२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दर्शकबिनाका फिल्म हल

दाहिनेतर्फको मूल ढोका खुला छ। भित्तामा परैबाट देखिने गरी तीनवटा पोस्टर टाँसिएका छन्– नेपाली फिल्म ‘आमा’, ‘म यस्तो गीत गाउँछु’ र अंग्रेजी भाषाको फिल्म ‘मुलान’। देब्रेतर्फको पार्किङमा एउटा मात्रै गाडी राखिएको छ।  

यो दृश्य हो, नारायणहिटी पथस्थित जय नेपाल सिनेमा हलको। जहाँ कोरोनाअघि सधैंजसो फिल्म हेर्ने दर्शकको भीड हुने गथ्र्यो। तर, हिजोआज सुनसान छ। सुरक्षाका लागि खटिएका एक–दुई कर्मचारीबाहेक कोही देखिँदैन। यहाँ दर्शकले नटेकेको पनि चार महिनाभन्दा बढी भइसक्यो।  

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा भन्दा बढी असर सिनेमालाई ग¥यो। महामारीको त्रास बढेसँगै हलहरूमा दर्शक घट्न थालेका थिए, पछि देशव्यापी लकडाउन नै भयो। अहिले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर अन्य व्यापार व्यवसायलाई सञ्चालनको अनुमति दिए पनि सिनेमा हललाई दिएको छैन। लकडाउन हुुनुअघि नै बन्द भएका सिनेमा हल अझै खुल्न नसक्दा आर्थिक संकट निम्तिएको हल सञ्चालक बताउँछन्। जय नेपाल सिनेमा हलका अफिसियल म्यानेजर सुशील मानन्धर भन्छन्, ‘लकडाउनका कारण आर्थिक अवस्था डामाडोल भएको छ, थुप्रै कर्मचारीको रोजीरोटी गुमेको छ।’  

अन्य व्यापार व्यवसायमा जस्तै सिनेमा हल सञ्चालनमा पनि सरकारको निर्णय र नीति आवश्यक भएको उनको भनाइ छ।  

अहिले सिनेमा हल सञ्चालकहरू सरकारको निर्णयको प्रतीक्षामा छन्। मानन्धर भन्छन्, ‘हामीले सामाजिक दूरी कायम गरेर, थोरै सिटको प्रयोगमा हल चलाउन पाऊँ भनेर ज्ञापनपत्र बुझाएका छौं। सरकारले त्यसलाई कसरी बुझ्छ, हामी त्यसकै पर्खाइमा छौं।’

चावहिलस्थित गोपीकृष्ण हलका प्रबन्धक तथा निर्माता प्रदीप दाहाल तत्काल सिनेमा हल खोलेर चलाउन नसकिने बताउँछन्। सिनेमा हल खोले पनि सरकारले दिएको नीति–नियम अनुसार खोल्नुपर्ने उनको धारणा छ। उनका अनुसार, फिल्म बनाउन लाखौं, करोडौंको लगानी हुन्छ, अहिले फिल्म प्रदर्शन गर्दा लगानी समेत उठाउन नसकिने अवस्था छ। दाहाल भन्छन्, ‘यो संकटका बेला हल सञ्चालन गरे पनि कोरोना भाइरसको डरले दर्शक आउँदैनन्। अर्को कुरा यस अवस्थामा नयाँ चलचित्र चल्दै चल्दैन, हामीले लगानी समेत उठाउन सक्दैनौं।’  

‘महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। यतिखेर सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न सामूहिक रूपमा सरकारलाई मागपत्र बुझाएका हौं।’

नेपालले मात्र नभएर अहिले बलिउडले पनि फिल्म चलाउन पहल नगरेकाले नेपाली फिल्मकर्मी अन्योलमा परेको दाहालको भनाइ छ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान चलचित्र क्षेत्र अन्य क्षेत्रको तुलनामा संवेदनशील भएकाले तत्काल सञ्चालनमा ल्याउन असहज हुने बताउँछन्। उनका अनुसार, महामारीमा भीड गर्न नहुने र समूहमा दर्शकलाई देखाएर चलाउनुपर्ने भएकाले सिनेमा हलहरूलाई अति प्रभावित क्षेत्रमा राखिनुपर्छ। उनी भन्छन्, ‘महामारीका बेला सामाजिक दूरी कायम गरेर फिल्म देखाउँदा कतिको प्रभावकारी हुन्छ भन्ने बुझ्न सामूहिक रूपमा सरकारलाई मागपत्र बुझाएका हौं।’  

यस वर्षलाई कोरोना वर्ष घोषणा गरेर सिनेमा हलमा कुनै पनि कर नलगाउने र बिजुलीमा पनि ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ।  

लकडाउन अघिदेखि मारमा परेको चलचित्र क्षेत्रलाई सरकारले ‘आर्थिक ऐन’मा नसमेटेको सम्बन्धमा बहस हुनुपर्ने पनि संघका अध्यक्ष प्रधान बताउँछन्।  

उनका अनुसार, हलका कर्मचारीलाई जेठ र असारको पारिश्रमिकमध्ये ५० प्रतिशत मात्रै दिइएको छ। ‘फिल्म व्यवसाय चल्न फिल्म निर्माण, वितरण र प्रदर्शन गरी तीन चरण अनिवार्य हुन्छ। त्यसैले महामारीका बीच फिल्म चलाउन गाह्रै पर्छ,’ प्रधान भन्छन्, ‘सरकारले यातायात व्यवसायीलाई सञ्चालनको अनुमति दिए पनि चल्न सकेको छैन। हल त तीन घन्टा बिताउनुपर्ने ठाउँ हो, यातायातभन्दा पनि बढी संवेदनशील छ।’

पुष्पाञ्जली चलचित्र मन्दिरका सञ्चालक गोपालकाजी कायस्थ पनि चलचित्र क्षेत्र अहिले ठूलो संकटमा परेको बताउँछन्। ‘हल नचले पनि हलले महिना दिनमा भाडा र बैंकको किस्ता तिर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले सरकारले हामीलाई विशेष नीति ल्याएर हेर्नुपर्छ।’  

कायस्थका अनुसार, निर्माता र हलवालाले टिकट बिक्रीबाट उठेको रकम आधा–आधा गर्ने गरी सम्झौता भएर फिल्म चल्ने गर्छन्। अहिले ‘हिजोआजका कुरा’, ‘लक्का जवान’, ‘प्रेम गीत २’, ‘लप्पन छप्पन २’, ‘चपली हाइट २’, ‘म यस्तो गीत गाउँछु २’ लगायत नेपाली चलचित्र क्युमा छन्।  

सरकारले नियम र समय तोकेर आफूहरुलाई हल खोल्ने अनुमति दिनुपर्ने कायस्थको भनाइ छ।  

वन सिनेमा हलका प्रबन्धक उमेश गिरी पनि ‘सरकारको निर्देशनअनुसार सुरक्षाका उपाय अपनाएर सिनेमा हल सञ्चालनमा ल्याउन सकिने र कम्तीमा  हलका कर्मचारीलाई तलब दिने गरी भए पनि हल खोल्न पाए राहत हुने’ बताउँछन्।

प्रकाशित: ३ श्रावण २०७७ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App