२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

‘ध्यान दिएर सुन नेता ज्यू’

‘कोही बोल्दैनन् सीमा मिच्दा

कस्तो हुन्छ घाँटी थिच्दा,

नगरिदेऊ बोले जस्तो

बोल्दा मुटु पोले जस्तो,

ध्यान दिएर सुन नेता ज्यू

जनताले के भनेका छन्,

त्यहीं काम छिटो गर नेता ज्यू

जनताले जे भनेका छन्....’

राष्ट्रप्रेमी गायक बद्री पंगेनीको स्वरमा रहेको ‘कोही बोल्दैनन् सीमा मिच्दा’ बोलको गीतको एक अंश हो यो । पत्रकार तथा गीतकार शिखर गजरकोटेको शब्द संगीतमा रहेको उक्त गीत बिहीबार मात्रै धर्मराज पोख्रेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । गीतमा राष्ट्र, राष्ट्रियता र देशप्रेमी भावना झल्केको पाइन्छ ।  

साथै कसैले मान्छेको घाँटी थिचिदिदाँ उसलाई जति पीडा हुन्छ त्यति नै पीडा देशको सीमाना मिच्दा वा अतिक्रमण गर्दा हुने भएकाले आफ्नो देश बचाउन र सीमा सुरक्षाका लागि जनताले भनेका कुरा मानिदिन नेता ज्यूलाई अनुरोध गरिएको छ ।  

अहिले विश्व नै कारोना भाइरसको महामारीमा झेलिएको छ, त्यसमा नेपाल पनि अछुतो छैन । यस विषम परिस्थितिमा छिमेकी देश भारतले नेपाली भूमिमा सडक खनेको कुरा अहिले सारा नेपालीको लागि दुःख र पीडाको विषय बनेको छ । यस विषयमा नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले भने केही दिन अघि मन्त्रिपरिषद् बैठकमा बोल्दै लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने आफुलाई जानकारी नभएको बताएका थिए ।  

छिमेकी देशले नेपाली भूमिमा सडक बनाउँदा पनि सरकारलाई थाहा नभएको र नेपाली भूमि बचाउन नेपाल सरकारले उपयुक्त कदम नचालेको र गरिब, निमुखा जनताले पनि सुखको सास फेर्न नपाएको विषयलाई नै केन्द्रित गरेर शिखरले गीत तयार पारेका हुन् ।  

उनले गीतमा भनेका छन्,  

फेरिएको छ व्यवस्था,  

जनताको उही अवस्था  

हुने खाने चुस्दै गए

हुदाँ खाने उस्तै रहें

ध्यान दिएर सुन् नेता ज्यू....

‘हाम्रा देशका नेताहरु बोले जस्तो मात्र गर्ने, तर साँच्चै नै राष्ट्र र राष्ट्रियताका लागि कार्यान्वयन नगर्ने र गर्न पनि डराउने गर्छन्,’गीतमा स्वर दिएका गायक बद्री पंगेनी भन्छन्, ‘कसैले कसैको घाँटी थिचिदिदाँ उसलाई जति पीडा हुन्छ त्यति नै पीडा हामीलाई पनि हाम्रो भूमि मिच्दा हुन्छ भनेर गीतमार्फत भारतलाई प्रतिबिम्बात्मक रुपमा भनिएको छ ।’

त्यस्तै गीतकार शिखर गजरकोटेले गीतमा तीन वटा पक्षलाई समावेश गरेको बताउँछन् । ‘भारतले नेपाली भूमिमा गरेको अतिक्रमण बल्झिएसँगै मैले यो गीत बजारमा ल्याएको हुँ,’ उनी भन्छन्, ‘गीतमा सीमा अतिक्रमणको विषयसँगै देश जनताले चाहेको जस्तो नभएको र राज्य व्यवस्था फेरिए पनि जनता उही पुरानै अवस्थामा रहेको विषयलाई समेटिएको छ ।

भारतले नेपाली भूमिमा बनाएको सडककै विषयलाई लिएर कलाकार रमेश बिजीले ‘आमा तिम्रो छाती’ बोलको गीतलाई सार्वजनिक गरेका छन् । रमेशबिजीको शब्द रहेको उक्त गीतमा गायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारले स्वर दिएका छन् । नारायण रायमाझीको संगीत रहेको उक्त गीतमा भनिएको छ,  

लिपुलेक, कालापानी सुस्ता मेरै थियो

भन्थें बरै पुर्खाले त अझै धेरै थियो,

निमोठेर खायो बरै चिमोटेर खायो

आज आफ्नै छिमेकीले उठिबास लायो

आमा तिम्रो छातीको पाटो  

छिमेकीले बनायो मूल बाटो..।

प्रकाशित: २ जेष्ठ २०७७ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App