२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

यस्तो छ तीन प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रगति

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा गरिएको लकडाउनको समयमा पनि प्रज्ञा प्रतिष्ठानले पुस्तक सम्पादन, प्रकाशन र बृह्त शब्दकोषको कामलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका अनुसार लकडाउनका समय प्रतिष्ठानबाट १० वटा पुस्तक प्रकाशित भएका छन् । त्यस्तै ५३ वटा विषय समेटिएको ‘नेपाली दर्शन’ को प्रारम्भ भएको छ ।  

‘प्रतिष्ठानबाट आयोजना हुने गोष्ठी, समारोह, महोत्सव लगायतका सामुहिक कार्यक्रम गर्न नपाएपनि हामीले गर्न सक्ने कामलाई निरन्तरता दिएका छौं,’ सदस्य सचिव उपाध्यायले भने, ‘लकडाउनका समय हामीले नेपाली बृह्त शब्दकोशको नेपाली एप बनाएका छौं, साथै नेपाली बृह्त शब्दकोशको अध्यावधिक र आवश्यक परिमार्जन गरेका छौं ।’ साथै नेपाल दर्पण, साहित्यकार परिचयकोश, लोक साहित्य सिद्धान्त, देवकोटाको संग्रहालयको प्रारुप र प्रतिष्ठानबाट गरिने अध्ययन अनुसन्धानको काम जारी रहेको उनले जानकारी दिए ।  

आर्थिक वर्ष २०७६/७७ अन्तर्गत प्रतिष्ठानको वार्षिक प्रगति हेर्दा साहित्यसम्बन्धी थुप्रै कार्यक्रम सम्पन्न भएका छन् । सदस्य सचिव उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन, प्राज्ञ सभाको ३४ औं बैठक, प्रगतिशील लेखन र सांस्कृतिक रुपान्तरण गोष्ठी, नेपाली भाषाका महाकविको १५२ औं जन्म जयन्ती, बालसाहित्यको भाषा, विषय र बिम्ब छनोट गोष्ठी, नेपालका संविधानका विशेषताहरुमा विमर्श अनुसन्धान गोष्ठी सम्पन्न भएका छन् । त्यस्तै पृथ्वी जयन्ती, मातृभाषा राष्ट्रिय कविता महोत्सव, मातृभाषा साहित्यबारे विमर्श, नेपाली बृह्त शब्दकोशको एप निर्माण, नेपाल दर्पण महाग्रन्थको लेखन आरम्भ र राष्ट्रिय गजल महोत्सवको आयोजना भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यका अनुसार प्रतिष्ठानले लकडाउन हुनुभन्दा अघि नै यस आर्थिक वर्षका महत्वपूर्ण काम सम्पन्न गरेको छ । वैशाख महिनामा हुने राष्ट्रिय कला प्रदर्शनी स्थगित भए पनि पुरस्कार वितरणको काम सकिसकेको र प्रदर्शनीलाई भर्चुअल माध्यमार्फत प्रदर्शन गर्ने तयारीमा लागेको कुलपति कर्माचार्यको भनाई छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिष्ठानको कुल बजेटका रुपमा ६ करोड आएको र त्यसमध्ये ८५ प्रतिशत बजेट सदुपयोग भैसकेको उनले जानकारी गराए । ‘ललितकलाबाट आयोजना गरिने सम्पूर्ण कार्यक्रम र कर्मचारीको तलबका रुपमा ६ करोड बजेट आएको थियो, ’ कर्माचार्यले भने, ‘त्यसमध्ये ८५ प्रतिशत हामीले सदुपयोग गरिसकेका छौं, बाँकी बजेट अबको प्रन्ध दिनमा अन्य कार्यक्रम राखेर सदुपयोग गर्ने जमर्कोमा जुटेका छौं ।’ उनले राष्ट्रिय कला प्रदर्शनी देशव्यापी कार्यक्रम भएकाले अन्य कार्यक्रमको तुलनामा उक्त कार्यक्रम बढी खर्चिलो भएको बताए ।  

उनका अनुसार ललितकला प्रज्ञा प्रतिष्ठानले यस आर्थिक वर्षमा किर्तिपुरमा मूर्तिकला कार्यशाला, प्रदेशमा चित्रकला प्रदर्शनी, कलाका विषयमा अध्ययन अनुसन्धान,परम्परागत कला विषयमा गोष्ठी, लोक कला, हस्तकला र आधुनिक कला विषयमा गोष्ठी, काष्ठ मूर्तिकला कार्यशाला, पोष्टर प्रतियोगिता, परम्परागत मूर्ति कार्यशाला, थ्रीडी मोडलिङ कार्यशाला र पाटनमा हस्तकला प्रदर्शनीको आयोजना गरेको छ ।  

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भने बन्दाबन्दीका समयमा कुनै पनि कामलाई निरन्तरता दिन सकेन । प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले लकडाउनमा आम समूहमा जान नसकेकाले संस्थागत ढंगबाट एउटा पनि काम गर्न नसकेको बताए । प्रतिष्ठानको निर्धारित कार्यक्रम बाहिर जान नसक्ने भएकाले लकडाउनका समय भर्चुअल गोष्ठी समारोहका कार्यक्रमका लागि बाहिर बाट आएका प्रस्ताव स्वीकार्न नसकेको उनले जानकारी दिए ।  

प्रतिष्ठानको वार्षिक प्रगति हेर्दा प्रदर्शनी, खोज अनुसन्धान, गीत संगीत तथा नृत्यका कार्यक्रम आयोजना गरेको छ । सदस्य सचिव तमोटका अनुसार प्रतिष्ठानले वर्षभरीमा सारङ्गीको प्रदर्शनी, गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्लाका नेपाली बाजाको सांस्कृतिक प्रदर्शनी, नाटकका लागि प्राविधिक तालिम, तराईमा बसोवास गर्ने थारु जातिका सांस्कृतिक अनुसन्धानको काम आयोजना भएका छन् । मुखुण्डो महोत्सव आयोजनाको तयारीमा रहेका बेला लकडाउन भएर महोत्सव स्थगित गरिएको तमोटको भनाई छ ।

प्रकाशित: १३ असार २०७७ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App