्चिकै गीत गाउनेले बुझेरै गीत गाएका हुँदा रहेछन् । गीत लेखेका हुँदा रहेछन् ।
मेरो सपनाको महल गल्र्यामगुर्लुम ढल्यो । म आफै पनि बेहोस भएर ढलेछु । मैले चाहँदाचाहँदै पनि प्रनिशालाई आफ्नो बनाउन सकिनँ । अभावले धेरै रहरहरू मर्दा रहेछन् । बाँच्नका लागि मन दुखाउने विगत भुल्नु नै पर्ने रहेछ ।
मैले पटकपटक मन फकाएर उनलाई लिन गएँ । पाँचपाँच वर्ष पर्खिएँ । उनले न सम्बन्धविच्छेद गरूँ भनिन् न सँगसँगै जीवन चलाउनुपर्छ भनेर घरै फर्किन ।
धेरै समयपछि उनले आफ्नै सोचअनुसार सम्बन्धविच्छेद गरिन् । परिस्थितिको साङ्लोमा बाँधिएर मैले भर्खरै भूकम्पमा परेर श्रीमान गुमाएको प्रज्ज्वलासँगै जीवनकोे नयाँ मूलबाटो खने ।
प्रज्ज्वलाको प्रोत्साहनपूर्ण सहयोगबाट बाँकी पढाइ पूरा गरे। म् शिक्षकबाट सामाजिक परिचालक भएँ । म सामाजिक परिचालक भएर गाउँगाउँ चहार्न थाले ।
साँच्चिकै जिन्दगीको बाटो कति घुम्ती हुँदो रहेछ । म एक दिन त्यही प्रनिशाकै विषयमा वकलात गर्न जानु परयो । प्रनिशाकी नजिकी पर्ने चेलीले मुख फोर्दै थिइन्, ‘घर गरिखान नसकेर त्यसै बसेकी छ । त्यसको के हकअधिकार । रजाइँ गर्न खोज्दिरहिछ । मैले पनि सहन सकिन । मैले यिनलाई यसै गरे उसै गरे । म दोषी हुँ । मलाई कारवाही गर्नुस् ।’
यसो हेरे जीउभरि नीलडाम थियो प्रनिशाको । फिल्मको पात्रजस्तै हतारहतार उनलाई अँगालेर आँसु पुछिदिने मन थियो । पूरै माया खनाएर सान्त्वना दिने मन थियो तर म उपायहीन भइरहे । सम्झे, ‘कहिलेकाहीँ चत्रचित्रको पात्रभन्दा पनि कति निरीह हुुँदो रहेछ जिन्दगी ।’
गाउँलेहरूको सहयोगमा उनलाई अस्पताल पुरयाइयो । हप्ता दिनपछि उनको डिस्चार्ज भयो ।
मैले घर जाने बेला भने , ‘प्रनिशा, मलाई माफ गरिदेऊ । मैले तिमीलाई सधै आफ्नो बनाउन सकिनँ । सायद मेरै कुनै दोष थियो होला। अब अर्को जुनीमा म तिमी भएर जन्मिन पाऊँ । म भगवानसँग यही प्रार्थना गर्छु ।’
प्रनिशाले मन दुखाउँदै भनिन्, ‘अटल, मलाई पो माफ गर न । मैले तिमीलाई धोका दिएकोमा जीवनभर प्रायश्चित गर्ने छु । अर्को जुनी हुँदै हुँदैन । कल्पनाको खीरभन्दा यथार्थको ढिडाले पेट भरिने रहेछ ।’
अचानक फोनको रिङ टोन बज्यो, ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन,
फक्रिने र ओइलिने टुँगो हुँदैन।’
प्रकाशित: ७ श्रावण २०७७ ०१:११ बुधबार