काठमाडौं - बाटोमाथि ढकमक्क फुलेको लालीगुराँस। हरियो जंगलमा चर्दै गरेको गाई। नजिकै हिमालको चुचुरो। अर्कोतर्फ पानी नै पानीले भरिएको समुद्र र त्यसको छाल। गोलो पारी राखिएको पराल। लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीको माथिल्लो तलामा उक्लिनेबित्तिकै देखिने प्राकृतिक दृश्यचित्रले जोकोहीको ध्यान खिच्छ। त्यहाँको भित्ता चित्रकार रुरु खनाल लम्सालका यस्तै मनमोहक दृश्यचित्रले सजिएको छ। १५ वर्षदेखि बेलायतमा बस्दै आएकी रुरु प्राकृतिक सौन्दर्य र दृश्यलाई आफ्ना कलामा समेट्न सिद्धहस्त देखिन्छिन्। माघ २८ गतेबाट सुरु भएको ‘रिफ्लेक्सन नेचर’ चित्रकार रुरुको तेस्रो एकल कला प्रदर्शनी हो। उक्त प्रदर्शनीमा प्रकृतिसम्बन्धी २६ वटा दृश्यचित्र समेटिएका छन्।
सानैदेखि प्रकृतिसँग नजिकिन र रमाउन चाहने चित्रकार लम्सालले नेपालकै प्रकृतिमा आधारित दुईवटा एकल चित्रकला प्रदर्शनी गरिसकेकी छन्। रुरु पाँच दशकदेखि चित्रकलामा सक्रिय वरिष्ठ चित्रकार रमेश खनालकी छोरी हुन्। उनी आफ्नै पिता प्रभावित भई चित्र कोर्न सिकेको बताउँछिन्। विवाहपछि बेलायत रहँदै आएकी उनले घुम्न गएका बेला मन परेका दृश्यलाई फोटोमा कैद गर्ने र फुर्सदको समयमा क्यानभासमा उतार्ने गरेको सुनाइन्। आफू विदेशी भूमिमा रहे पनि नेपालको सम्झना र मायालाई चित्रमार्फत व्यक्त गर्ने गरेको उनको भनाइ छ।
‘नेपाली चित्रकार भएर विदेशी भूमिमा नाम कमाउने इच्छा छ,’ रुरुले भनिन्, ‘मानिसमा इच्छा भयो भने उसले जुन समयमा जहाँ जे पनि गर्न सक्छ तर इच्छा नै भएन भने महलमै बसे पनि उसले केही गर्न सक्दैन।’ बालबच्चा, घरपरिवार र अफिसको काम सकेर चित्र कोर्न समय निकाल्ने उनमा रहेको दरिलो इच्छाशक्तिकै उपज हुन्, ती सुन्दर चित्रहरू।
उनका सबै चित्रमा तैल रङ प्रयोग गरिएको छ। उनका प्रायः चित्रमा हरियो, निलो, रातोभन्दा बढी प्याजी रङको प्रयोग भएको देखिन्छ। प्याजी रङलाई खुसी र ‘रोमान्स’को प्रतीक मानिने भएको र आफू पनि सधैं रोमान्टिक मुडमा चित्र कोर्ने भएकाले प्याजी रङको बढी प्रयोग गरेको उनले बताइन्। विदेशीका प्राकृतिक दृश्यसँगै नेपालका दृश्यलाई समेटिए पनि उनका कलामा विदेशकै प्रतिबिम्ब देखिन्छ।
‘स्टिल लाइफ’ शीर्षकको उनको चित्रमा कलात्मकतासँगै संघर्षशीलता देखिन्छ। जसमा ढुंगाको कापबाट निस्किएको फूलले निकै संघर्षपूर्ण रूपबाट आफ्नो सौन्दर्यलाई उजागर गर्ने प्रयास गरेको छ। उनको यस चित्रमा मानिसले सफलता पाउन गरेको संघर्षलाई फूलमार्फत देखाइएको छ।
बेलायतमा अवस्थित समुद्रको छाललाई हेर्दै गरेको आफ्नै दृश्यलाई पनि उनले कलामा समेटेकी छन्। साथै समुद्रका छेउछाउमा फुलेका फूलहरूलाई उनले हरियो, निलो र रातो रङको प्रभावकारी समायोजनमार्फत प्रस्तुत गरेकी छन्। विदेशमा आधुनिक मेसिनद्वारा बनाइएको परालको मुठोलाई पनि उनले जस्ताको तस्तै क्यानभासमा उतारेकी छन्। बेलायतमा ‘रुरु आर्ट’ नामक स्टुडियो खोलेकी उनले त्यही स्टुडियोमा बसेर दृश्यचित्र कोर्दै आएको बताइन्। उनको एकल कला प्रदर्शनी फागुन २८ गतेसम्म हेर्न सकिनेछ।
प्रकाशित: १८ फाल्गुन २०७६ ०३:०५ आइतबार