२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

असारे भाकामा सामाजिक सद्भाव

ज्ञानेन्द्र विवश

ज्ञानेन्द्र विवश

बर्खैमा लाग्यो खोला र खोली बगेछ लेउझार

पुरबै ढोका खोलेर हेर्दा लागेछ असार ।

खेतीकिसानीको नेपाली जीवनशैलीमा असार महिनाको विशेष महत्व हुने गर्दछ । असार लागेपछि नै किसानहरूलाई असारको पन्ध्र हुन्छ । अर्थात् कामको चापले एकछिन पनि फुर्सद मिल्दैन । यही महिनामा वर्षभरिका लगि छाक जुटाउने मेलोमेसोको सुरु हुन्छ । धान रोपाईको व्यस्ततामा ‘मानु खाई मुरी उब्जाउने’ सुक्तिको चरितार्थ हुने गर्छ । त्यसै जीवन रक्षाका निम्ति नयाँ अन्नबालीको खेती गरिने यो बेलामा सामाजिक जीवनकै झाँकी प्रदर्शित हुन्छ । असारे भाकामा रोपाई जात्राको सुरुवात हुन्छ । हाम्रो लोकलयको अर्को अलग्ग मौलिक आत्माका रूपमा असारे लोकगीतको परम्परा रहँदै आएको छ । यसकारण पनि असार महिनालाई अन्नबालीको सह राख्ने सहकालको महिनाका रूपमा लिइन्छ ।

प्रकृति पर्यावरण पनि असारे फूलले गाउँघरै ढाक्छ । झरीवर्षा र हिलोमाटोको महत्वले पनि यही बेला मान्यता पाउँछ । किनभने असारमा रुझ्नु, भिज्नुको पनि बेग्लै मजा हुन्छ । हिलोमा हिलाम्मे हुँदा पनि आनन्द लाग्छ । भनौं भने प्रकृतिसँग वास्तविक साक्षात्कार यसै समयमा हुन्छ । उज्यालो भुइँमा नखस्दै खेतबारीमै मन प्राण पुग्छन् । अनि आधारातसम्म पनि विराट प्रकृतिकै आँगनमा किसानहरू छुनुमुनु गर्दै भरिलो मंसिर भित्राउने मीठो सपनामा संलग्न रहन्छन् । 

किसान परिवारमा यसबेला एक किसिमको उमङ्ग फैलिन्छ । गाउँघरको रौनकता नै रोमाञ्चक बन्न पुग्छ । खेतीपातीको चटारोसँगै असारे गीतको झटारोले वातावरणलाई संगीतमय पार्दछ । काम तमामको मेलामै स्वस्थ मनोरञ्जनको नयाँ अध्याय थपिन्छ । वास्तवमा यस्ता गीतहरूले जीवन भोगाइका कटुयथार्थतालाई राम्ररी प्रतिविम्बित गरेका हुन्छन् । सन्ताप र सुस्केरा मात्र होइन तिनमा मिलन, विछोड र प्रेमका प्रशस्त स्पन्दन समेटिएको हुन्छ । रोपाईँका बेला गाइने भएकाले यस्ता गीतहरू महत्वपूर्ण कर्मगीत वा श्रमगीतका रूपमा प्रसिद्ध छ ।

बहुसंख्यक नेपाली कृषि पेशामै आश्रित छन् । विज्ञान र प्रविधिको आशातीत सफलता प्राप्त भइरहेका बेला नेपाली कृषक भने परम्परागत खेती प्रणालीमा बाँधिएका छन् । श्रमगीत गाउँदै कर्मको पूजा गर्न कुनै साल खडेरी प्रकोप हुन्छ । कुनै वर्ष वर्षाबाढीले गर्नुनगर्नु गर्छ । कहिले हलगोरुको संकट पर्छ । कहिले बाउसे, रोपाहारको कमीले काम खाँचै पर्छ । यस्तै गाह्रो–खाँचोमा छरछिमेकीबीच पालो, पैंचो वा पर्मले ठूलो महत्व राख्दछ । त्यसैले यो मौसममा बाली लगाउने कामको चटारोबाट कोही पनि टाढिन पाउँदैनन् । बरु सकेको सहयोग सबैले सराबरी पुरयाउँछन् । गाउँघरमा पुनः अर्को पटक सामाजिक सद्भाव सार्वजनिक हुन्छ । सहयोगी हार्दिकताको साटफेर हुन्छ । यसबेला दुःख बिर्सेर असारे हिलोमा धान रोप्नु वा असारे भाका हाल्नुको मजा तिनै रोपाई उत्सवका रउसेलाई मात्र थाहा हुन्छ ।

