१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्छ’

नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१ औँ शृंखलामा मूर्तिकार ठाकुरप्रसाद मैनालीसँग भर्चुअल संवाद  गरिएको छ । नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका मैनालीले नेपाली कलाको विकासका लागि राज्यले योगदान दिनुपर्ने बताए ।

भर्चुअल संवादमा मैनालीले विश्वविद्यालय, प्रतिष्ठान, केन्द्र सरकार, प्रादेशिक सरकारले कलाका क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकास गर्नुपर्ने बताए । समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो कार्यक्रममा उनले ललितकला क्षेत्रको संस्थागत विकास गर्दै समृद्ध समाज निर्माणमा कलाकारलाई सहभागी गराउनु पर्नेमा जोड दिदैँ उनले भने, ‘समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्छ । साथै यसको क्षेत्र फराकिलो पार्दै स्थानीय सरकारसम्म विस्तार गरिनु आवश्यक छ ।’  

उनी विगत ६ दशकदेखि आधुनिक मूर्तिकलाका क्षेत्रमा सक्रिय मूर्तिकारका रूपमा परिचित छन् । उनले काठमाडौंको रामशाहपथस्थित कृषि विकास बैकको केन्द्रीय कार्यालय परिसर र त्यस भवनको भित्तामा कृषि विषयका विभिन्न मूर्ति स्थापित गरेका छन् । त्यस्तै, भृकुटीमण्डपमा रहेको ‘निर्माण’ शीर्षकको ३५ फिट अग्लो मूर्ति लगायत दर्जनौँ मूर्ति देशका विभिन्न स्थानमा उनले बनाएका मूर्ति प्रतिस्थापित छन् । वातावरणीय प्रभाव अनुकूल हुने गरी मैनालीले बनाएका मूर्तिको नेपाल तथा विदेशमा निकै चर्चित छन् । उनले बनाएका मूर्ति नेपालका साथै बेलायत, अमेरिका, भारत, जर्मनी, क्यानडा, चीन,  रूस, जापान, बंगलादेश, युरोप लगायतका देशमा पुगिसकेको छन् ।

पछिल्लो समय नेपाली कलाको विकासमा केही आशाजनक काम भएको उनले अनुमान गरेका छन् । कलाको संस्थागत विकासका लागि राज्यले लगानीसँगै कलामैत्री वातावरण बनाउनु पर्ने उनको धारणा छ । उनले नेपाली कलालाई देशव्यापी बनाउन खोज अनुसन्धानको कामलाई अगाडि बढाउनुपर्ने बताए ।  

ठाकुरप्रसाद मैनाली

उनले विगतमा राज्य तहबाट कलाको महत्वलाई ध्यान दिन नसक्दा संस्थागत विकास हुन लामो समय लागेको जानकारी दिए । नेपालमा २०२० सालको दशकअघि कलाक्षेत्रको संस्थागत अवस्था निकै  कमजोर रहेको बताए । साथै नेपाली कलालाई संस्थागत विकास गर्नुपर्छ भनेर २०२० सालदेखि नै लागेको सम्झँदै भने, ‘तत्कालीन युवराज वीरेन्द्र अध्यक्ष रहने गरी २०२२ सालमा नेपाल ललितकला संस्था (नाफा) स्थापना गरिएको थियो ।’

तत्कालीन अवस्थामा नाफालाई प्रतिष्ठानकै रुपमा विकास  गर्न खोजिएको बताउँदै उनले कलाको विकासका लागि स्थापना भएको संस्थालाई अनेक जालझेल गरी तत्कालीन प्रज्ञा प्रतिष्ठानमा गाँभेपछि यो क्षेत्र निकै पछि परेको बताए । २०३४ साल जेठ २४ गते नेपाल ललितकला संस्था (नाफा) लाई रोयल नेपाल एकेडेमीमा गाँभिएको थियो ।

नेपाली कलाको संस्थागत विकास, आधुनिक मूर्तिकला तथा वातावरणीय/स्मारकीय कलाको विकासमा मैनालीले महत्वपूर्ण योगदान दिएका छन् । नेपालमा मूर्तिकलालाई सरकारी भवनमा राख्न अभिप्रेरित गर्ने व्यक्तित्वको रूपमा समेत उनलाई चिनिन्छ । स्मारकीय (मोनुमेन्टल)÷वातावरणीय कला तथा पार्कमा मूर्तिकला निर्माण गर्ने श्रेय पनि मैनालीलाई नै जान्छ ।

उनको विगतको पाटो पल्ट्याउँदा सानैदेखि साहित्यमा रुचि राख्ने भएकाले उनले २००८÷०९ सालमा सिफलमा हस्तलिखित पत्रिका निकालेका थिए । शुरुवाती चरणमा साहित्य लेखन, सामाजिक सेवा तथा राजनीतिमा सक्रिय रहेका मैनाली भारतको बरोदामा काष्ठकला विषयको छात्रवृत्ति पाएपछि मात्रै कलाक्षेत्रमा प्रवेश गरेका थिए । कलामा रुचि भए पनि कलाकार नै बन्छु भन्ने कुनै सोच नभएको बताउँदै उनले भने, ‘मैले निकै मिहिनेत गरेर अध्ययन गरे । मेरो प्रोफेसरले जति काम गरे पनि चित्त नबुझाएपछि मैले मिहिनेत गर्नुको विकल्प थिएन ।’

प्रकाशित: २ असार २०७७ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App