२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

शिक्षाको महत्व झल्काउँदै अवधी कला

काठमाडौं – महिला सशक्तिकरणको निम्ति शिक्षा आवश्यक मानिन्छ। महिलाहरूको साक्षरता, सहभागिता, गुणस्तरीय स्वास्थ्य सेवा, स्वामित्व र जिम्मेवारीको आधारमा सशक्तिकरणको मूल्यांकन गरिएको छ। बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा स्वतन्त्रतामा रमाइरहेकी एक युवतीको चित्रकला झुन्डाइएको छ। रातो र पहेंलो बुट्टेदार पहिरनमा सजिएकी युवती पुस्तक पढ्न मस्त देखिन्छिन्। शिक्षाको पहुँचसँगै सशक्त र स्वतन्त्र स्वरूपमा देखिएकी उनको अस्तित्वलाई कलाकार सविना तामाङले आकर्षक शैलीमा क्यानभासमा समावेश गरेकी छन्। ‘महिला शिक्षा’ शीर्षकको कलामा सूर्य र चन्द्रमालाई प्रस्तुत गरेर उनले अवधी कला झल्को दिएकी छन्।

बबरमहलस्थित आर्ट काउन्सिलमा शनिबारदेखि सुरू भएको ‘अवधी कला प्रदर्शनी’ मा शिक्षाको महŒवलाई प्राथमिकता दिइएको विभिन्न कलाहरू राखिएका छन्। कलामा स्ताकोत्तर गरिरहेकी कलाकार तामाङ महिला सशक्तिकरणको लागि शिक्षा अत्यावश्यक रहेको बताउँछिन्। ‘महिलामाथि हुने लैंगित विभेदविरुद्ध उभिन शिक्षा आवश्यक पर्ने कुरा समाजले बुझ्नुपर्छ। आर्थिक सशक्तिकरणले महिलाको जीवनलाई सकारात्मक तर्फ केन्द्रित गर्ने हुँदा शिक्षाको महŒवलाई कलामार्फत प्रस्तुत गरेको छु,’ उनले भनिन्, ‘महिलाहरूले अवसर पाउन नसकेसम्म समाज र राष्ट्रले अपेक्षा गरेबमोजिम उपलब्धि हासिल गर्न सक्दैन्।’

महिलाको विभिन्न शक्तिलाई कलामार्फत प्रस्तुत गर्न माहिर अर्की कलाकार ऐरिना ताम्राकारले ‘शिक्षाको अधिकार’ शीर्षकको चित्रकलामा निरन्तरता दिएकी छन्। क्यानभासमा उनले आफैंलाई स्वतन्त्र महिलाको रूपमा परिभाषित गरेकी छन्। शैक्षिक क्षेत्रमा महिलाहरू अब्बल हुँदै गएको पृष्ठभूमिलाई उनले क्यानभासमा चित्र कोर्न प्रयोग हुने ब्रस र अवधी कलाको पुस्तकमार्फत प्रस्तुत गरेकी छन्। चरा, सूर्य र चन्द्रमामार्फत उनले अवधी कलाको महŒवलाई प्राथमिकता दिएकी छन्। ‘महिला शक्तिको महत्व झल्काउन तेस्रो आँखामार्फत शिक्षाको उज्यालोलाई क्यानभासमा प्रस्तुत गरेको छु। चित्रकलामा प्रयोग भएको रातो रंगले स्वतन्त्रताको बयान गरेको छ,’ उनले भनिन्, ‘आर्थिक, सामाजिक र सांस्कृतिक स्थितिमा महिलाको पहुँच बढ्न सकेमात्र देश समृद्धितर्फ लम्कनसक्छ।’

प्रदर्शनीमा कलाकार रागिनी उपाध्यायले ‘शिक्षाको उज्यालो’ शीर्षकको चित्रकलामार्फत यसको महŒवलाई प्रस्तुत गरेकी छन्। गुलाबी, निलो र पहेंलो रंगको कमलको फूललाई शिक्षाको पहुँचमार्फत बयान गरेकी उनले अवधी कलाका विभिन्न आकृतिलाई क्यानभासमा समावेश गरेकी छन्।

शिवाता लभ फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा रामदयाल ठाकुर, कुमुद सिंह, सितादेवी कर्ण, मन गोल्डी, रामपुजन ठाकुर, हिरा कर्ण, रामवती चौधरी र श्यामसुन्दर अग्रहरीलगायत कलाकारहरूको कला राखिएका छन्।

यसअघि कपिलवस्तुको तौलिहवामा अवधी कला प्रवद्र्धन कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा सञ्चालन गरिएको कार्यशालामा सहभागी कलाकार र उत्कृष्ट विद्यार्थीहरूको कला प्रदर्शनीमा राखिएका छन्। नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुर अवधी कलाको लागि प्रख्यात मानिन्छ। भगवान बुद्धले बुद्धत्व प्राप्तिको बेला आफ्ना परिवारको सदस्यसँग भेट गरेको पुरातात्विक मानिने निग्रोधारामको भवनमा प्रयोग भएका इँटाहरूमा अवधी कलाहरू कुँदिएका छन्।

अवधी लोककला भित्तिचित्र, भूमि चित्र, ठप्पा चित्र, पात्र चित्रण, गोदना र मेहदीमा वर्गीकृत गरिएको पाइन्छ। भित्तिचित्रमा अवधी लोक समाजको महत्व झल्किएको छ। त्यस्तै विभिन्न उत्सवमा भूमिमा बनाइने फरक आकृतिलाई भूमिचित्र र दाहिने हातको हत्केलालेमात्र बनाइने छापलाई ठप्पा चित्रको रूपमा प्रस्तुत गरिएको छ। विभिन्न संस्कारमा प्रयोग हुने भाँडाहरूमा गोबर, पीठो र रंगसहित बनाइने पात्र चित्रणको महत्व उत्तिकै रहेको पाइन्छ। महिलाहरू आफ्ना शरीरमा गोदना (टाटु) बनाउने प्रचलनको सामाजिक महत्व रहेको छ। मेहदी र गोदना उस्तै भएपनि समुदाय अनुसार यसको विशेषता फरक रहेको पाइन्छ।

‘यस संस्थाले कलामा रुचि राख्ने युवा पुस्तालाई प्रोत्साहित गरेर विभिन्न कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं। यसअघि कार्यशालामा हामीले अवधी कलाको विभिन्न पक्षबारे उनीहरूलाई ज्ञान दिएका थियौं,’ शिवाता लभ फाउन्डेसनकी अध्यक्ष रागिनी उपाध्यायले भनिन्। प्रदर्शनी आगामी फागुन २९ सम्म चल्नेछ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App