२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

खै त पुस्तक पढ्ने पाठक ?

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको ‘बृहत पुस्तक मेला’ मा पाठकहरूको सहभागिता कम भएको गुनासो आयोजकले गरेका छन्। गत माघ २९ देखि सुरु भएको मेलामा शिखा, सांग्रिला र मञ्जरीलगायत पुस्तक पब्लिकेसनका पुस्तकहरू राखिएका छन्।

पुस्तकप्रेमी पाठकहरूलाई लक्षित गरेर आयोजकले २० प्रतिशत छुटसहित मेलाको आयोजना गरेपनि सहभागिता घटेको गुनासो उनीहरूले गरेका छन्। शिखा बुक्स पब्लिेकेसनका प्रमुख पुष्पराज पौडेलका अनुसार मेलामा १० हजारभन्दा बढी पुस्तक बिक्रीका लागि राखेको छ। ‘पुस्तकप्रेमी पाठकहरूलाई लक्षित गरेर विभिन्न विषयका पुस्तक मेलामा राखिएका छन्। तर पाठकहरूको सहभागिता तुलनात्मक रूपमा कम भएको महसुस गरेको छु। पठन संस्कृतिको विकास मेलाको आयोजना गरेका हौं। यस वर्ष पुस्तक बिक्री ह्वात्तै घटेको छ,’ उनले भने।

अर्का सांग्रिला बुक्स पब्लिकेसनका बजार व्यवस्थापक मनोज खड्काले मेलामा पुस्तक किन्ने पाठकको संख्या कम रहेको बताए। आधुनिक युगमा पठन संस्कृति हराउँदै गएको महसुस गरेका उनले मेलामा तीन सय प्रकारका पुस्तकलाई समेटिएको दाबी गरे। उनका अनुसार मेलामा बालसाहित्यलाई प्राथमिकतामा राखिएको छ। ‘पठन संस्कृतिको विकासको निम्ति पाठकलाई यसप्रति रुचि जगाउन मेलाको आयोजना गरेका हौं। तर पुस्तक पढ्ने पाठक पाउन मुस्किल भएको महसुस गरेका छौं। मेलामा पुस्तकप्रेमी पाठक र विद्यार्थीको उपस्थिति न्यून रहेको छ,’ उनले भने।

मेलामा साहित्यिक पुस्तक खोज्न व्यस्त बानेश्वरका दिनेश अधिकारी खोजेअनुसारको पुस्तक नभेटिएको बताए। ‘साहित्यिक पुस्तकहरूमा रुचि राख्न म बजारमा आएका नयाँ साहित्यसम्बन्धी पुस्तक खोजिरहेको छु। मैले सोचेअनुसारका पुस्तक मेलामा भेट्न सकेको छैन्,’ उनले भने, ‘पठन संस्कृतिले हाम्रो क्षमताको विकास हुने भएकाले पुस्तकहरू सकेसम्म पढ्ने गरेको छु।’

मेलामा भेटिएका अर्का विष्णु महतरा विभिन्न पुस्तकहरूको खोजीमा देखिन्थे। आध्यात्मिक र साहित्यिक पुस्तक किन्न मेलामा पुगेका उनी भन्छन्, ‘मेलामा धेरै खालका पुस्तकहरू समेटिएको हुन्छ। एकै ठाउँमा धेरै पुस्तक छुटसहित पाइने भएकाले पाठकका लागि पुस्तक मेला आवश्यक छ। प्रदर्शनीमा राखिएका पुस्तक सामान्य व्यक्तिले पनि किनेर पढ्न सक्छ जस्तो मलाई लाग्छ।’

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App