जीवन आरोही
आज
उसैगरी उभौली उडिरहेछ
कर्याङकुरुङको हुल
उत्तरतिर ।
छानामाथि नीलो आकाश बिछ्याएर
लस्कर बसेको छ
बादलको जन्ती
र, गइरहेछन् सुस्तरी जीवनगीत सुसेल्दै
खोलाको अविरल यात्रा ।
ए नाना,
म उसैगरी बाँचेको छु आज पनि
जसरी तिम्रो यात्रा अघिल्तिर
बाँचेको छ ‘वनतरुल’ र ‘लिम्चुङ्बुङ’को बोट ।
उसैगरी हिँडिरहेको छु म
जसरी उँभो हिँडिरहेछन् समुद्रको बुँद बोकेर
यो पुराताŒिवक हावा ।
हो म बाँचेकै छु अझै
जसरी यो सृष्टिमा अटूट बाँचेको छ
हाम्रो आस्था र विश्वास ।
ए खोला,
ए पाखा,
ए देउराली... !
त्यता कतै
खाडीको गुन्यू, खाडीको चोली
र, खाडीकै पटुकी बाँधेर ‘तान’ बुन्दै गरेकी
प्राचीन चेलीहरू देख्यौ भने भनिदिनू
उसैगरी बाँचेको छ
वर्षौंपहिले तिमीले छाडेको घर
अगेनामा बल्दै गरेको भर्भराउँदो आगो,
आपा–आमाले पुज्दै गरेको तीनचुलो
भनिदिनू, अगेनामा उसैगरी पाक्छन्
तरुल र सिस्नुका पातहरू
यो पनि भनिदिनु कि
वर्षौंअघि छाडेर गएको घरको घुरीबाट
उसैगरी निस्कन्छ आगोको धँुवा ।
ए नाना,
तिमीले छाडेर गएको
यो घरमा उस्तै छ ममताको काख,
उसैगरी पुराना यादहरू बोकेर चल्छ बतास,
उसैगरी सबेरै आइपुग्छ आँगनीमा घाम,
साँझमा जुनताराहरू उदाउँछन् उसरी नै ।
वर्षात् बोकेर आइपुग्छ
छानामाथि बादल
र, छाडेर जान्छ
केही थोपा आँसु आपा–आमाको
तप्प–तप्प ।
थाहा छैन
कन्दरामा नदी पछ्याउँदै बेसी झर्यौ कि
बादलको पछि लागेर लेक चढ्यौ ?
त्यता कतै बिसौनीमा
भाले बासेको सुन्यौ भने
त्यो मेरो खबर हो भनेर सम्झनू ।
वा कतै अनकन्टार जंगलमा
बिनायोको धुन बजेको सुन्यौ भने
यही सम्झनु कि–
वर्षौंअघि छाडी जाने नानाहरूलाई
खोजिरहेको त्यो धुनको आवाज
मेरै हुनेछ ।
(नोट : किराती मिथक अनुसार धेरैपहिले एउटा घरमा भाइ हेत्छाकुप्पा र दुई दिदी तयामा, खियामाहरू थिए । खानेकुराको अभावमा भोकले भाइ सुतेपछि उठेनन् । भाइ मरेको ठानी दिदीहरूले भाइलाई छाडेर जान्छन् र अन्ततः बिहान अबेर भाइ ब्युँझन्छन् तब भाइ खोक्चिलिपा एक्लै हुन्छन् र पछि दुई दिदीहरूलाई खोज्न भालेलाई अह्राई पठाउँछन्, त्यसरी पनि नभेटेपछि भाइले बिनायोको धुन बजाउँदै वनपाखा चहार्छन् र कन्दमूल खाँदै जीवन गुजारा गर्छन् । किराती समुदायमा सबै भन्दा चर्चित ‘दुङ्दिमी’ मिथक हो यो ।)
प्रकाशित: १७ जेष्ठ २०७७ ०४:२४ शनिबार