त्यसो त असारको महत्व यत्तिकैमा बिराम हुन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै ‘असारको पन्ध्र’ निबन्धमार्फत् यसको महत्वलाई झनै बढाएका छन् । कृषिप्रधान देशमा रोपाईँको महत्वले एउटा खुसीयाली थपेको प्रकृतिमा सौन्दर्यको वैचित्र्य थपिएको बताउँदै महाकविको भावुक भावना यसरी बगेको छ– सन्तान उपरको करुणाले पृथ्वीले आज कलिलोपन लिएकी छन् । हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन गलामा उर्लदो दिलको मधुर गान । आज हामीहरू दबदबे कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।

महाकविको कवि हृदय यत्तिकैमा टुगिँदैन । महाकविले असारको महिमा त्यत्तिकै गाएका होइनन् । असारको बेला हिलो छ्याप्नु पनि प्रेम र आनन्दको प्रतीक ठान्छन् । त्यसैले देवकोटा असारे रोपाईमा शब्दको चातुरी र भाको माधुरी देख्छन् । हिलोका छिर्का र तिनले बनाएका बुट्टाहरू ग्रामीण युवतीको वस्त्र र वदन दुवैको सुन्दर श्रृंगार हुन् भन्ने मान्यता छ महाकविको । उनी प्रेम र खुसीयालीको हिलो, द्वेष र  ईरष्याको दागजस्तो देखिँदैन भन्छन् । कानमा सिउरिएको असारे फूल र धानका हरिया बीउहरू अनि हरिया झरी,  मकैका  कलिला  धानचमरा  र धमिला हिलोपानीको साम्राज्यमा जीवनको एकदमै सङ्लो र मनोहर दृश्य देख्ने महाकविले यही असारे मासको कामको मरिमेटाइले नै खास जीवनको स्वाद पाइने बताएका छन् ।

साँच्चै हिलोसँग जिस्किन पाएपछि र मायाप्रेमका भाकामा गीतिलय गुञ्जिन पुगेपछि झ्याँउकिरीले रात निम्त्याएको ख्याल हुँदैन । घाम अस्ताएर अँध्यारो भएको अथवा जुनेली रात भित्रिएको पनि मतलब हुँदैन । हिलोमा हिलाम्मे भई जीउज्यानको बेहाल हुँदा पनि खुशीले रोपाईमा रमाउनुको आनन्द जीवनभरिकै एक प्रियतम क्षण हुन्छ । अतः असारे रोपाई र असारको महिमा हाम्रो समाजमा परम्पराकै रूपमा हुर्किएर आएको एक सामाजिक सद्भावकै प्रतीक पनि बनेर रहेको छ ।

असारको पन्द्र दहीचिउरा खाने, साउनको पन्ध्र खीर

यो मेरो देश त्यसै बिग्रिसक्यो, लाग्छ मलाई पीर ।

गर्मी र वर्षाद्को याममा शारीरिक थकाइमा शीतलता प्रदान गर्दै शक्तिसञ्चार गराउन हाम्रो समाजमा दहीचिउरा खाने संस्कृतिको विकास भएको हो । विज्ञानले पनि यसलाई        स्वास्थ्यवद्र्धक मानेको छ । यसलाई प्रकृति र विज्ञानको उत्कृष्ट मेल भएको सन्दर्भमा समेत लिइने गरिन्छ । सबै जाति र भाषाभाषीहरू तथा फरक धर्म र सम्प्रदायका मानिसहरूमा पनि असारको बराबरी स्थान बनाएको पाउन सकिन्छ । नेवारी, किरात, मैथिली, भोजपुरी, थारू, तामाङ, धिमाल आदि अनेक जातिका समुदायमा असारे यामको चाम, लोकभाकाका पक्षहरू उत्तिकै जीवन्त र त्यत्तिकै मार्मिक हुने गर्दछन् । 

जोश र जाँगर सँगालेर काममा जुट्ने कृषकहरू धान रोपाईलाई पर्वकै हाराहारीमा राखेर मनाउने गर्दछन् । कतिपय धान रोपाईमा स्थानीय लोकबाजा, लोकनृत्य र लोकगायनका अनेक मनोरञ्जन प्रस्तुत हुन्छन् । कतिपय धनीमानी मानिसले पञ्चैबाजाका साथ बेठी लगाएर रोपाई जात्राकै रौनक देखाउँछन् । जहाँ असारे भाकासँगै रोपाहारबीचको लोकदोहोरी नै चल्दछ । दबदबे हिलोमा छुपुछुपु धानका गाभा गाड्नु मात्र होइन हिलो छ्यापाछ्यापको रमाइलो पनि हाँसीखुशीपूर्वक हुन्छ । असारे गीतको सुरुवात मूलतः धरती पूजाको रूपमा हुने भएकोले अन्न दिने आमा धरतीलाई श्रद्धाले गीतिभाका सुसेलेर गाउँदै रोपाई सुरु गरिन्छ ।

