श्रीराम राई
धनेसले आँखा तर्दै भन्यो, ओई किन तैंले सधैं हाम्रो अगाडि तमासा देखाउँछस् ? कहीँ नभएको तेरो मुखौटो व्यापार ! हाम्रै दोकानको छेउमा आएर बेच्नुपर्ने ?
धनेसको आँखा तराइले अचानक ईशानको अनुहार औंसीको रातजस्तै अँध्यारो देखियो । उसले नरम हुँदै बाध्यता बतायो, ‘के गर्नु हजुर, पेट पाल्नु नपरे किन गरिन्थ्यो यस्तो दुख ! यहाँ चोकमा जस्तो राम्रो व्यापार अरू कुन ठाउँमा हुन्छ र हजुर !’
धनेसले बडप्पन देखाउँदै फेरि हप्कायो, ‘जाबो मुखौटो बेचेर कसरी पाल्छस् पेट ? बरु मेरामा भाँडा माझे जित्लास् !’
ईशानले फुरुक्क पर्दै सोध्यो, ‘हुन्छ नि हजुर, मलाई सेवा गर्ने मौका दिनुस् । म जस्तो गरीबको उद्धार हुनेछ हजुर ।’
धनेसले पिच्च भुइँमा थुक्दै भन्यो, ‘म जस्ताकोमा नोकरी पाउनु त नसिब राम्रो लिएर जन्मिनु परयो नि । मेरा पसलको के कुरा गर्नु, स्टाफ मात्रै बाईस जना मैयारानी छन् ।’
ईशानले दुखेसो पोख्यो, ‘नगरपालिकाले विश्वभर कोरोना महामारी फैलिँदै छ । ज्यानभन्दा ठूलो पैसा हैन । भोलिदेखि फुटपाथे व्यापार नगर्नु भनेको छ । कसरी बाँच्नु होला अब ?’
अचानक सरकारले लकडाउनको घोषणा गरयो । लकडाउनसँगै धनेशले पनि पसल बन्द गर्नु परयो । ईशानले झोलामा बोकर पनि मुखौटोको व्यापार गरेर जीवन चलायो । तर धनेसको पसल बन्द भएकाले ऊ आर्थिक संकटमा पर्यो ।
एकदिन धनेशले नरम हुँदै भन्यो, ‘ईशान, सबै पसल बन्द छन् । हातमुखकै समस्या पर्यो अब त । म पनि ओल्टोकोल्टो परेर मुखौटो बेच्छु । भन न कहाँ सिलाउँछ मुखौटो ? कति पर्छ मूल्य ?’
प्रकाशित: ५ श्रावण २०७७ १०:३८ सोमबार