१९ असार २०८१ बुधबार
image/svg+xml
कला

भेरी नदी र प्रेम !

कविता

बि. एन ढकाल 

ओ ठकुरी दाइ ! 

प्रेम गरेर तिम्री बहिनीलाई 

कस्तो गर्नै नहुने अपराध पो गरेँछु !

 आऊ, बाँध मेरा पनि हातखुट्टा 

र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध ! 

बग्दै-बग्दै जानुछ मलाई दुरसम्म 

कहिलै नभेटिने गरि तिम्री बहिनीसँग ! 

तिमीले 'हैन' भन्न लगाउँदा मैले 'हो' भनें होला ! 

तिमीले 'छैन' भन्न लगाउँदा मैले 'छ' भनें होला ! 

तिमीले 'जात मिल्दैन' भन्दा- 

बाठो भएर मैले 'मन मिल्छ' भनेँ होला ! 

ओ ठकुरी दाइ ! 

अपराधीलाई जस्तो उभ्याएर कठघरामा 

जति लिनुछ लेऊ बयान !

 म कलियुगको सत्य हरिश्चन्द्र कसरी ढाँटू तिमीलाई ! 

मैले प्रेम गरेको साँचो हो तिम्री बहिनीलाई ! 

भन, 

भेरीमा चडाएर केही थान प्रेमका कोपिला 

उकालो चढ्दै गरेको त्यो छाँया कसको हो ?

 प्रेमको छातिमा रोपेर जातका तीरहरु 

कसले बनायो प्रेमको शहीद -नवराजहरुलाई ?

 र दियो अजात प्रेमको संज्ञा ? 

ओ ठकुरी दाइ ! 

कसम खाएर ज्यान दिने तिम्री बहिनीलाई

कस्तो गर्नै नहुने अपराध पो गरेंछु ! 

आऊ, कस मेरो पनि मुखमा पट्टि 

र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध !

बग्दै-बग्दै जानुछ मलाई दुरसम्म 

कहिलै नबोल्ने गरि तिम्री बहिनीसँग ! 

एउटै योनिब्रमाण्डबाट जन्मिएको यो एउटै पृथ्वी ! 

एउटै पृथ्वीबाट जन्मिएका हामी एउटै मान्छे ! 

एकाएक कसरी भयौं फरक ? 

एउटै वायुमण्डलको हो -हामीले फेर्ने श्वास पनि ! 

एउटै घामको हो -हामीले ताप्ने प्रकाश पनि ! 

तर दिनप्रतिदिन कसले कोर्दैछ- 

पृथ्वीयोनिमा सहस्र विभेदका रेखाहरु ? 

पृथ्वीको पाठेघरभित्रै कसले लगाउँदैछ- 

अग्ला-अग्ला जातीय पर्खाल ? 

ओ ठकुरी दाइ ! 

हामी त एउटै बगैँचाका फूल पो त ! 

हामी त थरी-थरी फूलका रङ्गीन माला पो त ! 

तर तिमी भड्काएर फूलहरुबीचको युद्ध- 

किन मच्चाउन खोज्छौ एउटा अर्को नरसंहार ? 

अब मलाई च्यात्नुछ- 

आरक्षणको नाममा विभेदको खोल ओडाउने 

-संविधानका ती केही अछुत पानाहरु ! 

अब मलाई डढाउनुछ- 

वर्षौँदेखि शीर ठाडो पारेर हिन्न नदिने 

-मनुस्मृतिका ती केही अछुत व्यवस्थाहरु ! 

र, गर्नुछ तिम्री बहिनीलाई निर्धक्क प्रेम ! 

ओ ठकुरी दाइ ! 

प्रेम गरेर तिम्री बहिनीलाई 

कस्तो गर्नै नहुने अपराध पो गरेंछु ! 

आऊ, बाँध मेरा पनि हातखुट्टा 

र, जोडिदेऊ भेरीको भेलसँग सुमधुर सम्बन्ध 

बग्दै-बग्दै जानुछ मलाई दुरसम्म 

कहिलै नभेटिने गरि तिम्री बहिनीसँग !

प्रकाशित: २८ जेष्ठ २०७७ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App