मधेसै ज्यानको अर्नै भैंसी सिंह है घुमेको

अक्षता चढाउँ, पाती है चढाउँ, सिमे र भुमेको

गोठालो ज्यानले घाँसैर काट्यो खोलाको केउराली

अक्षता चढाउँ, पाती है चढाउँ, देवी र देउराली ।

असारे गीत बर्खे झरीमा होस् वा हिलोमाथि खेलेर होस्, हलीबाउसे, रोपाहार जोसुकैले सुरिलो भाकामा गाउने हुँदा गीतसंगीतका सुरमा माटोसँग खेल्नु अनुभूति अविष्मरणीय नै हुन्छ । प्रकृतिमा भिजेको कण्ठबाट लोकलयका जीवनवादी स्वर गीतमा गुञ्जिन्छ । त्यही लोकलहरीको लहरमा रोपाईको मेलो पनि सर्दछ । कामको चटारो पनि क्रमशः घट्दै जान्छ । त्यसैले उनीहरू श्रममा जीवनको गीत गाउँछन् । पसीनामा प्राणको आहुति दिएर पनि जीवनको त्राण भर्छन् । यसबेला हलो, कोदाली, दाँदे, फ्याउरी र धानको बीउमा जीवन बोल्छ । पानीमय जमीनको खेतभरि भरिपूर्ण अन्न उत्पादनको प्रार्थना र प्रकम्पना अभिव्यक्त भइरहेको हुन्छ । त्यही अन्नभण्डारकै उन्नत उत्पादनले जीवनको सुन्दरता मुखरित हुन पुग्छ र सुख, शान्ति र समृद्धिका सिलसिलाहरू गाँसिन आउँछन्। अन्यथा कहाँ सुख मिल्न सक्छ ? कहाँ शान्ति भेटिन्छ ? अभाव र अनिकालको अवस्थामा जीवनले प्रगतिको फड्को मार्नै सक्दैन । अन्नपानीविना जीवनले पाइला सार्नै सक्दैन । त्यसैले यही असारमै छ जीवनको सुन्दर भविष्य । असारसँगकै साक्षात्कारमा भेटिन्छ प्रकृति निकट अनुभूतिका अनेक संलापहरू ।

असारमासको हरियाली, हिलोमाटो र पानीको पाटोमा एकजुवा घामको पनि महत्व हुन्छ । एकथोपा पानीले पनि ठूलै तृष्णा मेट्दछ । त्यसैले हरियाली र वर्षाको बैंसालु यस महिनामा सनातनकालदेखि असारे भाकासँग रोपाई जात्राको सामाजिक एवं सांस्कृतिक सद्भाव स्थापित हुँदै आएको छ । 

समय क्रमसँगै आज खेतीप्रणालीमा जाँगर कमी हुँदै आएको छ । समयमा पानी नपर्नु, मलबीउको अभाव खड्किनु र खेतालाको कमी हुनुले पनि धान रोपाईलाई आघात पुरयाएको छ । आज त धानका सुनौला बाला झुल्ने खेतमा घरका भव्य भवन ठडिएका छन् ।  खुला  ठाउँ हराउँदै जाँदा, पानी बग्ने खोला मासिँदै जाँदा असारे दबदबे हिलोको अस्तित्वले पनि विराम लिँदै गरेको नमीठो अनुभूति हुन्छ ।

त्यसैले त धमिलो पानीमा धानबालीको रोपो गाड्ने क्रमले विदा लिँदैछ । मानो रोपेर मुरी फलाउने धोको र ध्याउन्नले नेटो काटिसकेको छ । कृषिप्रधान देशका कृषकहरू अन्ततः आफैं हली, बाउसे, रोपाहार बन्न र रउसे गर्न लाज मान्छन् । यस भएकैले आज सामाजिक सद्भावमा ठेस लागेको छ । लोकभाका र लोकलय विरानो बनेको छ । सिर्जनाका पुजारीहरूले श्रमको पूजा नगरेपछि कर्मको गीत नगाएपछि रोपाई हुँदैन । असार आउँदैन । असार नआएपछि भकारी भरिँदैन । रित्तो भकारीले वर्ष दिनसम्म खाना खुवाउन सक्दैन । अन्ततः रोपाईको न मैजारो नै हुन्छ न मंसिर  भित्र्याउने  मीठो सपना नै देख्न सकिन्छ ।

प्रकाशित: २७ असार २०७७ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App