काठमाडौं – एउटा अर्को मानिसलाई बाँधिरहेको देखेपछि कौतुहलता बढ्छ। त्यसले उसलाई किन बाँधेको होला ? बाँधिएको मान्छे रुदैँ कराउँदै छ। बाँधने मान्छेको अनुहारमा न कुनै न कुनै पीडा छ, न कुनै प्रश्चताप। उ एकोहोरो अर्को मान्छेलाई बाँधिरहेको छ। लाग्छ उसको दैनिकी नै यही हो, अस्पतालमा पोस्टमार्टम गर्ने स्वास्थ्य सहायक जस्तै। एकछेउमा दुई जना बसिरहेका छन्। लाग्छ उनिहरूलाई पल्लो छेउको घटनाको बारेमा केही थाहा छैन। यसरी नै सुरु भयो नाटक ‘सब ठीक छ’।
राजधानीको कालीकास्थानस्थित सर्वनाम थिएटरमा फागुन १६ गतेदेखि मञ्चन भइरहेको उक्त नाटकमा एउटा मानसिक अस्पताल भित्रको दृश्यलाई समेटिएको थियो। जुन अस्पतालमा विभिन्न कारणले मानसिक सन्तुलन गुमाएका मानिसहरू छन्। एकको कुरा अर्कोसँग मिल्दैन। उनीहरू आफ्नै संसारको कुरा गरिरहन्छन्। नाटकको पहिलो चरणमा देखिएका बाँध्ने मान्छे डाक्टर थिए त बाँधिने मान्छे बिरामी।
उपचारको नाममा शारीरिक यातना दिएको नाटकको पहिलो अंशमा देखिन्छ। दोस्रो अंशमा औषधिको सहयोगमा निको भएको पात्रले आत्महत्या गर्छ। योसँगै मानसिक सन्तुलन गुमाएकाहरूको उपचार पद्धतिमाथि प्रश्न उठ्छ। औषधिको भरमा मानसिक सन्तुलन ठिक ठाउँमा आएता पनि घर, परिवार, समाजका कारणले उसले फेरि सन्तुलन गुमाउन सक्छ वा नकारात्मक सोचाइको विकास हुन सक्छन् भन्ने कुरा उक्त नाटकमा प्रस्ट्याउन खोजिएको छ।
प्रस्तुतिमा केही साना कमजोरी रहेपनि निर्देशकीय पक्ष भने निकै मिहिनेत देखिन्छ। कलाकारहरूमा नाटकको लामो अनुभव नभए पनि अनुभवी कलाकारलेजस्तै कला प्रस्तुत गरेको देखिन्छ। सबैले आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका छन्। विशेष त धिरज थापा मगरले निभाएको चरित्र ‘कान्छो दाई’ र विन्दु विएमको ‘सुर्भिना कार्की’को भूमिका परिपक्क देखिन्छ। प्रकाश संयोजन तथा ध्वनि संयोजन पनि उत्कृष्ट नै देखिन्छ। केही पात्रहरूको चरित्रअनुसार भेषभूषामा ध्यान नदिएको देखिन्छ।
‘मानसिक सन्तुलन गुमाएकाहरूलाई समाजले मानसिक रोगी ‘पागल’को उपमा दिएर घृणा गर्ने गर्छ। तर उसले सन्तुलन गुमाउनुको पछाडिको काण कसैले नबुझ्दा समस्या हुने गरेको नाटकमार्फत स्पष्ट पार्न खोजीएको थियो। नाटक अवलोकन गर्न पुगेक नाटक निर्देशक किशोर अनुराग भन्छन्, ‘औषधि खुवाएर निको पार्ने पद्धति दीर्घकालीन उपचार होइन।
समाजले गर्ने व्यवहार दीर्घकालीन हो भन्ने देखाउनलाई नाटकको प्रस्तुति मलाई राम्रै लाग्यो।’ सर्वनाम पूर्व प्रशिक्षार्थी समूहले प्रस्तुत गरेको ‘सब ठीक छ’ नाटकलाई कृष्ण खड्काले निर्देशन गरेका हुन्। सामूहिक रूपमा गरिएको प्रस्तुति भएकाले नाटकको लेखक यही नै हो भन्ने यकिन नभएको निर्देशकको भनाइ छ। फागुन ३० गतेसम्म मञ्चन हुने नाटकमा कृष्ण खड्का, मुक्ति प्रसाद पौडेल (नविन), सर्मिला नगरकोटी, क्षितिज पराजुली, आशिष काफ्ले, धिरज थापा मगर, बिन्दु बिएम र हिरा हमाल (मुकेश)ले अभिनय गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०७६ ०३:२३ बिहीबार