बागलुङ – यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ।
‘कार्यशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले (आइएसएसए) ले सदस्यता दिएको हो’, कार्यशालाका संयोजक मूर्तिकार ओम खत्रीले भने। संस्थाका महासचिव चीनका मूर्तिकार ल्यु याङ्ले कार्यशालाको समापन समारोहमा सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। आइएसएसए अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका मूर्तिकला कार्यशालाको सञ्जाल÷संस्था हो। संस्थाको केन्द्रीय कार्यालय चीनमा छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसमेत रहेका संयोजक खत्रीले नेपालमा भएको यस कार्यशालाले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिचेको जानकारी दिए। ‘हाम्रो कार्यशाला अन्तर्राष्ट्रिय सञ्जालमा छिरेको छ, विश्वमा भएका अन्य कार्यशालाझैं नेपालमा भएको कार्यशाला पनि इतिहासमा सुरक्षित रहनेछ’, उनले भने। कार्यशाला सञ्चालनका लागि इटालीमा रहेको अन्तराष्ट्रिय मूर्तिकारहरूको संस्था (एआइएसएम) ले पनि सघाएको थियो। अन्तर्राष्ट्रिय रूपमा आवेदन माग गरी विज्ञले गरेको छनोटका आधारमा मूर्तिकारलाई सहभागी गराइएको थियो। गलकोट नगरपालिका–५ टेउवामा भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए। अन्तर्राष्ट्रिय ख्याति कमाएका मूर्तिकारले ढुंगामा प्रकृति, जीवन, संस्कृति र सभ्यता झल्कने १५ मूर्ति कुँदेका छन्।
खुला मूर्तिकला संग्रहालय र ललितकला अध्ययन, अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। मूर्तिकारले सिर्जना गरेका कलाकृतिलाई टेउवामै खुला संग्रहालय बनाएर प्रतिस्थापन गरिने आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए। कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका थिए। मूर्तिकार श्रेष्ठले भगवान् गणेश, खत्रीले चरा, काफ्लेले प्रविधि, चौधरीले गौतमबुद्ध र पिठाकोटेले प्रकृतिलाई कलामा उतारेका छन्।
यस्तै जापानका जुनिचिरो सुगीमोतोले डुंगा, चीनका ल्यु याङले नदी र समुद्र, इटालीका बेतीनो फ्रान्सेनीले औंठाछाप, फ्रान्सका जिवियर गोञ्जालेजले जीवन, ताइवानका लीन ली जेनले जीवनचक्रबारे अमूर्त मूर्ति कुँदेका छन्। क्यानाडाकी जुली ग्लास्पीले पनि जीवन र प्रकृति, भारतका टुटु पटानायकले रामायणको कथामा हनुमानले बोकेको सञ्जीवनी पर्वत, इजरायलकी तान्या प्रिमेन्जरले चरा र सर्प ब्राजिलका जर्ज लुइज सोडरले नेपाली बस्ती, भूबनोट र युक्रेनका मूर्तिकार ल्युडमाइला माइस्कोले चन्द्रमाको विभिन्न स्वरुपलाई कलामा प्रतिविम्बित गरेका छन्।
मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारसमेत कार्यशालामा सहभागी थिए। आर्थिक वर्ष २०७३÷७४ देखि कार्यशालाका लागि तयारी अघि बढाइएको थियो। पूर्वाधार निर्माणसहित कार्यशाला सञ्चालनका लागि झन्डै दुई करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ। कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगत रूपमा समेत आर्थिक सहयोग जुटाइएको थियो। कार्यशालास्थलका लागि स्थानीयवासीले २३ रोपनी जग्गा निःशुल्क दिएका थिए। सोही स्थानमा खुला मूर्तिकला संग्रहालय र ललितकला अनुसन्धान केन्द्र बनाउने प्रतिष्ठानको योजना छ।
प्रकाशित: २७ फाल्गुन २०७६ ०३:०५ मंगलबार